कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनमा सत्यता छैन : राप्रपा

अमेरिकी दूतावासलाई राप्रपाले लेखेको पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौं ।’

काठमाडौँ — राप्रपाले अमेरिकी विदेश मन्त्रालयको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति आपत्ति जनाएको छ । राप्रपाले उक्त प्रतिवेदनमा आफूमाथि निराधार आरोप लगाइएको जनाएको छ ।

धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनमा सत्यता छैन : राप्रपा

नेपाल केन्द्रित उक्त प्रतिवेदनले आफूप्रति एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको प्रतिक्रिया दिँदै राप्रपाले नेपालस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रतिवेदनमाथि आफ्नो स्पष्टीकरण प्रस्तुत गर्दै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई सम्बोधन गरेर शुक्रबार पत्राचार गरेका हुन् ।

‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गर्दछ । सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट चुकेको छ । सम्पूर्ण विषय आफैंमा सत्यता छैन,’ दूतावासलाई गरेको पत्राचारमा उल्लेख छ ।

प्रतिवेदनले सुरुमा नागरिक समाजका नेताहरू को हुन् भन्ने स्पष्ट नपारेको पनि उल्लेख गरेको छ । ‘उक्त नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन् । यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ,’ उक्त पत्रमा भनिएको छ,‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट राम्रो विश्वासको स्वागत गर्दछौं । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन ।’

प्रतिवेदनमा नागरिक समाजका नेताहरूलाई श्रेय दिँदै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी हिन्दू राष्ट्रवादी र भारतका अन्य हिन्दू समूहहरूको प्रभावले नेपालका राजनीतिज्ञहरू विशेषगरी राप्रपालाई हिन्दू राज्यको संशोधनलाई समर्थन गर्न दबाब दिन जारी राखेको आरोप लगाइएको उल्लेख गरिएकोमा राप्रपाले त्यो निराधार रहेको जनाएको छ ।

राप्रपाका अध्यक्ष लिङ्देनले पत्रमा अमेरिका नेपालको लामो समयदेखिको मित्र रहेको र मित्र राष्ट्रका रूपमा राप्रपाले अमेरिका र अमेरिकी जनतालाई उच्च सम्मान र प्रशंसा गर्नेमा जोड दिएका छन् । ‘यद्यपि, प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो छविलाई धमिलो पार्छ र नतिजाहरूको कारण हामी गहिरो चोटमा छौं,’ पत्रमा भनिएको छ,‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौं ।’

राप्रपाले आफ्नो पार्टी नेपाली नागरिकद्वारा नेपालमा स्थापना भएको राष्ट्रवादी र लोकतान्त्रिक पार्टी भएको उल्लेख गरेको छ । साथै, राप्रपाले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मका लागि समान सम्मान र स्वतन्त्रतासहितको हिन्दू राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि जनाएको छ ।

बुधबार मात्रै अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको थियो ।

प्रकाशित : जेष्ठ ५, २०८० २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?