२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पुनःस्थापनाको माग राख्दै शुक्लाफाँटा आरक्ष पीडित काठमाडौंमा

काठमाडौँ — कञ्चनपुर जिल्लाका आरक्ष पीडितले समस्या समाधान गर्नका लागि पहल गरिदिन सांसदहरूसँग माग गरेका छन् । शुक्लाफाँटा आरक्ष पीडितहरूको एक समूह काठमाडौं आएर बिहीबार संसद्  भवनमा सांसदहरूलाई भेटेर आफ्ना समस्या समाधान गरिदिन माग गरेका हुन् । 

पुनःस्थापनाको माग राख्दै शुक्लाफाँटा आरक्ष पीडित काठमाडौंमा

तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा २०५८ सालमा विस्थापित गरिएको तर अझैसम्म पनि पुनर्स्थापना नगरिएको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । राज्यले ३२ वटा आयोग बनाउँदा पनि पीडितले क्षतिपूर्ति तथा मुआब्जा नपाएको बताएका छन् ।

राज्यको ध्यानाकर्षण गराउन अध्यक्ष कर्णबहादुर चन्दको नेतृत्वमा १० सदस्यीय आरक्ष पीडित संघर्ष समितिको टोली बुधबार काठमाडौं आएको थियो । टोलीले बिहीबार कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसद एवं प्रमुख सचेतक रमेश लेखक, एमाले सांसद तारालामा तामाङसँग भेट गरेको हो । कांग्रेस प्रमुख सचेतक लेखक र एमाले सांसद लामाले आरक्ष पीडितका समस्या समाधानका लागि संसद्मा आवाज उठाउने र सरकारसँग पनि पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले जानकारी दिए ।

सांसद लेखकले एक-दुई दिनमै वन तथा वातावरणमन्त्री पनि नियुक्त हुन लागेको भन्दै समस्या समाधान गरेर जानुबाहेक अरु विकल्प नभएको बताए । कञ्चनपुरका सबै सांसद मिलेर यो विषयलाई निष्कर्षमा पुर्‍याउन आफू तयार रहेको उनको भनाइ थियो । ‘तपाईको पीडा थाहा छ । समाधान गर्न कोसिस गर्छौं । एक-दुई दिनमा मन्त्री पनि नियुक्त हुनुहुन्छ । त्यसपछि हामी तीनै जना सांसद तपाईहरूसहित मन्त्रीसँग बसेर कुरा गरौला,’ लेखकले पीडितहरूलाई भने । तामाङले पनि यो विषयलाई सदनमा जोडदाररुपमा उठाउने बताएका छन् ।

पीडितहरूले माओवादी सांसद माधव सापकोटासँग पनि भेट गरेका थिए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गराएर समस्या समाधानको लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका सचिव भट्टले जानकारी दिए ।

पीडितहरूले अब आयोग बनाउनेभन्दा पनि समस्या समाधान गरेर सदाका लागि टुंग्याउन माग गरेको छ । अध्यक्ष चन्दले पीडितले जग्गा नै चाहेको र प्रतिपरिवार १० कट्टा जग्गा दिनुपर्ने अघिल्लो आयोगको सिफारिस कार्यान्वयन हुनुपर्ने माग गरे । जग्गा दिन नसके प्रतिपरिवार ६० लाख दिने सिफारिस गरिएको र त्यसलाई कार्यान्वयनमा लानुपर्ने उनीहरूले सांसदहरूसँग माग राखेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०८० १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?