कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

टोपबहादुर बिरामी !

दबाब बढेपछि बल्ल एमालेको कारबाही, सचिवको जिम्मेवारीबाट निलम्बन 
फरार सांसद रायमाझीको सभामुखलाई पत्र, हस्ताक्षर परीक्षण नभएकाले दर्ता हुन बाँकी

काठमाडौँ — नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव एंव सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको पत्र संसद् सचिवालयमा पठाएका छन् । निरन्तर १० वटा बैठकमा अनुपस्थित भएमा सांसद पद रिक्त हुने संवैधानिक व्यवस्था छ । उनी पछिल्लो ५ बैठकमा अनुपस्थित छन् ।

टोपबहादुर बिरामी !

आइतबार सुरु बजेट अधिवेशनको कुनै पनि बैठकमा उनी उपस्थित छैनन् । अधिवेशन सुरु हुनुअघिकै वैशाख २१ गतेको मिति राखेर आफू बिरामी रहेको लिखित पत्र लेटर प्याडमा उनले संसद् सचिवालयमा पठाएका हुन् ।

‘केही दिनदेखि अस्वस्थ भएको हुँदा उपचारका लागि अस्पतालमा रहेकाले बैठकमा नियमित उपस्थित हुन नसक्ने हुँदा बिदा स्वीकृत गरिदिन हुन अनुरोध गर्दछु’ सभामुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा उल्लेख छ । उपचार गराइरहेको भनिए पनि कुन अस्पतालमा भन्ने उल्लेख छैन् । मंगलबार नै सभामुखको सचिवालयमा छाडेको पत्रमा रायमाझीको हस्ताक्षर छ । अपरिचित व्यक्तिले खामबन्दी पत्र छाडेर गएको सचिवालय स्रोतले जनाएको छ ।

सभामुख देवराज घिमिरे मंगलबार बैठक सकेर सिधै बालुवाटारस्थित निवासमा गएका थिए । कर्मचारीले उक्त पत्र सभामुखलाई पठाएका थिए । उक्त पत्रमाथि कारबाही गर्न सभामुख घिमिरेले संसद् सचिवालयको कार्य व्यवस्थामा पठाएका थिए । पत्रमा उल्लेख भएको हस्ताक्षर रायमाझीको हो कि होइन परीक्षण नभएकाले दर्ता हुन बाँकी छ ।

रायमाझीको पार्टी एमालेले भने चौतर्फी दबाब र आलोचनापछि बुधबार उनलाई सचिव पदबाट निलम्बन गरेको छ । वैशाख २० मा पक्राउ पुर्जी जारी भए पनि फरार अवस्थामा रहेकाले रायमाझीको सांसद पद भने कायमै छ । पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै बुधबार एमालेले विज्ञप्ति जारी गर्दै निलम्बन गरेको जनाएको हो । सचिवालय बैठकले मंगलबार रायमाझीलाई कानुनअनुसार अनुसन्धानमा सहयोग पुर्‍याउन निर्देशन दिए पनि कारबाहीमा हतार नगर्ने बताएको थियो । खाँण पक्राउ परेपछि रायमाझीलाई कारबाही गर्न एमालेमाथि दबाब परेको थियो ।

गत बिहीबार अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि फरार छन् । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर रायमाझीलाई उनीमाथि लागेको आरोपसम्बन्धी कानुनी कारबाहीको प्रक्रिया टुंगो नलागेसम्म पदबाट निलम्बन गरिएको महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा छ । ‘पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो,’ विज्ञप्तिमा छ, ‘उहाँले नेतृत्वसँग यस विषयमा सहमति पनि जनाउनुभएको थियो तर सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालय बैठकले गम्भीरतापूर्वक लिँदै अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो ।’

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार सचिवालय बैठकमा रायमाझीलाई निलम्बन गर्ने निर्णय भएको थिएन । ‘उहाँ अब किन लुक्नु ? हामी सबैले विधि, प्रक्रिया र कानुन मान्नुपर्छ, त्यसकारण उहाँ प्रहरीकामा जानुपर्छ, अनुसन्धानमा सघाउनुपर्छ । उहाँ नजाँदा पार्टीलाई पनि नराम्रो हुन्छ । त्यसकारण प्रहरीसमक्ष उपस्थित भएर आफ्ना कुरा राख्नुपर्छ भन्ने निर्णय भएको हो,’ शाक्यले भनिन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने मुख्य योजनाकारमध्ये एक भएको निष्कर्ष निकालेको छ । रायमाझीका छोरा सन्दीप गत बिहीबार रूपन्देहीमा पक्राउ परेका थिए । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिँदा रायमाझी सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीको कार्यक्रममा थिए । त्यहाँबाट बुटवल झरेका उनी सम्पर्कविहीन छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझी बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित : वैशाख २८, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?