कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि आक्रमण

फरार रहेका आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरी र पीडितका आफन्तलाई २५/३० जनाको समूहले नै कुटपिट गरेर घाइते बनायो । आरोपी हत्कडीसहित फरार ।
तुलाराम पाण्डे

कालिकोट — बलात्कार मुद्दाका फरार आरोपीलाई पक्राउ गर्दा प्रहरी र पीडितका आफन्तमाथि स्थानीयहरूले आक्रमण गरेर दुई जनालाई घाइते बनाएका छन् ।

कालीकोटको पलाता ६ खीन सैन भन्ने ठाउँमा अभियुक्त लुकेर बसेको सूचना पाएपछि कहरदेव प्रहरी चौकी खीनबाट खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मीरुद्र रावल र प्रहरीलाई सहयोग गर्ने स्थानीय धनमान विकमाथि कुटपिट भएको हो । उनीहरू दुबै जना सख्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकोप्टर माग गरिए पनि बेलुकासम्म नआएपछि बोकेर थिर्पू लगिएको छ ।

स्थानीय ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेर फरार भएका पलाता ६ खीनका शंक बुढा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गर्न गएका असई रावल र प्रहरीलाई सहयोग गर्ने विकलाई स्थानीय २५/३० जना गाउँलेले लठ्ठी र ढुंगाले आक्रमण गरेको निमित्त प्रहरी प्रमुख सुवराज बमले बताए ।

प्रहरीमाथि आक्रमण गरेर लडाएपछि अभियुक्त बुढा हत्कडीसहित फरार भएका छन् । उनको खोजीमा आसपासका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको बमले जानकारी दिए । घरमा लुकेर बसेको सूचना आएपछि प्रहरी टोली पक्राउ गर्न खटिएको हो । निमित्त प्रमुख बमले भने घरमै सुतेको बेला पक्राउ गरेर हत्कडी लगाएपछि गाउँलेले आक्रमण गरेर भगाएका थिए । उनले घाइतेको टाउको, खुट्टा र पिठ्यूँमा चोट छ ।

गत कात्तिक ९ गते एक स्थानीय महिलालाई जबर्जस्ती करणी गरेर भागेका बुढाविरुद्ध मुद्दा दर्ता भएपछि जिल्ला अदालत कालीकोटबाट कात्तिक १४ गते पक्राउ पुर्जी जारी भएको थियो ।

७ महिनादेखि लुकेर बसदे आएका अभियुक्तलाई फक्राउ गर्न जाँदा कानुन हातमा लिएर प्रहरी टोलीमाथि आक्रमण गर्नेको पहिचान गरेर मुद्दा चलाइने प्रजिअ जोरासिंह माझीले बताए । कालीकोटको पलाता ६ खीन दुर्गम क्षेत्र पनि हो ।

घाइते असई लक्ष्मीरुद्र रावलको भनाइ जस्ताको तस्तै

'बलात्कार मुद्दाका अभियुक्त बुढा घरमा लुकेर बसेको सूचना आएपछि मेरो कमाण्डमा चार जनाको टोली पलाता ४ कहरदेव प्रहरी चौकीबाट २ घण्टाको पैदल हिँडेर उनको घर पुग्यौं ।

ढोकामै प्रतिवादीकी श्रमिति र आमा भेटिए । मैले शंक कहाँ छन् ? भनेर सोधेँ । उनीहरुले थाहा छैन, घर नआएको ७ महिना भैसक्यो भने । उनी घरमै भएको सूचना पाएकाले हामीले घर खानतलासी गर्‍यौं । भित्र उनलाई कुनामा कपडा ओडेर लुकेको अवस्थामा भेट्यौं । समातेर हत्कडी लगायौं । त्यति बेलासम्म वरिपरिका २५/३० जना जम्मा भएर होहल्ला गर्न थाले । हामीले उनलाई हिँडाउन खोज्दा त्यहा जम्मा भएकाले लठ्ठी, ढुंगा प्रहार गरे र एकै पटक महिला, बालबालिका र पुरुषले आक्रमण गरेपछि म ढलें । अभियुक्त हत्कडीसहित भाग्यो । प्रहरीलाई सहयोग गरेको भनेर त्यहीँका धनमान विकलाई पनि मरणासन्न हुने गरी कुटे ।'

प्रकाशित : वैशाख २५, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?