कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बेलायती राजाको राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी नहुने

नविन पाेखरेल

लन्डन — नेपालका राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी नहुने भएका छन् । स्वास्थ्य अवस्थाका कारण नेपालका राष्ट्रप्रमुखको २० वर्षपछि हुन लागेको बेलायत भ्रमण स्थगित भएको हो ।

बेलायती राजाको राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी नहुने

यसअघि राष्ट्रपति पौडेल आगामी मे ६ तारिख यहाँस्थित वेस्टमिनिष्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन आउने तयारी थियो ।

‘स्वास्थ अवस्थाका कारण उहाँ आउन सक्नु हुन्न भन्ने खबर आएको छ,’ लण्डनस्थित नेपाली दूतावास स्रोतले भन्यो, ‘राष्ट्रपतिज्यूको सट्टा परराष्ट्रमन्त्री आउने बलियो सम्भावना छ ।’

राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराइरहेका छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख छ ।

छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उनको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको उनको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि सन् २००३ मा तत्कालीन राजा ज्ञानेन्द्रले राष्ट्रप्रमुखको हैसियतमा बेलायत भ्रमण गरेका थिए । त्यसअघि स्वर्गीय राजा वीरेन्द्रले सन् १९८० र १९९५ मा तथा स्वर्गीय राजा महेन्द्रले सन् १९६० मा बेलायत भ्रमण गरेका थिए । नेपालका राष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी कसैको पनि बेलायत भ्रमण भएन ।

वकिङघम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झण्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवम् राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने अपेक्षा छ ।

बेलायतमा ७ दशकपछि राज्याभिषेकको तयारी द्रुत गतिमा भइरहेको छ । वेष्टमिनिष्टर आबीमा सन् १०६६ देखि राज्याभिषेक समारोह हुँदै आएका छन् ।

गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि राजसिंहासन सम्हालेका राजा चार्ल्सको राज्याभिषेक समारोहमा ‘क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलाले पनि रानी मेरीको मुकुट लगाउनेछिन् ।

प्रकाशित : वैशाख १५, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?