ओलीमाथि आक्रमण : प्रधानमन्त्रीको जवाफ खोज्दै एमाले

काठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण र देशको शान्ति सुरक्षाबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ मागेको छ । उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले अध्यक्ष ओली र उपाध्यक्ष सुवास नेम्वाङमाथि झापा र इलाममा सांघातिक आक्रमण भएको उल्लेख गर्दै सरकारको जवाफ मागेका हुन् ।

ओलीमाथि आक्रमण : प्रधानमन्त्रीको जवाफ खोज्दै एमाले

'झापामा भएको कार्यक्रममा संघातिक आक्रमण भयो । एमालेको कार्यकर्ताहरू घाइते हुनु भएको छ । २ जना प्रहरी जीवन मरणको दोसाँधमा हुनुहुन्छ । उहाँलाई काठमाडौंको सुविधानसम्पन्न अस्पतालमा उपचार गराउनु पर्छ,' पौडेलले भने, 'झापामा सांघातिक आक्रमणको प्रयास गरियो । हिजो इलामको पशुपतिनगरबाट फर्किने क्रममा बाटो छेकेर आक्रमण गरियो । पाँचथर र ताप्लेजुङमा खुला रूपमा आक्रमण गर्ने चेतवानी दिएका छन् । सरकार मुकदर्शक भएर बसेको छ ।'

अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङलाई प्रदेशको नामकरणका सम्बन्धमा असन्तुष्ट रहेका पहिचानवादीहरूले कालोझण्डा देखाएर प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरी र पहिचानवादीहरुबीच झडप समेत भएको थियो । सांसद पौडेलले सत्तारुढ दलका कार्यकर्ता नै आक्रमणमा संलग्न भएको समेत दाबी गरे । 'सरकार तमासे बनेको छ । यो आक्रमणमा सरकारको मौन समर्थन रहेको छ । मौन मात्रै होइन उकास्ने काम गरेको छ । सत्तारुढ दलका कार्यकर्ताहरु यसमा संलग्न रहेका छन् ,' पौडेलले भने ।

पौडेलले प्रधानमन्त्रीले संसदलाई यस विषयमा जानकारी गराउनु पर्ने बताए । 'गृहमन्त्रीले संसद्‍मा जवाफ दिनुभयो तर नियन्त्रण गर्न केही गर्नु भएन' उनले भने, 'शान्ति सुरक्षाको अवस्थाको बारेमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ । त्यस्तो काममा संलग्न रहेकाहरूलाई कडा कारबाही गरियोस् ।' सांसद पौडेलले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको बताए ।

अध्यक्ष ओली शुक्रबार जन्मथलो तेह्रथुमको आठराई पुगेका छन् । त्यहाँ पनि अध्यक्ष ओलीविरुद्ध पहिचानवादीहरूले कालोझण्डा लिएर प्रदर्शन गरेका छन् ।

प्रदेशसभाबाट बहुमतले प्रदेशको नाम कोशी प्रदेश राखे पनि पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : वैशाख १५, २०८० १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?