कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गण्डकीमा अझै सुरु भएन नयाँ सरकार गठन प्रक्रिया

लालप्रसाद शर्मा

पोखरा — खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएर पदमुक्त भएको तीन दिन बितिसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुन सकेको छैन ।

गण्डकीमा अझै सुरु भएन नयाँ सरकार गठन प्रक्रिया

विशेषगरी कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो मुख्यमन्त्री बन्ने विषय पेचिलो बन्दा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन् । शनिबार प्रदेशसभाबाट विश्वासको मत नपाएपछि अधिकारी पदच्यूत हुन पुगेका थिए ।

आलोपालो मुख्यमन्त्री बन्नेबारे केन्द्रमा एक तहको समझदारी भए पनि पहिला कांग्रेस कि माओवादीबाट बन्ने भन्ने विषय पेचिलो बनेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका अधिकारीले विश्वासको मत गुमाएपछि अबको सरकार कसरी गठन हुने भन्ने पनि अन्योल देखिएको छ । संविधानको धारा १६८ को उपधारा २ या उपधारा ३ अनुसार सरकार गठन हुने भन्ने पनि अझै टुंगो लागेको छैन । उपधारा २ मा दुई या सोभन्दा बढी दलको बहुमतको सरकार र उपधारा ३ मा सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्न सकिने व्यवस्था छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङ अहिले केकसरी सरकार गठनका लागि आह्वान गर्ने भन्दै परामर्शमा छन् । ‘प्रदेश प्रमुख अहिले कानुनी परामर्शमा हुनुहुन्छ,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले भने । सातादिन अघि काठमाडौं गएका गुरुङ आइतबारमात्रै पोखरा फर्किएका थिए ।

कांग्रेस संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको सांसद डिल्लीराम सुवेदीले बताए । मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको भन्दै उनले तनहुँको उपनिर्वाचनलाई पनि हेरिएको र परिणामले पनि असर परेकाले कुनै पनि हालतमा पहिलो चरणमा मुख्यमन्त्री माओवादीलाई नदिइने बताए ।

यसका लागि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे आइतबार नै काठमाडौं गएका छन् भने कांग्रेसका केही सांसद 'डेलिगेसन' भन्दै सोमबार बिहानै गाडी चढेर काठमाडौं लागेका छन् । पहिलो चरणमा माओवादीलाई मुख्यमन्त्री दिने समझदारीको संकेत पाएपछि केही कांग्रेसी सांसद काठमाडौं हिँडेका हुन् । एक वर्षलाई मात्रै भए पनि मुख्यमन्त्री दिनुपर्ने अडानमा माओवादी छ ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अहिलेको सवाल गण्डकीको मात्रै नभएर संघ र सबै प्रदेशमा मिलाउनु पर्ने अवस्था रहेको बताए । ‘माओवादी र कांग्रेसबाट आलोपाले मुख्यमन्त्री बन्ने केन्द्रमा समझदारी भएको हो,’ उनले भने, ‘कांग्रेसका साथीहरु काठमाडौं जानु भएको छ । नेताहरुले के भनेर पठाउनु हुन्छ हेरौं ।’ उनले सर्वोच्च अदालतको फैसला अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुनुपर्नेमा जोड दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल रहेको छ । यसैगरी एमाले २२, माओवादी केन्द्र सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्रको एक सिट छ ।

प्रकाशित : वैशाख ११, २०८० १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?