कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राष्ट्र संचालकको लापर्बाहीले गणतन्त्र कमजोर : चित्रबहादुर केसी

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरूको लापर्बाही र गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् ।

राष्ट्र संचालकको लापर्बाहीले गणतन्त्र कमजोर : चित्रबहादुर केसी

अध्यक्ष केसीले राजनीतिक दलहरु विदेशीको इशारामा चल्दा देश कंगाल बन्न लागेको आरोपसमेत लगाए । उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र र लोकतन्त्र कमजोर भइरहने उनको भनाइ थियो ।

बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटन गर्दै केसीले स्वदेशी उत्पादनलाई विस्थापित गरेर आयातित सामानमा रमाउने नीतिले देशको आर्थिक स्थिति धरासायी भएको बताए ।

‘विषादी हालेको तरकारी ल्याएर खाने, गाउँका किसानले उत्पादन गरेको तरकारी फाल्ने प्रवृत्तिले हामी कंगाल बन्दैछौं,’ उनले भने, ‘सत्ताका लागि हुने छिनाझम्टी र चाकरीले नेपाली किसान मर्दैछन् ।’ उनले विदेशी शक्तिको चाकरी गर्न नेपाली किसानको उत्पादन बिक्री नभएको पनि बताएका थिए ।

विज्ञ सम्मेलनको क्रममा कृषि, पर्यटन र जलश्रोतमा आत्मनिर्भर बनाउन पहल गरिने विषयमा केसीले टिप्पणी गरेका थिए । उनले हरेक पालिका आफ्नै उत्पादनले निर्भर बन्न सकेमा आयात प्रतिस्थापन हुने तर्क गरेका थिए । यस्तै राष्ट्र निर्माणमा राजनीतिक दल, संचार क्षेत्र र जनता सचेत हुनुपर्ने उनको सुझाव थियो । ‘राजनीतिप्रति जनताको घोर वितृष्णा छ, तर जनताले तिनैलाई भोट दिन्छन्,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको गल्ती छैन, कार्यान्वयनमा समस्या छ ।’

यस क्रममा नेता केसीले राष्ट्रियताको खोल भिरेर सत्तामा पुगेपछि विदेशीको इशारामा चल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका थिए । साथै गणतान्त्रिक व्यवस्थामा राणा र पञ्चायतलाई सम्झने अवस्था आउन दिन नहुने उनको सुझाव थियो ।

कार्यक्रममा नगर प्रमुख नरबहादुर पुनले विज्ञ सम्मेलनको सुझाव, चुनावको प्रतिबद्धता र जनचाहना अनुसार नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शनिबार सुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनमा शिक्षा, स्वास्थ्य क्षेत्रका विज्ञसहित अर्थशाष्त्री, कृषि विज्ञ लगायत सहभागी छन् ।

प्रकाशित : चैत्र १८, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?