कोरोना संक्रमण

चिकित्सक भन्छन्- स्वास्थ्य मापदण्ड अपनाऔं र बुस्टर खोप लगाऔं

बुनु थारु

काठमाडौँ — तथ्यांकले कोरोना भाइरसको संक्रमण क्रमशः बढ्दै गइरहेको देखाएकाे छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा कुल ९१५ जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको जनाएको छ ।मन्त्रालयकाअनुसार याे ३ दिनमा प्राप्त एकमुष्ट विवरण हाे। हाल सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।

बुधबार कुल १ हजार ३३० जनाको परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको थियो । त्यसैगरी मंगलबार १ हजार ४२९ जनाको परीक्षणमा २४( ६ दिनमा प्राप्त एकमुष्ट विवरण) जनामा संक्रमण देखिएकोमा सोमबार १ हजार २६६ को परीक्षणमा ६९ जनामा संक्रमण पुष्टि भएको थियो । याे स‌ंख्या ४ दिनमा प्राप्त नमुनाकाे हाे ।

मन्त्रालयले सार्वजनिक गरेको एक हप्ताको तथ्यांक हेर्दा संक्रमण उकालो लाग्दै गरेको देखिन्छ । चैत ७ र ८ गते संक्रमण शून्यमा रहेकोमा त्यसयता दोहोरो अंकमा संक्रमण पुष्टि हुन थालेको छ ।

भारतमा संक्रमण बढ्न थालेसँगै त्यसको संकेत नेपालमा पनि देखिएको विज्ञहरु बताउँछन् । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार १६ नयाँ केशहरु पुष्टि भएका छन् । यो ६ महिनायता दैनिकरुपमा पुष्टि हुने संख्यामा सबैभन्दा हो । त्यसैगरी सक्रिय संक्रमितको संख्या १३ हजार ५०९ पुगेको छ । बुधबार २ हजार १५१ मा संक्रमण देखिएको थियो । महाराष्ट्र, दिल्ली, हिमान्चल प्रदेश, केरलामा संक्रमण बढिरहेको देखिन्छ ।

पछिल्ला केही दिनमा संक्रमण बढे पनि अस्पतालमै भर्ना हुनुपर्ने अवस्थाका बिरामी देखिएका छैनन् । नेपालमा पुनः कोभिड संक्रमण बढेसँगै विज्ञहरुले सतर्क रहन र संक्रमणको शंका लागे परीक्षण गराउन अनुरोध गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले विगतझैँ भारतमा संक्रमण बढेपछि नेपालमा पनि त्यसको प्रभाव परेको बताउँछन् । उनले भने, ‘खुला सिमाना भएकाले मानिसहरुको आवतजावत प्रशस्त हुन्छ ।त्यसैले पनि बढेको हो ।’ उनले फ्लू र कोभिडको लक्षण उस्तै-उस्तै हुनाले परीक्षण गराउन सुझाए । उनले स्वास्थ्यका मापदण्डजस्तै साबुनपानीले हात धुने, मास्क लगाउने लगायतका कुरा कोभिडलाई मात्र नभइ अरु रोगका लागि पनि सुरक्षित रहेकोले सदैव अपनाउनुपर्ने बताउँछन् ।

सरकारले गरेको पछिल्लो जीन सिकेन्विसङमा नेपालमा १७ वटा ओमिक्रोनका सवभेरिएन्ट देखिएको जनाएको थियो । हाल नेपालमा नयाँ भेरिएन्टको संक्रमण पुष्टि भइसकेको छैन र जीन सिक्वेन्सिङको काम समय–समयमा भइरहेको स्वास्थ्य मन्त्रालय बताउँछ । भारतमा देखिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट पहिलेको ओमिक्रोनका भेरिएन्टहरूको तुलनामा बढी संक्रामक रहेको छ । नेपालमा भने यो भेरिएन्ट पुष्टि भएको छैन ।

डा पुन भेरिएन्टबारे भन्छन्, ‘अहिले संक्रमण बढिरहेको एक्सबीबी.१.१६ भेरिएन्ट पनि हुन सक्छ । त्यही १७ वटा ओमिक्रोनको सवभेरिएन्ट म्युटेट भइरहेका हुन सक्छन् । अथवा तेस्रो मुलुकमा अरु भेरिएन्ट म्युटेट भइरहेका हुन सक्छन् ।’

उनले चीनमा अधिकांशले खोप नलगाएकै कारण लकडाउन खोल्नेबित्तिकै धेरैको मृत्यु भएको देखिएकाले कम्तीमा २ डोज भए पनि खोप लगाउन आग्रह गर्छन् । भन्छन्, ‘बुस्टर डोज लगाउनु त छँदैछ । कम्तीमा पनि दुई मात्राको खोप त लगाउनुस् । दुई मात्राको खोप लगाएपछि सुरक्षाको मापदण्ड पालना नगर्दा पनि चुनाव, चाडपर्व गए तर कोरोना बढेर अस्पताल भर्नै हुनुपर्ने देखिएन । यो खोपको प्रभावकारिता हो ।’ उनले स्वस्थ्य व्यक्तिले दोस्रो मात्राको बुस्टर डोज लगाउन अनिवार्य नरहे पनि ज्येष्ठ नागरिक, दीघरोगी तथा रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज लगाउन आग्रह गर्छन् ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा संक्रमण बढिरहेको तथ्यांकबाट देखिएको बताउँछन् । उनले स्वास्थ्यका मापदण्ड अपनाउन र छुटेकाले बुस्टर खोप लगाउन आग्रह गर्दै भन्छन्, ‘निगरानी बढाउने कुरामा सम्बन्धित निकायसँग समन्वय गरी काम अगाडि बढाएका छौँ । संक्रमण रोकथामको लागि हाम्रो व्यवहारको निरन्तरता पनि हो ।’

उनले सरकारले खोप कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउँदै अग्रपंक्तिमा रहेको, दीर्घरोगीलगायतलाई बुस्टर खोप लगाउन अनुरोध गर्छन् । कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिले बुस्टर खोप लगाउन छुटेकालाई सरकारले खोप दिइरहेको छ । ५५ वर्ष उमेरमाथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिले बुस्टर खोप लगाउन सक्ने छन् ।

प्रकाशित : चैत्र १६, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्

भारत आएका सांसदहरूको दाबी- ‘हामी विधिसम्मत नै आएका हौं’

‘भ्रमणलाई अनावश्यक विवादमा पार्ने काम भयो’
राजेश मिश्र

नयाँ दिल्ली — भारत भ्रमणमा रहेका प्रतिनिधिसभाका सांसदहरूले आफूहरू विधिसम्मत ढंगले आवश्यक प्रक्रिया पूरा गरेरै भारत आएको बताएका छन् । बिहीबार दिल्लीस्थित नेपाली दूतावासमा अन्तर्क्रियामा सहभागी भएका बेला सांसदहरुले आफूहरूको भ्रमणलाई अनावश्यक ढंगले बदनाम गराउने कोसिस गरिएको दाबी गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले आयोजक संस्थाले परराष्ट्र मन्त्रालयलाई आफूहरूको भ्रमणका बारेमा चिठी लेखेको तथा आफूहरूले संसदीय दल र संसद् सचिवालयलाई जानकारी दिएरै भारत आएको दाबी गरे ।

उनले देश–विदेशका भ्रमणहरू सबै सरकारी तहबाट मात्रै नहुने भन्दै विगतमा पनि गैरसरकारी संस्थाहरूले अध्ययन भ्रमण गराउँदै आएको भन्दै यसको नकारात्मक प्रचार सही नभएको बताए । अयोजक संस्थाले परराष्ट्र मन्त्रालयलाई चिठी लेखेपछि मन्त्रालयमार्फत दूतावासलाई जानकारी आउनुपर्ने उनको भनाइ थियो ।

उनले भ्रमणका क्रममा भएका भेटघाट र अन्तर्क्रियाहरू उपयोगी र महत्त्वपूर्ण भएको बताए । माओवादीका सांसद माधव सापकोटाले संसद् सचिवालयमा जानकारी तथा आ–आफ्ना दलबाट भ्रमण स्वीकृत गराएरै आएको बताए । दिल्ली बसाइको तीन दिनमा ९ स्थानमा भेटघाट र अन्तर्क्रिया भएको उनले जानकारी दिए । सबै कार्यक्रममा भारतीय विदेश मन्त्रालयका अधिकारीको उपस्थिति रहेको उनको भनाइ छ । ‘समग्रतामा संसदीय अभ्यासको अवलोकन भ्रमण सकारात्मक र ज्ञानवर्द्धक भएको छ,’ उनले भने, ‘नेपाल फर्केर यसलाई औपचारिक रुपमा लिपिबद्ध गरेर डकुमेन्ट बनाएरै संसद् सचिवालय र सरकारलाई बुझाउँछौं ।’

राजदूत शंकरप्रसाद शर्मासँगको अन्तर्क्रियामा भ्रमणका क्रममा भएका भेटघाट र अन्तर्क्रियाहरू उपलब्धीमूलक रहेको सबैजसो सांसदले बताएका थिए । राजदूत शर्माले दुई देशबीच रहेका मुद्दाहरूबारे सांसदहरूलाई अवगत गराएका थिए । उनले परराष्ट्र मन्त्रालय, संसद् सचिवालय वा भ्रमण आयोजक संस्था कतैबाट पनि दूतावासलाई सांसदहरूको भ्रमणबारे जानकारी नआउँदा भ्रमण तयारी वा समन्वयमा सन्दर्भमा दूतावास सक्रिय हुन नसकेको उल्लेख गरेका थिए ।

एउटा एनजीओले समन्वय गरेर प्रतिनिधिसभाका १२ जना सदस्य मंगलबार दिल्ली आएका हुन् । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपाल नामको संस्थाले समन्वय गरेर सांसदहरूलाई दिल्ली ल्याएको हो । एकै साथ ठूलो संख्यामा सांसदहरू ९ दिनको भारत भ्रमणमा आएका हुन् । संसद चलिहरेका बेला विभिन्न पार्टीका सांसदहरू संसद् सचिवालयलाई जानकारी नगराइकनै भ्रमण आएको र त्यसको जानकारी दिल्लीस्थित नेपाली दूतावासलाई समेत नरहेको कुरा बाहिरिएपछि सांसदहरूको भ्रमण विवादित बन्न पुगेको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा मैना कार्की, प्रतिमा गौतम, शान्ति विक र सीता मिजार छन् । एमालेका मेनुका पोखरले, बलराम अधिकारी, नारयाण आचार्य, सराज अहमद फारुक छन् । त्यस्तै, माओवादी केन्द्रका माधव सापकोटा, मिना तामाङ छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढककुमार श्रेष्ठ र नेकपा समाजवादीका शेरबहादुर कुँवर भ्रमण टोलीमा सहभागी छन् ।

सांसदहरूले भारतको लोकसभामा भारतको संसदीय व्यवस्था प्रणालीकका सम्बन्धमा छलफल भएको बताएका छन् । त्यसबाहेकको विभिन्न छलफल र अन्तरर्क्रियाहरू पनि दुई देशको सम्बन्धका लागि उपयोगी रहेको बताएका हुन् । एमालेका सांसद बलराम अधिकारीले आफूहरूको भ्रमणबारे केही अस्पष्टता देखिए पनि पार्टीगत रुपमा आधिकारीक जानकारी र बिदा लिएरै आएको बताए । उनले भारतले गरेको विकास र भारतले नेपाललाई कसरी हेर्दै छ भन्नेजस्ता विषयमा भारतीय संसद् र नीति आयोग, उद्योग व्यापारी, ऊर्जा उत्पादनमा जोडिएका संस्थाहरूसँग छलफल गरिएको बताए ।

प्रकाशित : चैत्र १६, २०७९ १८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×