सचिव डा. महेश अधिकारीले नपाएको ‘प्राध्यापक’ राखेर पत्राचार गरेपछि प्राज्ञहरूले नै तेर्स्याए नैतिक प्रश्न
काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)का सचिव डा. महेश अधिकारीले आफूले आफैलाई प्राध्यापक दाबी गर्दै विभिन्न निकायलाई पत्राचार गरेको पाइएको छ । नामको अगाडि प्राध्यापक लेखेर विभिन्न ठाउँमा पत्राचार गरेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ ।
गत असारमा नास्टले आयोजना गरेको ९ औं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनमा नामको अगाडि प्राध्यापक लेखेपछि नास्टका केही प्राज्ञले उनीमाथि प्रश्न उठाएका थिए । त्यसअघि पनि उनले नास्टले निकाल्ने नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजीमा आफ्नो नामको अगाडि प्राध्यापक राखेका छन् । नास्टका प्रशासनिक पत्रहरूमा प्राध्यापक लेख्ने गरेका छन् ।
पछिल्लो समय नास्टले निकालेको पुस्तक ‘नास्टको चालीस वर्ष’ मा नामको अगाडि प्राध्यापक लेखेपछि प्राज्ञहरुले पदीय आचरणविरुद्ध काम गरेको भन्दै सचिव अधिकारीमाथि नैतिक प्रश्न तेर्स्याएका हुन् ।
वनस्पति विभागबाट उपमहानिर्देशक पदबाट सेवानिवृत भएका अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नास्टको सचिवमा करिब ४ वर्षअघि नियुक्त गरेको थियो । उनले आफ्नो व्यक्तिगत विवरणमा समेत प्राध्यापक लेख्दै आएका छन् ।
सचिव अधिकारीले नामको अगाडि प्राध्यापक उल्लेख गर्दै काठमाडौं विश्वविद्यालयका उपकुलपतिलाई पठाएको चिठ्ठी । तस्बिरः कान्तिपुर
वनस्पति विभागकै कार्यरत छँदा उनले २०५५ सालमा विद्यावारिधि गरेका थिए । त्यसको तीन वर्षपछि पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि क्याम्पसमा एक वर्ष प्रमुखका रूपमा काम गरेका थिए । त्यसैको आधारमा उनले नामको अगाडि प्राध्यापक लेख्दै आएका छन् । एक वर्ष क्याम्पस प्रमुख भएकै आधारमा उनले नामको अगाडि प्राध्यापक लेखेको भन्दै नास्टका प्राज्ञ तथा वास्तविक प्राध्यापकहरूले नैतिक प्रश्न उठाएका हुन् । यससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
नास्टका प्राज्ञ एवं त्रिभुवन विश्वविद्यालयका विज्ञान तथा प्रविधि अध्ययन संस्थाका डिन प्रा. डा. विनिल अर्याल कुनै पनि व्यक्तिले आफ्नो नामको अगाडि प्राध्यापक लेख्नका लागि सो पदमा बहाल भएको हुनुपर्ने र विश्वविद्यालयको सेवा आयोगले लिने प्राध्यापक पदको परीक्षाबाट पास भएको व्यक्तिले मात्रै नामको अगाडि प्राध्यापक लेख्न पाउने बताउँछन् । नियुक्ति नै नभइकन कसैले पनि नामको अगाडि प्राध्यापक लेख्न नपाउने उनले बताए ।प्राध्यापक र क्याम्पस प्रमुख भन्ने विषय फरक भएको उनको भनाइ छ । ‘क्याम्पस प्रमुखमा प्राध्यापक नभएको व्यक्ति पनि हुन सक्छ । क्याम्पस प्रमुख हुनेबित्तिकै प्राध्यापक नै हुन्छ भन्ने हुन्न,’ प्रा.डा. अर्यालले कान्तिपुरसित भने ।
४/४ वर्षमा हुने नास्टको विज्ञान सम्मेलनमा सचिव डा अधिकारीले आफ्नो नामको अगाडि प्राध्यापक लेखेका थिए ।
१० वर्षसम्म अटुट पूर्णकालीन रूपमा सेवा गरेको, अनुसन्धानात्मक कृति प्रकाशित गरेको वा तोकिएको निश्चित मापदण्ड पूरा गरेको व्यक्तिले मात्रै प्राध्यापक हुनका लागि योग्य हुन्छन् । हुँदै नभएको प्राध्यापक लेख्दा भने नैतिक प्रश्न उठ्ने अर्यालको भनाइ छ । ‘उपाधि भनेको आफूले लिने हो । कसैले आफैले स्वघोषणा गर्छ भने त्यो तल्लोस्तरको काम हो । त्यस्तालाई हदैसम्मको कारबाही हुनुपर्छ,’ उनले भने ।
सचिव अधिकारीले नास्टका प्राज्ञ एवं प्राध्यापकहरूलाई पत्राचार गर्दा भने आफ्नो नामको अगाडि प्रा.डा. नलेखी डा. मात्रै लेख्ने गर्छन् । अर्यालले पनि आफूलाई अधिकारीबाट प्राप्त पत्रमा प्राध्यापक नलेखी डा. मात्रै हुने गरेको बताए । त्यस्तै कार्यकक्ष बाहिरको नेमप्लेटमा पनि उनले डा. मात्र लेखाएका छन् ।
सचिव डा अधिकारीले आफ्नो कार्यकक्षको नेम प्लेट । उनले आफ्नो नेम प्लेटमा प्राध्यापक उल्लेख नगरी व्यक्ति अनुसार पठाउने पत्रमा प्राध्यापक लेख्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रामकैलाश यादव परीक्षा दिएर तोकिएको मापदण्ड पूरा गरी सम्बन्धित विश्वविद्यालयको कार्यकारी परिषद्ले नियुक्ति पत्र दिएर पदभार ग्रहण पछि मात्रै प्राध्यापक लेख्न पाउने बताउँछन् । ‘प्राध्यापक नियुक्ति एउटा प्रक्रिया हुन्छ । त्रिविको हकमा सेवा आयोगले लिखित र अन्तर्वार्ता दिएर नियुक्ति पत्र लिएपछि मात्रै हुन्छ,’ यादवले भने ।
विश्विद्यालयहरूमा पर्याप्त अनुसन्धानात्मक कृति प्रकाशन गरेर, निश्चित अवधिसम्म पूर्णकालीन रूपमा अध्यायपन गराएको र तोकिएको मापदण्ड पूरा गरी परीक्षा दिएर पास भएर सेवा आयोगले नियुक्ति पत्र दिएपछि पदमा नियुक्त भएको मानिन्छ । उनले भने, ‘सरकारी कर्मचारी अवकाश पाएपछि पूर्व भनेर हुन्छ तर प्राध्यापन पेसामा सेवा निवृत्त भएपनि सधैंको लागि प्राध्यापक हुन्छ ।’
नास्टकी प्राज्ञ एवं त्रिविकी प्राध्यापक डाक्टर अन्जना सिंह हुँदै नभएको पदको अगाडि प्राध्यापक लेख्न नपाइने बताउँछिन् । उनी निश्चित मापदण्ड पूरा गरेको व्यक्ति मात्रै प्राध्यापक हुन पाउने बताउँछिन् । व्यक्तिले आफैं हुँदै नभएको पदमा नामको अगाडि कसैले प्राध्यापक लेख्छ भने त्यसमाथि प्रश्न उठ्ने उनले बताइन् । ‘कसैलाई मनार्थ विद्यावारिधि दिएको हुन्छ तर त्यसो हुँदैमा नामको अगाडि डाक्टर वा पीएचडी लेख्नेमाथि नैतिक प्रश्न अवश्य उठ्छ,’ उनले भनिन्, ‘प्राध्यापक पदमा हुँदै नभएकाले आफैं लेख्न मिल्दैन ।’
प्राध्यापक टंकनाथ धमला दुई वटा तरिकाले प्राध्यापक नियुक्ति हुने गरेको बताउँछन् । ‘विश्वविद्यालयमा प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, र टिचिङ असिस्टेन्ट (शिक्षण सहायक) क्याटेगोरी छ, जुन पद हो नामको अगाडि त्यही लेख्ने हो,’ डाक्टर धमलाले भने, ‘प्राध्यापक हुनका लागि सेवा आयोगको विज्ञापन हुन्छ । फूल प्राध्यापक नै हो भनेर नियुक्ति हुनुपर्यो । अनि मात्रै लेख्न पाइन्छ । सहसचिवले सचिव हो भनेर लेख्नै पाइँदैन नि । त्यस्तै हो प्राध्यापक भनेको पनि जे हो त्यही मात्रै लेख्नुपर्छ । ’
नास्टले २ महिनाअघि निकालेको पुस्तकमा सचिव अधिकारीको प्राध्यापक उल्लेख गरेको विवरण ।
सचिव अधिकारीले नामको अगाडि प्राध्यापक के आधारमा लेख्नु भएको भन्ने प्रश्नमा उनले आफूलाई पूर्वाञ्चल विश्वविद्यालयले नियुक्ति दिएको दाबी गरे । प्राध्यापक लेख्नका लागि विश्वविद्यालयबाट प्राप्त केही आधार वा कुनै प्रमाण छ भन्ने प्रश्नमा उनले ‘उतै विश्वविद्यालयमा बुझ्नु नि । मेरो मिटिङ छ’ भन्दै फोन काटिदिए ।
यस्तै, पूर्वाञ्चल विश्वविद्यालयले अस्थायी रूपमा नियुक्ति भएर क्याम्पस प्रमुख पद भएर सेवा सुविधा प्राध्यापक वा सो सरह लेखे पनि नामको अगाडि प्राध्यापक लेख्न नपाइने बताएको छ । विश्वविद्यालयले आफ्नो अभिलेखमा प्राध्यापक अधिकारी नरहेको बताउँदै उनको कुनै दरबन्दी र अभिलेखमा नाम नभएको जनाएको छ ।
बीपीका उपकुलपति गिरीको प्राध्यापक उपाधि नै किर्ते
च्याउ विज्ञ रहेका अधिकारी लामो समयसम्म वनस्पति विभाग र त्यसमातहतको कार्यालयमा काम गरेर सहसचिव पदबाट अवकाश पाएका सरकारी कर्मचारी हुन् । यस विषयमा पूर्वाञ्चल विश्विद्यालयका कर्मचारी प्रशासन शाखाले अधिकारी २०५८ सालको माघदेखि २०५९ सालको माघसम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत रहेको तर प्राध्यापक पदमा नरहेको जवाफ दिएको छ । विश्वविद्यालयको कर्मचारी प्रशासन शाखाका वरिष्ठ अधिकृत सुकेश कर्णले अधिकारीको नियुक्ति प्राध्यापक नभएको बताए । उनले कान्तिपुरसित भने, ‘उहाँ एक वर्ष कम गरेर फर्कनु भएको हो । प्राध्यापक नै भनेर नियुक्ति दिइएको छैन । प्राध्यापकका लागि निश्चित अवधि अध्यापन गराएको, परीक्षा दिएर, मापदण्ड पूरा गरेर सेवा आयोगले नियुक्ति पत्र दिएपछि मात्रै हुने हो नि !’
नास्टको जर्नलमा प्राध्यापक उल्लेख गरिएको अधिकारीको विवरण । उनी यो जर्नलको सल्लाहकार छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा उप/सहप्राध्यापक भएको ८/१० वर्षपछि प्राध्यापक पदका लागि परीक्षा वा आवेदन दिन सक्छन् । त्यसका लागि उनीहरूले विश्वविद्यालयको सेवा/सर्त तथा तोकिएको मापदण्ड पूरा गरेर मात्रै परीक्षा दिन पाउछन् । परीक्षामा उर्त्तीण भएपछि अन्तर्वार्तापछि उनीहरूलाई सेवा आयोगले प्राध्यापक पदमा नियुक्ति भएको पत्र दिने गर्छ ।
यसका अतिरिक्त अन्तर्राष्ट्रिय कृति तथा प्रकाशनको आधारमा समेत प्राध्यापक नियुक्ति दिने गरिन्छ । यसअघि बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पनि नामको अगाडि प्राध्यापक लेखेपछि उनी प्राध्यापक नै नरहेको पुष्टि भएको थियो ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ मा राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले आफूले नपाएको ओहदा, अधिकार, हैसियत वा सुविधा पाएँ भनी वा कुनै राष्ट्रसेवकको ओहदा, अधिकार, हैसियत वा सुविधा प्रयोग गरे वा नपाएको ओहदासम्बन्धी चिह्न, पोसाक वा निस्सा देखाए राष्ट्रसेवकको ओहदासम्बन्धी चिह्न, पोसाक वा निस्सा हो भन्ने अरूले विश्वास गरुन् भन्ने मनसायले त्यस्तो चिह्न, पोसाक वा निस्सा जस्तो देखिने कुनै कुरा लगाए वा देखाए कुसरको मात्राअनुसार एक वर्षदेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
