कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

प्रधानमन्त्रीले भने- विदेशमै रहँदा परराष्ट्रमन्त्रीको पद नजाओस् भनेर भ्रमण रोकेको हुँ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको बताएका छन् । सोमबार दिउँसो एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै अपमान हुनेगरी भ्रमण नरोकेको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका हुन् ।

प्रधानमन्त्रीले भने- विदेशमै रहँदा परराष्ट्रमन्त्रीको पद नजाओस् भनेर भ्रमण रोकेको हुँ

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् । प्रधानमन्त्री दाहालले विदेशमै रहेका बेला मन्त्री पद जाँदा नराम्रो हुने भएकाले भ्रमण रोकेको बताएको एमालेबाट भूमि व्यवस्थामन्त्री बनेका राजेन्द्र राईले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै राईले भने, 'उहाँले पछि पनि सहकार्य हुन्छ भन्नुभयो । हामीले मन्त्री पदबाट दिएको राजीनामापत्र बुझायौँ । उहाँले विमलाजीलाई अपमान गर्नेगरी भ्रमण नरोकेको बताउनुभयो । उहाँले ०६५ सालको घटना मनमा सम्झेँ भन्नुभयो ।' २०६५ सालमा दाहाल नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका उपेन्द्र यादव विदेश भ्रमणमै रहेका बेला मन्त्री पदबाट हट्नु परेको थियो । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा दाहालले ९ महिनामै सरकार छाडेका थिए ।

त्यस्तै जेनेभामा पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाउने निर्णय परराष्ट्रमन्त्रीकै सल्लाहमा भएको पनि दाहालले बताएको राईले बताए ।

दाहाल मन्त्रिपरिषद्‍मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको मा‌ओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

प्रकाशित : फाल्गुन १५, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?