कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर- समाचार - कान्तिपुर समाचार

कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा : नेता महर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा नेपाली कांग्रेस सधैँ सतिसाल झैँ खडा हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैं उभिने बताए। 

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उनको धारणा थियो । 'जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन् । यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,' उनले भने ।

अझ स्वतन्त्र प्रेसबिना त झन् लोकतान्त्रिक व्यवस्थाले ठीकसँग काम नै गर्न नसक्ने उनको धारणा थियो । लोकतान्त्रिक व्यवस्थाबिना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पूरा हुन नसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिए ।

'नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ । कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ । लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं । फेरि भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैं उभिन्छौं,' उनले भने ।

उनले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गरे ।

प्रकाशित : माघ २५, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्

टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

टर्की नेपालको असल मित्रराष्ट्र भएकाले सहयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
परराष्ट्र पौड्याल र टर्कीका विदेश मन्त्री चाबोश्वग्लु बीच टेलिफोन कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीमा गएको विनासकारी भूकम्पपीडितका लागि राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सहयोग गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले भने, 'टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दु:खमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौं ।'

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको हो ।

नेपाल सरकारले विनाशकारी भूकम्पबाट प्रभावित टर्कीलाई सहायता गर्न भूकम्प उद्धारका लागि आवश्यक हाडजोर्नी विशेषज्ञसहितका स्वास्थ्यकर्मीलाई पठाउन तयारी थालेको हो ।

‘टर्कीबाट उद्धारपछि तत्काल उपचार गर्नका लागि सहायता भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा आएपछि सहायताका लागि स्वास्थ्यकर्मीसहितको टोली पठाउने निर्णय भएको हो,’ परिषद्का सदस्य सचिव रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले भने । उनका अनुसार टर्कीमा पठाउने खोज, उद्धार र राहत सम्बन्धी टोलीमा को कसलाई र के पठाउने भन्ने बुधबार बेलुकीसम्ममा टुंगो लगाइने छ ।

परराष्ट्र पौड्याल र टर्कीका विदेश मन्त्री चाबोश्वग्लु बीच टेलिफोन कुराकानी

परराष्ट्रमन्त्री विमला राई पौड्यालले बुधबार टर्कीका विदेश मन्त्री मेबलुट चाबोश्वग्लुसँग टेलिफोन सम्पर्क गरी शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गरेकी छन् ।

टेलिफोन कुराकानीमा मन्त्री पौड्यालले नेपालको तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएको मन्त्रीको सचिवालयले जनाएको छ । कुराकानीमा पररष्ट्रमन्त्री पौड्यालले टर्कीमा रहेका नेपालीहरुलाई सुरक्षित क्षेत्रमा सारिदिन आग्रसमेत गरिन् ।

नेपालले २०७२ सालमा भूकम्पको विपद् व्यहोरिसकेकाले यस प्रकारको प्राकृतिक विपत्तिका बेला नेपाल सरकारले सधैं आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि परराष्ट्र मन्त्री पौड्यालले व्यक्त गरिन् ।

टर्कीका विदेशमन्त्री चाबोश्वग्लुले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगमा भूकम्पमा परेका नागरिकको उद्धार कार्य जारी रहेको जानकारी दिँदै उनले नेपाल सरकारलाई धन्यवाद दिए । टर्कीमा सोमबार बिहानै ७.८ रेक्टर स्केल म्याग्निच्युटको भूकम्प गएको थियो भने दिउँसो पुन: ७. ५ रेक्टर स्केल म्याग्निच्युटको पराकम्प गएको थियो । त्यसयता दर्जनौं पराकम्प गइरहेको बताइएको छ । भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ९ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित : माघ २५, २०७९ १५:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×