कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ पसे बजार‚ विदेश लागे हटारु

सुर्खेत — चार दशक अघिसम्म हाट आउजाउका लागि जे चलन थियो, त्यो अहिले किंवदन्ती जस्तो सुनिन्छ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकास्थित टोड्केकी ६४ वर्षीया बिर्मी ओली सम्झन्छिन्, ३५ वर्षअघि उनी पहिलोपटक ८ धार्नी (४० माना) घिउ बोकेर हाट पुगेकी थिइन् ।

गाउँ पसे बजार‚ विदेश लागे हटारु

न सजिला बाटा, न त सवारीसाधन । भारतीय बजार रुपैडिहा पुग्न ९ दिनको पैदल यात्रा गर्नुपरेको थियो । गाउँका ज्योतिषले परिवारका ९ जनामध्ये हाट भर्नका लागि उनको मात्र नाममा साइत शुभ देखिएको बताएका थिए ।

‘हाट गएको मान्छे जिउँदो आउँछ कि आउँदैन भन्ने टुंगो हुँदैनथ्यो, त्यसैले जान साइत जुराइन्थ्यो,’ उनले भनिन्, ‘त्यो बेला बाटोमा नापेरै खाना खान्थ्यौं । ठाउँअनुसार बास बस्ने ओडार र जंगल पनि भिन्नभिन्न हुन्थे ।’ पहिलोपल्ट उनीसहित ७ किशोरीले सीमापार बजारको यात्रा तय गर्दा हटारु टोलीमा टोड्केका १७ जना पुरुष थिए । उनको टोली खाली खुट्टै सल्यान, रोल्पा, दाङ, नेपालगन्ज छिचोल्दै रुपैडिहा पुगेको थियो । ‘अगाडि गएको हटारु जता हिँड्यो अरू पनि त्यतै–त्यतै हिँड्थे, बाटाहरू अहिलेजस्तो बाटो सजिलो थिएन,’ उनले भनिन्, ‘लग्दा, कपुरकोट र बिउरेनीको उकालो काट्न त पूरै एक दिन लाग्ने, उकालो काट्न नसके जंगलमै बास ।’ त्यो बेला पुल नभएका कम्तीमा २ सय खोला तरेको उनले बताइन् । खोला तर्दा र उकालो चढ्दा मंगल कामना गर्थे ।

अहिले उनी हरेक महिना कम्तीमा दुईपल्ट स्थानीय झुल्नेटा बजार पुग्छिन् । गत बुधबार उनी डोकामा १८ माना घिउ र ५ पाथी सिमी बोकेर झुल्नेटा पुगेकी थिइन् । घिउ प्रतिमाना ५ सय र सिमी प्रतिकिलो २ सय ६० रुपैयाँमा बेचेपछि आफूलाई चाहिने खाद्यान्न र लत्ताकपडा खरिद गरी दुई घण्टामै घर फर्किइन् । ‘केही छुटे फेरि अर्को हप्ता आउला,’ उनले भनिन्, ‘अरू ठाउँमा त गाडीले घरघरै सुविधा ल्याइदिएको छ, हामी भने अहिले पनि हाट आउन बाध्य छौं ।’

तीन दशक अघिसम्म हाट जाँदा बास बस्दैबस्दै ५ दिनमा दाङ पुगिन्थ्यो भने त्यहाँबाट थप ४ दिन हिँडेर नेपालगन्ज । यताबाट जाँदा भारी पुग्नेगरी घिउ र बाटोमा खाने सातुचामल लिएर गएका हटारुहरू उताबाट फर्कंदा पनि कम्तीमा ३ महिना पुग्ने नुन, लत्ताकपडा र भाँडाकुँडा ल्याएर आउने गरेका थिए । ‘हटारुको ठूलो जत्था हुने भएकाले हिँड्दा रमाइलै हुन्थ्यो, बास बस्ने र खाना खाने ठाउँमा नाचगान गर्थ्यौ । अहिले त त्यो कुरा कथाजस्तै भइसक्यो,’ उनले भनिन्, ‘खाली खुट्टा नेपालगन्ज पुग्दासम्म सबैजसो बिरामी पर्थ्यौ, कतिपय हटारुको त बाटोमै ज्यान जान्थ्यो ।’

पश्चिम रुकुमकै मग्मास्थित सिद्धार्थ जनता माविका प्रधानाध्यापक नदिराम खत्री २०३९ को पुस महिनामा पहिलोपल्ट कक्षा ६ पढ्दै गर्दा हाट गए । गाउँका २६ जनासँगै हाट जाने गरी टोली निस्किएको थियो । डोकोमा घिउले भरिएको टिनको बाकस, ४ पाथी पिठोको थैलो र मकैको ५ पाथी खाजा बोकेर घोराही हाट हिँडेका उनीहरूको टोली सदरमुकाम मुसीकोट पुग्दा झन्डै २ सय हटारु मिसिइसकेका थिए । उनीहरू मुग्लुखोला, सिम्रुतु, दलसिङे, तिखेचुला, तिखेचुला, जिनाबाङ, राइबाङलगायत गाउँमा बास बस्दै ५ दिनमा दाङ पुगे । ‘अरु बेला समूहमै मिलेर हिँड्थ्यौं, जब बास बस्ने ठाउँ आउँथ्यो, आफन्तलाई समेत उछिनेर अगाडि गई सुत्ने ठाउँको जोहो गर्नुपर्थ्यो,’ उनले भने, ‘यताउति गएर दाउरा बटुलेर ल्याई हातले रोटी बनाएर खान्थ्यौं । दिउँसो भोक लागे कम्बलको गादोमा राखिएको भुटेको मकै खाँदै भारी बिसाउँथ्यौं ।’ उनका अनुसार हाट जाने समूहमा एक जना नेता हुन्थ्यो जसलाई ‘माझी’ भनिन्थ्यो । किनमेल गरेको ठाउँमा व्यापारीले टोली नेतालाई पगरी गुथ्न सित्तैमा कपडा दिन्थे । त्यसको झन्डै २ वर्षपछि उनले पनि त्यो पगरी गुथ्न पाए । उनले हाट गएकै बेला घोराहीबाटै ६ र ७ को किताब रुकुम लगेर पढेका हुन् ।

खत्रीले पहिलोपल्ट घोराहीबाट फर्किर्दां ७ नम्बर (३५ किलो नुन), परिवारका सदस्यलाई वर्षभरि पुग्ने कपडा, कापी किताब र १ नम्बर भेली (गुड) ल्याएका थिए । ‘हाटबाट फर्कदा डोकोमा सानो ठाउँ पनि खाली राख्दैनथ्यौं, जतिसक्दो सामान कोचिन्थ्यो,’ उनले भने, ‘अरु ठाउँमा त मन लागेजति डोको बिसाउन पाइन्थ्यो तर दाङको कागपानी उकालोमा एक मिनेट मात्र विश्राम गर्न दिइन्थ्यो ।’ उनले त्यो बेला हिँडेको १४ दिनमा घर पुगेको बताए । उनका अनुसार हाट गएर आएको हटारुलाई २ दिनसम्म विश्राम हुन्थ्यो भने खानामा घिउ–भात दिएर स्वागत गरिन्थ्यो ।

हाट जाने कुरा नुन, सुन र ऊनसँग सम्बन्धित रहेको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘अरू कुरा त गाउँमै पाइन्थे, बनाउन पनि सकिन्थ्यो,’ उनले भने, ‘३ कुरा गाउँमा सम्भव नभएपछि भारत नजिक पर्नेहरू हाट र चीनसँग नजिक हुनेहरू भोट गएका हुन् ।’ उनका अनुसार त्यसबेला हटारुले प्रयोग गर्ने डोको विशेष प्रकारका हुन्थे । निगालाले बनाइएका, बिट र टुप्पोमा जाला भएका । ‘जसमा डोकोभन्दा बढी सामान अट्थ्यो र काँधको छाला नखुइलियोस् भनेर राडीपाखीलाई पट्याएर राखिन्थ्यो,’ उनले भने, ‘त्यसलाई घरमै बाटेको अल्लाको बरियोले बोकिन्थ्यो ।’

४२ वर्षअघि पहिलो पटक ८ धार्नी (४० माना) घिउ बोकेर १८ दिनको पैदल हिँडेर कैलालीको चिसापानी हाट पुगेका कालीकोटको कोटबाडाका ६३ वर्षीय भिउसन विष्टले ४० को दशकअघिसम्मको समय हाट जाँदा र आउँदा नै बिताए । उनी जीवनमा झण्डै १५ पल्ट हाट गएको सम्झिन्छन् । ‘सुरुमा त चिसापानी नै पुग्यौं, पछि सुर्खेत, दैलेख, मान्म हुँदै हाट गाउँतिर सर्दै आयो, चिसापानी पुग्दाका दुःख त भनिसाध्यै छैन, न बाटो न पुल न बास बस्ने ठाउँको टुंगो, जहाँ रात पर्‍यो त्यही बस्थ्यौं, घरबाट जे लियो त्यही खान्थ्यौं,’ उनले भने, ‘आफ्नै जिल्ला छिचोल्न ४ दिन लाग्थ्यो, दैलेख र सुर्खेतमा थप ४/४ दिन काटेपछि मात्र तराई झरिन्थ्यो । पानीको साह्रै दुःख पानीका मुहान भेटिएपछि धित मरुन्जेल पानी पिउथ्यौं, पानी नपाए दिनभरि भोकै ।’ त्यसबेला हाट जाँदा भेट भएका र बास बसेका ठाउँमा ७ जनासँग मित लगाए । जाँदा १५ दिन र फर्कदा १८ दिन लागेको थियो । कर्णालीमा कर्णाली राजमार्गको विस्तारपछि २०५४ पछि दैलेख, कालीकोटभन्दा तल हाटको परम्परा कम भएको उनको भनाइ छ ।

कर्णालीमा हाट जाँदा र फर्कदा एक महिना लागेका उदाहरण पनि छन् । डोल्पाका अगुवा धनराम बुढाथोकीका अनुसार दुनैबाट रुकुमको गोतामकोट, आठबीस, मुसीकोट, सल्यान, रोल्पा हुँदै दाङ झरेर त्यहाँबाट नेपालगन्ज हाट जाँदा कम्तीमा २० दिन लाग्थ्यो । उनका अनुसार भारतीय बजार टाढा भएपछि डोल्पालीहरू चिनियाँ सीमातिर हाट जान थालेका हुन् । अहिले डोल्पाबाट हिँडेर भोट जाँदा पनि ६ दिनसम्म लाग्छ । ‘जसले सबैभन्दा ठूलो घिउको भारी लिन सक्यो, उ नै गाउँको बलियो हुन्थ्यो,’ उनले भने, ‘उताबाट फर्कंदा पनि उसैले नै सबैभन्दा बढी सामान ल्याउन पाउँथ्यो ।’ त्यसबेलाका हटारुहरूले यति दिनमा घर फर्किन सकिन्छ भनेर अन्दाज गरेर त्यति नै दिनलाई पुग्ने सातुचामल लैजाने गरेको उनी बताउँछन् । ‘भारी बोक्दाखेरी जुन काम्लो पिठ्युँमा राख्थ्यौं, राति त्यही ओढ्थ्यौं, बास बस्ने ठाउँमा रुखका स्याउलाहरू बटुलेर त्यसैको ओछ्यान बनाइन्थ्यो,’ उनले भने, ‘उता जाँदा फापर, जौं, उवा लगेर त्यहाँको नुनसित साटासाट हुन्थ्यो ।’ बुढाथोकीका अनुसार त्यबेला ऊनबाट सबै लुगाहरू बनाइन्थ्यो । टोपीदेखि लिएर राडीपाखीसम्म सबै लगाउने कपडा ऊनबाट नै बन्ने हुँदा त्यो बेला ऊन र नुन, सुनभन्दा पनि माथि थियो । उनी पहिलोपल्ट २०२५ सालमा नेपालगन्ज हाट गएका थिए । रुकुमको गोतामकोट आउन मात्रै ८ दिन लागेको थियो भने हाटबाट घर पुग्दा बाटैमा ३० दिन बिताउनुपरेको उनी सम्झिन्छन् ।

‘हाट जाने र भोट जाने’ कर्णालीको पुरानो परम्परा भएको मानवशास्त्री डा. जनक राईले बताए । यो परम्परा कर्णालीको सामाजिक, सांस्कृतिक, उत्पादन प्रणाली, जीवन वृत्ति, राजनीतिक र आर्थिक जीवनसँग अन्तरसम्बन्धित थियो । ‘यो क्षेत्रको स्थानीय निर्वाहमुखी आर्थिक प्रणालीको अभिन्न अंग व्यापार–वस्तु विनिमयसित सम्बन्धित थियो,’ उनले भने, ‘यो प्रचलन अहिलेको बजार संस्कृति र बजार अर्थ प्रणालीजस्तो पूरै नाफामुखी र व्यक्तिपरक थिएन ।’ उनका अनुसार हाट जाँदा बाटोमा पर्ने सबै ठाउँमा इष्टहरू बनाउने र मित लगाउने चलन थियो । जसले त्यो समयमा हटारूहरूको हिमालदेखि तराईसम्मका मानिसहरूसँग मित्रता हुन्थ्यो । वस्तु विनिमयमार्फत विगतमा हटारूहरूले भूगोल र विविध समुदायलाई जोड्दै कर्णालीमा क्षेत्रीय र राष्ट्रिय संस्कृतिको निर्माणमा ठूलो योगदान गरेको उनको भनाइ छ ।

मानवशास्त्री जगबहादुर बुढाका अनुसार साविक कर्णाली अञ्चलमा हटारुहरूका चारवटा प्रमुख रुटहरू थिए । हुम्लाको ताक्लाकोट र लाप्चा, मुगुको नाक्चा, डोल्पाको मरिम, कान्कुन, र क्याटो । त्यस्तै मुगु–करण र जाजरकोट हुँदै दैलेख, डोल्पा फोक्सुन्डो हुँदै बाजुरा र अछाम तथा डोल्पाको मरिम र क्याटो हुँदै रुकुम र जाजरकोट पनि त्यसबेला भोट जाने रुट हुन् । यी नाकाहरूबाट हुम्ली, मुगाली र डोल्पोका आदिवासीहरूले नुन र ऊन ल्याउने गरेको उनी बताउँछन् । ‘तिब्बत पठार र मरुभूमि भएकोले त्यहाँ नुन हुन्थ्यो र कर्णालीमा अन्न, दुवैमा एक अर्काको आवश्यक्त थियो,’ उनले भने, ‘त्यही दुई क्षेत्रबीचको वस्तुको आपूर्ति हटारुहरूले गर्थे ।’

घट्यो हाट, हटारु बने यात्रु

बैंसमा हाट धाउदाका दिन न बाटो थिए, न त गाडी । अहिले ती हटारुहरू गाडी चढेर यात्रा गर्छन् । ‘अब गाडीसँगै गाउँमा सुख पनि पुगे,’ डोल्पाको त्रिपुरासुन्दरी–४ का कमल बुढाले भने, ‘अहिले त एकैदिनमा सहर पुग्न सकिन्छ । गाउँका उब्जनीले बजार पाएको छ, दैनिक चाहिने सामान पनि घरसम्म पुग्छ ।’

हाट–बजार अहिले गाउँमै पुगेको कालीकोटको सान्नीत्रिवेणी–६ मेहेलमुडीका नवराज संज्यालले बताए । ‘गाउँको उत्पादनले बजार पाएपछि सामान बेच्न मुगलान पस्ने चलन पनि घट्यो,’ उनले भने, ‘कुनै बेला घिउ बेच्न पनि बर्दियाको राजापुरसम्म पुग्नुपर्थ्यो । अहिले व्यापारीहरू घरआँगनमै गाडी लिएर किन्न आउँछन् ।’ कर्णालीमा वस्तु विनिमयको अभ्यास भए पनि पछिल्लो समयमा सहयोगी भावना हराउँदै गएकोमा स्थानीय चिन्तित छन् ।

सडक सञ्जालले फेरिँदै जीवनशैली

कर्णालीमा मुख्य ३ राजमार्ग कर्णाली, मध्यपहाडी र राप्ती खुलेसँगै हाटको चलन हटेको हो । सुर्खेतदेखि जुम्लासम्मको २३३ किलोमिटरको कर्णाली, दाङदेखि रुकुम मुसीकोटसम्मको १४७ किमिको राप्ती र ३२८ किलोमिटरको मध्यपहाडी राजमार्ग खुलेपछि शाखा सडक विस्तार गर्ने क्रम बढिरहेको छ । कर्णालीका ७९ स्थानीय तहमध्ये २३ मा मात्र राष्ट्रिय सडक सञ्जाल जोडिएको छैन । कर्णाली प्रदेश योजना आयोगका अनुसार कर्णालीभरि ८ हजार ६ सय ९४ किलोमिटर सडक खनिएको छ । त्यसमध्ये ५ हजार ३ सय ४७ किमिमा नियमित गाडी चल्ने गरेको छ । सडकको पहुँच विस्तारसँगै महिनौं भारी बोकेर हाटबजार गर्नुपर्ने दुरदराजका बासिन्दाका लागि बस्तीमै बजार पुगेको नरहरिनाथ–५ का कर्णबहादुर सहकारीले बताए । उनका अनुसार अहिले दुर्गम गाउँका बासिन्दाको दैनिकीमा समेत फेरबदल भएको छ । ‘कुनै बेला हिउँदमा ३५ दिन पैदल हिँडेर हाट जानुपर्थ्यो,’ उनले भने, ‘अहिले घरछेउमै सदरमुकामकै मूल्यमा सामान पाइन्छ ।’

दैलेखको टुनीबगर, कालीकोटको जिते हुँदै एक वर्षदेखि नरहरिनाथ–३ डाँडामाडुमा होलसेल पसल गर्दै आएका उमेश जनरल स्टोर्सका सञ्चालक रतनबहादुर सहकारीले गाउँमै दैनिक १ लाख रुपैयाँसम्मको कारोबार हुने बताए । उनले डाँडाखला, जिते र डाँडामाडु गरी ३ ठाउँमा पसल चलाएका छन् । ‘किसानका उब्जनी जिल्लाबाहिर पठाउँछु,’ उनले भने, ‘फर्कंदा तिनै गाडीले दाल, चामल, नुन, तेल, लत्ताकपडालगायत सामान ल्याउँछन् ।’

सरकारले नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली करिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने गरी भेरी करिडोरको निर्माणलाई तीव्रता दिएको छ । कर्णाली करिडोरको हिल्सा–सिमकोट खण्डमा ९५ किमि सडक खुलिसकेको छ भने अब ७ किमि खुल्न बाँकी छ । भेरी करिडोरको २२ किलोमिटर दूरीमा सडक खन्न बाँकी रहे पनि अरु खण्डमा भने यातायात सञ्चालन भइरहेको डिभिजन कार्यालय चौरजहारीका सिनियर डिभिजन इन्जिनियर ध्रुवकुमार झाले बताए । उनका अनुसार यस वर्ष उक्त सडकमा झन्डै ५० करोड बजेटबाट सडक निर्माणको काम जारी छ । सुर्खेत–जुम्ला–सिञ्जा–मुगु–नाक्चेनाग्ला–तिब्बत सडक २०६७ सालबाट निर्माण थालिएको हो । प्रदेश राजधानी सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३ सय ३२ किमिमध्ये ६७ किमि सडक निर्माणको काम भइरहेको छ ।

बन्द भए तिब्बती हाट

मुगुमकार्मारोङ–२ मुगु गाउँका टासी लामा ३ वर्ष अघिसम्म तिब्बत सीमाको ह्याजिमारमा लाग्ने हाटबजारमा प्रत्येक वर्ष किनमेलका लागि जान्थे । यार्चालगायत जडीबुटी बिक्री गर्थे र त्यही पैसाले खाद्यान्न र लत्ताकपडा खरिद गरी वर्षभरिको गर्जो गर्थे । तर, कोरोना महामारीका कारण चीन सरकारले बन्द्य गरेको नाका खुला भएन । उनलाई खाद्यान्नको जोहो गर्न समस्या छ । ‘सदरमुकाम जान कम्तीमा ५ दिन लाग्छ, चीन सीमा भए १ दिनमा पुगिन्थ्यो,’ उनले भने, ‘आफ्नो उब्जनीले ३ महिना पनि खान मुस्किल हुन्छ, गाउँसम्म गाडी पुग्दैन । सदरमुकामबाट ल्याउँदा ढुवानी भाडा लाग्छ, जीविका चलाउनै गाह्रो परेको छ ।’

उनीमात्र होइन, मुगम कार्मारोङ गाउँपालिकाका अधिकांश बासिन्दाले ह्याजिमारमा हरेक वर्ष १५ दिन लाग्ने अस्थायी हाटबाट वर्षभरिको खाद्यान्न जुटाउँथे । अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा उत्पादन न्यून हुने भएकाले स्थानीयहरू वर्षौंदेखि चिनियाँ खाद्यान्नमा निर्भर छन् । स्थानीय कर्मा लामाले गाउँमा वर्षभरि एक बाली उवा मात्र फल्ने बताए । उनका अनुसार गाउँमा खाद्य संस्थानको डिपो भए पनि कहिल्यै चामल हुँदैन । १९१५ सालमा मुगु गाउँका आदिवासी जनजातिले तिब्बतसँग व्यापारिक सम्बन्ध स्थापित गरेका थिए । तर त्यो सम्बन्ध दीर्घकालीन नभएको लामा बताउँछन् । मुगुजस्तै डोल्पाको मरिम र हुम्लाको हिल्सामा लाग्ने हाटबजार पनि कोरोना महामारीका कारण चीनले रोकेको छ । साउन–भदौ महिनामा १५ दिनका लागि चिनियाँ व्यापारीले उक्त मेला लगाउने गरेका थिए । जहाँ स्थानीयले विभिन्न कृषिउपज र जडीबुटी बिक्री गर्ने गरेका थिए भने दैनिक उपभोग्य सामान खरिद गरी ल्याउने गरेका थिए । मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले सीमावर्ती क्षेत्रको व्यापारिक सम्बन्ध सुधार्न बर्सेनि तिब्बतका जनप्रतिनिधिसँग छलफल गर्ने गरिए पनि संघीय सरकारले ध्यान नदिँदा हाटबजार लामो समयदेखि लाग्न नसकेको बताए ।

नुन लिन ५ दिन पैदल

मुगुमकार्मारोङ गाउँपालिकामा नुन डिपो नहुँदा स्थानीयवासी अहिले पनि एक किलो नुन लिन ५ दिन पैदल हिँड्न बाध्य छन् । ५ वर्षयता चिनियाँ नाकाबाट ढिके नुनको आयात हुन छाडेपछि उनीहरूलाई सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो । मुगुमकार्मारोङको चितै, डोल्फु, कार्ती, किम्री, मुगुलगायत १७ वटा गाउँका बासिन्दा २ दिन हिँडेर सदरमुकाम पुग्छन् । ‘बाटोमा मात्रै ४ दिन लाग्छ,’ मुगुगाउँका उर्गिन तामाङले भने, ‘एक दिन नुन निकाल्न गमगढीमा बस्नुपर्छ ।’ छायानाथरारा नगरपालिका तथा सोरु र खत्याड गाउँपालिकामा नुन बिक्री गर्न डिपो भए पनि सबैभन्दा दुर्गम मुगुमकार्मारोङमा नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । ‘सधैं सदरमुकाम आउन पाइँदैन,’ तामाङले भने, ‘त्यसैले परिवारका सबै सदस्य एकैपल्ट आई वर्षभरि पुग्ने नुन लिएर जान बाध्य छौं ।’ नुन लिन गमगढी आउँदा होटलमा बास खर्चसहित प्रतिव्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले गुनासो गरे । एक महिनाअघि ५ जनाको परिवारसहित सदरमुकाम आएका उनले एकैपल्ट ३ क्वीन्टल नुन खरिद गरे ।

सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि लाइन लागेर नुन लिनुपर्ने बाध्यता छ । नुन डिपो नहुँदा स्थानीयले ठूलो सास्ती भोग्नुपरेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पहिले तिब्बतबाट ढिके नुन ल्याएर जीविका चलाउँथे,’ उनले भने, ‘चीनले कोरोनाका कारण नाका बन्द गर्‍यो । अब नुन ल्याउन गमगढी नआई सुखै छैन ।’ गमगढीस्थित शाखा कार्यालयका लागि वार्षिक १ हजार ५ सय क्विन्टल नुनको कोटा तोकिएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख खगेन्द्र कार्कीले बताए । उनका अनुसार सोरु र खत्याडमा पनि १५/१५ सय क्विन्टल नुन गइरहेको छ ।

उनका अनुसार मुगुमकार्मारोङको माथिल्लो भेगका बासिन्दाले एक किलो ढिके नुन ७५ रुपैयाँमा किन्नुपर्ने बाध्यता रहेको डोल्पुका टासीछेवाङ तामाङले बताए । ढुवानी भाडा धेरै तिरेर खच्चडमा बोकाएको नुन स्थानीय व्यापारीले गाउँमा बेच्ने गरेका छन् । सरकारी अनुदानमा वितरण गरिने भानु नुनको मूल्य ९ रुपैयाँ किलो भए पनि स्थानीयले २० रुपैयाँ प्रतिकिलो भाडा तिर्नुपर्छ ।

गाउँमा बजार बढ्दै

संघीयताअघिसम्म किनमेल गर्न सदरमुकाम र अन्य जिल्लाका व्यापारिक केन्द्रमा आउने स्थानीयले अहिले गाउँमै उपभोग्य वस्तु किन्न पाएका छन् । स्थानीय तहले केन्द्र बनाएका गाउँहरू अहिले बजारको रूपमा परिणत भएका छन् । स्थानीय तहका केन्द्रहरूमा बजार व्यवस्थापन समितिमार्फत घरघडेरी व्यवस्थित गर्न थालिएको छ । रुकुम पश्चिमको सिम्ली, सोलाबाङ, राडी, छिन्खेतलगायत ठाउँमा टुक्रे बजार स्थापित भएका छन् । स्थानीय कमला केसीका अनुसार सिम्लीमा झन्डै ३ दर्जन होटल र पसल खुलेका छन् भने बैंक तथा वित्तीय संस्थाहरू खुल्ने क्रम बढेको छ । कालीकोटको रास्कोट, सान्नीत्रिवेणी, नरहरिनाथ, पचालझरना र पलाताका गाउँहरू टुक्रे बजारमा परिणत भएका छन् । अहिले स्थानीयले आफूले उत्पादन गरेको घिउ, सिमी, खुर्सानीलगायत सामान बेचेर घरपरिवारका लागि लत्ताकपडा र खाद्यान्नको जोहो गर्ने गरेको नरहरिनाथका अशोक पाण्डेले बताए । त्यस्तै जाजरकोटको छेडागाड, नलगाड, बारेकोट, कुशे, शिवालयलगायतका गाउँहरू पनि बजारमा परिणत भएका छन् ।

प्रकाशित : माघ २५, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?