भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भएको छ : मन्त्री किराती- समाचार - कान्तिपुर समाचार

भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भएको छ : मन्त्री किराती

'पर्याप्त तयारी गरेर सञ्चालन ल्याइएको थियो कि थिएन भन्ने हिजोको कुरा हो, आज यो सञ्चालनमा छ,' उनले भने, 'अन्य रुटबारे छलफल गर्न उच्चस्तरीय टोली भारत जाँदैछ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि यसलाई एक एजेन्डा बनाइनेछ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल सुरु गरिएको बताएका छन् । 

कान्तिपुर मिडिया ग्रुपले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनीको सामर्थ्य कार्यक्रमको अन्तिम सत्र पर्यटनको उडानमा सहभागी हुँदै मन्त्री किरातीले विमानस्थल सञ्चालन गर्न उडान अनुमतिका लागि कूटनीतिक पहल भइरहेको बताएका हुन् ।

जेठ २ मा उडान सुरु भएर हाल 'ग्राउन्डेड' को अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पुन: सञ्चालनमा ल्याउन सिमराहको रुट अपर्याप्त भएकाले अन्य रुटबारे भारतसँग छलफल गर्न उच्च स्तरीय समिति बनाएको मन्त्री किरातीको भनाइ छ ।

'पर्याप्त तयारी गरेर सञ्चालन ल्याइएको थियो कि थिएन भन्ने हिजोको कुरा हो, आज यो सञ्चालनमा छ,' उनले भने, 'अन्य रुटबारे छलफल गर्न उच्चस्तरीय टोली भारत जाँदैछ । प्रधानमन्त्रीको भ्रमणका क्रममा पनि यसलाई एक एजेन्डा बनाइनेछ ।'

२०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटनको ९ महिना बित्दासमेत विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले गति लिन सकेको छैन ।

भैरहवामा जजीरा एयरलाइन्सले जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । पुसदेखि भने जजिराले मौसमको कारण देखाउँदै उडान स्थगित गरेको छ । त्यस्तै कात्तिकदेखि मलेसियाका लागि चार्टड उडान सुरु गरेको नेपाली वायु सेवा कम्पनी हिमालयन एयरलाइन्सले पनि उडान रोकेको छ ।

जाडो याममा मौसमका कारण भैरहवाको भिजिबिलिटी कम हुनुका साथै यात्रुको संख्या पनि कम भएकाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएको बताइएको छ ।

प्रकाशित : माघ २१, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य : माओवादी केन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे चर्चा भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरु खुला रहेको बताए । उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको जानकारी दिए ।

सत्ता साझेदार दल एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको उनको भनाइ थियो । ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो,' पौडेलले भने, 'गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौं । एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’

फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकिएको छ । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणा अगाडि सारेको छ । एमालेले भने आफूले उठाएको उम्मेदवारको नाममा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।

प्रकाशित : माघ २१, २०७९ १७:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×