गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न सक्दैन : अर्थमन्त्री पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
लुम्बिनीको सामर्थ्य

गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कसैले रोक्न सक्दैन : अर्थमन्त्री पौडेल

कान्तिपुर संवाददाता

भैरहवा — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेजेज) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै पौडेलले शनिबार यस्तो बताएका हुन् ।

पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उनले भने, ‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ ।’

विमानस्थलमा सबैभन्दा चुनौतीको काम जग्गा प्राप्ति भएको र अहिले त्यो काम पूरा भइसकेकाले अब तीव्र रुपमा क्षमता विस्तार गरिने उनले बताए । ‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्,’ उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु । विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछन् । क्षतमाको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ ।’

पौडेलले लुम्बिनीको विकाससँग सरोकार राख्ने तथा शुभचिन्तक सबैलाई विमानस्थल निर्माणमा सकारात्मक सहयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित : माघ २१, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुनमा

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । उक्त प्रतियोगिता यही फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

प्रदेश खेलकुद परिषद्को शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबल भएका कारण प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको पौडेलले बताए । ‘यो प्रतियोगिताले खेलाडी उत्पादनसँगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनौट गर्न सहयोग पुग्नेछ‚’ उनले भने ।

प्रतियोगिताको तयारीका लागि बैठकले परिषद्का सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङ र महासचिव तहल सिंह थापा मगर रहेका छन् ।

प्रतियोगिताबारे जानकारी दिँदै संयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहने बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद एक लाख ५० हजार, १ लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद २०–२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५–५ जनाले जनही नगद १०–१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ २१, २०७९ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×