कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय अस्पतालबाट प्रदेशमा रिफर

पूर्वाधारले सुविधासम्पन्न, विशेषज्ञ जनशक्तिको भने सधैं अभाव
डीआर पन्त

डडेलधुरा — आधा दर्जनभन्दा बढी ठुल्ठूला भवन छन् । भित्र क्यान्सरदेखि मिर्गौलाका बिरामी पहिचान र उपचारमा प्रयोग गरिनेसम्मका उपकरण भरिभराउ छन् । चिकित्सकका अनुसार यहाँ देशकै सुविधासम्पन्नमध्येको प्रयोगशाला पनि छ । फार्मेसी पनि सुविधासम्पन्न छ । तर अस्पतालमा उपचार गर्न फाट्टफुट्ट मात्रै बिरामी आइपुग्छन्, आएकामध्ये पनि अधिकांशलाई अन्तै रिफर गरिन्छ ।

संघीय अस्पतालबाट प्रदेशमा रिफर

सरकारले उचित व्यवस्थापन गर्न नसक्दा डडेलधुराको संघीय अस्पताल नाम मात्रको भएको हो । संरचनाका दृष्टिले प्रदेशकै सबैभन्दा ठूलो यो अस्पतालले अहिले बिरामीलाई प्रादेशिक अस्पतालमा रिफर गर्छ ।

‘राजधानीका ठुल्ठूला अस्पतालमा रहेका सबैखाले उपकरण हाम्रो अस्पतालमा पनि छन्, सामान्य उपचार पनि हुन सक्ने अवस्था छैन,’ अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले भने, ‘सेती प्रादेशिक अस्पतालले डडेलधुरा अस्पतालमा रिफर गर्नुपर्ने ठाउँमा यहाँबाट प्रादेशिक अस्पताललाई रिफर गर्नुपर्ने बाध्यता छ ।’

पाँच सय शय्या स्वीकृत भएको डडेलधुराको संघीय अस्पतालमा सरकारले १२ सय दरबन्दी स्वीकृत गरेको छ । तर अहिलेसम्म उपक्षेत्रीय हुँदा तोकेको १ सय ९ जनाको दरबन्दी पनि पूरा भएको छैन । पहिले यहाँ १६ चिकित्सक र ५० जना जति अन्य स्वास्थ्यकर्मी थिए । उपक्षेत्रीय हुँदा स्वीकृत मेडिकल अफिसरका १८ दरबन्दीमध्ये ९ र विशेषज्ञ चिकित्सकका १९ मध्ये ७ दरबन्दीमा अहिले जनशक्ति छ । मेडिकल अफिसर र विशेषज्ञ चिकित्सक सधैंजसो उपलब्ध हुँदैनन् ।

छात्रवृत्ति र बढुवाका लागि दुर्गममा दुई वर्ष सेवा गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाका कारण मात्र चिकित्सक डडेलधुरा आउनेजाने क्रम चलिरहेको छ । स्वास्थ्यकर्मी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रेमबहादुर महर सरकारले ध्यान नदिँदा सुविधासम्पन्न अस्पतालको दुर्दशा भएको बताए । ‘सरकारले दरबन्दीअनुसार चिकित्सक, सेवासुविधा र जनशक्ति दिएन । नाम मात्रको विशिष्ट विशेषज्ञ सेवासहितको संघीय अस्पताल भएको छ,’ उनले भने ।

अध्यक्ष महरका अनुसार अस्पतालमा भएको जनशक्तिले पनि व्यवस्थापनको कमीका कारण दिनुपर्ने सेवा दिन सकेको छैन । ‘भएको साधनस्रोतले जति गर्न सकिन्छ हामीले त्यहीअनुरूप सेवा दिइरहेका छौं,’ अस्पताल प्रमुख डा. चेतराज भट्टले भने, ‘तत्काल आवश्यकमध्ये ३० प्रतिशत जति जनशक्ति मात्र अस्पतालसँग छ ।’ दिनमा ५ सय बिरामीले सेवा लिइरहेका छन् । दरबन्दीअनुसार चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी हुने हो भने प्रदेशका सात पहाडी जिल्लाका बिरामीले डडेलधुरामा सस्तोमा सहज उपचार सेवा पाउन सक्छन् । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष अस्पताललाई अत्याधुनिक उपकरण खरिद गरेर पठाउने गरेको छ ।

स्वीकृत भएको ५ सय शय्यामध्ये एक सय शय्या अहिले सञ्चालनमा छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल जस्ता ठूला अस्पतालकै मापदण्डको सुविधासम्पन्न प्रयोगशाला पनि छ । अध्यक्ष ओझाका अनुसार इमर्जेन्सी, जनरल र अत्याधुनिक गरी तीनवटा ल्याब छन् तर जनशक्ति छैन ।

‘जनशक्ति भए डडेलधुरामै मिर्गौला र क्यान्सर जस्ता रोग पहिचान गर्न सकिन्छ,’ अध्यक्ष ओझाले भने, ‘यस विषयमा सरकारलाई पटक–पटक दबाब पनि दिँदै आएका छौं ।’

अमेरिकी मिसनले कुष्ठरोगीलाई लक्ष्य गरी २०१८ सालमा डडेलधुराको पोखरामा टिम अस्पताल स्थापना गरेको थियो । अमेरिकी नागरिक डा. मेनियर्ड सिमन र उनकी श्रीमतीले कुष्ठ र क्षयरोगसहित अस्पतालले दिने सामान्य सेवा सुरु गरेका थिए । मिसनले २०५१ मा डडेलधुरा सदरमुकामको तुफानडाँडामा सरकारी जग्गा लिएर पोखराबाट अस्पताल सारेको थियो । त्यतिबेला सुदूरपश्चिमका डडेलधुरा, बैतडी, बझाङ, दार्चुला, बाजुरा, अछाम र डोटीका सर्वसाधारणले मिसन अस्पतालबाट निःशुल्क र भरपर्दो सेवा पाउने गरेका थिए ।

सरकारले २०६७ मा अमेरिकी मिसनबाट स्वामित्व ग्रहण गरेपछि यो उपक्षेत्रीय अस्पताल बन्यो । त्यतिबेला जिल्ला अस्पताल र मिसनले सञ्चालन गरेको टिम अस्पताल गाभिएको थियो । त्यसको ७ वर्षपछि सरकारले डडेलधुरा अस्पताललाई संघीय अस्पतालमा परिणत गरेको हो तर नामअनुसारको उपचार सेवा सञ्चालन हुन सकेको छैन ।

प्रकाशित : माघ १६, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?