कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सकियो नवप्रवर्तन सम्मेलन

काठमाडौँ — नवप्रवर्तनसम्बन्धी बहस कार्यक्रमको निरन्तरता, सहकार्यको वातावरण निर्माण गर्ने निष्कर्ष निकाल्दै पहिलो राष्ट्रिय नवप्रर्वतन सम्मेलन समापन भएको छ । 

सकियो नवप्रवर्तन सम्मेलन

नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), रोबोटिक्स क्लबलगायतका संस्थाले आयोजना गरेको सम्मेलनले उद्योग र प्राज्ञिक क्षेत्रबीचको सहकार्यलाई घनिभूत बनाउने निष्कर्ष निकालेको नास्टका प्रवक्ता डा रवीन्द्र ढकालले बताए । ‘सम्मेलन सफलापूर्वक सम्पन्न भयो । नवप्रवर्तन सम्बन्धी बहस र सहकार्यलाई अझ व्यापक बनाउने, प्राज्ञिक र उद्योगिक क्षेत्रबीचको समन्वयलाई जोड्नुपर्ने निष्कर्ष भयो, ’ डा. ढकालले भने ।

सम्मेलन उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली अनुसन्धानकर्ताहरुलाई स्वदेशमै काम गर्ने वातावरण मिलाउनुपर्ने भन्दै नवप्रर्वतनमा जोड दिनुपर्ने बताए । विदेशिने नेपाली अनुसन्धानकर्ताहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन नवप्रवर्तनको विकास अनिवार्य भएको बताउँदै उनले समाजलाई आवश्यक पर्ने प्रविधि निर्माण आवश्यक रहेको मन्त्री खनालको भनाइ थियो । सम्मेलनमा स्वदेश तथा विदेशबाट आएका अनुसन्धानकर्ताहरुले आफ्नो 'किनोट स्पिच' दिएका थिए ।

विज्ञान सचिव इन्जिनियर प्रमिलादेवी बज्राचार्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु, अनुसन्धानकर्ताहरु, उद्योग वाणिज्य महासंघलगायतका संघसंस्थाको प्रतिनिधिहरुले नवप्रवर्तनसम्बन्धी विमर्श गरेका थिए ।

यस्तै, सम्मेलनमा नवप्रवर्तनसम्बन्धी विभिन्न २० वटा प्रदर्शनीहरु समेत गरिएको थियो । नेसनल इनोभेसन डिजिटल नेटवर्कले सातैवटै प्रदेशमा आयोजना गरेको कार्यक्रमबाट उत्कृष्ट भएका नवप्रवर्तन सम्बन्धीका कामहरुलाई प्रदर्शनीमा राखिएको प्रवक्ता ढकालले जानकारी दिए । नास्टबाट अनुदान पाएका, वाग्मती प्रदेश सरकारबाट अनुदान पाएका नवप्रवर्तन सम्बन्धीका उत्पादनहरु सम्मेलनमा प्रदर्शनी गरिएको थियो । सम्मेलनमा विभिन्न २ सयभन्दा बढीको उपस्थिति रहेको डा ढकालले जानकारी दिए ।

प्रकाशित : माघ १०, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?