कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘देउराली डाँडी’ : महिलाले धानेको गाउँ

सुशीला तामा‌ङ

काठमाडौँ — गाउँ आफ्नै रफ्तारमा चलिरहेको छ । उकाली, ओराली र देउरालीहरूमा सुखदुःखले गाउँलाई चलाउने जिम्मेवारी महिलाले नै वहन गरिरहेका छन् । पुरुषजति परदेशमा पसिना बगाइरहेका छन् । कोही श्रीमान्लाई पर्खिरहेका छन्, कोही छोरालाई । कथा, व्यथा उस्तै लाग्ने यो सबै नेपालीहरूको साझा समस्या जस्तो ठ्याक्कै देखिए पनि प्रस्तुत परिवेश भने नाटक ‘देउराली डाँडी’ को हो । 

‘देउराली डाँडी’ : महिलाले धानेको गाउँ

काठमाडौं पिंगलास्थानस्थित सत्यमोहन जोशी स्टुडियो थिएटरमा पुस २९ गतेदेखि नियमित मञ्चनमा आएको नाटकमा ‘देउराली डाँडी’ गाउँको महामारीले उजाडिएको कथालाई प्रस्तुत गरिएको छ । रंगकर्मी सहलेशको लेखन तथा अमेरिकी रंगकर्मी रोज स्वाइट्जको निर्देशन रहेको नाटकमा गरिबीले थिचिएको एउटा गाउँको परिवेशमा महामारीले भित्र्याएको पीडादायी अवस्था देख्न सकिन्छ । जहाँ पुरुषविहीन गाउँमा महिलाहरू नै हरेक कार्यको अग्रपंक्तिमा उभिएका छन् । महामारीले निर्जन र शून्य बनाएको गाउँमा पुनः त्यही महामारी दोहोरिएपछि त्यसबाट उम्किन तिनै महिलाहरूले देखाएको साहस र भोलिका लागि उनीहरूले राखेको आशा नाटकमा देख्न सकिन्छ । उनीहरूले गरेको संघर्षसँगै अन्तिम चरणमा महिलाहरूले घाँटु नाचको कथा, देवीहरूको शक्तिमा गाउँको पुरानो जीवनशैली र अस्तित्वलाई रक्षा गरेको मूल सार नै नाटकको कथा हो ।

महामारीलाई नाटकले सांस्कृतिक पाटोलाई जोड्दै निकै बिम्बात्मक रूपमा बुझाउने प्रयास गरेको छ । जसमा बालुवा मुख्य बिम्बका रूपमा प्रयुक्त गरिएको छ । गाउँको महामारीका कारण सारा पुरुषहरू परदेश गएका हुन्छन् । त्यही महामारी पुनः फर्किएर महिलाहरूमा देखा पर्छ । माइली हुँदै क्रमशः गाउँका अन्य महिलाहरू खोक्दा मुखबाट बालुवा निस्कन्छ । अन्त्यमा महिलाहरूको शरीर, लुगा जताजतै बालुवा नै बालुवा यत्रतत्र छरिन्छन् । अनि सुरु हुन्छ गाउँमा महिलाहरूको संघर्ष र साहसको कथा । जसले रोजगारीका निम्ति विदेशिन बाध्य लाखौं नेपालीहरू र शून्य बन्दै गएको गाउँबस्तीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ ।

त्यसैमा देखिएको घाँटु नाचको दृश्य, राजा पश्रामु, रानी यम्बावतीको कथा प्रसंगले ‘देउराली डाँडी गाउँ’ ले गुरुङ समुदायसँगै सिंगो मुलुकलाई इंगित गर्दछ । युद्धमा राजाको मृत्यु हुनु र रानी सती गएको प्रसंगलाई समेत नाटकले उठान गरेको छ । गुरुङ समुदायमा प्रचलित घाँटु नाच, पश्रामु र यम्बावतीको मिथकलाई जोडेर समकालीन समयलाई सान्दर्भिक रूपमा सशक्त बिम्बमा उतार्नु नै नाटकको सबल पक्ष मान्न सकिन्छ । जहाँ घाँटु नाचको प्रचलित कथाअनुसार राजा मरेपछि काखे छोरालाई च्यापेर सती जानु बाध्य भएकी रानीको पीडालाई भन्दा पनि महामारीले ग्रस्त गाउँको पीडालाई नाटकले मूल विषयमा केन्द्रित गरेको छ ।

गाउँमा तारा (पशुपति राई), सुनिता (दिया मास्के), सिरु (मेनुका प्रधान), माइली (रञ्जना भट्टराई), फुल्सरा (विनिता थापा मगर) र घाँटु कथाकी रहस्यमयी प्राचीन थारू रानी यम्बावती (सरस्वती चौधरी) भूमिकामा नाटक केन्द्रित हुँदै अगाडि बढ्छ ।

सबै महिला पात्र, त्यसमा रानी यम्बावतीलाई समेत जोडेर नाटकमा महिलाको शक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । घाँटु नाचअनुसारको पहिरन र नृत्यले दर्शकलाई त्यही सांस्कृतिक परिवेशतिर पुर्‍याउँछ । घाँटु नाचको किंवदन्तीअनुसार राजा पश्रामु लमजुङका गुरुङ समुदायको राजा भए पनि रानी यम्बावती टाढा सिकार खेल्न जाँदा भेटिएकी मधेसकी थिइन् । नाटकमा रानीकी भूमिका देखिएकी कलाकार चौधरीलाई थारू समुदायकै भेषभूषामा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । नाचका बेला पहिरिने धानको लावा र फूलको जस्तै देखिने मुकुट पात्रहरूले शिरमा लगाएका छन् । यसलाई सुन्दर प्रप्सका रूपमा प्रयोग गरिएका छन् । सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ । प्रकृतिको सुन्दर छटाहरू खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्येक्ष संगीतका धुनहरू, महामारीको विकराल अवस्थालाई जताउन प्रयुक्त उराठ धुन र प्रकाशका रङहरू उत्तिकै सशक्त छन् । रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारहरूको अभिनय उत्तिकै उम्दा छन् । एक्टर्स स्टुडियो र वान वर्ल्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफको सहयोगमा प्रस्तुत गरेको नाटक माघ १५ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : माघ १०, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?