पत्ता लाग्यो नयाँ उन्यू 

चेतनाथ आचार्य

बेइजिङ — पेकिङ विश्वविद्यालयमा पोस्टडक गरिरहेका नेपाली वैज्ञानिक डा. नवल श्रेष्ठले पत्ता लगाएको उन्युको वैज्ञानिक नाम उनकै थरबाट राखिएको छ ।

श्रेष्ठले पत्ता लगाएको हुनाले नयाँ प्रजातिको वनस्पति (उन्यू) को नाम ‘हुपरजिया श्रेष्ठा’ राखिएको विश्वविद्यालयले जनाएको छ । पत्ता लगाउने व्यक्तिकै नाम या थरबाट नामकरण हुने पद्धतिअनुसार नयाँ प्रजातिको नाम राखिएको हो ।

कुनै प्रजातिको वैज्ञानिक नामकरण गर्न ल्याटिनीकरण गर्ने प्रचलन छ । जसले पत्ता लगाएको हो, त्यो प्रजातिको नाम राख्दा सम्बन्धित वैज्ञानिकको थरलाई ल्याटिनीकरण गरिन्छ । त्यही कारण उन्यूको नाम ‘श्रेष्ठा’ बनाइएको हो ।

आफ्नो नाममा नयाँ प्रजातिको उन्यू नामकरण हुँदा निकै खुसी लागेको श्रेष्ठले बताए । ‘नेपालका केही वैज्ञानिकको नाममा मात्र वनस्पति नामकरण भएको छ,’ उनले भने, ‘यस प्रकारको उपलब्धि मेरा लागि मात्र नभएर राष्ट्रकै लागि गौरवको कुरा हो ।’

यो नयाँ प्रजातिको उन्यू चीनका चच्याङ, फुचियान, क्वान्सीसहित म्यान्मार र भारतको आसाममा पनि पाइन्छ । खोज अनुसन्धान क्रममा उनले हुपरजिया नान्लिन्गेन्सिस चीनको हनान प्रान्तमा र हुपरजिया एसियाटिका नामक उन्यू चिलिन प्रान्तमा पत्ता लगाएका हुन् ।

उनको खोज तथा अनुसन्धानले चिनियाँ विश्वविद्यालयमा नेपाली वैज्ञानिकको उच्च क्षमता प्रदर्शन भएको विश्वविद्यालयले जनाएको छ । यसले गर्दा आगामी दिनमा चीनमा पीएचडी र पोस्टडक गर्न चाहने नेपाली वैज्ञानिकका लागि पनि सहज वातावरण सिर्जना भएको छ ।

विराटनगरका श्रेष्ठले चीनको चाइनिज एकेडेमी अफ साइन्सबाट वनस्पतिशास्त्रमा पीएचडी गरेका हुन् । उनी पीएचडी गर्न सन् २०११ मा चीन आएका थिए । सन् २०१४ मा पीएचडी सकेका उनले सन् २०१५ को जनवरीदेखि जुनसम्म पेकिङ विश्वविद्यालयको भिजिटिङ स्कलर्सका रूपमा काम गरे । सन् २०१५ को जुलाईदेखि सोही विश्वविद्यालयमा पोस्टडकमा अनुसन्धान गरिरहेका छन् ।

चीनमा पीएचडी गर्ने क्रममा उनले नेपालका हिमाली भेगमा पाइने जडीबुटीको औषधीय गुण तथा प्रयोग विधिबारे पनि अनुसन्धान गरेका छन् । लोपोन्मुख जडीबुटीको पहिचान र तिनमा भविष्यमा पर्न सक्ने खतराबारे पनि उनले अनुसन्धान गरेका छन् ।

उनले गुराँस फूलको उत्पत्ति साढे ६ करोड वर्षअगाडि उत्तरपूर्वी एसियाको समशीतोष्ण जलवायु भएको उच्च भूभागमा भई कालान्तरमा दक्षिणपश्चिम चीन हुँदै हिमालय तथा दक्षिणपूर्वी एसियामा फैलिएको तथ्यसमेत पत्ता लगाएका थिए ।

प्रकाशित : श्रावण ६, २०७५ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्

खेतमा धाँजा फाट्याे [भिडियो]

अवधेशकुमार झा

राजविराज — जिल्लामा मनसुन सक्रिय नहुँदा धान रोपाई प्रभावित भएको छ । पानी अभावका कारण रोपाई भएका खेतमा धाँजा फाट्न थालेको छ ।

रोपाईका लागि तयार रहेको बिऊसमेत चर्को घामका कारण सुक्न थालेको वरिष्ठ कृषि विकास अधिकृत भागीरथ यादवले जानकारी दिए।उनका अनुसार जिल्लामा खेतीयोग्य ७० हजार हेक्टर जग्गामध्ये आधा जग्गामा आकाशे पानीकै भरमा खेती हुने गरेको छ। पानी नपर्दा जिल्लामा अहिले २० प्रतिशत मात्र रोपाईँ भएको छ।
‘नहर आसपाससमेत आवश्यकता अनुसार सिँचाई हुन सकिरहेको छैन’ वरिष्ठ कृषि विकास अधिकृत यादवले भने, ‘रोपाइँ गरिएका खेतमा पानी अभावमा धाँजा फाट्न थालेको छ, चर्को घामका कारण बेर्नामर्न थालेको छ। ’
जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार पछिल्लो चार वर्षयता सप्तरीको धान उत्पादनमा निरन्तर ह्रास आउँदै गरेको छ। कार्यालयकै तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा यहाँ ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन गरिएको थियो भने ०७३/०७४ मा २ दशमलव ५ मेट्रिक टनप्रति हेक्टर धान उत्पादन भएको थियो।
एकातिर उत्पादन दरमा निरन्तर कमी आइरहेको अवस्था छ भने अर्कोतिर वर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बाँझै रहने गरेको समस्या पनि राज्यका लागि चुनौतिपूर्ण बन्न गएको छ।
सप्तरी धान उत्पादनका लागि मुलुकमै प्रसिद्ध रहेको जिल्ला हो। यहाँको कूल खेतीयोग्य जग्गामध्ये ५० प्रतिशत जग्गा आकाशे पानीको भरमा खेती हुन्छ भने भने बाँकी ५० प्रतिशत जग्गामा विभिन्न नहर र सिँचाई प्रणालीबाट सिंचित हुने दाबी गरिएपनि ती नहर र सिंचाई योजनाहरुको अवस्था भने आफै अस्तव्यस्त छ।
राणाकालमै निर्माण गरिएको मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहर सप्तरीमै रहेको छ। यसका अतिरिक्त कोसी पश्चिमी नहर वितरण प्रणाली, कोसी पम्प नहर प्रणाली, कोसी वितरण प्रणाली, ग्रामिण पूर्वाधार विकास कार्यक्रम र सिंचाई सेक्टरहरु लगायतका पूर्वाधारहरु समेत यहाँ रहेका छन्।
यद्यपी अधिकांशको अवस्था हाल जीर्ण, जर्रजर र अस्तव्यस्त नै छन्। चन्द्र नहरको सिंचाई क्षमता दश हजार ५ सय हेक्टर रहेको छ। तर विभिन्न ठाउँमा नहर भत्किनुका साथै अतिक्रमण गरिएकाले सिंचाई सुविधा पुर्‍याउन सक्ने अवस्था छैन्।
त्यस्तै कोसी पश्चिमी नहर वितरण प्रणालीको क्षमता १३ हजार तीन सय हेक्टरमा सिंचाई गर्ने रहेपनि ६ हजार ६ सय १६ हेक्टरमा मात्र पुगिरहेको छ। कोशी वितरण प्रणालीले ११ हजार सात हेक्टरमा सिंचाई गर्नुपर्नेमा सात हजार ८ सय ५३ हेक्टरमा मात्र सिंचाई सुविधा पुर्‍याइरहेको छ।
अन्य सिंचाई आयोजनाहरुमध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६ सय ६५ हेक्टर तथा सेक्टर सिंचाईले २५ सय हेक्टरमा मात्र सिंचाई सुविधा पुर्‍याइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। सिंचाई व्यवस्थाको अस्तव्यस्ताकै कारण यस सप्तरीको धन उत्पादनमा निरन्तर ह्रास आउनुका साथै ठूलो क्षेत्रफल जग्गा बाँझो नै रहने गरेको हो।

प्रकाशित : श्रावण ६, २०७५ २०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्