निमावि सकेपछि मजदुरी

बालश्रम
कान्तिपुर संवाददाता

तमानखोला (बागलुङ) — कक्षा ७ पछि तमानखोला ६, नर्जाखानीकी मीना सिर्पालीको अगाडिको पढाइ बन्द भएको छ । उनी बाबुआमासँगै मेलापात र ज्याला मजदुरीमा हिँड्न थालेकी छन् ।


मावि तह पढ्न गाउँमा विद्यालय छैन । चार घण्टा परको खुंखानीमा डेरा लिएर पढ्न उनको आँट पुगेन, खर्च धान्न नसक्ने पीरले अभिभावकले पनि उनलाई डेरामा राखेर पढाउन सकेनन् ।
‘टाढा गएर पढ्न सकिँदैन, बुवाआमाले खर्च हाल्न पनि सक्नुहुन्न,’ सिर्पालीले भनिन्, ‘गाउँका धेरै साथी पनि ७ कक्षा पास गरेपछि पढाइ छाडेर नोकरी खोज्न हिडेका छन् ।’ केटाहरू रोजगारीका लागि भारत र खाडी मुलुक जाने गर्छन् भने अधिकांश केटीको १५ देखि १६ वर्षको हुँदाहुँदै विवाह भइसक्ने उनले बताइन । विवाह नगरेका केटीहरूको समय भने मेलापातमै बित्ने गरेको छ ।
सानो गोरेटोले मात्र छोएको यो गाउँमा पुग्न सदरमुकामबाट सजिलो छैन । ‘यहाँका मान्छेले दुई छाक मीठो खान पनि गाह्रो छ, कसरी छोराछोरी पढाउँछन्,’ वडाध्यक्ष कुलबहादुर छन्त्यालले भने, ‘भूगोलले ठगेकोले हामीलाई शिक्षा र स्वास्थ्यमा धेरै समस्या छ । गाउँमा एउटा माध्यमिक विद्यालय बनाउन आवश्यकता परेको छ ।’ नजिक भनेको ४ घण्टा पैदल हिँडेर खुंखानीस्थित शान्ति माविमा पुग्नुपर्ने उनले बताए । नर्जाखानी गाउँ सदरमुकाम बागलुङबाट १ सय ४० किमि पश्चिम–उत्तरमा पर्छ । यहाँका विद्यार्थी उच्चमावि पढ्न एक दिन पैदल हिँडेर बुर्तिवाङ पुग्नेगरेका छन् ।
तमानखोला–६ को नर्जाखानी, पात्ले र भित्रिवन क्षेत्रका चार सय घरपरिवारका बालबालिकाले यस्तो समस्या वर्षौंदेखि भोग्दै आएका हुन् । गाउँमा रहेका दुई प्रावि र विष्णु निमाविमा पनि शिक्षक पर्याप्त छैनन् । तर, सदरमुकाम पुग्नै दुई दिनको समय र खर्च लाग्ने भएकाले गाउँलेले शिक्षक र विद्यालयको माग गरेका छैनन् । ‘सदरमुकाम पुगेर केही माग गर्नुपर्दा कम्तीमा १० हजार खर्च हुन्छ,’ स्थानीय प्रेमदेवी विकले भनिन्, ‘हाम्रा छोराछोरीले पढेर पनि जागिर पाउने होइनन्, हामीले ज्याला मजदुरी नगरी खान पाइँदैन । को जाओस् सदरमुकाम ।’ गाउँका अधिकांशले भारी खेप्ने र मजदुरीकै भरमा जीवन गुजारा गरेको उनले बताइन् ।
जिल्ला शिक्षा कार्यालयले यी गाउँमा पनि शतप्रतिशत बालबालिका विद्यालय भर्ना गराउने अभिायन सञ्चालन गरेको सदरमुकाममा आयोजित कार्यक्रममा बताउने गरेको छ । तर, नाम मात्र लेखाएर स्कुल छाड्ने दर उच्च रहेको अभिभावकको भनाइ छ ।
विद्यालय जानै समस्या, भर्ना भएकाहरू पनि छाड्ने दर बढी भएकाले जिल्ला शिक्षाको तथ्यांक प्रभावकारी नभएको शिक्षकहरूकै भनाइ छ । ‘भर्ना भए पनि बाध्यताले बालबालिका आउन सक्दैनन्,’ शान्ति माविका प्रधानाध्यापक लालबहादुर छन्त्यालले भने, ‘प्राथमिक तहलाई अनिवार्य भने पनि मावि तहलाई अनिवार्य भनेर हामीले ल्याउनसकेका छैनौं ।’
निमावि तह पूरा गर्दा यहाँका अधिकांश बालबालिकाको उमेर १६ देखि १८ पुगिसकेको हुने उनले बताए । ‘त्यसपछि उनीहरू रोजगारीको खोजी अरू जिल्ला र विदेशतिर जान्छन्,’ उनले भने, ‘विद्यालयमा ल्याउने र टिकाउने गर्न सजिलो छैन ।’

प्रकाशित : पुस ८, २०७४ ०८:२५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पैतृक सम्पत्तिमा संयुक्त पुर्जा

संविधानमै संयुक्त जग्गाधनी पुर्जाको व्यवस्थासँगै अभियानले तीव्रता पायो
कान्तिपुर संवाददाता

रुकुम (पश्चिम) — आठबिसकोट नगरपालिका ११ की विमला कामी अहिले फुरुङ छिन् । घरपरिवार र पतिको विश्वासमै रहेकी विमला असार २२ गतेयता असाध्य खुसी देखिन्छिन् । पतिको नाममा रहेको पैतृक सम्पत्तिमा अब उनको पनि समान हक भएको छ । त्यसअघि कुरामा मात्रै समान हक भए पनि अब वास्तविक हक पाएकी छन् । असार २२ गतेपछि विमला र उनका पति लालवीरको पैतृक सम्पत्तिमा समान हक स्थापना भएको छ ।

जिल्लामै पहिलोपटक संयुक्त जग्गाधनी पुर्जा लिने आठबिसकोट नगरपालिका ११ का लालवीर र विमला कामी ।

मालपोत कार्यालयबाट संयुक्त जग्गाधनी पुर्जा बनाएपछि विमला पनि पैतृक सम्पत्तिकी मालिक बनिन् । ‘मैले सोचेकै थिएन, पतिले जिल्ला जाउँ भन्नुभयो, गयौं र हाम्रो भएको जति सबै सम्पत्ति दुवैको नाममा बनायौं,’ उनले भनिन्, ‘अब पतिको नाममा रहेको सम्पत्तिको पुर्जामा उहाँको मात्रै नाम छैन माल कार्यालयबाट मेरो नाम पनि थपेर पुर्जा दिएको छ ।’ यसअघि विश्वासले मात्रै घर बसेको उनले बताइन् । ‘बिहे भयो, छोराछोरी भए त्यही विश्वासका आधारमा मेरो घर, मेरो बारी भन्थेँ । कागजी रूपमा बिहे दर्ता र विश्वासबाहेक अन्य कुनै मेरो नाममा थिएन,’ उनले भनिन्, ‘अब म पनि भए जति घरजग्गाको पक्का मालिक भएकी छु ।’
उनले पति र छोराछोरीलाई विश्वास मानेकी छन् भने पैतृक सम्पत्तिलाई अधिकार मानेकी छन् । लालवीरले पनि जिल्लामा सबैभन्दा पहिला संयुक्त जग्गाधनी पुर्जा बनाउन पाएकामा खुसी जनाए । बिहेपछि एक छोरा र एक छोरी भइसकेको भन्दै उनले पैतृक सम्पत्तिमा पत्नीको अधिकार समान भएकाले दुवैको नाममा पुर्जा बनाएको बताए । ‘हामी एकअर्काबिना रहन सक्दैनौं भनेरमात्रै हुँदैन,’ लालवीरले भने, ‘भएको सम्पत्ति दुवैको समान हक होस् भनेर यो निर्णय गरेको हुँ ।’
आठबिसकोट ९ का गोकर्णकुमार र निर्मला चन्दले पनि संयुक्त जग्गाधनी पुर्जा बनाएका छन् । मंसिर २८ गते जिल्ला मालपोत पुगेर गोकर्णले आफ्नो नाममा भएको पैतृक सम्पत्ति श्रीमती निर्मलाको नाममा पनि बनाए । एकल जग्गाधनी पुर्जा भएका गोकर्ण अब संयुक्त धनी भएका छन् । संविधानमा व्यवस्था भएको कुरा कार्यान्वयन गरिएको गोकर्णले बताए । नारामा मात्रै सीमित भएको समान अधिकारलाई आफूले कार्यान्वयन गरेको उनको बुझाइ छ । ‘हामीले कुरामात्रै होइन, व्यवहारमा पनि समान अधिकार बनाऔं भनेर संयुक्त पुर्जा बनायौं,’ उनले भने, ‘यसले श्रीमान्श्रीमतीबीचको आपसी विश्वासको दायरामात्रै बढाएको छैन, थप जिम्मेवार बनाएको महसुस भएको छ ।’
जिल्लामा यसरी संयुक्त जग्गाधनी पुर्जा लिने कामी र चन्द दम्पतीमात्रै होइन । मालपोत कार्यालयका अनुसार कामी र चन्दको जोडीबाहेक अन्य आठ जोडीले संयुक्त पुर्जा बनाइसकेका छन् । मालपोतका अनुसार संयुक्त पुर्जा लिनेमा अधिकांश आठबिसकोट नगरपालिकाका छन् । मालपोत अधिकृत मोहनप्रकाश गिरीले संविधान तथा कानुनमै संयुक्त जग्गाधनी पुर्जाको व्यवस्था गरेकाले संयुक्त दर्ता प्रमाण लिने बढदै गएको बताए । कानुनले तोकिएबमोजिमका कागजात र मालपोत कार्यालयमा एक सय रुपैयाँ तिरेको रसिद भएपछि केही समयमै संयुक्त जग्गाधनी दर्ता प्रमाण पुर्जा जारी हुने मालपोत अधिकृत गिरीले जानकारी दिए । उनले छोटै समयमा दस जोडीले संयुक्त पुर्जा बनाउनु भनेको उल्लेख संख्या भएको बताए । संयुक्त प्रमाण पुर्जा जारी कार्य विधि २०७४ मा संयुक्त जग्गाधनी दर्ता प्रमाण पुर्जा लिनका लागि श्रीमान्श्रीमती दुवैको नागरिकता, बिहे दर्ता, फोटो, मालपोत कर तिरेको रसिद र सम्बन्धित वडाको सिफारिससहित दम्पती नै मालपोतमा पुग्नुपर्ने व्यवस्था छ ।
जिल्लाको बाँफिकोट गाउँपालिकाले नीति तथा कार्यक्रमको १५ नम्बर बुँदामा महिला सशक्तीकरणका लागि संयुक्त पुर्जा बनाउने प्रक्रियालाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । पैतृक सम्पत्तिमा महिलाको सहज पहुँच होस् भनेर यसलाई नीति तथा कार्यक्रममै उल्लेख गरिएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

प्रकाशित : पुस ८, २०७४ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×