गाउँभर भुवा नाचको रौनक

कान्तिपुर संवाददाता

बझाङ — ससाना नानीदेखि बयोवृद्धसम्मलाई नचाउने सुदूरपश्चिमकै प्रसिद्ध भुवा पर्वको रौनकले जिल्लालाई छपक्कै छोपेको छ । बाजागाजासहित नाचिने भुवा नाच्ने र हेर्नेको घुइँचोले गाउँको रौनक बेग्लै बनाएको हो ।

भुवा पर्वमा नाच्दै जयपृथ्वी नगरपालिकाका बासिन्दा ।

कौरव र पाण्डवको युद्ध सम्झनामा नाचिने यो पर्व प्रत्येक वर्षको पुसे औंसीका दिन मसाल (राँको) सल्काएर सुरु गरिन्छ । जिल्लाका विभिन्न गाविसका ८० भन्दा बढी गाउँमा यो पर्व मनाउने गरिएको छ । ढाल तरबारसहित युद्धकला प्रदर्शन गर्दै नाचिने यो पर्व मनाउन जिल्लाबाहिर तथा विदेशमा गएका पनि घर फर्किने गर्छन् ।
औंसीको दिन गाउँका प्रत्येक घरबाट बाल्नका लागि मुढा माग्ने र राति भुवाखाडा (भुवा नाच्ने चौर) मा ठूलो आगो बालेर प्रत्येक व्यक्तिले हातमा राँको सल्काई नाच सुरु गर्छन् । राँको नहालीकन यसको सुरुवात भएको मानिँदैन ।
बाजाको तालमा खुकुरी, तरबार र ढालसहित पुरुषले प्रदर्शन गरेको युद्धकला हेर्न भुवा पर्व नमनाएका गाउँका सर्वसाधारण छिमेकीगाउँमा रमिता हेर्न आउँदाभीडभाड अझ बढी भएको छविस पाथिभेरा गाउँपालिकाका जीवन रावलले बताए । गाउँमाजुठो परेको अवस्थामा भुवाको राँको बाल्न हुँदैन ।
युद्धको समयमा कौरव र पाण्डवबीचको भिडन्तको कथालाई एक समूहले नाच्दै लयात्मक शैलीमा भट्याउने र अर्काेले हात र खुट्टाको चालमा नाच्ने र ‘भस्सो’ भन्ने गर्छन् । भुवाको विशेष आकर्षण चाली नाच, ठाडो भस्सो भारी खेलजस्ता नाच र गायन हुन् ।
भुवा पर्व सुरु भएको दुई दिन (अर्थात् औंसीको द्वितीया) लाई दुयो भन्ने गरिन्छ । यो दिन घरमा बटुक चुकानीलगायत परम्परागत परिकार पकाउने र इष्टमित्र तथा आफन्तलाई टीको पिठाया (टीकाटालो) गरी शुभकामना आदानप्रदान गरिन्छ । पुस शुक्ल पूर्णिमाअगावै भुवा पर्वको विधिवत् समापन गर्ने चलन छ । भुवाका अवसरमा प्रत्येक घरमा चिउरा कुट्ने र भुवा नाच्ने चौरमा बोका बलीसमेत दिइन्छ ।

प्रकाशित : पुस ८, २०७४ ०८:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमालेको निष्कर्ष- कांग्रेस सत्ता छाड्न ‘अनिच्छुक’

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचनको जनादेशलाई बेवास्ता गर्दै कांग्रेसले सत्ता हस्तान्तरण गर्न नचाहेको निष्कर्ष एमालेले निकालेको छ । सत्ता लम्ब्याइरहन उसले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विवाद सिर्जना गरेको र निर्वाचन आयोगसमेतलाई परिणाम घोषणा नगर्न धम्काइरहेको उसको ठहर छ ।


निर्वाचनपछि पहिलो पटक शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले जनादेशको ख्याल गरेर छिटो नयाँ सरकार गठन गर्ने वातावरण बनाउन सरकार र आयोगको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सभा गठन बहुमतीय प्रक्रियाबाटै हुनुपर्ने र अन्य विकल्पमा जान नसक्ने निष्कर्षसमेत बैठकले निकालेको छ । विगतमा दलहरूबीचको छलफलभन्दा फरक ढंगले अध्यादेश जारी गर्ने सरकारको प्रयासप्रति उसले आपत्ति जनाएको छ । एकल संक्रमणीय प्रणालीबाट निर्वाचन गर्ने प्रावधान राख्ने कुरा एमालेलाई मान्य नहुने बैठकको निष्कर्ष छ । ‘राष्ट्रिय सभाको गठन संविधानको व्यवस्था र यससम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरूबीच भएको पूर्वसमझदारीअनुरूप नै हुनुपर्छ,’ बैठकको निर्णयमा भनिएको छ ।
संसद् भएकै बेलामा संसदीय समितिमा बहुमतबाट निर्वाचन गर्ने सहमति भएको थियो ।

तर उक्त प्रावधानसहितको विधेयक पारित नभई संसदको कार्यकाल सकिएको थियो । त्यसपछि सरकारले संसदीय समितिमा भएको समझदारीभन्दा विपरीत एकल संक्रमणीय प्रणालीको प्रावधान राखेर राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विवाद भएको हो । यही विवादको निरूपण नहुँदा निर्वाचन परिणाम घोषणा गर्ने काम अल्झेको छ भने नयाँ सरकार गठन प्रक्रियामा समेत प्रश्न उठिरहेको छ ।

एमाले बैठकले राष्ट्रिय सभा गठनसम्बन्धी विषयले नयाँ सरकार गठन प्रक्रिया नरोकिने निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको परिणाम घोषणा गर्न संवैधानिक र कानुनी अप्ठेरो नरहेको उल्लेख गर्दै छिटो नयाँ सरकार गठनको वातावरण बनाउन एमालेले आग्रह गरेको छ । ‘ताजा जनादेशअनुरूप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका छौं,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार निर्वाचन परिणाम घोषणा गरे आयोगविरुद्ध अदालतमा जाने धारणा कांग्रेसका केही नेताहरूबाट आएकोबारे पनि बैठकको ध्यानाकर्षण भएको छ । संवैधानिक जिम्मेवारीअनुसारको काम गर्न आयोगलाई अवरोध हुने खालका अभिव्यक्ति आपत्तिजनक भएको एमालेको भनाइ छ ।

पार्टी एकता छिट्टै
एमाले बैठकले आफ्नो पार्टी र माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया छिटो टुंगो लगाउने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीले एकता प्रक्रिया छिट्टै टुंग्याउने गरी माओवादी नेतृत्वसँग छलफल भइरहेको बैठकमा ब्रिफिड गरेका थिए ।

दुई दलका अध्यक्षबीच दिनहुँजस्तो छलफल भइरहेकाले एकता संयोजन समितिको बैठकबाट ठोस खाका आउने सचिव प्रदीप ज्ञवालीले जनाए। उनका अनुसार सम्भवत: शनिबार बस्ने संयोजन समिति बैठकबाट एकता प्रक्रिया र खाकाबारे ठोस छलफल सुरु हुनेछ । ‘दुई पार्टीबीच सम्मानजनक एकता हुन्छ, त्यसका के–के विधि हुन्छन् भन्नेबारे अध्यक्षहरूको तहमा छलफल भइरहेको छ,’ ज्ञवालीले भने, ‘यही विकल्पमा जाने भन्ने निश्चित भइसकेको छैन ।’ ओली र दाहालबीच बिहीबार राति लामो छलफल भएको थियो ।

‘आलोपालो प्रधानमन्त्री’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओली र आफूबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भएको खुलासा गरेका छन् । दाहालले शुक्रबार चितवनमा पत्रकारहरूसँग भने, ‘समझदारी धेरै भएका छन् । समझदारीका विषयमा त्यस्तो केही अप्ठेरो आएको पनि छैन । पार्टी एकता संयोजन समितिको बैठकले नै यसको अन्तिम टुंगो लगाउने छ । आलोपालो तरिका अपनाउने भन्ने सिद्धान्तत: भएकै हो।’

प्रकाशित : पुस ८, २०७४ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT