कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

एमबीबीएस परीक्षामा चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

जनकराज सापकोटा

काठमाडौं — सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप सदस्य पक्राउ परेका छन् ।

 एमबीबीएस परीक्षामा चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो । 

शनिबार चिकित्साशास्त्र अध्ययन संस्थानले एमबीबीएसको प्रवेश परीक्षाका निम्ति १७ परीक्षा केन्द्र तोकेको थियो । प्रहरीका अनुसार गिरोहका सदस्यले प्रविधिको प्रयोग गरी सेटिङमा चिट चोराउने काम अधिकांश केन्द्रमा गरेका थिए । 

प्रहरीका अनुसार अधिकांश अभिभावक नै आफ्ना छोराछोरीलाई जसरी पनि डाक्टर बनाउने उद्देश्य राखेर चिट चोराउने गिरोहसँग मोलमलाइमा पुगेको देखिन्छ । प्रवेश परीक्षा पास गराइदिएबापत गिरोहका सदस्यलाई दुईदेखि पाँच लाखसम्म बुझाएको विद्यार्थीहरूले बताएका छन् । काठमाडौं प्रहरी परिसरले पक्राउ परेकामध्ये दस जनालाई विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ । सौरभ कुमार, समीर कुमार झा, नवराज निरौला, देवेशकुमार झा, शैलेशकुमार झा, आशुतोषकुमार झा, अजय यादव, हिरेन्द्र शर्मा, मुकेश झा र सुविस देवमाथि मुद्दा चलाइने भएको छ । प्रहरीले डिभाइससहित पक्राउ परेका चार विद्यार्थीलाई भने जाहेरवाला बनाएको छ । 

यस्तै, पप्पु यादवका नाममा नक्कली विद्यार्थी बनेर जाँच दिइरहेका ज्ञानेन्द्र ठाकुर र उनलाई सहयोग गर्ने सञ्जयकुमार यादवलाई भने किर्तेको आरोपमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी परिसरले सबैलाई पाँच दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने भएको छ । 

एमबीबीएसको प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक उपकरण प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी शनिबार पक्राउ परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एकजनालाई तीनकुनेबाट पक्राउ गरेको हो । प्रहरीले विद्यार्थीका निम्ति उपकरण उपलब्ध गराउने, परीक्षा केन्द्रबाट भाइबरमार्फत प्रश्नपत्र आउट गराउने, विद्यार्थी खोज्ने र होटलको कोठामा बसेर फोनमार्फत उत्तर टिपाउने गिरोहका १८ सदस्यलाई शनिबार र आइतबार गरेर पक्राउ गरेको हो । पक्राउ परेकामा धेरैजसो भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सिलाएर राखिएको सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस हुन्छ । त्यस्तै, विद्यार्थीले कानभित्र सानो आकारको वायरलेस एयरफोन पनि राखेका हुन्छन् । यन्त्रजडित टिसर्ट लगाएर विद्यार्थी परीक्षा हलमा बसेको केही बेरपछि गिरोहका सदस्यले यन्त्रमा फोन गर्छन् । साइलेन्ट मोडमा रहेको उक्त यन्त्रमा एक घण्टी जानेबित्तिकै फोन आफंै रिसिभ हुने अटोमेटिक सिस्टम हुन्छ । त्यसैको सहारामा गिरोहका सदस्यले परीक्षा हलबाहिर बसेर उत्तरहरू फटाफट भन्दै जान्छन् । त्यही सुनेर परीक्षार्थीले सजिलै उत्तर मिलाउन सक्छन् । 

पक्राउ परेका शैलेश झा सुविधानगरमा एमबीबीएसको तयारी कक्षासमेत दिने कन्सल्टेन्सी चलाएर बसेका छन् । शैलेशले आफूकहाँ आउने कमजोर विद्यार्थीलाई प्रविधिमार्फत चिट चोराइदिने गिरोहको सम्पर्कमा पुर्‍याइदिने गर्थे । पक्राउ परेका सुविस देव भने भारतमा एमबीबीएस तयारी कक्षा सञ्चालन गरिरहेको कन्सल्टेन्सीका सञ्चालक हुन् । प्रवेश परीक्षाभन्दा केही दिनअघि मात्रै तारतम्य मिलाउन देव काठमाडौं आएको देखिन्छ । पक्राउ परेका सौरभ कुमार भने सुविस देवका सबभन्दा नजिकका मान्छे मानिन्छन् । उनी काठमाडौंमै रेडियोलोजीमा एमडी अध्ययनरत छन् । 

प्रहरीका अनुसार एमबीबीएसको तयारी कक्षा दिने भारतीय विद्यार्थीलाई टार्गेट बनाएर चलाइएको गिरोहले पछिल्लो समय नेपाली विद्यार्थीलाई समेत चिट चोराएको देखिन्छ । महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार तीन/चार वर्षदेखि यस्तो धन्दा चलिरहेको देखिन्छ । लाखौं रुपैयाँ खर्चेर चिट चोरी पास हुने परिपाटीले मिहिनेत गर्ने र असल विद्यार्थी निरुत्साहित हुने लोहनी बताउँछन् ।

प्रकाशित : आश्विन २९, २०७४ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?