कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोइ किताब ?

पढाइ सुरु भए पनि मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा पाठ्यपुस्तक पुगेकै छैन
मकर श्रेष्ठ

काठमाडौं — मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा आइतबार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतबारसम्म काठमाडौंमै छन् ।

पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिए पनि १ देखि १० सम्मका सबै पुस्तक नआएको शिक्षा कार्यालयहरूले जनाएका छन् ।

खोइ किताब ?

मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा आइतबार नयाँ शैक्षिक सत्र सुरु भएको छ । ती दुर्गम जिल्लामा पठाउनुपर्ने पुस्तक भने आइतबारसम्म काठमाडौंमै छन् ।

पाँचै जिल्लामा भर्ना अभियान सुरु गरिए पनि १ देखि १० सम्मका सबै पुस्तक नआएको शिक्षा कार्यालयहरूले जनाएका छन् । डोल्पाका निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डाँगीले पुस्तक आउने क्रममा रहेको बताए । कक्षा १ देखि ५ को पुस्तक नेपालगन्जमै नभएको उनले बताए । उनका अनुसार कक्षा ६ देखि १० सम्मको ३ हजार ४ सय ७६ सेट पुस्तक चाहिनेमा एक हजार ६ सय ५८ सेटमात्रै नेपालगन्जबाट व्यापारीले उठाएका छन् । ‘कक्षा १ देखि ५ सम्मका पुस्तक निजी प्रकाशनले छाप्न सकेका छैनन् भन्ने सुनेको छु,’ उनले भने, ‘बेलैमा पुस्तक ल्याउन पहल गरिरहेको छु । हामीले चाहेर पनि बेलैमा पुर्‍याउन नसक्ने भयौं ।’

डोल्पामा आइतबार भर्ना टिकाउ अनि गुणस्तरीय शिक्षा, भर्ना अभियान सफल पार्ने डोल्पालीको इच्छा भन्ने नारा दिएर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । नेपालगन्जबाट डोल्पामा गाडी र खच्चडबाट पुस्तक ढुवानी गर्न चार दिन लाग्छ । कतिपय विद्यालय पुग्न सदरमुकामबाट एक साता पनि लाग्छ । शैक्षिक सत्र सुरु भएकै दिन नेपालगन्जमा समेत पुस्तक पुगेको छैन ।
डोल्पामा आठ व्यापारीलाई जिल्लाका एक सय १५ विद्यालयमा पुस्तक पुर्‍याउने जिम्मेवारी दिएकामा यसपालि तीन जना पछि हटेको उनले बताए । विद्यालयले पुस्तक प्राप्त गरेको प्रमाणित गर्नुपर्ने व्यवस्था गरेपछि तीन व्यापारीले पुस्तक नै नल्याएको डाँगीले बताए ।

मुस्ताङका विद्यार्थीका लागि आवश्यक पर्ने पुस्तक जनक र निजी दुवैले पुर्‍याउन बाँकी छ । व्यापारीहरूले शिक्षा कार्यालयलाई पुस्तक जिल्ला पुगिसकेको गलत जानकारी गराएका छन् । ‘३ देखि १० कक्षासम्मको पुस्तक जिल्लामा ल्याइसकेको जानकारी गराएका छन्,’ मुस्ताङका निमित्त शिक्षा अधिकारी मोतीलाल चपाईंले भने, ‘स्कुल खुलेका छन् । शिक्षकहरू आउन थालेका छन् । किताबचाहिँ आउँद छ भन्ने सुनेको छु ।’

जुम्लामा रंगीन पुस्तक पुगेको छैन । जुम्लाका जिल्ला शिक्षा अधिकारी कुलबहादुर फटेराले ६ देखि १० कक्षासम्मको पुस्तक जिल्ला पठाए पनि विद्यालय पठाउन बाँकी रहेको बताए । ‘कक्षा १ र २ को बाहेक अरू पुस्तक आइसक्यो,’ उनले भने, ‘चैतसम्म सबै विद्यार्थीले पुस्तक पाउँछन् ।’ शिक्षा मन्त्रालयले यस वर्षदेखि कक्षा १ र २ को पुस्तक रंगीन बनाएको छ । रंगीन पुस्तक छाप्ने जिम्मेवारी निजी प्रेसलाई दिइएको छ । कर्णालीका तीन जिल्लाका लागि नेपालगन्ज र मनाङ तथा मुस्ताङका विद्यार्थीका लागि पोखरामा शैक्षिक सत्र अघि नै पुस्तक पुर्‍याइसक्नु पथ्र्यो । निजी प्रेसले रंगीन पुस्तक सोमबार मात्रै नेपालगन्ज र पोखरा पुर्‍याउने भएका छन् । ‘कक्षा सुरु हुनुअघि जिल्लामा पुस्तक पुर्‍याइसक्छौं,’ निजीका प्रतिनिधि दीपक भण्डारीले भने । पाँच जिल्लामा आवश्यक पर्ने पुस्तक विराटनगर, काठमाडौंबाट सोमबार पठाइने उनले बताए । व्यापारी नेपालगन्ज र पोखरामा आइसकेकाले चाँडै विद्यालयमा पुस्तक पुर्‍याइने उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्रका निर्देशक कपिल पोखरेलले कर्णालीको तीन जिल्लामा आवश्यक पर्ने पुस्तक व्यापारीले उठाए पनि ढुवानी हुन बाँकी रहेको बताए । ‘हामीसँग पुस्तक किने पनि ढुवानी हुन बाँकी छ,’ उनले भने, ‘गाडीको लोड नपुगेर निजीले छापेका कक्षा १ र ५ का पुस्तकको पर्खाइमा पनि छन् ।’

प्रकाशित : फाल्गुन २, २०७३ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?