कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

‘मजदुर नेता’ ले जलाए मजदुरकै सपना

ट्याक्सी जलाएको अभियोगमा दोस्रो पटक पक्राउ परे कुमाल
केपी ढुंगाना

काठमाडौं — आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए ।

‘मजदुर नेता’ ले जलाए मजदुरकै सपना

आइतबार राति ९ बजे कोठाबाट बा१ज ५१६२ नम्बरको ट्याक्सी लिएर हिँडेका चित्रबहादुर खत्री सोमबार बिहान ३ बजेतिर कोटेश्वरमा थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सुकुम्बासीमाथि राज्यले गरेको दमनविरुद्ध’ सोमबार नेपाल बन्दको आहवान गरेकोबारे उनी जानकार नै थिए । झिसमिसे बिहानबाट मात्र बन्द लागू होला भनेर उनी कोटेश्वरमा यात्रु कुरेर बसेका थिए ।

‘बन्दकर्ताले गोंगबुमा ट्याक्सी जलायो रे कोठामा फर्किहाल,’ बिहान साढे ३ बजेतिर काकाको फोन आयो । लगत्तै बानेश्वरको कोठा आउन उनले ट्याक्सी स्टार्ट गरे । मीनभवन उकालोमा आइपुगेलगत्तै दुई जनाले ट्याक्सी रोकेर एकजना अगाडिको सिटमा बसिहाले । अर्को पछाडि उभिएका थिए । अगाडि बसेकाले एयरपोर्ट जाउँ भन्दा खत्रीले मानेनन् । एकैछिनमा ट्याक्सीको पछाडि आगो सल्कियो ।

एक महिनाअगाडि मात्रै ९ लाख खर्चिएर लिएको ट्याक्सी हवारहवार्ती बल्ल थालेपछि उनी आगो निभाउनतिर लागे । त्यही मौका छोपेर दुवै जना भागे । दैनिक ३ हजारसम्म आम्दानी दिने ट्याक्सी हेर्दाहेर्दै स्वाहा भयो । ऋण जस्ताको तस्तै छ ।

‘अगाडि बसेको व्यक्तिले २ सय ५० दिन्छु जाउँ भन्दै थिए,’ मलिन स्वरमा खत्रीले सोमबार बिहानको घटना सुनाए, ‘जान्न भन्दाभन्दै पछाडि उभिएको व्यक्तिले सलाई कोरेर ट्याक्सीमा फालेर भाग्यो ।’

केही छिनपछि आएको दमकलले ट्याक्सीमा लागेको आगो त निभायो । तर त्यतिन्जेलसम्म ट्याक्सीका केही भागमात्रै बाँकी थिए ।

सोमबार बिहान २:१० मा गोंगबुचोक र सामाखुसीबीचको सडकमा बा१ज २८६ नम्बरको ट्याक्सी पनि उही शैलीमा जलाइयो । यो ट्याक्सी रातोपुल बस्ने २२ वर्षीय सोनम लामाले चलाउँथे । प्रहरीका अनुसार २५ वर्षजतिका दुई जनाले ट्याक्सी रोकेर पेट्रोल छर्किई आगो लगाएर भागेका थिए ।

गोंगबुमा भएको घटनामा संलग्न कोही खुलेनन् । खत्रीको ट्याक्सी जलाउन संलग्न भएको आरोपमा भने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार खत्रीको ट्याक्सीमा आगजनीको आरोपमा चन्द निकट ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुमाल र जिल्ला सदस्य नवीन विष्ट पक्राउ परेका हुन् ।

२०७३, जेठ २७ मा कोटेश्वर महादेव मन्दिरनजिकै सुवास परियारको ट्याक्सी पनि यही शैलीमा जलाइएको थियो । बा१ज ८२०६ नम्बरको ट्याक्सी भाडामा लिएर चलाउँदै आएका परियार त्यो दिन बिहान कोटेश्वरमा थिए । बिहान करिब साढे ३ बजेतिर उसैगरी दुई यात्रुले हात दिएर ट्याक्सी रोके । एउटाले कलंकी जाउँ भनेर उनलाई अल्मल्याए । अर्कोले ‘बन्दमा ट्याक्सी चलाउँछस्’ भन्दै बोतलमा ल्याएको पेट्रोल छर्किएर आगो झोसिदिए । ट्याक्सी आगोको लप्कामा परेर ध्वस्त भयो । धन्न उनी जोगिए ।

परियारले टिपाएको हुलियाका आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरीले पक्राउ गरेका दुई जनामध्ये एक यिनै कुमाल थिए ।

...............
सार्वजनिक स्थानमा हूलहुज्जत गर्ने, सवारी आवागमनमा अवरोध पुर्‍याउने, निजी वा सार्वजनिक सम्पत्ति तोडफोड गरे त्यस्ता व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरेर प्रहरीले नियन्त्रणमा लिने र अनुसन्धान गर्ने अधिकार तोकेको छ ।

ऐनले कुनै सरकारी वा व्यक्तिगत सवारी साधन तोडफोड र आगजनीमा संलग्न व्यक्ति पक्राउ परे उसले क्षति पुर्‍याएको सम्पत्तिको बिगोअनुसारको जरिवाना र ६ महिनासम्म कैद सजाय दिन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ । तर राजनीतिक दलको आहवानमा हुने बन्दमा यस्ता अमानवीय घटनामा संलग्न सहजै मुक्त हुने गरेका छन् ।

जेठको घटनामा पनि उही क्रम दोहोरियो । कुमाल ‘प्रमाण नपुगेको’ भन्दै बिना कारबाही मुक्त भए । उनै कुमाल २ महिनापछि सोमबार उही शैलीको अपराधमा संलग्नताको आरोपमा पक्राउ परेका छन् ।

तोडफोड र आगजनीमा संलग्न भन्दै सोमबार पक्राउ परेका ८३ मध्ये ७३ जनालाई प्रहरीले नियन्त्रणमुक्त गरेको छ । कुमाल, विष्ट, ट्रेड युनियनका सचिव भानुभक्त आचार्य, काठमाडौं जिल्ला सदस्य विजय थापासहित १० जनालाई ‘थप अनुसन्धान गर्नुपर्ने’ भन्दै एक रात हिरासतमै राखेको छ । तर अभियोग लगाएको छैन ।

पक्राउको २४ घण्टाभित्र मुक्त गर्ने या अभियोगसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्नुपर्ने कानुनी प्रावधान छ । ‘आगजनीका घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धानका लागि कुमाल र विष्टसहित १० जनालाई हिरासतमा राखेका छौं,’ काठमाडौं परिसरका एसएसपी विक्रमसिंह थापाले भने, ‘प्रमाण फेला परे कारबाही हुन्छ ।’

आफ्नो ट्याक्सीमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेकोबारे खत्रीले थाहा पाएका छन् । तर ती दुवैलाई हेर्न प्रहरी कार्यालय जान भ्याएका छैनन् ।

‘ट्याक्सीमा आगो लगाउने दुई जना पक्रेको सुनेको छु तर हेर्न जान पाएको छैन,’ खत्रीले कान्तिपुरसँग भने । ट्याक्सीको ऋण के गर्ने भन्ने चिन्ताले दिमाग घुमाइरहेको बताउँदै उनले जिज्ञासा राखे, ‘साँच्ची बन्दमा सवारी चलाउँदा यसरी जलाइदिए भने सरकारले त्यसको क्षतिपूर्ति दिन्छ कि दिन्न ?’

प्रकाशित : श्रावण १०, २०७३ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?