कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

इतिहास खोतल्नेलाई जगदम्बाश्री

देवेन्द्र भट्टराई

काठमाडौ — प्राच्य धर्म दर्शनका प्राध्यापक डा. दिनेशराज पन्त सोमबार बेलुका सधैंझैं वाल्मीकि क्याम्पसमा विद्यार्थी र अनुसन्धाताका बीच ज्ञानगुनका कुरा सुनाइरहेका थिए ।

त्यहीबेला खबर आयो— संशोधन मण्डललाई २०६८ सालको जगदम्बाश्री पुरस्कार दिइने ।
इतिहासका अध्येता नयराज पन्तको अगुवाइमा २००९ असोज ५ मा स्थापित 'संशोधन मण्डल' ले इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने काम गरेको छ । यो अभियानलाई निरन्तरता दिने पन्तपुत्र दिनेशराज र महेशराजले प्रतीकात्मक अर्थमा आफैं जगदम्बाश्री पाएजत्तिकै भएको छ । यही संशोधनको आधार र मानकमा नयराजले लेखेको 'लिच्छविसंवतको निर्णय' ले २०४३ को मदन पुरस्कार पाइसकेको छ ।
'आफ्नै तह र हैसियतमा भइरहेका संशोधन मण्डलका कामका लागि प्रतिष्ठित सम्मान पाउँदा यस्तो एकाग्रचित्तको काम जारी राख्ने हौसला पलाएको छ,' वाल्मीकि क्याम्पसमा भेटिएका दिनेशराजले भने ।  
२००९ सालमा सुरु गर्दा मण्डलमा २१ जना विद्वान् थिए । पहिलोपल्ट यो मण्डलले इतिहासकार बालचन्द्र शर्माले २००८ सालमा छापेको 'नेपालको ऐतिहासिक रूपरेखा' मा भएका त्रुटिलाई उठाएको थियो । पछि 'इतिहास संशोधन', 'अभिलेख संग्रह', 'सावधान पत्र', 'व्याकरण संशोधन', 'पञ्चाङ्ग संशोधन' लगायत पत्रिका/जर्नल प्रकाशित गर्‍यो । २०२१ साल वैशाखदेखि 'पूणिर्मा' त्रैमासिक १ सय ३५ अंक प्रकाशित भए  । संशोधन मण्डल र 'पूणिर्मा' पत्रिकाका लागि दिइने भनिएको जगदम्बाश्रीको प्रशस्तिमा 'इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरुकुलीय संगठित र संस्थागत प्रयासबाट प्रामाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथा प्रचारका लागि पूणिर्मा पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ््मयको सेवा र श्रीवृद्धिमा निरन्तर उल्लेखनीय योगदान गरेबापत 'संशोधन मण्डल' लाई प्रदान गरिएको' उल्लेख छ । पुरस्कार राशि २ लाख रुपैयाँ छ ।
पुरस्कार रकम तथा संशोधन मण्डल र 'पूणिर्मा'का लागि संकलित ७ लाखबाट अब इतिहासका अध्येता नयराज पन्तका केही अप्रकाशित र केही पुनर्मुदि्रत गरेर १२ वटा पुस्तक छापिने जानकारी दिनेशराजले दिए ।

प्रकाशित : आश्विन २, २०६९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?