१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मेयर शाहको अभिव्यक्ति लक्षित काठमाडौं प्रशासनको विज्ञप्ति- 'सरकारी काममा खटिनेलाई जथाभावी वक्तव्य नदेउ'

'सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ ।'

काठमाडौँ — काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका कर्मचारीहरुलाई निरुत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानकर्षण गराएको छ ।

मेयर शाहको अभिव्यक्ति लक्षित काठमाडौं प्रशासनको विज्ञप्ति- 'सरकारी काममा खटिनेलाई जथाभावी वक्तव्य नदेउ'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गत शनिबार फेसबुकमार्फत् दिएको आपत्तिजनक अभिव्यक्ति र उनको सचिवालयले ट्राफिक प्रहरीमाथि लाञ्छित गर्दै वक्तव्य जारी गरेपछि काठमाडौं प्रशासनले विज्ञप्ति जारी गरेको हो ।

'सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ' सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठद्वार जारी विज्ञप्तिमा छ 'यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुऱ्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभाव वक्तव्यबाजी नगर्नु/नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।'

प्रशासनले सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधन प्रयोगबारे सरकारको नीति कडाइसाथ कार्यावन्यन हुने पनि स्पष्ट पारेको छ। मेयर शाहकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले जाँच गर्दा मेयर शाहले अराजक अभिव्यक्ति दिएका थिए । त्यसैतर्फ इंगित गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य भइरहेको स्मरण गराएको छ ।

'गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको छ । सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ ।

यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ' विज्ञप्तिमा भनिएको छ,'गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ ।'

मितव्ययिता, शान्तिसुरक्षा तथा सुशासन अभिवृद्धिका लागि स्थानीय प्रशासनबाट सम्पादित यस्ता कार्यमा आम नागरिकबाट प्राप्त साथ, समर्थन र सहयोगले उच्च मनोवलका साथ कार्य गर्न थप उत्प्रेरित गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति :

प्रकाशित : भाद्र १८, २०८० १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?