१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की 

मकर श्रेष्ठ

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । 

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की 

बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोखेका छन् ।

नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने,‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले बताए ।

‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ती ट्राफिक प्रहरीले भने,‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी राकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित : भाद्र १६, २०८० २३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?