ठगीमा ९ चिनियाँसहित १९ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिई अनलाइन ठगी गरेको आरोपमा प्रहरीले ९ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । ‘ह्वाट्स एप’ मा विभिन्न व्यक्तिसँग कुरा गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुन्छ भनी ‘टेलिग्राम’ मा ‘अप्रेसन टिचर’ नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरेर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं बुढानीलकण्ठ–२ महादेवखोला र काठमाडौं महानगर–४ चण्डोलबाट उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू हुआङ ह्वाङरुङ्ग, सी फुस्याङ्ग, लान जेङ्गवेई, सीई गुई, सीई सुवाङ डी, ग्वा मिङ्ग, इच्यू पीङ भिङ, सान डार्लिन र लि जिआन होङ छन् । अनलाइन ठगीको आरोपमा १० नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ–३ का बुद्धिराज श्रेष्ठ, नुवाकोट शिवपुरी–५ का इन्द्र तामाङ, राजकुमार लामा, बुढानिलकण्ठ–२ चपलीका प्रयास भण्डारी, दोलखा बैतेश्वर–२ का अर्जुन श्रेष्ठ, रामेछाप उमाकुण्ड–४ का रविना सुनुवार, लमजुङ दुधपोखरी–६ की सुनिता गुरुङ, मकवानपुर हेटौंडा–८ की जमुना गोले, उदयपुर गाईघाटकी अनिता मगर र गोरखा चुमनुब्रीकी अनु गुरुङ छन् ।

प्रहरीले उनीहरुको साथबाट ल्यापटप १२ थान, मोबाइल सेट ७७ थान, सिम कार्ड ७४ थान, राहदानी ६ थान, डेस्कटप २, राउटर ४ र नगद ४ लाख १ हजार ८ सय ८० रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई ठगीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको एसपी राठौरले जानकारी दिए ।

प्रकाशित : चैत्र १५, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

कान्तिपुर संवाददाता

जुम्ला — कर्णालीको पर्यटन प्रवर्द्धनका लागि वैशाख ११ मा जुम्ला–रारा अल्ट्रा म्याराथन दौड गरिने भएको छ । सदरमुकाम खलंगाको शून्य प्वाइन्ट चन्दननाथ मन्दिरदेखि रारातालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन हुनेछ ।

आयोजक कर्णाली स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरी लोकतन्त्र दिवसको अवसरमा म्याराथन गरिने जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुसार खलंगादेखि सुरु भएर डाँफेलेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै रारातालको छेउ हुटुमा पुग्नेछ ।

विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । चौथो र पाँचौं हुनेलाई २०–२० हजार पाउनेछन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर तथा एभरेस्ट म्याराथन ह्याट्रिककर्ता हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने र खेलकुदमहत्वबारे जनचेतना अभिवृद्धि गराएर खेलसंस्कृतिको जगाउन म्याराथन गर्न लागिएको धावक रोकायले बताए । ‘विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्ला हो,’ उनले भने ।

यसै इभेन्टका अहिलेसम्म तीनवटा संस्करण भइसकेका छन् । हरेक प्रतियोगितामा ३ सयदेखि ४ सयको हाराहारीमा देशभरिका साथै बेलायत, नेदरल्यान्ड्स, भारत, इटाली, अमेरिकालगायत देशका खेलाडी सहभागी भएका थिए । चौथो संस्करणमा झन्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।


प्रकाशित : चैत्र १५, २०७९ २२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×