कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिनाथमा महाशिवरात्रि चहलपहल

५ हजार सुरक्षाकर्मी परिचालन हुने, ५ ठाउँ सवारी पार्किङ, ४ स्थानमा जुत्ताचप्पल राख्ने व्यवस्था, पहिलोपटक शंकराचार्य पुजन महोत्सव
दामोदर न्यौपाने

काठमाडौँ — महाशिवरात्रिका लागि पशुपति क्षेत्र सिँगारेर भकिझकाउ बनाइएको छ । रंगरोगन गरिनुका साथै बत्ती र फूलले सिँगारिएको छ । साधुसन्त आउने क्रम सुरु भएको छ ।

पशुपतिनाथमा महाशिवरात्रि चहलपहल

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी भइरहेको जनाएको छ । महाशिवरात्रि पर्व व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । मूल समितिअन्तर्गत आठवटा उपसमिति गठन भएको कोषका प्रवक्ता रेवतीमरण अधिकारीले बताए ।

शिवरात्रिलाई मध्यनजर राखेर ‘स्वच्छ पशुपति, सफा पशुपति’ अभियान सञ्चालन गरिएको छ । रातको समयमा पनि सफाइ भइरहेको अधिकारीले जानकारी दिए । कोषका अनुसार पर्वका दिन सुरक्षा व्यवस्था कडा बनाइने छ । मेला व्यवस्थापनका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । दर्शनमार्गमा सीसीक्यामेरा जडान गरी प्रहरीले निगरानी गर्नेछ । आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्ड पोस्ट स्थापना गरी विशेष सुरक्षाको प्रत्याभूति दिइने प्रवक्ता अधिकारीले बताए । ‘दर्शनमार्गमा ब्यारिकेड जडानलगायतको कार्यमा नेपाली सेनाको विशेष सहयोग रहनेछ,’ अधिकारीले भने, ‘मन्दिरभित्रको भीड व्यवस्थित गर्न सेनाको सहयोग लिइनेछ ।’

लाम सहजीकरणका लागि नेपाल कोर क्षेत्र बाहिर स्काउटका करिब ४ हजार स्वयंसेवक परिचालन गरिनेछ । पशुपति मन्दिरको मुख्य क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहित सेनाको नेतृत्वमा स्वास्थ्य शिविर रहनेछ । सशस्त्र र नेपाल प्रहरीसमेतको गरी ५० वटा संघसंस्थाले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र दमकलको समेत व्यवस्था हुनेछ । यातायात व्यवस्थापनका लागि ५ ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । तिलगंगा, पशुपति क्षेत्र विकास कोष कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलको चौर र गुह्येश्वरी क्षेत्रमा गाडी पार्क गर्ने व्यवस्था मिलाइएको छ । सवारी चापलाई ध्यानमा राखेर एयरपोर्ट चाबहिल सडकको आधा भागमा सवारी चलाउन दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था गरिनेछ ।

भक्तजनका जुत्ताचप्पल सुरक्षित राखिदिन चार ठाउँमा व्यवस्था गरिएको छ । भुवनेश्वरी चोक, बज्रघरको दक्षिण, दक्षिणामूर्ति, राम मन्दिर नजिक र वाग्मतीपारि जुत्ता राख्ने व्यवस्था गरिएको छ । भक्तजनलाई दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोकाबाट दर्शनको व्यवस्था हुनेछ । विशेष पूजा बिहान र साँझ ६ बजेपछि मात्र हुनेछ । दर्शनार्थी मन्दिरबाट बाहिर निस्किएपछि कोर क्षेत्र भित्र र बाहिरचाहिँ जयबागेश्वरी, बज्रघर अगाडि दक्षिण ढोका, तिलगंगामा वेद विद्याश्रमका बटुकबाट चन्दन वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

ज्येष्ठ नागरिक, शारीरिक अपांगता भएकालाई छुट्टै दर्शनमार्गको व्यवस्था मिलाइएको छैन तर सुरक्षाकर्मीसँग समन्वय गरेर सिधै दर्शन गर्न पाइने अधिकारीले जानकारी दिए ।

गत वर्षको भन्दा फरक गरी यसपटक शंकराचार्य पुजन महोत्सव आयोजना गरिएको छ । आगामी आइतबारदेखि तीन दिन महोत्सव आयोजना गरिएको छ । यी दिन पुरी मठका जगतगुरु शंकराचार्य सरस्वती निश्चलानन्द स्वामीको विशेष सत्संग प्रवचन राखिएको छ । ‘शिवरात्रिको अवसरमा यस्तो प्रकारको कार्यक्रम पहिलोपल्ट आयोजना गर्न लागिएको हो,’ अधिकारीले भने । विभिन्न संघसंस्थाबाट आवास, भोजनको व्यवस्थासमेत मिलाइएको छ । निःशुल्क भोजनका लागि सयवटा संघसंस्थाले अनुमति लिएका छन् । ती संस्थाले भोजन, पानी, चिया वितरण गर्नेछन् । आवास क्षेत्रनजिक शौचालयको पनि व्यवस्था मिलाइएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?