त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित २२ नेपाली पक्राउ- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित २२ नेपाली पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित २२ नेपाली पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट काठमाडौं-दुबई हुँदै क्रोसिया जान लागेका २२ पुरुष विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको हाते झोला जाँच गर्ने ठाउँबाट पक्राउ परेका हुन् ।

उनीहरुलाई विभिन्न दरका ५१ हजार ३५१ यूरो (नेरु ७२ लाख ६३ हजार ९७१) सहित पुस ३० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना, महेन्द्र राई, सोनम तामाङ, राजु शाही, मिलन राई, राजु लामा, दशरथ राई, सोमबहादुर केसी छन् ।

नवीन थापामगर, लोप्साङ तामाङ, नगेन्द्र चौधरी, डम्बरबहादुर योङहाङ, बुद्धिराज नेमाङ लिम्बु, निवासा लिम्बु, जसबहादुर लिम्बु, उपेन्द्र मल्ल, किरण लामा, एलिस खत्री र अशोक गुरुङलाई पक्राउ गरिएको छ ।

उनीहरुलाई पठाउने पदमबहादुर विश्‍वकर्मा पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटको बाहिर पट्टीबाट नियन्त्रणमा परेका छन् । उनको साथबाट भने नेपाली रुपैयाँ १००० दरको १ लाख २० हजार बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रकाशित : माघ ३, २०७९ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्

एएसबीसी बक्सिङ : कम्तीमा दुई कांस्य पक्का

कान्तिपुर संवाददाता

काठमाडौँ — थाइल्यान्डमा हुने एएसबीसी यू–२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई बक्सरले कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

एसियन बक्सिङ कन्फेडरेसन (एएसबीसी) को आयोजना एवं थाइल्यान्ड बक्सिङ संघको समन्वयमा बैंककमा हुने च्याम्पियनसिपमा नेपाली महिला बक्सर त्रिशा जवेगुले ७५ केजी र पुरुष बक्सर विजय बाटाले ८६ केजी तौल समूहमा बाई पाएर कम्तीमा कांस्य पदक पक्का गरेका छन् ।

त्रिशाले काजकिस्तानका येरजहान गुलसायासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । विजयको सेमिफाइन भेट भारतीय खेलाडी मुस्किता माइखेलसँग प्रतिस्पर्धा हुनेछ ।

महिला ५७ केजी तौल समूहमा हेमा राईले सिंगापुरका चाव जी मिन बेरनिससँग जनवरी १९ मा र ४८ केजीमा तौलमा सुष्मा तामाङले भियतनामी फाम थी किनहानसँग बुधबार क्वाटरफाइनल खेल्नेछन् । पुरुष ४८ केजी तौल समूहमा नेपालका लालप्रसाद उप्रेतीले फिलिपिन्सका दुरेन मार्क लेफचरसँग जनवरी २० मा र ५७ केजी तौलमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले लाओसका सोक्साखोनसँग बुधबार क्वाटरफाइनल प्रतिस्पर्धा गर्नेछन् ।

सुष्माको चौथो र इन्द्रको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी चारले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेका हुन् ।

प्रशिक्षकमा दीपक महर्जन र सन्दीप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन् ।

प्रकाशित : माघ ३, २०७९ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×