कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षक खोज्दै विद्यार्थी सदरमुकाम

खगेन्द्र अवस्थी

बैतडी — एक वर्षदेखि विषयगत शिक्षक नआएपछि बैतडी तल्लोस्वराड क्षेत्रको एक विद्यालयका विद्यार्थी सदरमुकाम पुगेका छन् ।

शिक्षक खोज्दै विद्यार्थी सदरमुकाम

तल्लोस्वराड क्षेत्र बिशालपुरस्थित शिव निमाविका विद्यार्थी अंग्रेजी विषयको शिक्षक माग गर्दै सदरमुकाम आएका हुन् । उनीहरूले शिक्षा, प्रशासन, जिविसलगायत सरोकारवाला निकायलाई भेटेर वर्ष दिनसम्म विषयगत शिक्षक नपाएको गुनासो गरे ।

एक वर्षदेखि अंग्रेजी शिक्षक नहुँदा आफ्नो पढाइ प्रभावित भएको उनीहरूको गुनासो छ । पटकपटक माग गर्दा पनि वर्ष दिनसम्म पढ्न नपाउने अवस्था भएपछि सदरमुकाम आउन बाध्य भएको बाल क्लब अध्यक्ष एवं शिव निमावि ८ कक्षाका महेशकुमार विकले बताए ।

‘परीक्षा आउने बेला भयो अझै किताब खोल्न पाएका छैनौं,’ विकले भने, ‘विषय शिक्षक नै नभएपछि पढ्न सकेका छैनौं ।’ पढाइबिनै परीक्षा दिएकाले अर्धवार्षिकमा आफूलगायत कोही पनि अंग्रेजीमा पास नभएको ८ कक्षाकी अर्की छात्रा दिपा विकले बताइन् ।

‘अंग्रेजीको क्लास खाली बस्ने गरेकाले एउटै विद्यार्थी पास भएनौं,’ उनले भनिन् ।
पटकपटक सम्बन्धित निकायलाई गुहार्दासमेत पहल नभएकाले पढाइ प्रभावित भएको प्रअ जयराज ओझाले बताए ।

 विगत एक वर्षदेखि राहत दरबन्दी खाली उक्त विद्यालयमा ०७२ जेठमा प्रावि तहमा कार्यरत शिक्षकको समेत सरुवा भएपछि समस्या बल्झिएको हो । ८ कक्षासम्म चलाइएको विद्यालयमा ३ दरबन्दी र १ राहत गरी ४ जना शिक्षक छन् । १ जनालाई निजी स्रोतमा थप गरेको छ ।

विद्यालय र अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले थप शिक्षक राख्न सक्ने अवस्था नभएको प्रअ ओझाले बताए । ‘एक वर्षदेखि विषय शिक्षक नपाउँदा नतिजा प्रभावित हुन थालेको छ,’ उनले भने, ‘आश्वासनमात्र पाइने, शिक्षक नआउने भएकाले पढाउनै समस्या भएको छ ।’

सोमबार शिक्षामा भएको छलफलपछि पनि शिक्षकको टुंगो नलाग्दा सदरमुकाम पुगेका विद्यार्थी रित्तो हात घर फर्किएका छन् । शिक्षा अधिकारी जिल्ला फर्केपछि सुनुवाइ हुने निमित्त शिक्षा अधिकारी शंकरदत्त भट्टले बताए ।

प्रकाशित : पुस १५, २०७२ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?