फुड टेक्नोलजी

प्रदीप मेन्याङबो

धरान — खाद्य प्रविधि (फुड टेक्नोलजी) शिक्षाबारे प्राय: विद्यार्थी जानकार छैनन्। जतिले पढिरहेका छन्, उनीहरूमध्ये अधिकांश एमबीबीएस वा अन्य प्राविधिक विषय पढ्ने तयारी गर्दै यता होमिएका हुन्। थाहा नहुनुको प्रमुख कारण हो– धरानमा मात्र यो विषयको पढाइ हुनु।

धरानको हात्तीसारस्थित केन्द्रीय प्रविधि क्याम्पसमा फुड टेक्नोलजी अध्ययनको व्यवस्था छ। यो विषय कक्षा १२ पास गरेपछि पढ्न पाइन्छ। यसको जनउत्तरदायी स्कोप, विशिष्ट महत्त्व, अलग विषेशता थाहा पाएका विद्यार्थीहरू आफ्नो शैक्षिक भविष्य जुनसुकै एंगलबाट पनि सुरक्षित भएकाले ढुक्क छन्।

खाद्य प्रविधिमा बीटेक गर्न आईटेक वा आईएस्सी अथवा प्लस टुमा गणित र जीव विज्ञान विषय लिएर राम्रो प्रतिशत अंक ल्याएको हुनुपर्ने सामान्य प्रावधान छ। चितवनको रत्न नगरकी बिबिता जोशी अहिले बिटेक तेस्रो वर्षमा अध्ययनरत छिन्। ‘म फिजिक्स, केमेस्ट्रीबाट भाग्न चाहन्थें। त्यसैले पब्लिक हेल्थ पढ्नका इन्ट्रान्स फर्म भर्दै थिएँ,’ उनले भनिन्, ‘फर्ममा त झुक्किएर बिटेक फुड टेक्नोलजी अध्ययन हुने ‘धरान’ भनेर पो टिक लगाएछु। टिक लगाइहालें। जे भए पनि प्रतिस्पर्धा गर्नै पर्‍यो भनेर भिडें। पास भएँ।’

उनलाई इन्ट्रान्स दिइन्जेल पनि फुड टेक्नोलजीबारे विस्तृत जानकारी थिएन। प्लस टुमा बायोलोजी पढेकाले केही सजिलो लाग्यो। बुझ्दै जाँदा पढ्ने विषय यो पो रहेछ भन्ने लाग्न थालेको उनले बताइन्। फुड टेक्नोलजीले मानिसलाई कसरी स्वस्थ, सन्तुलित तुल्याउने, मिठो खाद्यपदार्थ बनाउने, उत्पादन गर्ने, प्याकेजिङ, बिक्रीवितरण गर्ने भन्ने कला सिकाउँछ।

केन्द्रीय प्रविधि क्याम्पसमा बिटेक, एमटेक र विद्यावारिधिसम्म गर्न पाइन्छ। खाद्य प्रविधिमा एमटेक गर्ने, मौका परे विदेश जाने र खाद्य प्रविधि विषयमा अनुसन्धान गर्ने लक्ष्य राखेका ९६ विद्यार्थी छन्। ‘निकट भविष्यमा म सायद नेपाली खानाबारे अनुसन्धान गर्छु,’ बिबिताले भनिन्।

‘मैले बिटेक लगभग पूरा गरेको छु,’ बिटेक अन्तिम (चौथो) वर्षको परीक्षा दिएर बसेका दिनेश सुवेदीले सुनाए, ‘मलाई दुई ठूला उद्योगबाट खाद्य प्राविधिज्ञको रूपमा जागिरको अफर आइसकेको छ। मेरा ब्याचका २४ जना सबैलाई यस्तै अफर आएका छन्।’

धनकुटाको जितपुरका सजल भट्टराई प्लस टुपछि एमबीबीएसको तयारीमा थिए। त्यतिखेरै नयाँ विषयका रूपमा फुड टेक्नोलजीबारे जानकारी पाए। इन्ट्रान्समा सफल भए। बीटेक दोस्रो वर्षका उनले भने, ‘वास्तवमा मैले पहिले धेरै नबुझे पनि आफ्नै रुचिले यतातिर आकर्षित भएकाले अहिले निकै आनन्द आइरहेको छ।’
 
चौथो वर्षका चन्द्रकान्त धमलाले बीटेक इन्ट्रान्स पास भएपछि मात्र यो विषयबारे जानकारी पाएका हुन्। ‘प्राविधिक विषय नै खोज्दै जाँदा फुड टेक्नोलजीमा आँखा पर्‍यो,’ उनले भने, ‘अहिले थाहा पाउँदै छु, यो विषय लिएर पढेकाहरूले जागिर खोज्नु पर्दैन, जगिरले खोज्दै आउँदो रहेछ।’

काठमाडौंकी प्रतीक्षा नेपाल डाक्टर बन्ने सपना त्यागेर खाद्यविज्ञ बन्ने अन्तिम लक्ष्यमा पुगेकी छन्। ‘अब खाद्य प्रविधिमै विद्यावारिधि गर्ने र खाद्य अनुसन्धानमै व्यस्त हुनेछु,’ चौथो वर्ष पढ्दै गर्दाको उनको योजना हो।

चितवनकी अनुस्मृति लम्साल र भैरहवाकी अभिशिखा रेग्मीका अनुसार खाद्य प्रविधि विषयमा बाँच्नका लागि उपयोग गरिने कुनै पनि खाद्यवस्तुमाथि अध्ययन हुन्छ। यो प्रविधि अध्ययनले चिया, रक्सी, बिस्कुट, अन्नबालीदेखि जाँड बनाउने मर्चा, किनेमा, गुन्द्रुक, दूधका परिकार, सिन्की, मेसो, तोङबा, किनिमा, मस्यौरा बनाउन सैद्धान्तिक ज्ञान दिन्छ। दाल, चामल, छुर्पी, याङ्बेन (हिमाली भेगमा पाइने झ्याउ), सुकुटी लगायतका विभिन्न खाद्यपदार्थको लाभ(हानि केलाउन सकिन्छ। खाद्य पदार्थको गुणस्तर कायम गर्ने नयाँ तरिका अपनाउनु, दिनभरि प्रयोगशालामा रमाउनु, अभ्यास गर्नु, छलफल गर्नु विद्यार्थीको दिनचर्या हो। विद्यार्थी सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमा हरपल खटिरहेका भेटिन्छन्। यो विषयले खाद्य सुरक्षा, पोषणतत्त्व, स्वादसँग प्रत्यक्ष सरोकार राख्छ।

इटहरीका सरोज घिमिरे र उर्लाबारीका प्रदीप संग्रौला, स्याङ्जाका सुमन लामिछाने, धरानका सुदीप भट्टराईका लागि खाद्य प्रविधि विषय पढ्न पाउनु अहोभाग्य बनिदिएको छ।
यो क्याम्पसमा खाद्य प्रविधिको ३१ औं ब्याचसम्म आइपुग्दा बिटेक (स्नातक) गरिसकेका करिब पाँच सय जनामध्ये कोही पनि बेरोजगार हुनु नपरेको क्याम्पस प्रमुख डा. धनबहादुर कार्कीको अनुभव छ।

यो विषयप्रति विद्यार्थीको आकर्षण बढेको छ।

‘खाद्य पदार्थको गुणस्तर कायम राख्दै प्रशोधन गरी लामो समयसम्म खानयोग्य अवस्थामा राख्न सकिने र विविधतामा ल्याउनका लागि गरिने अध्ययन अनुसन्धान, प्रयोग नै खाद्य प्रविधि हो,’ कार्कीको कथन छ। विषयको गहनता, औचित्य र आवश्यकता बढ्दै गएको उल्लेख गर्दै उनले थपे, ‘कृषकले खाद्यवस्तु उत्पादन गरेपछि उपभोक्ताको चुलोदेखि मुखमा पर्नेसम्मको अध्ययन अनुसन्धानको विषयप्रति नयाँ पुस्ता आकर्षित हुन थालेका छन्।’

खाद्य प्रविधिमा प्रारम्भमा आधारभूत विज्ञान, भौतिक शास्त्र, रसायनशास्त्र, फुड इन्जिनियरिङ, बायोकेमिकल इन्जिनियरिङ, डेरी टेक्नोलजी, इन्डस्ट्रियल माइक्रोबायोलजी, क्वालिटी कन्ट्रोल एन्ड फुड एनालाइसिस, प्रिन्सिपल अफ फुड प्रोसेसिङ, टेक्नोलजी अफ फुड प्रोडक्सन, फुड प्लान म्यानेजमेन्ट, प्याकेजिङ एन्ड स्टोरेज टेक्नोलजी, मिट टेक्नोलजी, फ्रुट एन्ड भेजिटेबल टेक्नोलजी, फुड केमेस्ट्री, सिरियल टेक्नोलजी (अन्नबालीबाट बन्ने खाद्य पदार्थ), फुड माइक्रोबायोलजी, खाद्य पदार्थका विश्लेषण, गुण नियन्त्रण लगायतका विषयमा अध्ययन अनसुन्धान हुने गरेको छ।

विद्यार्थीले खाद्य पदार्थको म्यानेजमेन्ट, प्याकेजिङ र मार्केटिङसमेत अध्ययन अनुसन्धान गर्ने र त्यसैमा दक्षता पनि हासिल गर्ने भएकोले स्वदेश र विदेशका सबै जसो खाद्य उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन हुने गरेको प्रमुख कार्कीले बताए। उनका अनुसार स्नातक गरेका खाद्य प्राविधिज्ञले विभिन्न खाद्य उद्योग, सरकारी तथा गैरसरकारी संघसंस्था, अस्पताल, होटलहरूमा खाद्य वैज्ञानिक, डेरी टेक्नोलजिस्ट, फुट केमिस्ट, प्रोडक्सन म्यानेजर, गुणस्तर विशेषज्ञ, पब्लिक हेल्थ अफिसर, खाद्य निरीक्षक, फुड इन्जिनियर, खाद्य परामर्शदाता, प्रशिक्षक, सन्तुलित भोजन विशेषज्ञ, फुड बायोटेक्नोलजिस्टको जागिर पाउने गरेका छन्।

यस क्याम्पसमा चारवर्षे बीटेकमा २४ जनाको कोटा छ। तीमध्ये १६ जना पूर्ण छात्रवृत्तिमा पढ्न पाउने व्यवस्था छ। पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीले चार वर्षभित्र २८ हजार ८ सय ८० रुपैयाँ, डोनेस्क कोटामा पढ्ने चार जनाले १ लाख २८ हजार ८ सय ९० र सार्क कोटामा अध्ययन गर्न चाहनेले ३ लाख २८ हजार ८ सय ९० रुपैयाँ शुल्क तिर्नुपर्छ। पूर्ण छात्रवृत्ति पाउने १६ जनामध्ये एक जना स्टाफ कोटाबाट पढ्नेले ११ हजार ८ सय ९० रुपैयाँ मात्र तिरे पुग्छ।

प्रकाशित : आश्विन १५, २०७२ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

सानिमा माई राष्ट्रिय प्रसारणमा जोडियो

कान्तिपुर संवाददाता

काठमाडौं — सानिमा माई जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ। इलाममा उत्पादित उक्त बिजुली झापासम्मको काबेली करिडोर प्रसारणलाइनमार्फत बिहीबार जोडिएको हो।

उत्पादन सुरु भएको लामो समयसम्म प्रसारणलाइनमा पूरै बिजुली जोड्न सकिएको थिएन ।

‘बिहीबारबाट सानिमाको सबै बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले कान्तिपुरसित भने। निजी उत्पादकले उत्पादन गरेको बिजुली राष्ट्रिय प्रसारणलाइनमा ल्याउने जिम्मा प्राधिकरणको हो । 

काबेली प्रसारणलाइनमा पर्ने जग्गाको मुआब्जा विवादका कारण सबै बिजुली ल्याउन सकिएको थिएन। झापामा मुआब्जा विवाद सकिएपछि प्रसारणलाइनमा जोडिएको हो। काफ्लेका अनुसार सानिमा माईको पूरै बिजुली जोडिएको छ ।

सानिमाको क्षमता २२ मेगावाट हो। यसअघि करिब ४ मेगावाट वैकल्पिक माध्यमबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो। सानिमा माई नदीको बहाव (आरओआर) मा आधारित जलविद्युत् आयोजना हो ।

प्रकाशित : आश्विन १५, २०७२ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्