२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

दलितलाई मुस्किल

तलीचौर (जुम्ला) — ४६ वर्षीया चल्लीसरा कुलाल कांग्रेसबाट चन्दननाथ नगरपालिका–१ मा दलित महिला सदस्यको उम्मेदवार छिन् । मेयर उम्मेदवार कान्तिका सेजुवालसँगै उनी बिहान सबेरदेखि बेलुकी अबेरसम्म घरदैलोमा हुन्छिन् । कान्तिका घरघरै छिरेर भोट माग्छिन् । चल्लीसरालाई भने त्यो अनुमति छैन । उनले आँगनबाटै नमस्कार गरेर भोट माग्नुपर्छ । ‘नेता हुन अघि सर्‍या छौं,’ उनले भनिन्, ‘भोट माग्न ठूला जातिका दैलो टेक्न पाइन्न ।’

दलितलाई मुस्किल

विकट गाउँमा मात्र हैन, सदरमुकाम खलंगाभित्रै जातीय भेदभाव व्याप्त छ । दलितले छोएको पानी चल्दैन । कथित माथिल्लो जातिका घरमा दलित छिर्न पाउँदैनन् । त्यसैले उम्मेदवारहरूले चुनावी प्रचारका क्रममा बाहुन/क्षत्रीका घरआँगनमा थुप्रै पटक दुव्र्यवहार सहनुपरेको छ । आफैं उम्मेदवार भएको पार्टीका नेता–कार्यकर्ताको घरमा समेत अपमानित हुनुपर्दा दु:ख लागेको चल्लीसरा बताउँछिन् ।

चल्लीसरालाई बाहुन/क्षत्रीका गाउँ जानै मन लाग्दैन । मतदाता तिनै जातिका धेरै भएकाले घरघर नगई चुनाव जितिन्न भन्ने पनि उनलाई थाहा छ । त्यसैले अपमान सहेरै घरदैलोमा हिँडेको उनले बताइन् । ‘मैले जिते यो कुरा नगरपालिकामा उठाउँछु,’ उनले भनिन् ।

चन्दननाथ–७ की एमाले वडा सदस्य उम्मेदवार निली कामी पनि आँगन र बाटोबाटै मतदातासँग भोट माग्छिन् । उनले कतै प्रतिवाद गरेकी छैनन् । ४५ वर्षीया कामीले भनिन्, ‘भोट माग्ने बेलामा रिसाउन पनि भएन । भेदभाव भयो भनेर झगडा गर्न पनि मिलेन ।’ दलितले घरको खाँबो छोए वा दैलोभित्र छिरे देउता रिसाउँछन् भन्ने अन्धविश्वास रहेका जुम्लाका गाउँहरूमा चल्लीसरा र निली मात्र हैन, सयौं उम्मेदवारहरू पीडित छन् । जातीय भेदभाव सिँजा भेगमा अझ बढी छ ।

धेरैजसो मतदाताले घरदैलोमा आएकामध्ये दलित र महिनावारी भएकालाई खाँबो र दैलोसम्म आउन रोक्ने गरेका छन् । उनीहरूले ‘छाउ भएका र दलित को–को हुनुहुन्छ ? दु:ख नमान्नुहोला । हाम्रा देउता धेरै कडा छन्’ भनेर रोक्ने गरेको एमाले युवा नेतृ मेनुका पछाई बताउँछिन् ।

चन्दननाथ–७ मिचामा आइतबार उम्मेदवारसहित घरदैलोमा गएकी उनी आफैंले त्यो दुर्व्यवहार सहनुपर्‍यो । महिनावारी भएको छैटांै दिन भएको थाहा पाएपछि मतदाताले आफूलाई आँगनमै रोकेको उनले बताइन् । ‘घरदैलोका क्रममा दलित, महिनावारी भएका र एकल महिलाले धेरै अपमान सहनुपरेको छ,’ उनले भनिन्, ‘चुनावका बेला भोट बिग्रेला भनेर परिवर्तनका लागि हिँडेकाहरू पनि चुपचाप बस्नुपर्ने बाध्यता छ ।’

सदरमुकाम र वरपरका बस्तीहरूमा अझै पनि छाउपडी गोठहरू छन् । एक वर्षअघि गैरसरकारी संघसंस्थाको सक्रियतामा तिला गाउँपालिकाको कुडारीलाई छाउगोठमुक्त गाउँ घोषणा गरिएबाहेक अरू पहल गरिएको छैन । महिला र दलितमाथि दुव्र्यवहारको यति गम्भीर सामाजिक मुद्दालाई पनि मुख्य दलहरूले स्थानीय चुनावी घोषणापत्रमा समेटेका छैनन् ।

न त घरदैलो र चुनावी सभाहरूमा महत्त्वसाथ उठाइरहेका छन् । चौथो ठूलो पार्टी राप्रपाले चन्दननाथ नगरपालिकाका उपमेयरमा मनसुर सुनारलाई उठाएबाहेक मुख्य प्रतिस्पर्धी पार्टीहरूले मुख्य पदमा दलितलाई उम्मेदवार पनि बनाएका छैनन् । जुम्लाका एक नगरपालिका र ७ गाउँपालिकाका छन् ।

चन्दननाथ नगरपालिकाका एमाले मेयर उम्मेदवार शान्तिलाल महत संविधानमै दण्डनीय रहेका र सरकारी नीतिले समेटेका विषयलाई स्थानीय प्रतिबद्धता जनाउन नपर्ला भनेर छुटाएको बताउँछन् । ‘भेदभाव र दुव्र्यवहारलाई हाम्रो स्थानीय सरकारले व्यावहारिक रूपमै अन्त्य गर्नेछ,’ उनले भने ।

कांग्रेस मेयर उम्मेदवार कान्तिका सेजुवालले आफू ०५७ सालदेखि छाउपडी प्रथाविरुद्ध सामाजिक सचेतना फैलाउने अभियानमा लागेको बताइन् । ‘एउटा प्रतिबद्धतापत्रमा छुट्यो होला ।
अर्कोमा आउँछ,’ उनले भनिन् । प्रचारप्रसारका क्रममा आफूले महिनावारी भएका र दलितसँग कुनै छुवाछूत नगरेको उल्लेख गर्दै दलित महिला सदस्यलाई पनि जातीय दुव्र्यवहार भएको आफूले थाहा नपाएको उनले दाबी गरिन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?