कविता : वैशाख
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको बास मीठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।
लाऊँ कानैतिर भनी टिपिन् गुर्सिनीले गुराँस
नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपात ।
भोटेनीले मगमग बुकी फूल बाँधिन तुनामा
क्वैली बोल्यो वनवन नयाा प्रीतिको सम्झनामा ।।
आए पाखा वन चहुरमा फूल लाखौं पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई ।
मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।।
मिठो वास्ना मधुपवनमा आज आइरहेछ
यौटा थुंगा वनतिर कतै मुस्कुराइरहेछ ।
कोहो–कोहो भनी वनवनै क्वैली गाइरहेछ
नौलो मान्छे कुसुमपथमा हेर आइरहेछ ।।
चौतारीमा वरपिपलको बोट नौलो लगाउा
छाहारीको तलतिर बसी गीत यौटा म गाउा ।
आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।।
वैली जान्छन् कुसुमहरु यी जेठको घाम ओढी
क्वैली जान्छे कुन विरहमा माइती देश छोडी ।
हाासी खेली दुई दिन, कहाा जान्छ यो जिन्दगानी
को लैजाला अमरपुरमा फूलको यो जवानी ।।
बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्
मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् ।
कस्तूरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।
ऋतु उपासना
प्राच्य काव्य परम्परामा ऋतुले कालचक्रको भेद मात्रै होइन, चेतना र पदार्थका जगत्मा घट्ने हरेक साना–ठूला रूपान्तरणतर्फ पनि इंगित गर्छ भन्ने लोकमान्यता छ । महाकवि कालीदासदेखि कवि शिरोमणि लेखनाथ पौड्यालसम्म सबै सिद्धहस्त कविले ऋतु उपासनालाई आफ्ना काव्यसाधनाको अंग बनाउनुभएको थियो ।
सोही परम्पराबाट आए पनि मन्दाक्रान्ता छन्दमा लेखिएको कविवर माधव घिमिरेको कविता ‘वैशाख’ मौलिक रूपमै नेपाली छ । मन्दाक्रान्ताको नशा ढिलो चढ्छ, तर चढ्छ । शृंगार–रसमा माधव घिमिरेका कविता असाध्यै कर्णप्रिय पनि छन् ।
‘गुहेलीको मधुपर्क’, ‘माइतीको न्यास्रो’, ‘बुकी फूलको बान्की’, ‘कोयलीको डाक’ ले अन्यत्रझैं यस कवितामा पनि वसन्त ऋतुको एक गुह्य परिवर्तनतर्फ इंगित गर्छ वा भनौं यो त्यो गुह्य परिवर्तनको द्योतक हो । जसरी सूक्ष्म रसायनिक किमिया र शिशिरको वैराग्यबाट विराट वसन्तको अंकुरण हुन्छ, त्यसैगरी हरेक नैराश्य, हरेक विषमतामा ठूलो सिर्जनात्मक शक्ति लुकेको हुन्छ ।
अनेक आपधापीमा जेलिएका समाचारबीच सुटुक्क छन्द कविता पढ्न पाउनु, शिशिरको विरक्तिबाट अचानक वसन्तको अलौकिक दर्शन पाउनुझैं हो । यो कविताले हाम्रो मनमा पनि शान्ति र सौन्दर्य भरिदेओस् ।
प्रकाशित : वैशाख १, २०८१ ०९:०३