कविता : वैशाख

वैशाख १, २०८१

माधवप्रसाद घिमिरे

news-wrap-sec

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले 

बोकी ल्यायो बकुल वनको बास मीठो हावाले । 

डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली 

गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।।

लाऊँ कानैतिर भनी टिपिन् गुर्सिनीले गुराँस 

नेवार्नीले मधुसुमनले जेल्दिइन् केशपात । 

भोटेनीले मगमग बुकी फूल बाँधिन तुनामा 

क्वैली बोल्यो वनवन नयाा प्रीतिको सम्झनामा ।।

आए पाखा वन चहुरमा फूल लाखौं पलाई

World Cup 2026
news-wrap-sec

को भन्देला सकल यिनको नाम मीठो मलाई ।

मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको 

नेपालीको दिल छुन अझै छैन मैले सकेको ।।

मिठो वास्ना मधुपवनमा आज आइरहेछ 

यौटा थुंगा वनतिर कतै मुस्कुराइरहेछ । 

कोहो–कोहो भनी वनवनै क्वैली गाइरहेछ 

नौलो मान्छे कुसुमपथमा हेर आइरहेछ ।।

चौतारीमा वरपिपलको बोट नौलो लगाउा 

छाहारीको तलतिर बसी गीत यौटा म गाउा । 

news-wrap-sec

आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा

लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।।

वैली जान्छन् कुसुमहरु यी जेठको घाम ओढी 

क्वैली जान्छे कुन विरहमा माइती देश छोडी । 

हाासी खेली दुई दिन, कहाा जान्छ यो जिन्दगानी 

को लैजाला अमरपुरमा फूलको यो जवानी ।।

बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन् 

मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् । 

news-wrap-sec

कस्तूरीले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध 

हुन्नन कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।


ऋतु उपासना

प्राच्य काव्य परम्परामा ऋतुले कालचक्रको भेद मात्रै होइन, चेतना र पदार्थका जगत्मा घट्ने हरेक साना–ठूला रूपान्तरणतर्फ पनि इंगित गर्छ भन्ने लोकमान्यता छ । महाकवि कालीदासदेखि कवि शिरोमणि लेखनाथ पौड्यालसम्म सबै सिद्धहस्त कविले ऋतु उपासनालाई आफ्ना काव्यसाधनाको अंग बनाउनुभएको थियो । 

news-wrap-sec

सोही परम्पराबाट आए पनि मन्दाक्रान्ता छन्दमा लेखिएको कविवर माधव घिमिरेको कविता ‘वैशाख’ मौलिक रूपमै नेपाली छ । मन्दाक्रान्ताको नशा ढिलो चढ्छ, तर चढ्छ । शृंगार–रसमा माधव घिमिरेका कविता असाध्यै कर्णप्रिय पनि छन् । 

‘गुहेलीको मधुपर्क’, ‘माइतीको न्यास्रो’, ‘बुकी फूलको बान्की’, ‘कोयलीको डाक’ ले अन्यत्रझैं यस कवितामा पनि वसन्त ऋतुको एक गुह्य परिवर्तनतर्फ इंगित गर्छ वा भनौं यो त्यो गुह्य परिवर्तनको द्योतक हो । जसरी सूक्ष्म रसायनिक किमिया र शिशिरको वैराग्यबाट विराट वसन्तको अंकुरण हुन्छ, त्यसैगरी हरेक नैराश्य, हरेक विषमतामा ठूलो सिर्जनात्मक शक्ति लुकेको हुन्छ । 

news-wrap-sec

अनेक आपधापीमा जेलिएका समाचारबीच सुटुक्क छन्द कविता पढ्न पाउनु, शिशिरको विरक्तिबाट अचानक वसन्तको अलौकिक दर्शन पाउनुझैं हो । यो कविताले हाम्रो मनमा पनि शान्ति र सौन्दर्य भरिदेओस् ।  

माधवप्रसाद

Link copied successfully