२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२८

के नेपाली भाषा मर्छ ? सायद !

जुन भाषामा घर–परिवार तथा बृहत्तर समाज वार्तालाप गर्छन्, तर्क र बहस गर्छन्, गीत–कविता–कथा लेखेर भाव प्रकट गर्छन् र सपनासमेत देख्छन्, त्यही भाषालाई यति बेवास्ता र अवमूल्यन गर्ने नेपालीबाहेक संसारमा सायदै अरू जाति होलान्
हरेक विद्वान् व्याकरणविद्का आफ्नै सिद्धान्त र अडान छन्, आफ्नै ढिपी र रटान छन्, जसको मारमा परेको छ बबुरो नेपाली भाषा ।
वसन्त थापा

द्‌याट्स अनफेयर

के नेपाली भाषा मर्छ ? सायद !

यु आर हर्टिङ मी

यु आर अ लायर । अ चिट

माइ हेड हर्ट्स

आइ एम फेड अप । आइ एम बोर्ड

इट्स हट, आइ कान्ट ह्यान्डल इट

द्याट गाइ इज फन्नी । लाउजी

अंग्रेजी भाषाका यी यस्ता अभिव्यक्तिहरू हुन्, जसलाई सही अर्थ र सही ठाउँमा व्यक्त गर्न मलाई घटीमा बीस वर्ष लागेको थियो– मैले स्कुलमा ए, बी, सी, डी कनी–कनी सिकेदेखि ।

तर, यी अभिव्यक्तिहरू आठ वर्षको मेरो नाति र पाँच वर्षकी मेरी नातिनीबीच आपस्तमा चल्ने वार्तालापका केही नमुना हुन् । नाति केटो दुई क्लासको विद्यार्थी हो भने नातिनी केजी क्लासमा जान्छे, एक क्लासमा पनि नपुगेकी । उनीहरू आफूबीच मात्रै होइन, उनीहरूले भेट्ने आफ्ना उमेर र दाँवलका केटाकेटीसँग पनि सकेसम्म अंग्रेजीमै वार्तालाप गर्छन् ।

म जुन पुस्ताको प्रतिनिधित्व गर्छु, त्यस पुस्तामा स्कुल थोरै थिए, स्कुलमा पढ्न जाने झनै थोरै थिए र प्रि–स्कुल वा प्ले–ग्रुप भन्ने कुन चराको नाउँ हो ? त्यो कसैलाई थाहा थिएन । अचेलभरि टुकुटुकु हिँड्ने र बोली फुट्नासाथ केटाकेटीहरू प्ले–ग्रुप वा प्रि–स्कुल र नर्सरी क्लासमा जान्छन्, जहाँ उनीहरू क, ख, ग सिक्नुभन्दा पहिले अंग्रेजीका ए, बी, सी सिक्छन् ।

सायद हामीलाई पढाउने गुरुहरूको क्षमता र सामर्थ्यमै कमी थियो, जसले गर्दा उनीहरू रटाउँथे विद्यार्थीलाई । घोकन्ते विद्या थियो हाम्रा पालामा । सी ए टी क्याट र आर ए टी र्‍याट भन्ने रटाइबाट सुरु भयो हाम्रो अंग्रेजी भाषाको सिकाइ ।

त्यो हेरी हिजोआजका बच्चा औपचारिक तवरमा एक कक्षामा पनि नटेक्दै अंग्रेजीमा एकसरो कुरा गर्ने भइसक्छन् । उनीहरूले प्रि–स्कुलदेखि नै अंग्रेजी सिक्छन् प्रथम भाषाका रूपमा । त्यही हुनाले उनीहरूको उच्चारण पनि खोट लाउनुपर्ने खालको हुँदैन र उनीहरूको शरीरको भावभंगिमा पनि बोलाइ अनुसारकै हुने गर्छ । लाग्छ, भाषाले बोकेको अवधारणा पनि उनीहरूले बुझेका छन् । ‘फेयर’ र ‘अनफेयर’ भनेको के हो ? त्यसको अवधारणाबारे हाम्रो पुस्ताका विद्यार्थीलाई के थाहा ? ‘बोर’ हुनु भनेको के हो ? हामीले त टाउको दुख्दा ‘हेड्याक’ (अझ कोही कोही र ‘हेड्याच’ भन्थे) भन्ने मात्र सिकेका थियौं । यसरी ‘माइ हेड हर्ट्स’ भनेर कसैले सिकाएकै थिएन । हामीले त ‘हट’ भनेको तातो भनेर मात्र बुझेका थियौं । अहिलेका केटाकेटी खानाको सन्दर्भमा छ भने ‘हट’ भन्नाले पिरो भनी बुझ्छन् । ‘गाई’ भनेर उनीहरू मानिसलाई इंगित गरिरहेका हुन्छन् । हामीलाई त गाई भनेको दूध दिने चारखुट्टे पशु हो भन्ने मात्र थाहा थियो ।

साना केटाकेटीहरूले स्कुलमा मात्र सिकेका होइनन् अंग्रेजी । केटाकेटीका आमाबाबु नै उनीहरूलाई घरमा अंग्रेजी बोल्न प्रोत्साहित गर्छन् । आफ्ना छोराछोरीहरू अंग्रेजी बोल्नमा पारंगत होउन् भन्ने चाहना राख्छन् हरेक शिक्षित सहरी मध्यमवित्तीय तरुना आमाबाबुहरू । त्यसैले ससाना छोराछोरीलाई ‘नो नो’, ‘कम’, ‘गो’, ‘सिट डाउन’ भनेर आदेश दिइरहेका र ‘वेल डन’ भन्दै हौस्याइरहेका हुन्छन् । ‘बेबी’ भन्छन् आफ्ना साना छोरा वा छोरीलाई– कताको नानु, कताको बाबु ! रेस्टुराँ, सार्वजनिक उद्यान, पार्क, सिनेमाघर, दुकान र सपिङ मल सर्वत्र यो दृश्य देख्न सकिन्छ । आफ्ना छोराछोरीले अंग्रेजी बुझेको, अझ अंग्रेजी भाषामै जवाफ फर्काएको जोरीपारीलाई देखाउन पाउँदा उनीहरू गर्वानुभूति पनि गर्छन् सायद ।

अंग्रेजी जस्तो व्यापक प्रभाव भएको अन्तर्राष्ट्रिय भाषा सिक्नु/सिकाउनु बिल्कुल नराम्रो होइन । अंग्रेजी मात्र किन, जुनसुकै अन्तर्राष्ट्रिय भाषा सिक्नु राम्रो हो, तर आफूले घर–परिवारमा बोल्ने भाषालाई लत्याएर होइन । अहिले अंग्रेजी सिकाइमाथि अत्यधिक जोड दिइएको छ, आफूले घर–परिवार र व्यवहारमा रातोदिन बोल्ने नेपाली भाषाको तुलनामा ।

त्यसको परिणाम के भएको छ भने पहिले–पहिले गणित विषयमा स्कुले केटाकेटीहरू ट्युसन पढ्थे, अहिले नेपाली विषयमा घरमा ट्युसन पढ्ने भएका छन् । उनीहरूलाई नेपालीमा ट्युसन पढ्न लगाउने आमाबाबुहरूको आफ्नै नेपाली पनि गतिलो हुँदैन । बोलीचालीमा त ठिकै छ, तर लेख्य नेपाली अघिल्तिर आउनासाथ उनीहरू अकमकिन्छन् र अनभिज्ञता प्रकट गर्छन् ।

वास्तवमा नेपालीहरूको बोलीचालीमा अंग्रेजीको छ्यासछ्यास्ती प्रयोग हिजोआज यस्तरी बढेको छ कि सुन्नेलाई अंग्रेजी नै बोलिरहेको हो कि भन्ने लाग्न सक्छ । त्यसको उदाहरण फेला पार्न धेरै दु:ख गरिरहनु पर्दैन कुनै पनि एफ.एम. रेडियोमा बोलिने भाषा सुने पुग्छ । मोबाइल फोन र इन्टरनेटजस्ता अत्याधुनिक सञ्चार प्रविधिले गर्दा त झन् के साक्षर के निरक्षर, सबैजना कुराकानीमा अंग्रेजी शब्द सजिलै मिसाउँछन् । मोबाइल फोन चलाउने जोकोही नेट, वाइफाई, टावर, मिसकल, रिंगटोन, डिलिट, सेभ, मेमोरी, साउन्ड, डायलटोन, रिचार्ज, भाइबर, ह्वाट्स एप नभनी बस्न सक्दैन ।

शिक्षित र पढालेखाहरूको त कुरै बेग्लै । बातबातमा अंग्रेजी शब्द ओकल्नु उनीहरूको आदत भइसकेको छ । जति धेरै अंग्रेजी शब्द प्रयोग गर्न सक्यो उति नै धेरै जान्ने र विद्वान् । अंग्रेजी शब्द त्यसरी उपयोग गर्न नसक्नेलाई त पाखे र गोख्ते ठहरिने डर हुन्छ ।

आफ्नो ज्ञान ओघार्नलाई पनि मानिसहरू अंग्रेजी शब्दहरूको सहारा लिइरहेका हुन्छन् । अझ आफ्नो भनाइलाई थप जोड दिनलाई अंग्रेजीमै बोलेर ‘यु नो ह्वाट आइ मिन’ भन्ने गर्छन् । ‘मेरो नेपाली त्यति राम्रो छैन’ भनेर दुई कुम उचाल्ने विद्वान्हरूको कमी छैन हामीकहाँ । त्यसो भनेर उनीहरू मेरो अंग्रेजीचाहिँ भयंकर छ वा म अंग्रेजीमा चाहिँ निपुण छु भन्न खोजिरहेका हुन्छन् ।

जुन भाषामा घर–परिवार तथा बृहत्तर समाजमा वार्तालाप गर्छन्, छलफल गर्छन्, तर्क र बहस गर्छन्, परेमा गीत, कविता वा कथा लेखेर आफ्नो भाव प्रकट गर्छन् त्यही भाषालाई यति बेवास्ता र अवमूल्यन गर्ने नेपालीबाहेक संसारमा सायदै अरू जाति होलान् ।

भाषाले जनजनको जीवनमा कति अहम् भूमिका खेल्छ भन्ने कुरा बंगलादेश नामको राष्ट्रको जन्मले सिद्ध गरेको छ । धर्मका कारण साविकको इन्डियासित अलग्गिएर (पहिले पूर्वी बंगाल र पछि) पूर्वी पाकिस्तान बनेको त्यो मुलुक आखिर पश्चिम पाकिस्तानसित लडाइँ गर्दै बंगलादेश भएर अलग्गियो । त्यसको एउटा प्रमुख कारण भाषा थियो । उर्दु भाषालाई जोड दिने पश्चिम पाकिस्तानको तुलनामा पूर्वी पाकिस्तानका बासिन्दाले बंगाली भाषामा आफ्नो विशिष्ट पहिचान बनाउने बाटो रोजे ।

मौजुदा संविधान अनुरूप नेपाली भाषा अहिले राष्ट्रभाषाको स्थानमा छैन, जुन स्थानमा पहिले रहने गरेको थियो । राष्ट्रभाषा वा राष्ट्रिय भाषा जे विशेषण दिए पनि नेपाली भाषाको महिमा घट्दैन र यसको व्यावहारिक महत्ता पनि कम हुँदैन । यसले सरकारी कामकाजी भाषाको मान्यता पाएकै छ र तथ्यांकले यसलाई मुलुकको पचास प्रतिशतभन्दा कम मानिसको मातृभाषा भनेर देखाए पनि असलमा यसलाई प्रथम भाषाका रूपमा उपयोग गर्नेहरूको संख्या कता हो कता बढी छ । नेपाली भाषा बिल्कुल नबुझ्ने र नबोलिने ठाउँ सायदै होला, आजको नेपाल सरहदभित्र ।

नेपाली समाजलाई एक सय तेईस भाषा बोलिने बहुभाषिक समाजका रूपमा चित्रण गरिन्छ । मौजुदा संविधानले त नेपाली जनतालाई नश्लीय, भौगोलिक र वर्णका आधारमा खस–आर्य, जनजाति, दलित, मधेशी र सुदूर पश्चिमका बासिन्दाको अलग–अलग कित्तामा विभक्त गरेको छ । संयुक्त राज्य अमेरिकाको संविधान ‘वि, द पिपल अफ अमेरिका’ भन्ने वाक्यबाट सुरु भएको मानिन्छ । तर, संविधानका कारण नेपालीले ‘वि, द पिपल अफ नेपाल’ नभनी ‘हामी खस–आर्य नेपाली’, ‘हामी जनजाति नेपाली’, ‘हामी दलित नेपाली’, ‘हामी मधेशी नेपाली’ भन्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपाली समाजलाई यसप्रकार खण्डखण्डमा कानुनी रूपमा पछिल्लो पटक कित्ताकाट गर्ने काम यसभन्दा अघि जंगबहादुर राणाका पालामा भएको थियो । यसरी कित्ताकित्तामा विभक्त नेपाली समाज र जनतालाई एकै ठाउँमा बाँधिराख्ने कुनै सूत्र बाँकी छ र पछि पनि रहनेछ भने त्यो नेपाली भाषा नै हो । जुनसुकै कित्ताभित्रका भए पनि उनीहरूलाई नेपाली भनेर चिनाउने आधार नेपाली भाषा नै हुनेछ ।

तर, यसप्रकार समग्र नेपाली राष्ट्रलाई चिनाउने, एउटै धागोमा उनिराख्ने नेपाली पहिचानको सबल आधार नेपाली भाषालाई स्याहार्ने, गोडमेल गर्ने, यसलाई समृद्ध र समुन्नत स्थानमा पुर्‍याउने जुन मिहिनेत तथा प्रयास हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । बरु यसप्रति होचोहेला, अवहेलना र बेवास्ता भएको छ ।

पहिलो कुरा त, मानक नेपाली भाषा के हो ? त्यो कुरा नै निर्धारण हुन सकेको छैन । त्यो किन पनि भएको छैन भने मानक नेपाली व्याकरणको निर्माण नै अधकल्चो अवस्थामा छ । हामीकहाँ विद्वान् भाषाशास्त्री र वैयाकरणहरूको कमी भएर त्यसो भएको होइन । तर, विद्वान्हरूबीच भाषाउपर मतैक्य नहुनाले यो अवस्था सिर्जना हुन गएको हो । हरेक विद्वान् व्याकरणविद्का आफ्नै सिद्धान्त र अडान छन्, आफ्नै ढिपी र रटान छन्, जसको मारमा परेको छ बबुरो नेपाली भाषा । कोही तालव्य ‘श’ ठीक भन्छन्, कोही दन्त्य ‘स’ सही भन्छन् । कोही शब्द या पद जोड्नुपर्छ भन्छन् कोही फुटाउनुपर्छ भन्छन् । कोही संयुक्त शब्दको एक थरी ढाँचा देखाउँछन्, कोही अर्को थरी ढाँचा । कोही एउटा हिज्जेमा जोड दिन्छन् कोही अर्को वर्तनीमा । यसले भाषालाई कचल्ट्याउने र प्रयोगकर्तालाई अल्मल्याउने काम मात्रै गर्छ, सोझो बाटो हिँडाएर हुर्काउने होइन ।

अहिले नेपाली भाषाको अवस्था वा दुरवस्था हेर्दा यो यस्तो टुँडिखेल बनेको देखिन्छ, जहाँ आएर कबड्डी, डन्डिबियो, फुटबल, भलिबल, क्रिकेट, कुस्ती, बक्सिङ, जसलाई जे मन लाग्यो त्यही खेल खेले हुन्छ । जस्तो नाच पनि नाचे हुन्छ । यहाँ मार्गदर्शक, सचेतक, नियामकको कार्य गर्ने कुनै निकाय छैन ।

कसैले गलत तरिकाले प्रयोग गरेको शब्द वा शब्दावलीलाई अज्ञानतावश रोचक वा सही ठानेर सुनिने, देखिने र पढिने सार्वजनिक सञ्चारका तीनै थरी माध्यमले अर्थ सन्दर्भलाई नबुझी प्रसार गरिदिन्छन् अनि त्यस्तो गल्तीले व्यापकता पाउँछ । मिडियाको अनुसरण गर्दै जनसाधारणले त्यही टिप्छन् । सय चोटि दोहोर्‍याएमा झूट पनि सत्य सावित हुन्छ भन्ने कहावत् नै छ । अहिले हामीकहाँ त्यही भइरहेको छ । भाषालाई विकलाङ्ग र विकृत तुल्याउने काम थाहै नपाई भइरहेको छ । भाषाबारे कटमेरो ज्ञान भएको कसैले एउटा गुलछर्रा उडाइदिन्छ र अरू त्यसको पछि लाग्छन् । त्यो व्याकरणसम्मत नहुन सक्छ, त्यो शिष्ट परम्परा विपरीत हुन सक्छ, त्यसको कसैलाई मतलब छैन ।

त्यस्ता गलत अभ्यास र प्रयोगलाई औंल्याइदिने, त्यसबारे खबरदारी गर्ने कुनै नियमनकारी निकाय अहिलेको अवस्थामा रहेको देखिँदैन । आफ्नो बेलामा नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषानुवाद परिषद्ले गरे जति गर्ने निकाय पनि भइदिएनन्, जसलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ ।

हलन्तविरोधी अभियान र सन् १९५० को मध्यतिर संस्कृतनिष्ठ र हिन्दीमुखी मार्गमा हिँड्नबाट नेपाली भाषालाई जोगाउन चलेको झर्रोवादी अभियानपछि भाषा सुधार र संवर्द्धनका लागि चालिएको फेरि अर्को बलियो अभियान देखा परेन भन्दा फरक नपर्ला । नेपाली भाषालाई कसरी समयअनुरूप आधुनिक र वैज्ञानिक तरिकाबाट सरल र सुललित बनाउनुका साथै ज्ञान, दर्शन, विज्ञान, साहित्यको उच्च सोपानमा पुर्‍याउने सबल र सशक्त माध्यमका रूपमा विकसित गर्ने भनेर गम्भीर प्रयास अझै हुन सकेको छैन ।

हिन्दी भाषाकै उदाहरण लिने हो भने पनि उनीहरूले एकताका अंग्रेजी भाषाकै शैलीमा विराम चिह्नलाई विन्दु अथवा ‘फुल स्टप’ दिने अभ्यास थालेका थिए । त्यो अभ्यास सर्वप्रचलित हुन सकेन, यद्यपि केही राष्ट्रिय संस्थानहरूले भने आफ्ना प्रकाशनमा विन्दुलाई नै विराम चिह्न मान्ने अभ्यास जारी राखेका छन् । उनीहरूले इस्वी संवत्लाई नै आधिकारिक मानेर त्यसलाई दैनन्दिन व्यवहारमा चलाउने गरेका छन् । अनि अंकको हकमा देवनागरी अंकलाई नअँगाली अंग्रेजीमा लेखिने अंकलाई नै लेख्य स्वरूपमा अँगालेका छन् । त्यो भाषालाई व्यावहारिक बनाउने उनीहरूको प्रयास हो । त्यसबाहेक अंग्रेजी भाषाका यावत् प्राविधिक र पारिभाषिक शब्दहरूलाई हिन्दीमा ल्याउनका लागि सन् १९६० को दशकमै केन्द्रीय आयोग गठन गरेर त्यो काम पूरा गरे । उनीहरूको केन्द्रीय हिन्दी निर्देशनालय छ, त्यसअन्तर्गत मानक हिन्दी समिति छ । तिनको काम हिन्दी भाषाको संवर्द्धन र प्रवर्द्धन राष्ट्रिय रूपमा गर्नु हो । सबैलाई थाहा भएकै कुरा हो, इन्डियाका धेरै प्रान्त भाषाकै आधारमा खडा भएका छन् र बाइस वटा त संविधानमा अनुसूचित भाषाहरू नै छन् । उनीहरूकहाँ सात सय जति भाषा अस्तित्वमा रहेको बताइन्छ । यसका बाबजुद अंग्रेजी भाषालाई अखिल भारतीय सम्पर्क भाषाका ठाउँबाट विस्थापित गरेर त्यस ठाउँमा हिन्दी भाषालाई स्थापित गर्ने उम्मेदले उनीहरूले हिन्दीको प्रयोगलाई अघि बढाइराखेका छन् ।

सबैलाई सम्झना भएकै कुरा हो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा हिन्दी भाषामै भाषण गरेको अनि उनको भाषणले नेपाली सांसदहरूबाट तुमुल ताली पाएको । संसद्मा नेपाली भाषाको दोभाषे राखेर उनको भाषण नेपालीमा अनुवाद गराउने आवश्यकता हामीले महसुस गरेनौं । यसले हिन्दी भाषाको बढ्दो विस्तार र प्रभावलाई देखाउँछ । हिजोआज त हिन्दी भाषाकै माध्यमबाट चिकित्साशास्त्रको अध्ययन गराउने कुरासमेत गर्न थालेका छन् । यस कुरामा उनीहरू कति सफल हुन्छन् त्यो समयले देखाउने कुरा हो । तर, हिन्दीभाषीहरू त्यस हदसम्मको महत्त्वाकांक्षा राख्ने भइसकेका छन्, त्योचाहिँ महत्त्वको कुरा हो ।

भारतभन्दा अलिक पर्तिर गएर हेर्ने हो भने थाइल्यान्डमा देखिन्छ, त्यहाँका निवासीको आफ्नो भाषाप्रतिको जोड, पकड र एकाग्र समर्पण । विश्वकै पर्यटकीय मानचित्रमा महत्त्वपूर्ण स्थान ओगट्ने थाइल्यान्डले बर्सेनि बीस, तीस लाख नभई करोडौं विदेशी पर्यटकलाई भित्र्याउने हैसियत राख्दछ । कोभिड महाव्याधि अगाडि चार करोड पर्यटकले थाइल्यान्ड भ्रमण गरेको तथ्यांकले बताउँछ । नेपालकै चाल हुँदो हो त त्यहाँका सहर–बजार तथा गल्ली–गल्छेडामा अंग्रेजी भाषाका साइनबोर्डहरू भरमार हुने थिए होलान् । तर, एकदमै नगण्य पाइन्छन् अंग्रेजीमा लेखिएका साइनबोर्ड र अन्य सूचनाहरू । बहुराष्ट्रिय कम्पनी र अन्य केही संस्थाका बाहेक अंग्रेजीका साइनबोर्डहरू विरलै भेटिन्छन् । जतिसुकै पढेलेखेका किन नहुन्, एकअर्कासित अंग्रेजीमा बोल्दैनन् थाईहरू । ती अन्तर्राष्ट्रिय निकायमा काम गर्ने हुन सक्छन्, पर्यटन व्यवसायमा लागेका हुन सक्छन्, अंग्रेजीमै लेख्ने पत्रकार, लेखक वा धुरन्धर विद्वान् हुन सक्छन् । वास्तवमा सामाजिक दृष्टिले एक जना थाईले अर्को थाईसित अंग्रेजी बोल्नुलाई उनीहरू ननिको मान्छन् ।

बाल्कन प्राय:द्वीपको एउटा सानो देश स्लोभेनियामा मैले गरेको अनुभवलाई पनि यहाँ सुनाउनु उपयुक्त होला ।

साविकको संघीय कम्युनिस्ट राष्ट्र युगोस्लोभाकिया फुटेर बनेको बीस लाख चानचुन जनसंख्या भएको मुलुक हो– स्लोभेनिया । त्यस देशको राजधानी लुबियानामा आयोजित माउन्टेन फिल्म फेस्टिभलमा भाग लिन पुगेको थिएँ म एक पटक । थाइल्यान्ड हेरी त्यहाँका मानिससित अंग्रेजीमा वार्ता गर्न त्यतिविधि समस्या हुँदैन । त्यहाँ प्रदर्शित अंग्रेजीलगायत विदेशी भाषाका फिल्महरूमा बोलिएका कुरालाई बुझाउन चित्रपटको तलतिर स्लोभेनियाली भाषामा ‘सब–टाइटल’ दिइएको या फिल्मको विवरण स्लोभेनियाली भाषामा ‘भ्वाइस ओभर’ गरिएको पाएँ । यदि फिल्मको मूल भाषा अंग्रेजी नभएर अरू नै भाषामा भए आफू जिल्लाराम पर्ने अवस्था थियो । किनभने फ्रेञ्च, स्पेनी वा जर्मन भाषाको फिल्म भए आफूले बुझ्ने कुरा भएन । ‘सब टाइटल’ वा ‘भ्वाइस ओभर’ को भर परौं भने त्यो हुन्थ्यो स्लोभेनियाली भाषामा । त्यसैले मैले फेस्टिभलका आयोजकलाई ‘तिमीकहाँ अंग्रेजी बुझ्नेहरू प्रशस्त हुँदाहुँदै स्लोभेनियाली भाषामा सबटाइटल दिने खर्चिलो र झन्झटिलो काम किन गरेको’ भनी सोधेको थिएँ मैले । उनले जवाफमा सरकारी नियम अनुसार स्लोभेनियाली भाषाको प्रयोग गर्नु अनिवार्य भएकाले त्यसो गर्नुपरेको बताए । एउटा सानो देशले आफ्नो भाषाको संरक्षणका लागि गरेको एउटा उदाहरण हो यो । सरकारी नियम भए पनि, नभए पनि अंग्रेजीइतर भाषा बोल्ने सबै युरोपेली मुलुकहरूको यही अभ्यास व्यवहारमा देखिएको छ– फिल्मको ‘सब टाइटल’ आफ्नै राष्ट्रिय भाषामा दिने या डब गर्ने या भ्वाइस ओभर दिने ।

कोरिया, चीन, जापानको कुरै छाडिदिउँ । उनीहरू बाहिरका सबै फिल्महरूलाई स्वदेशी दर्शकहरूले सजिलै बुझ्ने गरी आफ्नै भाषामा सबटाइटल दिने, डब गर्ने या भ्वाइस ओभर गर्ने अर्थात् फिल्मको कथा विवरणलाई आफ्नै भाषामा रूपान्तरण गर्ने दु:ख गर्छन् । ‘अंग्रेजी बुझ्छौं’ भनेर फूर्ति देखाउँदैनन्, अंग्रेजीमा बोल्ने वक्ताका कुरालाई दोभाषेको सहयोगबाट आफ्नो भाषामा सुन्छन् ।

साझा ल्याटिन लिपिका कारण पश्चिम युरोप र स्क्यान्डनेभियाली मुलुकका लेख्य स्वरूप झट्ट हेर्दा उस्तै लाग्छ । तर, उनीहरू पत्रपत्रिका र पुस्तकहरू असलमा आफ्नै राष्ट्रिय भाषामा पढिरहेका हुन्छन् । अर्को भाषामा निस्केका राम्रा पुस्तकलाई तात्तातै आफ्नो भाषामा उल्था गरेर छाप्छन् । आफ्नो देशबारे कुनै विदेशीले लेखेको किताब छ भने त आफ्नो भाषामा जसरी पनि ल्याइछाड्छन् । तब पो भाषाको भण्डार बढ्छ र भाषा उँभो लाग्छ । तर, दु:खका साथ भन्नुपर्छ हामीकहाँ त्यो जाँगर कहिल्यै पलाएन । हाम्रो देशको इतिहास सुरु सुरुमा लेखिदिने अंग्रेजहरू नै थिए– कर्कप्याट्रिक, ड्यानियल राइट, हजसन, ह्यामिल्टन प्रवृत्ति । खै त उनीहरूले लेखेर गएका इतिहासका पुस्तकहरूको नेपालीमा अनुवाद गरिएको ?

भाषा भनेको फूलको बिरुवा जस्तै हो । यसलाई गोडमेल र मलजल गरिराख्नुपर्छ । नत्र जंगली झारले बिरुवालाई खाइदिएझैं भाषा पनि ओइल्याउँछ । नेपाली भाषाले पाउनुपर्ने गोडमेल र स्याहार नपाएको त छँदै छ, त्यसबाहेक दुई प्रतिकूल रवैयाबाट पनि यो प्रताडित छ ।

पहिलो हो जातीय र भाषिक पहिचानका हिमायतीहरूको तप्काले देखाउने गरेको रवैया । त्यस तप्काले नेपालीलाई नेपाली भाषा नभनेर खस भाषा भन्न रुचाउँछ । आफ्नो मातृभाषाप्रति लगाब र प्रेम हुनु स्वाभाविक हो । त्यसको उन्नयनमा लाग्नु पनि उत्तिकै स्वाभाविक हो । तर, आफू अगाडि बढ्नलाई अरूको खुट्टा तान्नु जरुरी छैन । हो, नेपाली भाषाको उद्गम खस भाषा मानिन्छ । तर, समयक्रममा यो पर्वते, गोर्खे भाषा भनेर पनि चिनिएको छ । त्यसैले यसलाई खस भाषा भनिराख्नु सानोमा डल्ले भनिने बालकलाई ठूलो भइसक्दा पनि त्यही नामबाट पुकार्नु जस्तै हो, जो मनासिब होइन । फेरि अहिले नेपाली भाषाको जुन स्वरूप छ त्यसमा अनेक भाषाको योगदान रहेको छ, कुनै नदीमा अनेकन् खोलानालाको पानी मिसिए झैं । यो कहाँ रह्यो र विशुद्ध खस ? उसो भए त हिन्दीलाई पनि हिन्दी नभनेर ‘खडी बोली’ भने भइहाल्यो । आखिर हिन्दी विकसित भएको खडीबोलीबाटै हो ।

यसर्थ खस भाषा भन्दा यो मेरो आफ्नो भाषा नभएकाले यसप्रति मेरो अपनत्व छैन भन्ने भाव झल्किन्छ । म नेपाली हुँ र नेपाली भाषा मेरो हो भन्ने भावना नभई अपनत्वको भाव पैदा हुँदैन र यसको स्याहारसम्भारप्रति कर्तव्यबोध पनि हुँदैन ।

अर्को रवैया त्यस तप्काको छ, जसले आफूलाई संविधानबाटै आर्य भनाएर श्रेष्ठतम् मानवको हैसियतमा स्थापित गराएका छन् र उनीहरू आफ्नो मातृभाषा नेपाली भएको दाबी गर्छन् । कुनै कालमा उनीहरू संस्कृतलाई आफ्नो मातृभाषा मान्थे । अध्यात्म ‘रामायण’ लाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेर ल्याइदिने भानुभक्तले उसै सामाजिक खप्की खानुपरेको थिएन । नेपाली भाषालाई मातृभाषा भन्नमा गर्व महसुस गर्ने यो समुदाय शुभद्राको कोखबाटै रणकौशलको ज्ञान प्राप्त गर्ने अभिमन्युझैं आमाको पेटबाटै नेपाली भाषाको ज्ञान लिएर आएको ठान्छन् । उनीहरू यसको अनुशीलन वा परिशीलनको थप लन्ठा गरिरहनुपर्छ भन्ने ठान्दैनन् ।

यो आफ्नै बिर्ता भएकाले धेरै दु:ख किन गरिरहनुपर्‍यो भन्ने भावबाट उनीहरू प्रभावित छन् । कहाँसम्म भने आफूबाहेकका अरूलाई विमातृभाषी भन्नसमेत उनीहरू पछि पर्दैनन् । उनीहरू ती विमातृभाषी भनाउँदालाई नेपाली भाषा उपयोग गर्न दिएर ठूलै उपकार गरिदिए जस्तो ठान्छन् । मानौं कुनै जमिनदारले आफ्नो जमिनको एक कुनामा ओसारो बनाएर बास बस्न दिएको होस् ।

असलमा भाषा कुनै जात, धर्म वा सम्प्रदायको हुँदैन । यो जसले प्रयोग गर्‍यो त्यसैको हुन्छ । मातृभाषी र विमातृभाषीको यो बखेडाको कुनै तुक छैन । यो संकीर्ण मानसिकताको उपज मात्र हो, यसले नेपाली भाषाको विकासमा सघाउ पुर्‍याउँदैन ।

एक त पढालेखाहरूको सिंगो जमात अंग्रेजी भाषाको सम्मोहनबाट लठ्ठिएका छन्, स्कुल–कलेज त्यसैको नाम भजाएर कारोबार गरिरहेछन्, अर्कोतिर भाषाको अवनतिप्रति बेखबर र निश्चेष्ट सरकार छ । प्रज्ञाचक्षु भएका विद्वान्हरू पनि किन हो यसबारे उदासीन छन् । यसो भएपछि नेपाली भाषाको शब्दभण्डार बढाउने, यसलाई अझै वैज्ञानिक र परिष्कृत तुल्याउँदै अन्य भाषाको हाराहारीमा लैजाने, ज्ञान, विज्ञान, दर्शनको उच्चतर स्थानमा यसको पहुँच पुर्‍याउने, उच्च साहित्यको निर्माण गर्ने जस्ता भाषाको श्रीवृद्धिसित जोडिएका कुरा बेवारिसे हुन जान्छन् । नेपाली भाषाको अवस्था आज सडकपेटीको ‘खाते’ बालकको जस्तो छ– उचित भरणपोषण, अनुशासन, शिष्टाचार, सभ्य आचरण र संस्कार नपाई हुर्किरहेको ।

यही उदासीनता र निश्चेष्टता रहिरहने हो भने नेपाली भाषा केवल कथ्य रूपमा सीमित रहने दिन टाढा छैन । संसारबाट धेरै भाषा लोप भएका छन् र कैयौं लोप हुने प्रक्रियामा छन् । ठूलो जनसंख्याले बोल्ने भए पनि कथ्य रूपमा साँघुरिएका भाषा अनेक छन् । तिनीहरूसित उच्च साहित्यको भण्डार हुँदैन, उच्च ज्ञान, दर्शन र विज्ञानसम्म पुग्ने हैसियत हुँदैन ।

नेपाली भाषालाई प्रेम गर्ने, तर यसको यो दशा (या दुर्दशा) देखेर केही विद्वान्हरू अबको पचास वर्षमा यो मर्छ भनेर चिन्ता व्यक्त गर्न थालेका छन् ।

यो भनाइ भयोत्पादक विचार लाग्न सक्छ सुन्नेलाई । तर, मलाई पनि कसैले के नेपाली भाषा मर्छ भनेर सोध्यो भने मेरो उत्तर हुनेछ– हो, मर्न सक्छ यही रीत रहेमा ।

प्रकाशित : वैशाख १, २०८१ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?