३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ढोरपाटनका दुई फूल 

‘ढोरपाटन’ ले दुई आमाहरूको जटिल सम्बन्ध, बुढ्यौली र एक्लोपनको कथा भन्छ 
रीना मोक्तान

चकमन्न ढोरपाटन, हिउँले ढाकिएको गाउँ । त्यही गाउँलाई रेखदेख गर्दै आइरहेकी दुई सौतेनी । ‘ढोरपाटन’ का यी दुई सौतेनीको जिन्दगीलाई डकुमेन्ट्रीको अंग्रेजी नामले सजिलै व्यक्त गर्छ, ‘नो विन्टर होलिडेज’ । अर्थात्, रतिमा र कलिमाको जीवनसँग हिउँदे बिदाको कुनै सम्बन्ध छैन ।

ढोरपाटनका दुई फूल 

हिउँद लागेसँगै ढोरपाटनलाई रित्तो पारेर गाउँलेहरू बुर्तिबाङ झर्छन् । यी दुई वृद्धा भने त्यही कठ्याग्रिँदो जाडोसँग पैंठेजोरी खेल्दै बाँच्ने निहुँ खोजिरहन्छन् । दाउरा बटुलेर चिसो जीवन तातो पार्छन्, माटोभित्र लुकेको हरिया साग बटुल्छन् । अनि, बुर्तिबाङ झरेका गाउँलेका घरको चौकिदारी गर्छन् । ढोरपाटनबाहेक यी दुईको जाने अन्त ठाउँ छैन । रतिमाको काठमाडौंमा भतिज छन्, त्यता जान मनले दिँदैन । कलिमाको छोरी छिन्, तिनी पनि भारत पसेकी छन् । बुढ्यौलीमा हिउँद छल्ने यी दुईसँग न बहाना छ न बिदा !

यी दुई बाध्य छन्, चिसिएको सम्बन्धमा बाँधिन । रतिमा र कलिमा एउटै पतिका दुई पत्नी । यी दुईको सम्बन्ध न तातो छ, न चिसो । मनतातो सम्बन्धमा बाँचिरहेका छन् । यी दुई न मिल्न सक्छन्, न छुट्न । परिस्थितिले दुवैलाई एकै ठाउँ बाँधेको छ । मिलेर बस्न सक्दैनन्, तर ढोरपाटनको एकान्तमा मिल्नु नै दुईको नियति बनेको छ । ७९ मिनेट लामो डकुमेन्ट्रीमा यी दुईको यस्तो सम्बन्ध बोल्ने एउटा गजब्बको प्रतिबिम्ब छ, जहाँ दुई पाठी एकअर्कासँग सिंह जुधाइरहन्छन् । दुई पाठी एउटै डोरीमा बाँधिएका छन्, पतिको सम्बन्धको डोरोमा रतिमा र कलिमा बाँधिएजस्तै । यी दुई सौता पनि पाठीझैं बाझिरहन्छन् । कहिले कलिमाको गाईले रतिमालाई दु:ख दिन्छ, कहिले हिउँमा सुकाएको कपडा नउठाइदिएको निहुँमा रतिमासँग कलिमा रिसाइरहन्छिन् । यस्तै नोकझों‌कसँगै ती बाँचिरहेका छन्, हिउँदमा । जब रतिमा बिरामी पर्छिन्, सहयोग गर्न कलिमा आइपुग्छिन् । चकमन्न गाउँमा यी दुई नै एकअर्काका सारथि । सिङ ठोक्काउँदै भए पनि एकअर्कासँग उभिनु दुईको नियति, दैनिकी र जीवन जिउने पद्धति । रतिमा र कलिमाको जटिल सम्बन्ध प्रस्तुत गर्न निर्देशक राजन कठेत र सुनिर पाण्डेले प्रयोग गरेको यो बिम्बले ‘ढोरपाटन’को दृश्यभाषाको सशक्त पाटो देखाउँछ ।

‘ढोरपाटन’ले यी दुईको जटिल सम्बन्ध मात्रै होइन, उनीहरूको बुढ्यौली र एक्लोपना पनि देखाउँछ । एक्लो घरमा कुखुरा नै रतिमाको साथी । खाली समय धागो उन्छिन्, पतिको सम्झना मनमा गुनिरहन्छिन् । हिमाललाई पृष्ठभूमि पारिएको एक्लो घरमा बस्ने रतिमा चाहिँ हरदिन गाईको पछाडि दौडिरहन्छिन् । कलिमासँग बात मार्ने त्यही एउटा गाई र कुकुर छ । यीबाट फुर्सद मिल्दा भारत पसेकी छोरीलाई फोन घुमाउँछिन् । निर्देशकहरूले रतिमा– कलिमाको जीवन खिच्दै एक्लोपना, बुढ्यौली र चौकिदारीको रोचक संसार देखाएका छन्– ‘ढोरपाटन’ मा । लाग्छ, तिनीहरू अप्ठ्यारोमा फुलेका दुई फूल हुन् । र, त्यसको सुवासले ढोरपाटन मगमगाएको–सजिएको छ ।

निर्माण कथा

पाँच वर्षअघि सुनिरले ‘हेर्ने कथा’ को युट्युब च्यानलमा ‘चौकिनीको कथा’ भित्र कलिमा र रतिमा भेटे । सनिरलाई लाग्यो– त्यो कथामा डकुमेन्ट्री बनाउन सकिन्छ । साथी राजनसँग छलफलपछि त्यही कथामाथि डकुमेन्ट्री बनाउने निर्णयमा पुगे । ट्रेलर खिच्न पहिलो पटक दुई निर्देशक र सिनिमेटोग्राफर बबिन दुलाल फागुनतिर ढोरपाटन पुगे ।

काठमाडौंदेखि बागलुङ, बागलुङदेखि बुर्तिबाङ, बुर्तिबाङदेखि पाखाथर– ३ दिनमा टोली ढोरपाटन पुग्यो । बुर्तिबाङ पुग्दानपुग्दै टोलीले थाहा पायो– ढोरपाटनको बाटो हिउँले ढाकिसकेको छ । आर्मीले बाटो बनाउँदै हिँडेको पाइला पछ्याउँदै उनीहरू गन्तव्य पुगे । कम्मरसम्मै आइपुग्थ्यो हिउँ । ढोरपाटनमा आँगनमै भेटिइन् रतिमा । ती युवा देख्दा चकित भइन् । कलिमा पनि त्यहीं आइपुगिन् । ८–१० दिनमा भिडियो खिचिसकेपछि टोलीले भन्यो, ‘अब अर्को हिउँद, तपाईंहरूसँगै बिताउन फर्किनेछौं ।’

काठमाडौं फिरेपछि त्यही भिडियोबाट ट्रेलर बनाएर ‘डकएज कलकत्ता’ मा पठायो टिमले । कथाले दुई अवार्ड जित्यो, उत्कृष्ट ‘पिच’ सँगै इजरायलको डकुमेन्ट्री फेस्टिभल घुम्न पाउने अवसर पनि । कलकत्ताबाटै मेन्टर ग्यारी निर्माताका रूपमा जोडिए । त्यसपछि जेठमा टोली फेरि ढोरपाटन पुग्यो । ‘दोहोर्‍याई–तेहेर्‍याई गएपछि उहाँहरूले हामीलाई विश्वास गर्नुभयो । हामी आफन्तझैं भयौं,’ सुनिर ती आमाको सम्बन्ध सम्झन्छन् । डिसेम्बरको अन्तिममा टोली भेरी ढोरपाटन पुग्यो । त्यो हिउँदमा उनीहरूले आमाहरूसँगै ७० दिन बिताए ।

डकुमेन्ट्रीमा के कथा देखाउने ? रतिमा र कलिमालाई खिच्न थालिसकेपछि निर्माण टोलीलाई सुरुमै सकस भयो । हिउँद अनि दुई सौतेनी, सुनसान ढोरपाटनबाहेक खिच्न अरू केही थिएन । दुईको जिन्दगी खिच्ने क्रमको सुरुवाततिरै रतिमा हराइन् । टोलीले उनको कथाबाट डकुमेन्ट्री अगाडि बढाउँदै थियो । ‘उहाँ बिरामी भएर उपचारका लागि आफन्तकहाँ जानुभएको थियो । उहाँ गएपछि तनाव बढेको थियो, पछि फर्कनुभयो । उहाँलाई लिन आधाबाटोसम्म पुगेका थियौं,’ राजन भन्छन् । तर, फर्किसकेपछि पनि कथा कसरी भन्ने ? टिमलाई यही प्रश्नले पिरोल्थ्यो ।

निर्देशकद्वयले ती आमाको जीवनमा दोहोरिइरहने विषय नियाले । रतिमा सधैं संसार छोडिसकेका पति सम्झिरहने, सपनाका कुरा गरिरहने । कलिमा छोरीकै कुरा गरिरहने, गाईको पछाडि दौडिरहने । त्यसपछि उनीहरूले यही तत्त्व डुकमेन्ट्री खिचे ।

‘कथामा दुई सौता भए पनि यो डकुमेन्ट्रीको कथा सौताको विषयमा हुनै सक्दैन भन्नेमा हामी विश्वस्त थियौं । उनीहरूको बुढ्यौली, एक्लोपना छुनुपर्छ भन्नेमा ध्यान थियो,’ राजन सुनाउँछन् । सुनिर भन्छन्, ‘हामीले उहाँहरूको परिस्थिति र जिन्दगी खोतल्ने कोसिस गर्‍यौं– हिउँद, चौकिदारी र सौतेनी जिन्दगी खिच्यौं ।’

ती आमासँग टोलीले लामो समय बितायो । ‘३ सिजन यसरी उहाँहरूसँग भेट्नुको खास कारण उहाँहरूलाई क्यामरा फ्रेन्डली बनाउने हाम्रो योजना थियो,’ राजन भन्छन्, ‘लगातार यसरी हामी उहाँहरूकहाँ पुग्न थालेपछि अगाडि क्यामरा छ भन्ने पनि उहाँहरूले बिर्सन थालिसक्नुभएको थियो । त्यसैले डकुमेन्ट्रीमा थुप्रै रोचक पल खिचेका छौं ।’

डकुमेन्ट्रीको एक दृश्यमा कलिमा रिसाएर बाहिरैदेखि रतिमालाई गाली गरिरहेकी हुन्छिन्, रतिमाको छानोमा ढुंगा फालिरहेकी हुन्छिन् । त्यही समय रतिमाको प्रतिक्रिया र कलिमाको रिस एकैपटक क्यामरामा कैद छ ।

‘ढोरपाटन’ खिच्दा मौसमको पनि चुनौती भयो । हिउँदभरि उनीहरू स्थानीय होटलमा बस्थे । त्यहाँ ७० दिन बिताउन पुगेको थियो टोली ।

तर, एक हप्ता नपुग्दै स्थानीय हाइड्रो बिग्रियो । क्यामराको चार्ज गर्न बिजुली भएन, हारगुहार गरेपछि त्यो प्रबन्ध भयो । टोलीले करिब सय दिन त्यहाँ बितायो ।

७० दिन बित्दा लकडाउन सुरु हुने हल्ला चल्यो, टोली काठमाडौं फर्कियो । त्यसपछि सम्पादनमा झन्डै एक वर्ष लाग्यो । सुरुमा राजन–सुनिर मिलेरै रतिमा र कलिमाको कथा सम्पादन गरे । तर, कथा राम्रोसँग भन्न नसकेको भान भइरह्यो । त्यसपछि सम्पादनको जिम्मा किरण श्रेष्ठलाई दिए ।

लोकार्नोको इडिटिङ ल्याबको मेन्टरसिपले साथ दियो । ‘खासमा हामीले हिउँद मात्रै देखाउने सोचेका थियौ । तर, गाउँलेहरू गाउँ फर्किसकेको दृश्य नराख्दा डकुमेन्ट्री अधुरै रहने देखिएपछि अन्तिममा त्यो पनि जोड्यौं,’ राजनले भने ।

डकुमेन्ट्रीले विश्वका थुप्रै प्रतिष्ठित फेस्टिभलमा पुग्यो, थुप्रै अवार्ड जित्यो र एक महिना निरन्तर हलमा चल्यो ।

निर्देशकद्वयको मन थियो– ढोरपाटन पुगेरै दुई आमालाई डकुमेन्ट्री देखाउने, तर २०२२ अगस्टमा रतिमा बितिन् । कलिमालाई गाउँलेसहित डकुमेन्ट्री देखाउने उनीहरूको धोको छँदै छ ।

प्रकाशित : चैत्र १०, २०८० ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?