२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

‘मेरो उपन्यासकी पात्र तुलसा मेरै पत्नी हुन्’

काठमाडौँ — आख्यानकार परशु प्रधान (२००० माघ ३०–२०८० चैत्र ५) पञ्चायतकालमा सीडीओसम्म भए । तर, सरकारी संयन्त्रका कुरूप पक्ष चित्रण गर्ने उनका कथाको आलोचनात्मक सान्दर्भिकता साहसी छ । भौतिक अवसान भए पनि लेखनको तीक्ष्ण वैचारिक धार, नवीन शिल्पको प्रयोग र पात्रप्रतिको सूक्ष्म अन्तर्दृष्टिले उनलाई नेपाली साहित्यको फाँटमा विमर्शपूर्ण बनाइरहनेछन् ।

‘मेरो उपन्यासकी पात्र तुलसा मेरै पत्नी हुन्’

प्रधानका १ कवितासंग्रह, ३ उपन्यास, ११ कथासंग्रह, ३ समालोचना, १२ वटा बालसाहित्यका किताब प्रकाशित छन् । परशु प्रधानको उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’ (२०२४) लाई केन्द्रमा राखेर समालोचक नेत्र एटमले उनीसँग काठमाडौंमा २०६९ जेठ २९ गते गरेको अप्रकाशित अन्तर्वार्ता :

तपाईंको लेखनलाई म ‘एड्भेन्चर’ भन्छु । यस्तो साहसिक यात्राको पृष्ठभूमि कस्तो थियो ? जिन्दगी र लेखनमा नयाँ प्रयोग गर्ने प्रेरणा र दृढता तपाईंमा कसरी आयो ?

म भोजपुरको गाउँले स्कुलमा पढ्दै गर्दा शरद्चन्द्र शर्मा भट्टराई हेडमास्टर भएर काठमाडौंबाट आउनुभयो । उहाँ अत्यन्तै उत्साही लेखक हुनुहुन्थ्यो । र, हामीलाई लेख्न प्रेरणा दिने, पढ्न किताब सिफारिस गर्ने अनि लेखेका रचना सच्याइदिने गर्नुहुन्थ्यो । जीवन र लेखनमा नयाँ प्रयोग गर्नुपर्छ भन्ने उहाँको विचार थियो । हुन पनि उहाँले जातीयताको त्यस्तो कट्टरता भएको समय र समाजलाई चिर्दै एउटी राई केटीसँग अन्तरजातीय विवाह गर्नुभयो । उहाँको त्यो व्यवहारले ममा गहिरो प्रभाव पर्‍यो र पछि मैले पनि बाहुनकी छोरी (कल्पना न्यौपाने) सँग प्रेमविवाह गरेँ । तर, त्यसअघि नै साहित्यमा मेरो स्पष्ट गोरेटो कोरिएको थियो— कविता लेखेँ । काठमाडौं आउन–जान थालेपछि दौलतविक्रम विष्ट, पोषण पाण्डे, शंकर लामछिनेसँग भेट हुन थाल्यो । विष्टले ‘यस्तो क्षमता भएको मान्छेले के कविता लेखेर बसेको ? कथा लेख’ भनेर सीधै भन्नुभयो । त्यसपछि मलाई आँट आयो र कथा लेख्ने प्रयास गरेँ ।

पहिलो कथा लेखनको अनुभव सुनाउनुस् न !

वि.सं. २०१८ को कुरा हो, मेरो डेरा थियो– ओटु टोलमा । नजिकै एक जवान ‘विधवा’ बस्थिन्, बरोबर उनीसँग मेरो देखादेख हुन्थ्यो । युवा उमेर थियो, उनीबाट आकर्षित पनि भएछु । उनैलाई विषय बनाएर पहिलो कथा लेखेँ– ‘मेरो कोठाको आँखाबाट ।’ त्यो कथा २०१९ सालको ‘रूपरेखा’ पत्रिकामा छापियो । दौलत दाइले ‘निकै राम्रो कथा लेखेछौ’ भनी प्रशंसा पनि गर्नुभयो । अनि आख्यानतिरै मेरो अभिरुचि बढ्दै गयो ।

उपन्यास लेख्दा कुनै लेखकबाट प्रभावित, प्रेरित, अनुप्राणित हुनुभयो कि ?

साहित्यिक गद्यशैलीमा शंकर लामिछानेलाई पछ्याउनुपर्ने लेखक ठान्छु । उनको लेखनको चमत्कारपूर्ण कवितात्मकताले मलाई प्रभावित पारेको छ । उपन्यासको सामाजिक विषयवस्तु लिनुमा दौलतविक्रम विष्ट, यौनमा विश्वेश्वरप्रसाद कोइराला, विजय मल्ल अनि गोठालेको सूक्ष्मतामा पुग्ने लेखनबाट म अनुप्राणित भएँ । हुन त मैले मोपाँसा, ओ हेनरीहरूका रचना पनि पढेँ, तर तिनबाट प्रत्यक्षत: खास किसिमको प्रभाव लिन सकिनँ । मेरा अग्रजहरू विष्ट, गोठाले, मल्ल आदि कथा–उपन्यास दुवै लेख्ने हुनाले मलाई पनि दुवै विधामा लेख्नुपर्ने रहेछ भन्ने लाग्यो । फेरि साथीभाइले गफगाफमा ‘तँ कथामै मात्र सीमित हुन्छन्, उपन्यास लेख्न सक्तैनस्’ भनी चुनौती पनि दिए र उपन्यास लेखेँ ।

तर, तपाईंको उपन्यास लेखन–अवधि निकै छोटो रह्यो क्यार । एउटा मात्रै उपन्यास ‘सबै बिर्सिएका अनुहारहरू’ प्रकाशित भयो, अरू पनि लेख्नुभयो र ?

होइन, मेरो उपन्यास लेखन–अवधि निकै लामो छ– ‘रात जो पग्लन्छ’ भन्ने उपन्यास २०२१ सालमा लेखेको थिएँ । काठमाडौंमा यौनवृत्ति गर्ने एक केटीबारे थियो त्यो । त्यसमा ‘प्रस्’ केटीका चिन्तन, सन्तुष्टि, असन्तुष्टि, निराशा, यौनव्यवहार आदि प्रकट भएका थिए । र, धारावाहिक रूपमा त्यसका तीन खण्ड ‘तुवाँलो’ पत्रिकामा छापिएको छ, तर किताब भने आएन । कुरो के पर्‍यो भने एक दिन न्युरोडतिर शंकर लामिछानेसँग भेट भयो । उहाँले भन्नुभयो, ‘परशुजी, मेरा पाँचवटा विज्ञान उपन्यास हरेकको तीन सय रुपियाँको दरले म सहयोगी प्रकाशनलाई बेच्दै छु, तपाईंको उपन्यास पनि ल्याउनुस् ।’ मैले सहर्ष उपन्यासको पाण्डुलिपि दिएँ, तर त्यो छापिँदै छापिएन र पाण्डुलिपि पनि हरायो भनेर फिर्ता दिइएन । बीए पास गरेपछि म भोजपुरको कुलुङ गाउँको स्कुलमा हेड मास्टर भएर गएँ, ‘सबै बिर्सिएका अनुहारहरू’ त्यसैबेला लेखेको हुँ । पछि दुईवटा उपन्यासमा सहलेखन पनि गरेँ । अनि मैले कथोपन्यास भनेर शृङ्खलित कथाहरू प्रकाशित गरेको छु— ‘सीताहरू’ र ‘घर’ । यिनलाई पनि उपन्यास भन्न सकिन्छ नि !

तपाईंले शृङ्खलित कथाहरूको किताबलाई कथोपन्यास भन्नुभएको होला । क्रमसंख्या सहितका ‘सीताहरू’ वा ‘घर’ शीर्षक कथाहरू मैले पनि पढेको छु, तर तिनलाई उन्यास भन्न सकिन्छ र ?

हेर्नुस्, शृङ्खलित कथा एउटा प्रतीकलाई केन्द्रमा राखेर लेखिएको हुन्छ । त्यसले उस्तै प्रवृत्ति, अर्थ समेट्ने नभई विभिन्न दृष्टिकोणलाई संयोजन गर्छ । ‘सीताहरू’ लाई नै हेर्नुस् न, त्यसमा फरक–फरक केटीका भिन्न विषयका कथा छन्, तर तिनलाई नेपाली जीवनमा बहुप्रचलित मिथकीय पात्र सीता नाम दिएर मैले सबै कथालाई औपन्यासिकता दिएको हुँ । एक अमेरिकन महिला लेखकले हरेक खण्ड पढ्दा कथा जस्ता र सिङ्गो रूपमा उपन्यासको आनन्द दिने किताब लेखेकी छन् । त्यस्ता रचनालाई उनले ‘हाइपर नोभेल’ भनेकी छन् । मैले पनि त्यस्तैखालको कथोपन्यास लेखेँ । ‘सीता’ र ‘घर’ एउटा–एउटा प्रतीक हुन्, तिनबाट कत्ति अर्थ निकाल्न सकिन्छ । अहिले ‘सम्बन्ध’ भन्ने कथोपन्यास पनि सुरु गरिसकेको छु । हुन त कतिपयले कथोपन्यासलाई स्वीकार गरेका छैनन्, कथासंग्रह पनि भनिरहेका छन् ।

तपाईंले ‘सबै बिर्सिएका अनुहारहरू’ लेख्न थाल्नुको पृष्ठभूमिमा केही विशेष कारक छन् कि ? विशेष गरी तपाईंको अन्तरजातीय विवाह र उपन्यासकी पात्र तुलसाको विवाहको सन्दर्भलाई एकै तरिकाले हेर्न मिल्छ ?

यो उपन्यास मैरै जीवनको घटनासँग समान कथामा आधारित छ । बालविधवा बाहुनी तुलसाले घर्ती ठूलो कान्छासँग बिहे गरेको कथा छ उपन्यासमा । मैले २०१९ सालमा शरद्चन्द्र शर्मा भट्टराईको उत्साहले प्रेरित भएर भोजपुरकै बाहुनकी छोरीसँग प्रेमविवाह गरेको थिएँ । त्यसबेला सानो जातिकाले ठूलो जातिकासँग विवाह गरे १२ वर्षसम्म कैदको सजाय पाइने फौजदारी केस हुन्थ्यो । त्यही सजायको डरले पत्नीसहित भागेर बनारस पुगेँ । भाग्दै विभिन्न ठाउँ चाहरेँ र २०२१ सालमा मुलुकी ऐन प्रारम्भ भएपछि मात्रै जातीय आधारमा सजाय नहुने निश्चित भएपछि बनारसबाट फर्कें । त्यतिबेला मलाई कुट्छु भन्ने, मार्छु भन्ने कत्ति थिए कत्ति ! मेरी पत्नीले पनि निकै दु:ख खेपेकी छन् । त्यसैले आफ्नो जीवनको एउटा अंशलाई लिएर उपन्यास लेख्ने योजना बनाएँ

अनि यो थालियो ।

यो उपन्यास सुरु गर्दा तपाईंको मनस्थिति कस्तो थियो ?

यो उपन्यासको योजना बनारसकै प्रवासमा बनाएको थिएँ । पछि काठमाडौं गएपछि राष्ट्र बैंकको जागिरे बनेर भोजपुर फर्किर्एँ, तर कुलुङमा हेड मास्टर भइदिन साह्रै कर गरेपछि फेरि त्यहाँ गएँ । यो उपन्यास त्यहीँ लेखिएको हो । त्यहाँ सिमलका रूखहरू धेरै हुन्थे, रात्तै फुल्थे । मलाई राता सिमलका फूल खुब मन पर्थ्यो । युवा उमेर, नयाँ नयाँ कुरा फुर्ने । त्यस्तो बेला दिमाग नै अचम्मको हुँदो रहेछ, कस्ता–कस्ता कल्पना आउने मनमा ! मैले उपन्यासको सुरुमै लेखेको छु— ‘... कुलुङ (भोजपुर)— जहाँ अरुण नदीको लहर गनेर मैले आफ्ना धेरै परिचित अनुहारहरूलाई बिर्सने बाध्यता स्वीकार गर्नुपर्‍यो र नै ‘तुलसा’ मेरो मुटुमा गाँसिई सिमलको रातो फूल भएर... ... ... ।’

अनि उपन्यास सोचेअनुसारै टुंग्याउन सक्नुभयो त ?

हो, योजनाअनुसार नै टुंगियो । मलाई जातीयताले ग्रस्त हाम्रो समाजको स्वभाव देखाउनु थियो । जातीयताले गर्दा मान्छेले भोगेको पीडाको बोध गराउनु थियो, त्यसको गम्भीर असर दिनुपर्ने थियो । त्यसैले उपन्यास सुरु गर्दा जे खाका तयार गरेको थिएँ, त्यसै ‘स्प्रिट’मा सिध्याएँ ।

यो उपन्यासमा खण्ड छुट्टिने कुनै चिह्नहरूसमेत छैनन् । यस्तो निरन्तर प्रवाहित लेखन किन गर्नुपर्‍यो त ?

उपन्यास यस्तो पनि हुन सक्छ भन्ने लाग्यो र मैले प्रयोग गरी हेरेँ । वास्तवमा यो उपन्यास भन्नु पात्रको संस्मरणको प्रयोगसमेत हो । संस्मरणमा समय र स्थान फरक परे पनि स्मृति त निरन्तर बगी नै रहन्छ ।

अनि उपन्यासका घटना त्यति विशृङ्खल बनाउनुको प्रयोजन पुष्टि हुन्छ त ?

मलाई उपन्यास भरसक भिन्न र कलात्मक होस्, जीवनलाई एउटा नयाँ बाटोबाट देखाउन सकियोस् भन्ने लागेको थियो । जीवनमा अन्तरजातीय विवाह गरेर समाजमा जसरी नयाँपन ल्याइयो, लेखनमा पनि पुरानो परम्परा र इतिहास भत्काऊँ, सहज लेखनलाई चुनौती दिऊँ भन्ने सोच आएको थियो । त्यसमा हिन्दी उपन्यासकारहरू रमेश वक्षी, मोहन राकेश, राजेन्द्र यादवहरूको पनि प्रभाव छ ।

त्यसरी छरिएका सामग्रीलाई एकरूपता दिने र औपन्यासिक संरचना निर्माण गर्ने काम केले गर्छ त ?

त्यसलाई एकीकृत रूप दिने काम काव्यात्मकताले गर्छ । क्रमिकता नभए पनि बिम्ब, प्रतीक, लयको भूमिका प्रबल भएकाले औपन्यासकिताको आवरणमा त्यहाँ काव्य बसेको छ । त्यसका हरफहरूलाई छुट्टाछुट्टै राख्नुस् त, त्यो उपन्यास एउटा शुद्ध र कोमल कविता बन्छ ।

समालोचकहरूले त्यसको काव्यात्मकताको पहिचान गरे त ?

कहाँ गर्नु ! लेख्दा आफूले महत्त्वपूर्ण किताब लेखेजस्तो लागे पनि चर्चा कतै भएन । त्यसबेला समालोचकले केवल एउटा उपन्यास आयो भनेर मात्रै लेखे । तर, प्रकाशन भएको ४५ वर्षपछि अहिले तपाईं यस उपन्यासबारे अन्तर्वार्ता

लिन आउँदा आश्चर्यचकित छु । सिर्जनाको मूल्य कुनै न कुनै दिन पहिचान हुँदोरहेछ भन्ने लागेको छ । शंकर लामिछानेको ‘म भोलि जन्मनेछु’ जस्ता कथाको काव्यात्मक प्रभाव र प्रवाह छ मेरो उपन्यासमा ।

उपन्यासको मान्छे वास्तविक त होइन, त्यस पात्रलाई कसरी चिन्ने ?

पात्रको खास अर्थ उसको मनस्थितिमा हुने द्वन्द्वको अभिव्यक्ति हो । उसको मनमा राम्रो र नराम्रो तानातानी चलिरहेकै हुन्छ । मैले तुलसालाई त्यसै आधारमा रचना गरेको हुँ । निरन्तर मानसिक द्वन्द्वका कारण ऊ सशक्त पात्र बनेकी हो । उसले हरेक ठाउँमा स्थापित सीमालाई भत्काउन खोजेकी छ । विचार गरेर हेर्नुभयो भने तपाईंले उसको चरित्रमा संघर्षशील चरित्र योगमायाको स्पष्ट चित्रण पाउनुहुन्छ । भोजपुरको कुलुङमै हो योगमायाले क्रान्ति गरेको, विधवा–विवाह आरम्भ गरेको, अरुण नदीमा सामूहिक आत्महत्या गरेर राणाकालमा चरम विद्रोह देखाएको । म पढाउन गएको कुलुङमा योगमायाका गीतहरू, भजनहरू गाउँलेहरूले श्रद्धासाथ गाएको सुनिन्थ्यो । हुन पनि योगमायाले विधवा–विवाह वा बहुविवाह गरेको, विद्रोह गरेको आदि धेरैको प्रभाव तुलसामा परेको छ । मेरी पत्नी कल्पनामा छ त्यो साहसको केही अंश, विद्रोहको छवि । केही मान्छेको चरित्र मिसिएको छ तुलसामा ।

यो उपन्यास लेख्दा आफू तुलसा हुनुभयो कि परैबाट उसलाई अवलोकन गर्नुभयो ?

टाढाबाट हेरेको होइन, म आफैं तुलसामा पसेको हुँ । उसको पीडा, आकांक्षा, विवशता, व्यवहार आत्मसात् गरेको हुँ । सम्झनुस्, तुलसा मेरै पत्नी कल्पना हो, त्यसमा केही छिटपुट पृथक् बनाइएका कुरा मैले थपेको हुँला । मैले एउटा पात्रलाई धेरै रूपमा विभाजित गरेर, फरक क्रियाकलापमा राखेर उपन्यासमा हेर्नु र त्यसरी प्रस्तुत गर्नु मेरो क्षमताको कुरा हो ।

उपन्यासमा तपाईंले पात्रको चेतनाको प्रवाह टिप्नुभएको छ । चेतनाप्रवाह पद्धति भनेको कस्तो प्रकारको लेखन हो ?

चेतनाप्रवाह पद्धति भनेको पात्रको मानसिकतामा आएका द्वन्द्वलाई प्रवाहपूर्ण तरिकाले लेख्नु हो । यस्तो पद्धतिले बौद्धिक पाठकको मानसिकतामा केही नयाँ चिन्तन जन्माउँछ, उसलाई केही सोच्न बाध्य बनाउँछ ।

यस्तो पद्धतिका कारण यो उपन्यास अस्पष्ट र जटिल बनेको छ भन्ने लाग्दैन ?

मलाई त्यस्तो लाग्दैन, तर सामान्य पाठकलाई लाग्न सक्छ किनभने यो लेखन एक प्रकारको क्रान्तिकारिता नै हो ।

म लेखनमा नयाँ मूल्य ल्याउनुपर्छ, परम्परागत शैलीलाई भत्काउनुपर्छ र लेखनका विधि र विधा परिवर्तन गर्नुपर्छ भन्ने मान्यतामा हिँड्ने मान्छे हुँ । बरु त्यस्तो सोच उपन्यासमा राख्दा गतिलै प्रयोग भएको छ ।

प्रकाशित : चैत्र १०, २०८० १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?