३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

खराब अनुवाद : गम्भीर सवाल 

अनुवाद के हो ? कस्तो हुनुपर्छ ? यसको कुनै संरचना छ ? के अनुवादले केवल अनुवादकको निजी–कला र क्षमताको प्रस्तुति माग्छ ?
नेपाली बजारमा पाइने केही अनधिकृत अनूदित किताब न भावानुवाद हुन्, न तिनको वाक्यगठन नै लालित्यपूर्ण छ । न वाक्यले कुनै स्पर्शी अर्थ दिन्छ । ती अधिकांश अनुवाद प्राणबिनाका शरीर हुन् । 

अनुवाद नहुँदो हो त संसारका कैयौं राम्रा, गहन र अर्थपूर्ण कृतिको लुत्फ उठाउन सक्दैनथे पाठकले । अनुवादमार्फत नै मौलिक भाषामा रचिएका कृतिले संसारभरका अलगभाषी पाठकलाई साहित्य, लोकगाथा र दर्शनका दृष्टिकोण बुझ्न सहयोग गरेको छ ।

खराब अनुवाद : गम्भीर सवाल 

सुमेरुका नामी राजा गिल्गामेशमाथि हिब्रु र अरबी भाषासँग करिब मानिने अक्कादियाली भाषामा लेखिएको कविताबाट अनुवादको थालनी भएको मानिन्छ । ३००० क्राइस्टपूर्व उक्त कविताको पाँचवटा फरक एसियाली भाषामा अनुवाद भएको थियो ।

अनुवादको आफ्नै गरिमा र महत्त्व छ । अनुवादको आरम्भ नहुँदो हो त कतिपय उम्दा कृतिबाट पाठक अपरिचित रहने थिए । नयाँ ज्ञान र दृष्टिकोणसँग पाठकको साक्षात्कार हुने थिएन । नेपाली वाङ्मयको बजारमा पनि थुप्रै अनुवादित कृति पाइन्छ । तीमध्ये आफू प्रभावित भएको केही किताब मैले किनेकी र पढेकी छु । तर, ती किताब पढ्दा पहिलो गाँसमै ढुङ्गा लागेझैं हुन्थ्यो । त्यस्ता अनूदित किताबको सूची लामो छ । कुनै एक लेखकको नाउँ लिनुपर्दा सबैभन्दा ज्वलन्त उदाहरण तसलिमा नसरिनका नेपाली बजारमा पाइने अनधिकृत अनूदित किताबलाई लिन सकिन्छ । लिपि त देवनागरी हो, तर बुझ्न कठिन । न ती भावानुवाद लाग्छन् (जुन गर्नु मौलिक कृतिलाई अपमान गर्नु हो), न तिनमा वाक्यगठन ललित छन्, न वाक्यले कुनै स्पर्शी अर्थ दिन्छ । यस अर्थमा विदेशी भाषाबाट नेपालीमा अनुवाद गरिएका अधिकांश किताब प्राणबिनाका शरीर लाग्छन् ।

यसै क्रममा प्रश्नहरूले पछ्याउन थाले– अनुवाद के हो ? यो कस्तो हुनुपर्छ ? के यसको कुनै संरचना छ ? वा अनुवादकको निजी कला र क्षमताको प्रस्तुति हो अनुवाद ? अनुवादित रचनाको महत्त्व र अर्थ छ वा छैन ? छ भने के छ ? अनुवाद कसरी गर्नुपर्छ ? मौलिक कृतिलाई अर्को भाषामा लैजाँदा के–के विषयमा ध्यान पुर्‍याउनुपर्छ ? यी प्रश्नका उत्तर कति छन् होला, कति खोज्नुपर्छ होला अनि कति सायद खोजिएका पनि छैनन् होला । विभिन्न विद्वान्का विभिन्न धारणा होलान्, त्यसैले जवाफ पनि फरक–फरक आउलान् । त्यसबाहेक कोही अनुवादको समर्थनमा होलान्, कोही मौलिक कृति कहिल्यै अनुवाद हुन सक्दैन भन्ने पनि होलान् ।

बहसलाई थाती राखेर रिडर रेस्पन्सको सिद्धान्तले हेर्ने हो भने त्यसले किताब प्रकाशित भएपछि ‘डेथ अफ दि अथर’ भन्छ– मतलब किताब छापिएपछि लेखक रित्तो हुन्छ, उसको भूमिका सिद्धिन्छ र पाठकहरूले उक्त कृतिलाई आआफ्नो तरिकाले अर्थ दिन्छन् । कृतिको व्याख्या र विश्लेषण पाठकले आफ्नो ढंगले गर्न सक्छ र पाउँछ । यही सिद्धान्तलाई एकछिन आधार मानेर बहस गर्ने हो भने अनुवादलाई पनि पाठकको हकमा छोडिदिए भयो । तर, के यो न्यायोचित होला र ? सायद नहोला । अनुवादकको भूमिकालाई अध्ययन गर्ने हो भने यो एउटा भाषाबाट अर्को भाषामा हुबहु उतार्ने काम मात्रै होइन । अनुवाद एक कला हो, जसले शब्द र वाक्यहरूलाई मात्रै केलाउँदैन, त्यसले मूल लेखकको अभिव्यक्तिमा प्राण सञ्चार गर्छ, र मौलिक कृतिको आत्मालाई शिशुझैं स्याहार गर्छ । यो फरक समाजको संस्कृति हस्तान्तरण प्रक्रिया पनि हो ।

अनुवाद बहुभाषिक संसारमा प्रवेश गर्ने माध्यम पनि हो । यही माध्यमले पाठकलाई आफ्नोभन्दा भिन्न परिवेश र संस्कृतिसँग साक्षात्कार गराउँछ, लेखकले बाँचेको परिवेश बुझाउँछ, लेखकको दृष्टिकोण र दर्शन बुझ्न सघाउँछ । र, यसै सन्दर्भमा प्रश्न उठ्छ– अनुवादकको दायित्व के हो ? अनुवादबाट पाठकहरू कसरी लाभान्वित हुन्छन् ? अनुवादक हुन कस्तो योग्यता चाहिन्छ र अनुवादकको अनुवादप्रतिको पहिलो र सम्पूर्ण जिम्मेवारी के हो ? यो प्रश्न उठ्नु किन पनि जायज र अनिवार्य छ भने अनुवादको भूमिका अमूल्य छ, यो गर्न सजिलो छैन । कतिपय अवस्थामा अनुवाद गर्नु भनेको अनुवादक स्वयंले मौलिक कृति लेख्नुझैं सकसपूर्ण विषय पनि हो । यसै प्रसंगमा सान्दर्भित अंग्रेजीमा एउटा भनाइ छ– ट्रान्स्लेसन इज नट एभ्रिवोन्स कप अफ टी (अनुवाद सबैको वशको कुरा होइन) ।

सारमा भन्नुपर्दा अनुवाद सबैले सही तरिकाले गर्न सक्छन् भन्ने छैन । अनुवाद गर्दा भाषागत ज्ञान र अनुवादशिल्प मात्रै भएर पुग्दैन । यसका लागि त मूल लेखकको समाजको परिवेशसँग परिचित हुँदै शिल्पकारले आफ्नो कलालाई अन्तिम मूर्त रूप दिनुअघि अपनाइने सम्पूर्ण कला र कौशल जान्न जरुरी हुन्छ । अनुवादबारे मेरा मनमा आएका विचार, खुल्दुली अनि मस्तिस्कले गरेको मन्थनले एउटा साक्षात् उदाहरण पायो, जब मेरो साक्षात्कार नेपालीबाट अंग्रेजीमा अनुवादित एउटा कवितासँग हुन पुग्यो । खोज्दै जाँदा २००७ सालमा रचित त्यो कविता युगकवि सिद्धिचरण श्रेष्ठको रहेछ । कविताको शीर्षक ‘धूवाँ निस्कँदैन’ छ र कविता यस प्रकार छ :

मलाई फुर्सद छैन,

मृत्यु आई नबोलाऊ ।

टाउको फुटी बगेको रगत

पुछ्न मलाई फुर्सद छैन ।

सुन्दरी, मेरो बढेको पाउ

नअलमल्याऊ ।

तिम्रो हाउभाउ हेर्न

मलाई फुर्सद छैन ।

मेरो देशका जनताहरू

छाक अड्की छटपटाइरहेछन् ।

देख्तैनौ ?

भौप्वालबाट धूवाँ नै निस्कँदैन ।

त्यसैको अंग्रेजी अनुवाद यस फ्रकार गरिएको रहेछ :

No Smoke From The Chimneys

I don’t have time,

Death, do not call me,

I don't have time to mop up

The blood from a broken head

Lady, do not detain my advancing feet,

I have no time for your blandishments

The people of my country

Have cancelled their meals

And are struggling: look !

No smoke comes from their chimneys.

अंग्रेजीको त्यो अनुवाद–कविता मेरो हात पर्नेबित्तिकै मेरो आँखा सुरुमै यसको शीर्षकमा गएको थियो । शीर्षकमा पनि

विशेषत: चिम्नी भन्ने शब्दमा । तत्काल मनमा एउटा प्रश्न उब्जियो– जुन बेला यो कविता सिद्धिचरण श्रेष्ठले लेखे, के त्यो बेला नेपालमा चिम्नी भन्ने शब्द वा चिम्नीको आगमन भइसकेको थियो ? अनि अनुवाद गर्दा भौप्वाल (नेवारभाषामा भौप्वा) लाई अंग्रेजीमा चिम्नी भनिएको छ । चिम्नी, बैठकमा रहेको फायरप्लेस (अँगेना होइन) को धूवाँ जान डिजाइन गरिएको युरोपेली घरका छानामा प्रस्ट देखिने निकास हो भने भौप्वाल उपत्यकाको नेवार वास्तुकलाअन्तर्गत बनेको छानामा बनाइएको कलात्मक झिंगटीको अर्धवृत्ताकार प्वाल हो । उपत्यकाका त्यतिखेरका घरका भान्सा बुइँगलमा हुने गर्थे, भौप्वाल भान्साबाट धूवाँ जाने निकास हुन्थ्यो र बिरालोले आफ्नो दुनो सोझ्याउने बाटो पनि । नेवारभाषामा ‘भौ’ को अर्थ बिरालो हो । सम्भवत: बिरालो ओहोरदोहोर गर्ने कारण नै त्यस प्वालको नाउँ भौप्वाल रहन गयो । चिम्नी र भौप्वालको शाब्दिक अर्थ नितान्त फरक छन् । त्यसबाहेक सुन्दरीलाई लेडी र पुछ्नलाई मप भनेर अनुवाद गर्नु एवं कविताको अन्त्यमा लुक लेख्नुले कवितालाई स्पर्शीको साटो हास्यास्पद र अस्पर्शी बनाएको स्पष्ट छ । अझ ब्लान्डिसमेन्ट भन्दा त फ्ल्याटरी अलि काव्यात्मक हुन्थ्यो कि ?

अर्थ फरक पर्नेबित्तिकै त्यसको भाव फरक हुन जान्छ र पाठकको बुझाइमा फरक पर्न जान्छ । त्यसबाहेक लेखन कालखण्डको संस्कृति, महसुस, परिवेश र समाजको संरचनालाई पाठकले सही तरिकाले बुझ्न पाउँदैन । यो कुरा पनि हो कि कुनै भाषाको एउटा कुनै शब्द अर्को भाषामा अनुवाद गर्दा शब्द भेट्टाउन गाह्रो हुन्छ वा कुनै बेला सकिन्न । नभेट्टाएको खण्डमा के गर्ने त ? मेरो साधारण अनुमानमा त्यस्तो बेला आगन्तुक शब्द भित्र्याउनु एउटा उपाय हुन सक्छ । जुन शब्द र त्यसको प्रतीक सम्बन्धित पाठकको मस्तिस्कमा छैन वा आउँदैन भने पाठकले पाठलाई महसुस गर्न सक्दैन, अनुवादले कृतिलाई अधुरो तुल्याइदिन्छ । रचनाकारले दिएको सन्देशको अवसान हुन्छ । अंग्रेजी पाठकको हकमा उनीहरूले हाम्रा युगकविको कविताको मर्म कसरी बुझे होलान् ? अंग्रेजीमा अनूदित यस कवितामा गरिएका शब्द चयन र अनुवादले कविको क्रान्तिचेतलाई कसरी अंग्रेजीभाषीको हृदयलाई स्पर्श गर्‍यो होला ? सम्भवत: गरेन नै होला । कुनै पनि कृतिलाई अन्य कुनै भाषामा उल्था गरिन्छ भने अनुवादकले त्यसमा प्रयोग भएका शब्दमा निहित सामाजिक सम्बन्ध, त्यसको उपपाठ र त्यसलाई अर्को भाषामा निर्यात गर्दा बुझाइको कति निकट पुर्‍याउन सकिन्छ भन्ने कुरा पनि जान्न जरुरी छ भन्ने कुरा माथिको दृष्टान्तले संकेत गर्छ ।

मेरा एक गुरुले भनेको सम्झिन्छु । भनेका थिए, ‘अनुवाद एक चुनौतीपूर्ण काम हो । किनभने यो काम गर्दा सांस्कृतिक र परिवेश झल्किने खालको पनि हुनुपर्छ न कि शाब्दिक रूपान्तर मात्रै ।’ अन्य भाषामा विशेषत: अंग्रेजीबाट नेपालीमा अनूदित र नेपालीबाट अंग्रेजीमा अनूदित जति पनि कृति मैले पढेकी छु मलाई धेरै हदसम्म उहाँका कुरा सही लाग्छन् । अनुवाद गर्दा अमूक परिवेशको शब्दसँग शब्द, सार झल्काउन सकेन भने त्यसले अर्थको अनर्थ मात्र लाग्छ । रमेश विकलको ‘लाहुरी भैंसी’ भन्ने कथालाई अंग्रेजीमा ‘अ स्प्लेन्डिड बफेलो’ भनेर अनुवाद गरिएको छ । स्प्लेन्डिडलाई सानदार वा उत्कृष्ट भन्ने बुझिन्छ । लाहुरी त मुर्राझैं एउटा प्रजाति हो । लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ लाई ‘माउन्टेन पेन्टेड विथ टर्मेरिक’ भनेर उल्था गरिएको छ । बसाइँलाई अंग्रेजी शीर्षकले न्याय गरेको छ, मलाई त्यस्तो लाग्दैन । हरिभक्त कटुवालको ‘यो जिन्दगी, खै के जिन्दगी’ लाई अंग्रेजीमा ‘दिस लाइफ ह्वाट लाइफ इज दिस’ भनेर गरिएको रहेछ । रूपान्तर गर्दा यति नीरस शीर्षक त नबनाउनुपर्ने । होइन र ? यसले के पनि बुझाउँछ भने अनुवादकले हेलचेक्र्याइँ गरेको खण्डमा उसले गरेको भाषासेवाले उचित कदर पाउने सम्भावना मासिन्छ ।

सन् १९३० देखि १९५० को दशकमा पश्चिममा साहित्यकेन्द्रित केही यस्ता सिद्धान्त प्रतिपादित भए, जसले विश्वमा जीवन र जगत्लाई बुझ्ने फराकिलो अवसर दियो र नयाँ आयामको उदय भयो । यसअन्तर्गत भाषाविज्ञान, मनोविश्लेषण, साहित्यिक समालोचना र संरचनावाद पर्छन् । संरचनावादले व्यक्तिगत वस्तुभन्दा अन्तर्निहित सम्बन्धलाई महत्त्व दिन्छ, जसले संसारमा भएका कुनै पनि भाषा र दर्शनलाई केन्द्रमा राखी यसका संरचनाबारे बहस गर्छ । यसको मूल तात्पर्य संसारमा हरेक वस्तु एकअर्कासँग अन्तर–सम्बन्धित हुन्छन् र यो संरचनालाई बुझ्न बृहत् संरचना बुझ्न जरुरी छ । भाषाज्ञाता फरदिना दु सस्सुराको सिद्धान्तअनुसार सिग्निफायर अर्थात् ध्वनि, छवि र अभिव्यञ्जना (सिग्निफाइड) अर्थात् परिकल्पना हुन्छ । उनको भनाइअनुसार कुनै पनि शब्द उच्चारण गर्दा त्यसको छवि पनि मगजमा आउँछ अनि मात्रै अर्थ निस्कन्छ । डेरिडाले पनि सस्सुराकै धारणा पछ्याएका छन् । जसअनुसार प्रतीकले निर्माण गरेको छवि अभिव्यञ्जन बन्छ । छवि लक्षणको भौतिक रूप हो भने अभिव्यञ्जना मौखिक रूप । डेरिडाले यी दुईबीचको दूरी र भिन्नता कम गर्ने विषयमाथि जोड दिएका छन् । अनुवादमा पनि संरचना केन्द्रमा रहन सक्छ ।

सेमियोटिक्स् अर्थात् सांकेतिकतासँग सम्बन्धित अन्य प्रमुख अवधारणाहरू ‘संकेत’ (फर्स्ट अर्डर सिग्निफिकेसन) र ‘अर्थ’ (सेकेन्ड अर्डर सिग्निफिकेसन) हुन् । सांकेतिकताले शब्द र सञ्चारको अन्य प्रतीकात्मक प्रणालीहरूमा अर्थ जन्माउँछ । शब्दको अर्थ शब्दकोशको अनुसार हुन्छ र त्यो वस्तुको अवधारणा र स्वरूपसँग जोडिएको हुन्छ । संरचनावादको बहसमा डेरिडाले भिन्नता र विघटनको अवधारणालाई अँगाले र उनका अनुसार त्यसलाई ‘डिफर र डिफारांश’ भनियो । जसको मतलब कुनै पनि कृतिको फरक धार हुन्छ र त्यसैले त्यसलाई फरक धारमार्फत तौलिनुपर्छ । तर, प्रश्न यो हो कि यसो गर्दा हामीले मूल कृतिको वास्तविक अर्थलाई भत्काउन र सन्दर्भलाई कमजोर पार्न अनुमति दिन्छौं कि दिँदैनौं ? सायद नदिएको खण्डमा मात्रै पाठकले एक अद्भुत बहुभाषिक कृतिको स्वाद लिन पाउँछन् । नत्र भने पाठ मूल मुद्दाबाट हराउने सम्भावना प्रबल हुन्छ ।

यसो भन्दा, अनुवादको काममा दशकभन्दा बढी समय खर्च गर्ने विज्ञ र व्यक्तिहरूको कामप्रति कुनै लेखाजोखा राख्ने वा मूल्यांकन गर्ने यस आलेखको उद्देश्य होइन । यद्यपि, यो पनि अस्वीकार गर्न सकिँदैन कि अनुवाद कर्मलाई सूक्ष्म रूपले गम्भीर भएर ध्यान दिनु आवश्यक छ । र, अनुवाद प्रक्रियामा जाँदा यस आलेखमा उठेका सवालहरूलाई सम्बोधन गर्नु आवश्यक छ । पाठको अर्थ र विचार सान्दर्भिक हुनाका साथै र पाठकहरू पाठ र पाठ रचिएको संस्कृतिसँग पनि गाँसिनु आवश्यक छ । सारमा अनुवाद भनेको उल्था गर्दा मौलिक पाठ जस्तो छ अनुवादमा पनि त्यस्तै राख्न सक्नु पनि हो । एउटा खराब अनुवादले हजारौं पाठकसामु लेखकको घिनलाग्दो मानमर्दन मात्रै गर्दैन, ‘अनुवादक’ का रूपमा एक ‘अपराधी’ लाई बिनासजाय समाजमा स्वतन्त्र विचरण गर्ने दुष्प्रयासलाई प्रोत्साहित पनि गर्छ ।

(अंग्रेजी साहित्यमा स्नातकोत्तर सुल्ताना साहित्य र दर्शनमा विशेष रुचि राख्छिन् ।)

प्रकाशित : चैत्र ३, २०८० १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?