२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

साला पहाडमें कविता है !

मीनबहादुर विष्टका कविताले विदेश कुदिरहेका नानीहरूलाई देशको मानचित्र कोर्न सिकाएका छन् । कविको विचारमा चम्चाको संगीत सबैभन्दा कुरूप हुन्छ । 
भूपेन्द्र खड्का

केटौले उमेरमै २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’ मा कविता–वाचन गरेका कवि मीनबहादुर विष्ट मीन अर्थात् माछोजस्तै लामो समय पहाडका खोलानाला र नदी चहार्दै समुद्रमा पुगेर मत्स्य अवतारमा कविता संग्र्रह ‘साला पहाडमें क्या है’ सहित कविताप्रेमीका बुकसेल्फ र मनमा आइपुगेका छन् ।

साला पहाडमें कविता है !

त्यसो त बाह्र राशिमा मीन अन्तिम राशि हो । उनी पनि अन्तिम राशिजस्तै हतार नगरीकनै अन्तिमतिर, तर पहिलो पंक्तिका कवि बनेर पाठकलाई आस्वादन गराइरहेका छन्, कविता ।

२०६० सालमा ‘कालचक्र नेपाल’ मार्फत् एकैदिन १० कविका कवितासंग्र्रह प्रकाशन गरेर कीर्तिमान कायम गरेका कवि राजेन्द्र पराजुली केही महिनाअघि सुटुक्क हामीलाई छाडेर कालको चक्रमा परमधाम भइसकेका छन् । उनले त्यतिबेला ‘मीनबहादुर विष्टका कविता’ शीर्षकमा उनको कवितासंग्र्रह प्रकाशन गरेका थिए । नेपाल पर्यटन बोर्डको सभाकक्षमा लोकार्पण समारोहमा म केटौले पनि उपस्थित थिएँ । कालान्तरमा मैले किनेको कवितासंग्र्रह हरायो । पछि मैले ललितपुर पुल्चोकस्थित कवि मुरारी सिग्देलको किताब पसलमा त्यसको फोटोकपी गराइमागेको थिएँ । संग्र्रहका धेरै कविता मलाई कण्ठस्थ पनि थिए । मैले रेडियोका मेरा धेरै कार्यक्रममा रिमाल, भूपि, वासु शशी र देवकोटाकै लाइनमा कवि विष्टका कविताहरू वाचन गरें– विशेष रूपमा ‘गाउँको पाठशाला’, ‘जर्साबको कुकुर’, ‘साला पहाडमें क्या है’ आदि ।

बागलुङबाट सहर पस्दा मसँग केही थान सपनाहरू थिए, तीमध्येको एउटा कवि बन्ने सपना पनि थियो । ५० को दशकको उत्तरार्धमा राजधानीका केही समारोहमा कविता वाचन पनि गरियो, तर कवि हुन सकिएन । र, पनि मलाई कसैले ‘कविजी’ भनेर बोलाउँदा गज्जब लाग्छ । गीतलाई कविता मान्ने हो भने त म पनि कवि हुन सक्छु होला ।

मीनबहादुर विष्टले जुन पृष्ठभूमिबाट ‘साला पहाडमें क्या है’ कविता लेखे, त्यो पृष्ठभूमिको साक्षी सायद म जन्मेको, हुर्केको र बढेको परिवेश हो । म लाहुरे परिवारको छोरो । मेरा बा परदेशबाट आउँदा यस्तै लवजमा जेठाबा र कान्छाबाहरूसँग कुरा गर्थे– साला... क्या है ?

त्यही परिवेशका बिम्बहरू टिपेर जागिरको सिलसिलामा गाउँघर पुगेको शिक्षा क्षेत्रको व्यक्तिले कविता लेख्नु स्रष्टाभन्दा द्रष्टा महान् लागेको हो मलाई ! त्यसैले पनि म विष्टका कविताको आकर्षणमा परेको हुँ ।

संग्र्रहमा ६४ कविता छन् । तिनले कविताको बान्कीका ६४ व्यञ्जन पस्केका छन् । कतै डोल्पा, हुम्लातिरको अन्नको जस्तै अर्गानिक स्वाद छ भने कतै तराईली पाराका बान्कीहरू छन् । कतै हिमालको चिसो गुम्फन छ भने कतै राजधानीको जीवनका गन्धहरू छन् ।

राजनीतिले नछोएको र बिनाराजनीति बीउबाट बोट बन्न सायद मुस्किल छ अब । देशको शिक्षा, राजनीति, संस्कृति क्षेत्रको मात्रै होइन, समयमाथि पनि व्यंग्य गरिएका ‘बेलाबोधी’ कवितासंग्रहमा छन् ।

‘चुनावपछिको गाउँ’ र ‘अब हुनेछ यो गाउँ रमाइलो’ कविताले चुनावअघि र पछिका बेथितिलाई ओकलेका छन्, जो हाम्रा नियति हुन् । ‘रोल नम्बर वान्’ कविताले असफल शासकको इजार फुस्काएको छ भने ‘चम्चाहरूको संगीत’ कविताले भूपिको ‘हामी’ कविताका केही मजेदार पंक्तिहरूको बेमज्जाले सम्झना गराउँछन् र गुलामीमा चलेको व्यवस्थाको दोहोलो काढ्छन् ।

काठमाडौं अब भानुभक्तको अलकापुरी नगरी रहेन वा पुरातत्त्वविद्हरूको व्याख्यानको ‘काष्ठमण्डप’ पनि रहेन । यसको आफ्नो खास परिचय छ– फोहोरको । संसारको जुनसुकै सफा सहरमा पुगे पनि हामीलाई काठमाडौंको फोहोरको सुगन्ध नाकमा आउन छाड्दैन, हामी त्यस गन्धलाई बिर्सन सक्दैनौं । आमाको फरियाको गन्धजस्तै प्रिय लाग्छ, त्यसको गन्ध । कवि विष्ट ‘काठमाडौंको फोहोरको कथा’ शीर्षकको पहिलो कवितामा सहरको सभ्यतालाई सम्झाउँदै भन्छन्, ‘अन्तर्राष्ट्रिय रिपोर्टरहरू फोहोरको डंगुरमाथि चढेर हाम्रो सुन्दरताको प्रचार गरिरहेछन् ।’

अँ साँच्ची ! त्यो फोहोरको डंगुरमा कुनै कविको कविताको पाण्डुलिपि हरायो भने के हुन्छ ? योचाहिँ कवि विष्टलाई सोध्नुपर्ला !

हामी सबै आँखा, कान र मस्तिष्क खोसिएका नागरिक हौं । अब त बाँकी सुरुवाल पनि छैन । हामी शासकहरूले थिलोथिलो पारेर अर्धचेत बनी ब्युँझिन लागेका लासहरू हौं । पाँच दशक लामो देशको राजनीतिक नक्साका टुक्रा–टुक्रा छन्– विष्टका कवितामा । २०४६ मा च्यातिएका–गाँसिएका, बम–बारुद र तोपगोलाले क्षतविक्षत् बनेका, २०६२–२०७२ मा सिलाइएका र फेरि तिनै टुक्राहरू पनि लुटिएका ।

चन्द्रागिरिलाई अँगालो हालेर निदाइरहेको विश्वविद्यालय कविकै भाषामा ‘न विश्व, न विद्या’ बाँकी रहेको ‘आलय’ बनेको छ । भर्खर नियुक्त भएका उपकुलपतिले लगाएको खादामा दाग लागिसकेको छ । उपकुलपतिज्यू ! के तपाईंले मीनबहादुर विष्टको ‘हाम्रो विश्वविद्यालय, देशको विश्वविद्यालय कविता पढ्नुभो ? छैन भने पढ्नुस् र गाउँबाट भविष्यको उज्यालो खोज्न आएका विद्यार्थीहरूलाई खाडी पठाइरहेको आफ्नै नेतृत्वलाई ‘थु’ गर्नुस् । सम्झनुस्– सबैभन्दा कुरूप रङ राजनीतिको हो ।

‘साला पहाडमें क्या है’ कविताको शीर्षक परिवर्तन गरी त्यसलाई ‘जरुर केही त छ पहाडमा’ बनाएर कवि विष्टको कविता विश्वविद्यालयको कोर्समा राखेर विद्यार्थीलाई पढाउन लगाउने मास्टर, मास्टर होइनन् बास्टर हुन् । विद्यावारिधिको थेसिस चोरेजस्तो कविताको थेसिस चोर्न पाइन्न माड्साप !

विश्वविद्यालयको जस्तै हालत गाउँका पाठशालाको छ । उनको चर्चित कविता ‘गाउँको पाठशाला’ आज पनि सान्दर्भिक छ । हाम्रा सामुदायिक विद्यालयको हालत उस्तै र त्यस्तै छ, जस्तो कविले २०३९ सालमा देखेका थिए । अन्डर डिग्रीवाला नेतृत्व र नक्कली सर्टिफिकेटवालाहरूको प्राध्यापन विद्वतामाथि आज पनि गाउँको पाठशाला जीवन्त कविता हो ।

कवि विष्टका कविताका बिम्बहरू समकालिकका भन्दा फरक छन् । शासक र देशले थुकिरहेका हाम्रा अनुहारका भावभंगिमालाई कविता पंक्तिहरूले गिज्यारहन्छन् । मनमा देश बोकेर विदेश कुदिरहेका नानीहरूलाई कविले देशको मानचित्र कोर्न सिकाएका छन् । मनको संगीत सुन्न भनेका छन् । चम्चाको संगीत सबैभन्दा कुरूप ठानेका छन् ।

मंगलबजारको ‘डि स्क्वाएर क्याफे’ मा एक जना बेयरा छन्– थापा दाइ । कवि कुमार नगरकोटी बेला–बेला चर्को आवाजमा बोलाउँछन्, ‘थापा दाइ, थापा दाइ, एस्ट्रे ल्याउनुस् !’ विष्टका कवितामा पनि थापा दाइ छन्, तर एस्ट्रे ल्याउने होइन, चुरोट सल्काउँदा देश नै सल्काउने !

सांस्कृतिक बिम्बमा उनी यति शक्तिशाली धुयत्रो फाल्छन् कि नक्कली भोटो देखाएर ‘भोटो जात्रा’ मनाइरहेका सांस्कृतिक शासक र जनतालाई निसाना बनाएका छन् ।

हरेक पिताका लागि छोरीहरू संसारका सबैभन्दा सुन्दर कविताहरू हुन् । यौवनकालकी छोरी गुमाएका पिता–कविका निम्ति त्योभन्दा ठूलो छटपटी के नै हुन सक्छ र ! सुन्दर कविता लेखेर छोरीहरूलाई सुदूर भविष्यको सुन्दर जीवन देखाइरहेका कविलाई सबै छोरीहरूको सम्मान छ !

संसार तल्लो तटको उष्ण तापीय चापका कारण पहाडतिर सर्दै छ ! तर, हाम्रा गाउँहरू भने खाली हुँदै छन् । कतै खाडीमा, कतै अरबका मरुभूमिहरूमा, कतै अमेरिकाका सब–वेहरूमा, कतै युरोपका गल्लीहरूमा देशको भविष्यबारे चिन्ता गरिरहेकाको भविष्य बनाइरहेका छन्– शासकहरू । कविले चालीस वर्षअघि सुनेको ‘साला पहाडमें क्या है’ आज झन् सान्दर्भिक छ । गाउँमा तन्नेरी छोरा र तरुनी छोरीहरू छैनन् । घर रुङ्दै र काल कुर्दै बसिरहेका बूढापाकाहरूका साहरा छैनन् । गाउँमा पहाड छ, खोला छ, धारा छ, पँधेरा छ, चौर छ, जंगल छ, चराको चिर्बिर छ, हिमाल छ, हिमाल र पहाडका क्षितिज छन्, बेसी छ, टार छ, माया छ, ममता छ, प्रेम छ, स्नेह छ, साथ छ, सहयोग छ, अपनत्व छ । कवि रमेश क्षितिजको नयाँ कविताको लाइन ‘सम्झनाका ताराहरू गन्दै आधी खुलेको झ्यालबाट आकाश च्याइरहेको’ जस्तै गाउँ छ ।

साला पहाडमें कविता है !

कवि मीनबहादुर विष्टका कविता पहिले शासकलाई पढाउनू, त्यसपछि शासकबाट दीक्षित शिक्षा–प्रशासकहरूलाई पढाउनू, त्यसपछि विद्यार्थीलाई पढाउनू, त्यसपछि राहदानीको लाइनमा बसेकाहरूलाई पढाउनू, त्यसपछि कविले पढ्नू र यस्तै ओजनदार कविता लेख्नू !

प्रकाशित : फाल्गुन १९, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?