कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेम–विषको एक घुट्की प्याला 

इमरोजको पिठ्युँमा केही लेखिरहन्थिन्, स्कुटरमा सवार अमृता । इमरोज सम्झिन्छन्– अमृताले लेखेको हरेक शब्द मलाई थाहा हुन्थ्यो, उनी सधैं शाहिर–शाहिर लेख्थिन् ।
रिमा केसी

फेब्रुअरीको एक पारिलो मध्याह्न । नयाँ बानेश्वरको चल्तीको भेटघाट जक्सन– चिया सागर । टेबलहरू भरिभराउ छन्, युवाजोडी अन्तरंग आलापरत । संघारैमा छ– १४ फेब्रअरी (भ्यालेन्टाइन डे) । म एक्लै छु, झ्यालको सिसाबाट छिरेको घामको पार ताप्दै मट्का चिया पिइरहेकी ।

प्रेम–विषको एक घुट्की प्याला 

छेवैमा छ– मैले नै भर्खरै चिया पिएको रित्तो कप । त्यो रित्तो कपले मलाई विस्मृतिको आकाशमा विचरण गराउँछ । अमृता प्रीतमको सम्झनाले सताउँछ । अमृता, शाहिर र इमरोजको त्रिकोणत्मक प्रेम सम्बन्ध मेरो मस्तिष्कमा ताजा बन्छ । प्रेम दिवसको सप्ताहमा अमर प्रेमको यथार्थ जीवनकी प्रसिद्ध कवि अमृता प्रीतमलाई किन नसम्झने ?

अमृता प्रीतम सुन्दरता, स्वच्छन्दता, बेफिक्री संघर्ष र विद्रोही–जीवन जिउने खुल्ला किताबको एक नाम हो । उनले जस्तो जीवन बाँचिन्, त्यस्तै यथार्थ जीवनीमा लेखिन् । खोलाको पानीजस्तै कञ्चन, स्वच्छ र निश्चल थियो उनको जिन्दगी र लेखनी । भन्थिन्, ‘प्रेम में पडी स्त्रीको तुम्हारे साथ सोने से ज्यादा अच्छा लगता है–तुम्हाारे साथ जागना ।’

विद्रोहको बीउ उनमा सानैदेखि रोपिएको थियो, १३ वर्षको थिइन् उतिबेला सायद । बुबा संगीतका मर्मज्ञ, घरमा महेफिल जम्थ्यो हरसाँझ । छिमेकका मुसलमान उस्ताद तानपुरा, हार्मोनियम लिएर उपस्थित हुन्थे । गीतसंगीत, गायनको लामै सत्र चल्थ्यो । तिनलाई चियानास्ता व्यवस्था हुन्थ्यो । ती फर्केपछि भाँडावर्तन धोएर अलि पर अलग्गै सुकाइन्थ्यो, संगीतकक्ष चोख्याइन्थ्यो । कारण जान्न चाहिन्– किशोरी अमृताले । ‘ती भिन्न धर्मी र अपवित्र भएकाले चोख्याउन त्यसो गरिएको,’ बाबुले उनलाई सम्झाए । तर, अमृता सहमत हुन सकिनन् । यदि त्यसै हो भने अर्को दिनदेखि उनले खाएको भाँडा पनि उसैगरी अलग राख्न माग गरिन् । उनको त्यो अडानपछि घरमा छोइछिटो र भिन्न व्यवहारको क्रम त्यहीँ स्थगित भयो । सामाजिक विभेद देख्दै आएकी उनले पछि उपन्यास लेखिन्– ‘पिन्जर’, जसको केन्द्रमा छ धार्मिक छोइछिटो । उपन्यासमा हिन्दु केटी पुरोलाई मुस्लिम केटा रसिदले अपहरण गर्छ र पछि मुक्त गरिदिन्छ । तर, पुरोलाई आफ्नै घरपरिवार–समुदायले अपनाउन मान्दैन, ‘अपवित्र’ सोच्छ । यस उपन्यासमा आधारित भएर यही नाममा सिनेमा पनि बनेको थियो । तन–मनकै सुन्दर थिइन्, अमृता । ३१ अगस्ट, १९१९ मा भारत पन्जाबको गुजराँवाला सहरमा जन्मेकी उनकी आमाको निधन भयो उनी ११ वर्षकै छँदा । त्यही शोकमा बुबा विरक्तिए, १६ वर्षको उमेरमा उनैको बिहे भयो । वैवाहिक जीवन राम्रो नहुनु र उनी खुसी नहुनु आदि परिघटनाले उनको जीवन पूरै बदलिदियो । पन्जाबी भाषाको पहिलो कवि मानिन्छन् उनी । पन्जाबी भाषाको कविता ‘अज्ज आँखा वारिस शाहनुँ’ ले उनलाई चर्चित बनायो, कवितामा भारत विभाजनको समयमा पन्जाबमा भएको भयानक घटना वर्णन गरिएको छ ।

उनको आत्मकथा ‘रसिदी टिकट’ अतुलनीय कृति मानिन्छ, जसमा उनले कवि–गीतकार शाहिरसँगको भेट र आफ्ना प्रेमका अनेकौं किस्सा खुलेरै लेखेकी छन् । एकपटक ‘रसिदी टिकट’ को पोज दिन एउटा कागज र कलम उनको हातमा थमाइएको थियो । उनले सारा कागजभरि मात्र एक शब्द लेखेर पाना भरिदिएकी थिइन् । त्यो शब्द थियो– शाहिर । उनीहरू घण्टौं एक अर्कालाई आँखामा हेरेर मौनतामै कुरा गर्थे ।

शाहिर चुरोट पिउँथे । अमृता चुपचाप उडेको धूवाँमा शाहिरको चित्र खोज्दै हेरिबस्थिन् । उनी उठेर गएपछि शाहिरले छाडेका ठुटाहरूलाई जतनले सम्हालेर राख्थिन् । शाहिरको यादले सताउँदा तिनै ठुटालाई औंलाले समाउँथिन्, ओठमा च्याप्थिन् र शाहिरका औंलाको स्पर्श महसुस गर्थिन् । शाहिर पनि कम थिएनन् । अमृताले पिएको चियाको कप कैयौं वर्ष नपखाली सम्हालेर राखेका हुन्थे शाहिरले । यो प्रेममा भारत–पाकिस्तान विभाजनले दूरी ल्यायो । लगत्तै शाहिर मुम्बई गए । अमृता दिल्लीमै बस्न थालिन् । समयको अन्तरालसँगै शाहिरको जीवनमा गायिका सुधा मल्होत्रा आइन्, अमृता नराम्ररी टुटिन् । उनीहरूको प्रेम अधुरै रह्यो । उनी फेरि नितान्त एक्लो बन्न पुगिन् । तर, शाहिरको प्रेमलाई सधैं सजाइरहिन्, कहिल्यै टुटाइनन् ।

बिल्कुल एक्लो–रित्तो महसुस गरिरहेका बेला अमृताको जीवनमा इमरोजको प्रवेश भयो ।

आफ्नो किताबको कभर डिजाइन गर्ने मान्छे खोजिरहेकी थिइन् त्यतिखेर, त्यसैबेला इमरोज भेटिए । इमरोज थिए डिजाइनर एवं चित्रकार । उमेरले थिए, अमृताभन्दा ७ वर्ष कान्छा । किताबको कामसँगै उनीहरू बिस्तारै नजिकिए । न उमेरको अन्तर, न सामाजिक बन्धनले नै छेक्यो त्यो सम्बन्धलाई ।

ठ्याक्कै जगजित सिंहले गाएझैं ‘ना उम्रकी सीमा हो, ना कोही बन्धन, जब प्यार करे कोही तो देखे केवल मन’ जस्तै भयो त्यो प्रेम । शाहिरको प्रेम–भोकले जलेकी अमृतालाई शीतल छहारी बने इमरोज । इमरोजले अमृतालाई बेहद प्रेम गरे । दिलमा शाहिर बास बास बसे पनि इमरोजको प्रेममा खुसी खोज्न थालिन् अमृता । एकअर्काको प्रेम बनेर एउटै छानामुनि अलग–अलग कोठामा ‘लिभिङ रिलेसन’ को जिन्दगी बिताउन थाले, करिब ४० वर्ष सँगै बिताए । हरसुख–दुःखमा एक अर्कालाई साथ दिए । अमृताका सबै पुस्तकको कभर डिजाइन गरेका छन्– इमरोजले ।

अमृता रातैभरि लेखिरहन्थिन् । इमरोज दिनैभरि चित्र कोरिबस्थे । मध्यरातमा अमृता टोलाएर लेखिरहँदा छेवैमा चिया–कप सुटुक्क राखिदिन्थे इमरोज, अमृतालाई पत्तोसम्म हुँदैनथ्यो । अमृतालाई खुसी बनाउन घुमाउन लैजान्थे, स्कुटरमा । देख्नेहरू इमरोजलाई अमृताको ड्राइभर सोच्थे । स्कुटरमा बस्दा अमृता इमरोजको पिठ्युँमा केही लेखिरहन्थिन् । इमरोजले भनेका छन्, ‘उनले लेखेको शब्द मलाई राम्ररी थाहा हुन्थ्यो, सधैँ शाहिर–शाहिर लेख्ने गर्थिन् ।’ कैयौं पटक शाहिर, इमरोज र अमृता सँगै बसेर चिया पिउँदै गफिन्थे । एक अर्कासँग थिएन, कुनै रिस, जलन, ईर्ष्या । अमृता भन्थिन्, ‘शाहिर मेरो आकाश हुन्, इमरोज छत ।’

अमृताको गाढा चिनारीको माध्यम कविता हो । भारतको त्यस्तो महिला कवि, जसले आफ्ना कृतिमा नितान्त व्यक्तिगत प्रेम प्रसंगमाथि खुलेआम चर्चा गरिन् र स्वतन्त्र–विद्रोही जिन्दगी बाँच्ने चेष्टा गरिन् । उनका रचनाहरूमा त्यो स्वच्छन्द र विद्रोहको भाव झल्किन्छ । त्यो स्वच्छन्द प्रेम, उनले बाँचेको जीवन नै त्यस समयको ठूलो विद्रोह थियो ।

उनी शाहिरको प्रेममा असाध्यै डुबिन् । शाहिरलाई भयानक प्रेम गरिन्, तर आजीवन इमरोजसँग बाँचिन् । स्वच्छन्द भएर आफ्ना शब्द र भावमा पौडिरहिन् । हमेसा इमरोजले उनलाई प्रेमपूर्वक साथ दिइरहे । जीवनको अन्तिमतिर इमरोजका लागि उनले एउटा कविता लेखिन्– ‘म तिमीलाई फेरि भेट्ने छु’ । अमृता लेख्छिन्, ‘म जन्मिँदा ईश्वर सुतिसकेको थियो । आकाश रोइरहेको थियो । त्यसैले आजीवन मैले उसलाई बिउँझाउने प्रयासमा लेखिरहें ।’ प्रेमको सशक्त प्रकटीकरण नै उनको कविताको विशेषता हो । विद्रोह पनि उसैगरी झल्किन्छ ती कवितामा । एक अंश हेरौं– ‘सपनाजस्ता कैयौं भट्टीहरू छन् । हरेक भट्टीमा आगो झोस्दै मेरो प्रेमले मजदुरी गर्छ । जिन्दगीले तिम्रो त्यही गुणको परीक्षा लिन्छ, जुन तिम्रो मनभित्र उपस्थित छ मेरो मनभित्र प्रेम थियो ।’

प्रेम प्रकृति हो, जुन निर्बन्ध–स्वच्छन्द हुन्छ । यसको सीमा–बन्देज हुँदैन । पागलपन पनि सवार हुन्छ प्रेमीहरूमा बेलाबखत । प्रेममा लगानीको सम्भावना देखेर व्यापारीहरू बढी नै चलमलाइरहेको समय हो यो । भ्यालेन्टाइन डेलाई भव्य व्यापार बनाइएको छ । यस्तो बेला अमृता प्रीतमको बेहिसाब भावनात्मक प्रेमको अध्याय खुब खड्किन्छ । अमृताका यी कवितात्मक वाणी मथिङ्गल हल्लाउन आइपुग्छन् बारबार, ‘फेरि तिमीलाई सम्झिएँ, मैले आगोलाई चुमें । प्रेम विषको प्याला, मैले एक घुट्की फेरि मागें ।’

(कवि रिमा केसीको अनुवादमा ‘अमृता प्रीतमका छानिएका कविता’ प्रकाशित छ)

प्रकाशित : फाल्गुन ५, २०८० ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?