१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

स्वर्णिम आवाजको अबिच्युरी 

मनका तार–तार तरंगित पारिदिने सूक्ष्म गायकी थियो– योगेश वैद्यमा । उनले गाउँदा लाग्थ्यो, अधरले गाएको हो र हृदय मुस्कुराएको पनि । 

असोज– २४ को साँझ ७७ औं जन्मदिन मनाएका थिए, नेपाली सुगम संगीतका ‘लिजेन्ड’ योगेश वैद्यले । त्यही अवसर पारेर आफ्नो आत्मकथा ‘स्वर्णिम संस्मरण – आत्मवृत्तान्त’ घरमै विमोचन गराएका थिए, जेठी दिदी उमाको हातबाट । तर, त्यो न कुनै सञ्चारमाध्यमको ‘हटकेक’ समाचार बन्यो, न त आम पाठकका निम्ति कुनै ‘सरप्राइज’ पुस्तक । 

स्वर्णिम आवाजको अबिच्युरी 

लामो समयदेखि त्रिपुरेश्वर, मिलनमार्गस्थित घरकै कोठाचोटा वरिपरि लगभग गुमनाम, एकान्तबासी र लुकुवा जीवन बिताइरहेका योगेशले आफ्नो आत्मवृत्तान्त बजारमा तात्तातै पठाउनु उपयुक्त देखेनन् । एक त त्यो सीमित प्रति छापिएको थियो, अर्को– उनले त्यसमा अझै सुधार र परिमार्जनको आवश्यकता देखेका थिए । त्यसैले उनी थिए, नेपाली संगीतमा जरुवाको पानी खोज्ने ‘मिस्टर पर्फेक्सनिस्ट’ । आत्मवृत्तान्तभन्दा ठूलो ‘सरप्राइज’ त उनले माघ ४ को मध्यरात जीवनबाटै बिदाइको हात हल्लाएर दिए ।

जीवनको उत्तरार्धमा गायक वैद्य एकपछि अर्को जटिल स्वास्थ्य समस्या खेपिरहेका थिए । मधुमेहपीडित उनले २०६६ मा मृर्गौला प्रत्यारोपण गरे । त्यसको केही वर्षपछि मस्तिष्काघात भयो । नियमित थेरापीले बाहिर हेर्दा ठीकठीकै देखिए पनि हातखुट्टाले उतिसारो भर पाउाथेनन् । फेरि एक्युट लो ब्याक पेनको पासोमा परे । त्यसपछि शौचालय जाादा ठेस लागेको नङ पाकेपछि एउटा खुट्टाको अलिकति भाग नै काटेर फाल्नुपर्‍यो ।

संगीत र साहित्यमा समानान्तर हात हालेका उनलाई माघ १ मा गंकी–धुँस्वा–बसुन्धरा साय्मि सिर्जना पुरस्कार दिने कार्यक्रम थियो । स्वास्थ्यका कारण उनी कार्यक्रममा जान सकेनन् । बरु दातालाई स्पष्ट सन्देश पठाए– मै आउनुपर्ने भए बरु मलाई पुरस्कार नदिनू ! अन्ततः उनका छोरा लोकेश गएर पुरस्कार लिए ।

मनका तार–तार तरंगित गरिदिने सूक्ष्म गायकी थियो योगेश वैद्यमा । उनले गाउादा लाग्थ्यो, अधरले गाएको हो र हृदय मुस्कुराएको पनि । उनी मधुर संगीत साधना र सिर्जनामा विश्वास गर्थे । त्यसलाई संगीत मर्मज्ञहरूले ‘मोहम्मद रफी अन्दाज’ भन्दै आएका छन् । उनी भनिरहन्थे, ‘सही चिन्तनले सचेतना जगाउाछ । सुन वा हिरा प्रशोधित अवस्थामा मात्र मूल्यांकित हुन्छ । विगतको सही प्रशोधनबाट मात्र आज सुन्दर बन्छ ।’

योगेशका निम्ति गीत भनेको जेनतेन तुकबन्दी र ऐयासीको साधनभन्दा भावनात्मक गहिराइ अनि मानवीय गुणको परिष्कार थियो । उनका गीतका काव्यिक भाव संवेदित हृदयले मात्रै बुझ्न सक्छ । भीडमा गएर लोकप्रिय हुने चेष्टा नगरेकाले उनी कहिले अत्यन्त रुचाइएका गायक भए त कहिले बेवास्ता गरिएको कलाकारजस्तो ।

पछिल्लो छिमलका साहित्य र संगीत हृदयविहीनताको सिकार भएको उनलाई लागिरह्यो । साथीभाइलाई ह्वीस्की खुवाएर कविता र गीत सुनाउनुलाई उनले हृदयविहीनताकै रूपमा लिए । ‘संगीतका नाममा यतिका धूवाँ र धूलो उड्यो कि मैले वर्षौं कुनै आकार देख्न पाएको छैन,’ उनी भनिरहन्थे, ‘कलाकार भनेको संवेदना हो । संवेदनामा बाँच्ने र मर्नेहरूका लागि ठाउँ कहाँ छ ?’ आफ्नो आवाजलाई मेलोडीमा ढालिदिने नातिकाजी र शिवशंकर उनले सच्चा संगीत साधक मानेका थिए ।

गायकका रूपमा उम्दा ठहरिएका योगेश मानिसका रूपमा सन्तजस्ता लाग्थे– सदैव सरल, असल र विनम्र । शिष्टता उनको ‘सिग्नेचर’ थियो । उनमा प्रचारप्रसारको लालसा पटक्कै थिएन । उनी हमेसा अरूको दुःखमा दुःखी हुन्थे । सबैको भलो होस् भन्ने कामना गर्थे । आफ्नो कामभन्दा अरूका कामलाई नै पहिलो प्राथमिकतामा राख्थे । आफ्नो बिरामी अवस्था बिर्सेर दुर्गालाल श्रेष्ठका दुइटा काव्यिक पुस्तक अंग्रेजीमा अनुवाद गरिदिएका थिए ।

ओछ्यानमा थला परेको समयलाई उनले एक मिनेट पनि खेर फालेनन् । नेपाल भाषामा थुप्रै एल्बम निकाले । एकै दिन तीन वटासम्म गीत गाए । गीतसंगीत साधनामा डुब्दा उनी आफू हिँड्न सक्दिनँ भन्ने पनि बिर्सन्थे । उनलाई आफ्नो गीतका पंक्ति त कण्ठाग्र हुने नै भए । अरूले गाएका, संगीत गरेका वा लेखेका गीत पनि उत्तिकै हेक्का राख्थे ।

यसैकारण मेट्रो एफएमकी प्रस्तोता एवं कार्यक्रम उत्पादक समेत रहेकी गायिका रीता महर्जनले आफ्नो कार्यक्रम ‘अन्तरंग’ मा उनलाई सदैव स्रोतव्यक्तिका रूपमा पाइन् । ‘कति गीत सुन्ने मात्र हुन्छन्, कति गीत सिक्ने खालका हुन्छन् । अधिकांश मानिसले गीतसंगीतलाई सतही रूपमै बुझेका हुन्छन् । बुझ्ने भनेको कहाँसम्म बुझ्ने हो भन्ने मैले उहाँबाट थाहा पाएँ,’ योगेशले ठूली छोरी मान्ने रीता सुनाउँछिन्, ‘उहाँले मलाई गीत मात्र सिकाउनु भएन, जिन्दगी कसरी बिताउने भन्ने सूत्र पनि दिनुभयो । भविष्यमा मलाई जहाँजहाँ अप्ठ्यारो पर्छ, उहाँका तिनै शब्दले मार्गदर्शन गर्नेछन् ।’

काठमाडौं, नरदेवीमा जन्मेका योगेशको परिवार जम्बो जेटको जस्तो थियो । बाजे मात्र होइन, बाजेका भाइ पनि एकाघरमै बस्थे । उनकी आमा रुक्मिणीले हरेक छाक कम्तीमा २५ जनालाई खाना पकाउनुपर्थ्यो । बेलायतको लिड्स युनिभर्सिटी पढेका उनका पिता इन्दिरानन्द वैद्य कुनै बेला याक एन्ड यती होटलको अध्यक्ष थिए । उनले योगेशलाई जीवनपर्यन्त ‘तँ, तिमी, तपाईं’ कुनै सम्बोधन गरेनन् ।

भान्सामा आमाले गुनगुनाएको सुनेर संगीतमा तानिएका योगेशले गाएको पहिलो गीतको ऐतिहासिक सन्दर्भ छ । सन् १९६० अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले शान्ति निकुञ्ज सहविद्यालय भ्रमण गर्दा उनले युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित विद्यालयकै परिचयात्मक गीत प्रस्तुत गरेका थिए, ‘पुरुष नारी दिवस रजनी साथ नै युग भर्दछन् ... ।’ त्यहीं पढ्दा गुरु अष्टमंगल वज्राचार्यले उनलाई संगीतप्रवीण नरराज ढकालकहाँ पुर्‍याए र एक वर्ष शास्त्रीय संगीत सिके । ढकाल तिनै व्यक्ति हुन्, जसले मेलवादेवीसँग गुरुभेटी थापेका थिए ।

बीसको दशकमा किलागलका नारायणगोपाल, बांगेमुढाका प्रेमध्वज प्रधान अनि प्युखाका माणिकरत्न शाक्य साथी थिए, योगेशका । १२ वर्ष ९ महिनामै एसएलसी र त्रिचन्द्र कलेजबाट बीएस्सी गरेका उनलाई थाहै नदिईकन इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याएका थिए । रेडियो नेपालका निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले मोहम्मद रफी, तलत महमुदलगायतको दुई दर्जन गीत सुनाए । उनको स्वरपरीक्षा त्यही थियो ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा २०२२ मा योगेशको पहिलो गीत रेकर्ड भएको थियो, ‘कति प्यासी छ जिन्दगी...’ । त्यसपछि नेवारी गीत गाए, ‘जीवन जिगु...’ । रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । ‘कति प्यासी छ जिन्दगी...,’ सहित ‘नित्य नयनमा तारा...’, ‘प्रेमको अधुरो कहानी...’ ।

चल्तीको भन्दा फरक, अमूर्त शैलीका अनि उर्दू शेर औ शायरीको प्रभावका कारण योगेशको बेग्लै परिचय बन्यो । एकपटक हरिबहादुर रञ्जितकारले उनलाई दुइटा लोकगीत दिएका थिए । ज्ञानु राणासँग स्याङ्जाली लोकगीत गाएछन्, ‘चैतको घामले..’ । तर, उनले गाइदिए, मोहम्मद रफी शैलीमा । ‘त्यो गीत एक–दुई ठाउँमा मात्र ठीक छ । स्थानीय सुगन्ध नआएर पेरिसको पर्फ्युमजस्तो भयो,’ उनी भन्थे, ‘नेवारी लोकगीतमा जति न्याय गर्न सकिनँ । स्वरलाई सुरसँग नमिलाएसम्म संगीत बन्दोरहेनछ । एसेन्स अफ मेलोडी भनेको यही हो ।’

वनस्पति शास्त्रमा एमएस्सी गरेपछि उनी लोकसेवा परीक्षामा प्रथम भए । तर, नियुक्ति दिन भने ११ महिना झुलाइदिए । केन्द्रीय खाद्य अनुसन्धानशालामा जाँच दिएरै सहसचिवसम्म भए । त्यसबीचमा बेल्जियमको गेन्ट स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका उनले २०६१ मा अवकाश लिए । त्यसै दिन उनले किताब लेख्ने र एल्बम निकाल्ने प्रण गरेका थिए । उनका प्राविधिक विषयका सात र एउटा गीति कविता संग्रह प्रकाशित छन् ।

६ दशक लामो सांगीतिक यात्रामा योगेशले ‘पिँजडाको सुगा’, ‘डाँफे चरी’ आदि गीति–नाटकमा पनि गाउने अवसर पाए । दर्जनौं गीतमा संगीत दिए । लेखनाथ पौडेलको ‘गुणको वैरी मानुष जाति’ देखि जी शाहको ‘मेरो आँसुमा नहाँसेसम्म ।’ तर, जनसाधारणबीच उनलाई चिनाउने गीत एउटै भयो, ‘सपना भुलाइ सारा... ।’

रेडियो नेपालमा २०४२ तिर रेकर्ड भएको त्यो गीत उनले नातिकाजीको कालो ब्यागबाट निस्केको एउटा पानामा भेटेका रहेछन्, बेनामे र बेवारिस हालतमा । अनजान गीतकारको पीडा र छटपटी सर्दैसर्दै उनमा आयो । दोहोर्‍याई–तेहेर्‍याई पढेर नातिकाजीलाई पनि प्रभावित पारे । दुई दिनपछि नै नियमित वाद्यवृन्दका साथ रेकर्ड भएपछि श्रोताको फर्माइस आएको आयै । २०४४ असोजमा रत्नमा यसको पुनः रेकर्डिङ भयो ।

त्यतिबेलासम्म गीतकार शिव अधिकारी गुमनामै थिए । देखेको व्यक्तित्वमा बरु दाग हुन सक्थ्यो । त्यो पानामा गीतकारको नाम थिएन, नातिकाजीलाई पनि कसले दिएको भन्ने हेक्का भएन । आफ्नो गीत सुनेर शिव अधिकारी दाबी गर्न रेडियो नेपाल पुगे । धेरै वर्षपछि एक प्रस्तोताले फोन संवाद गराइदिए योगेश र शिवबीच । गीतको दृश्यांकनका क्रममा भेट पनि भयो । योगेशले चाहेको व्यक्तित्व थियो गीतमा । तर, त्यसलाई आफ्नो पहिलो र अन्तिम गीत कहिल्यै मानेनन् ।

उनले मविवि शाहका ‘नेपाल मेरो तिमीलाई,’ ‘प्रीति गरेर सबमा’, ‘चोट दिलमै रातदिन’, ‘उडेर चरी आउँछ’ आदि गीत गाएका छन् । जी शाहका सबैभन्दा बढी अर्थात्, १८ गीत गाउने पनि उनै हुन् । यसैकारण दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि लाग्यो उनलाई । जी शाह पूर्वराजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम हो भने मविवि शाह उनकै पिता पूर्वराजा महेन्द्रको । नबुझिने गीत लेखेको भनेर लाञ्छित भएका ईश्वर वल्लभका सबैभन्दा धेरै गीत उनैले गाएका छन् । उनले काव्यको आत्मा पक्रिएर गाएका छन् । योगेश वैद्यले पूर्ण वैद्यका कविता ‘जि बाः वैगु खुसी खः’ मा संगीत दिएका छन् । कविता संगीत गर्ने र गाउने गायक हुन् उनी ।

अधिराजकुमारकालीन ज्ञानेन्द्रसँग उनको आत्मीय सम्बन्ध थियो । ज्ञानेन्द्रले पुसको राति गीत लेखे भने बिहान ६ बजे नै गाडी टुप्लुक्क आइपुग्थ्यो योगेशको घरमा । जी शाहको पहिलो श्रोता योगेश नै हुन्थे । ज्ञानेन्द्रले नारायणगोपाल, बच्चुकैलाश र योगेशको प्रायः जमघट गराइरहन्थे । राति ३–४ बजेसम्म मेहफिल जम्थ्यो । योगेश ज्ञानेन्द्र हार्मोनियममा पारम्गत भएको सुनाउँथे । नातिकाजी र शिवशंकरले बिराउँदा उनले बेसुरा भयो भनेर सम्झाउँथे । योगेशले गाएका १० गीतमा ज्ञानेन्द्रकै लय छ । तीमध्ये ‘बहेको मौनता तिम्रो..’, ‘मलाई पिउनुको आनन्द’ उनलाई प्रिय लाग्छन् ।

पोषणको असन्तुलनले ५.२ फिट मात्र उचाइ पाएका योगेशले गाउँगाउँ पुगेर पोषणको शिक्षा दिए । योगेशको अतीव प्रिय रङ थियो, कालो । प्रायःजसो कालै लुगाफाटामा देखिन्थ्यो उनलाई । जागिरबाट अवकाश लिएलगत्तै उनी आत्मवृत्तान्त लेखनमा लागेका थिए । सांसारिक भोगचलन, मानिसभित्रको जटिलता अनि सम्बन्धको मायाजाल आत्मवृत्तान्तमार्फत उजागर गर्न चाहेको उनले पंक्तिकारलाई बताएका थिए । ‘नेपाल’ म्यागेजिनमा २०७५ भदौ १७ मा प्रकाशित अन्तर्वार्तामा उनले भनेका थिए, ‘छोरालाई बाँचुन्जेल होइन, मेरो अनुपस्थितिमा मात्र खोल्नू भनेको छु ।’ सायद छोराले त पढिसके । अब पाठकले पढ्नेछन्, उनको अनुपस्थितिमा ।

पंक्तिकारलाई के विश्वास छ भने, त्यसमा उनको ‘लभ स्टोरी’ पनि छ । असफल दाम्पत्य जीवनको सकारनामा पनि छ । उनले अलग धर्मकी नारीसँग प्रेमविवाह गरेका थिए । दुई छोरी र एक छोरा भए पनि उनीहरू सँगसँगै बसेनन्, पारपाचुके पनि गरेनन् । घरमा उनको आउजाउ भने चलिरह्यो । त्यो प्रेम एकातर्फी थिएन । माघ ५ मा नेपाल संगीत–नाट्य प्रज्ञाप्रतिष्ठानमा योगेशको अन्तिम बिदाइ कार्यक्रममा पनि उनी थिइन् । तर, धार्मिक कारणले पशुपति आर्यघाटमा उपस्थित हुन सकिनन् ।

मौलाना परिवारकी छोरी भएकाले माइतीले छुटाउने प्रयास गर्दा पूर्वराजा ज्ञानेन्द्रदेखि राष्ट्रिय सभाका अध्यक्ष मोहम्मद मोहसिनले मिलाउने पहल गरेको पनि उनका शुभचिन्तकहरू सम्झिन्छन् । गायक प्रेमध्वज प्रधान लगायतले अर्को विवाहका निम्ति पहल गरे पनि योगेश कहिल्यै राजी भएनन् । त्यो अन्तर्वेदना उनका कविता–पृष्ठमा छचल्किएका छन् । उनले भनेका थिए, ‘मन पराउनु पनि एकखाले दुर्घटना रहेछ ।’

योगेशका सन्तान लवलीना, जस्मिन र लोकेश कोही संगीतसाधनामा लागेनन् । बुढेसकालमा कोही साथी भएनन् भने छोराका साथीले बोलाउँदा पनि आफैंलाई सम्झेजस्तो भ्रम होस् भनेर छोराको नाम ‘लोकेश’ राखेका उनी आफैंलाई आफ्नो ‘बेस्ट फ्रेन्ड’ मान्थे । कुनै जमाना बलिउड अभिनेता दिलीपकुमार उनका ‘रोल मोडल’ थिए । व्यक्तित्व, बोली, शैली अनि शेर औ सायरीमा समेत उस्ताद दिलीपकुमारले खेलेको देखेर उनले ब्याडमिन्टन समेत समातेका थिए ।

योगेशसँग दुई दशक संगत गरेका कवि प्रद्युम्न जोशी असाध्यै सकारात्मक भावनाका धनी योगेशलाई हरेक पटक भेट्दा एक प्रकारको ऊर्जा मिलेको महसुस हुने सुनाउँछन् । योगेशको कवितासंग्रह ‘समय प्रवाहमा छुटेका पलहरू’ लाजिम्पाटमा विमोचन हुँदाको क्षण उनका आँखामा अझै पनि झलझली नाचिरहेको छ । संग्रह नातिकाजी स्मृति समाजले निकालेको थियो । विमोचनमा प्रमुख अतिथि चाहिँ दुई जना ।

नातिकाजीका अध्यक्ष रहेका संगीत–नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले कुलपति सरुभक्तलाई प्रमुख अतिथि बनाए भने योगेश वैद्यले कवि तुलसी दिवसलाई । कार्यक्रममा शब्दको झटारो हाने दिवसले, ‘जागिर खानेहरू भूतपूर्व होलान्, कविहरू सदैव कवि नै रहन्छन् ।’

गायिका एवं रेडियोकर्मी रीताका अनुसार, योगेशको रेकर्डेड अन्तिम गीत भने नेपाल भाषामा हुन पुग्यो । कवि पूर्ण वैद्यको शब्द र आफ्नै संगीतमा उनले दुई वर्षअघि त्यो गीत गाएका थिए । पछिल्लो समय रीताको नयाँ एल्बमका लागि आफ्नै शब्द र संगीतमा काम गरिरहेका थिए भने सुकराम महर्जन (दिवंगत) का ऐतिहासिक गीतहरू संगीतबद्ध गरेका थिए । ‘उहाँमा शब्दको माध्यमबाट व्यक्तित्व बुझ्ने अद्भुत क्षमता थियो । शब्दमा लुकेको ध्वनि पहिचान गरेर संगीत भर्नुहुन्थ्यो,’ रीता भन्छिन्, ‘स्वास्थ्यमा जति समस्या भए पनि उहाँको स्वर कहिल्यै डगमगाएन । उहाँलाई स्वरले सदैव साथ दिइरह्यो ।’

प्रद्युम्न जोशीको पहलमा योगेश वैद्यको शव संगीत–नाट्य प्रज्ञाप्रतिष्ठानमा लगियो । संगीतकार चेतन सापकोटालगायत कलाकारको टिमले उनको सर्वकालिक गीत ‘सपना भुलाइ सारा ...’ गाएर बिदाइ सम्मान गरे पनि त्यहाँ संस्थाका कुलपति, उपकुलपति र सदस्यसचिवको अनुहार देखिएन । देशका एक विशिष्ट कलाकारको देहावसानपछि फूल चढाउने फुर्सद नपाउने ती पदाधिकारी कुन धपेडीमा थिए कुन्नि ?

धेरैलाई त त्यो प्रज्ञाप्रतिष्ठान कहाँ छ भन्ने पनि थाहा रहेनछ । संगीत–नाट्यले एउटा टेबलबाहेक शव आर्यघाट लैजाने बेला गाडीको व्यवस्थासमेत गर्नु आवश्यक ठानेन । ‘मन्त्रीजी आउँदै छन्’ भनेर राष्ट्रिय झन्डा ल्याएर राखियो । तर, अन्त्यमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आएर झन्डा ओढाइदिए । के यो कला, संगीत र साहित्यप्रतिको अनास्थाको संकेत हो ?

प्रद्युम्नकै पहलमा योगेशको आँखादान समेत हुन सक्यो । उनी भन्छन्, ‘योगेश दाइको असामयिक मृत्युले मलाई जति दुःखी बनाएको छ, उहाँको आँखादानबाट तीन जनाले दृष्टि पाउनु पनि मेरा लागि सन्तोषको विषय भएको छ ।’

जस्तोसुकै गानामा ज्यान भर्न सक्ने नेपाल सुगम संगीतको एक हस्ती योगेश वैद्यको अनुपस्थिति अपूरणीय छ । तर, नेपाली भाषाका पाँच सय र नेपाल भाषाका डेढ सय जति गीतमा सुसज्जित उनको रेशमी स्वरलहरीले हामीलाई उनको अविराम स्मृति गराइरहनेछन् । हामी त्यो स्वर्णिम अनि भावप्रवण आवाज सुनेर धन्य भइरहने छौं । अलबिदा प्रिय गायक !

प्रकाशित : माघ १३, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?