कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

लोहाकोटका शिल्पीको फलामे अनुष्ठान

हाम्रा पुर्खाले ५ हजार वर्षअघि फलाम बनाउन सिके, त्यसको बलमा शक्तिशाली साम्राज्य स्थापना गरे । कृषि विस्तारमा प्रभावकारी फड्को फलामकै कारण सम्भव भयो । र, मानव सभ्यताको निर्माण–पुनर्निर्माणमा यसले महत्त्वपूर्ण भूमिका खेल्यो ।
सुरेश ढकाल

फलाम खानीको खोजी : एक अतिरिक्त कथा

सन् १९९७ को एक हिउँद । वर्गेन विश्वविद्यालय, नर्वेमा एमफिल पढिरहेका हामी दुई भाइ (सुमन र म) तुम्लिङटार झरेका थियौं– फलामको कथा खोज्न । चितवनका केही पहाडी क्षेत्र घुमघाम गरी फर्केलगत्तै विश्राम पनि नलिई हामीले तुमलिगङ्टार, संखुवासभाको टिकट काटेका थियौं । त्यसबेला विश्वविद्यालयमा बुझाउने शोधपत्रका लागि अनुसन्धान–तयारी गरिरहेका थियौं ।

लोहाकोटका शिल्पीको फलामे अनुष्ठान

हाम्रो विषय भने विल्कुल भिन्न थियो, तर सकेसम्म एकै क्षेत्रमा स्थलगत अनुसन्धान गर्न चाहन्थ्यौं । म कृषि युगको विषयमा काम गर्न चाहन्थेँ । त्यसैले विश्वविद्यालयबाट खोरिया खेतीसम्बन्धी अनुसन्धानको प्रस्तावनापत्र स्वीकृत गराएर आएको थिएँ । सुमनचाहिँ फलाम–युगको विषयमा काम गर्न चाहन्थ्यो । त्यसैले हामी चितवनका विकट बस्तीहरू पुगेका थियौं– ती डाँडाहरूतिर बरालियौं, जहाँ पुराना फलाम खानीका अवशेष थिए ।

चितवनको शक्तिखोरबाट झन्डै दिनभरको बाटो चढेपछि पुराना खानी भएको र अहिले पनि सतहमा किटका केही टुक्राहरू भएको ठाउँनजिक पुग्यौं । तर, त्यहाँ पहिले खानीबाट धाउ वा कच्चा धातु निकालेर फलाम पगालेको देख्ने वा त्यो विषयमा भन्न सक्ने कोही भेटेनौं, त्यसैले पूर्वी नेपालतिर हान्निएका थियौं । कसैले हामीलाई जानकारी दिएको थियो– संखुवासभा, चैनपुरनजिक कुनै गाउँमा पहिले फलाम खानी थियो र अहिले पनि तिनका भग्नावशेष त्यहाँ देख्न सकिन्छ । त्यो सूचनापछि हामीमा उत्सुकता र अपेक्षा थपिएको थियो । उत्तरी संखुवासभामा खोरियाखेती गरिन्छ भन्ने थाहा थियो र मेरा लागि त्यो पर्याप्त थियो । सुमनका लागि फलाम बनाउन जान्ने वा त्यो प्रक्रियाबारे जानकारी राख्ने र त्यस विषयमा भन्न सक्ने सूचनादाता आवश्यक पर्थ्यो । त्यस्तै उपयुक्त सूचनादाताको खोजीमा हामी त्यता गएका थियौं ।

तुम्लिङटारबाट चैनपुरतिर उकालो लाग्दा बाटोमै पर्छ– खराङ, लोहाकोट । हामी थकित थियौं र बढी उत्साहित पनि, किनभने बाटोमा हामीले प्रशस्त किटका टुक्राहरू भेटेका थियौं । फलाम प्रशोधन पछिका सह–उत्पादन थिए ती, जुन सामान्यतः उपयोगमा आउँदैनथे । स्थानीयहरू त्यसलाई ‘फलामको गुहु’ भन्थे । जब हामीले सोधखोज गर्‍यौं, केही स्थानीयले हामीलाई बाटोपरका डाँडाहरूमा रहेको धातुका धाउ निकालेका ठूलाठूला सुरुङजस्ता गहिरा खाल्डाहरू देखाए । सुमनका लागि त्यो उत्सवको अवसर थियो र म पनि उत्तिकै खुसी थिएँ ।

अन्तत्वोगत्वा सुमनले स्थलगत अध्ययनको ठाउँ भेट्यो । अझै थामीनसक्नु खुसी त कति बेला भयौं भने गाउँमा जेठा कामी र माइला कामी भनिने दुई कामी दाजु–भाइ रहेछन्, ७० वर्ष कटेका । उनीहरूले पाँच दशक पहिले, बीस–बाइसको उमेरसम्म आफैंले खानीबाट धाउ निकालेर, भट्टीमा पोलेर फलाम बनाएका थिए । अहिले पनि फलाम पगाल्न सक्ने ज्ञान भएको तिनले सुनाए । ढुंगो खोज्दा देउता भेटिएको भनेको सायद यस्तै होला ।

सुमन ढुक्क भयो, तर केही अनिश्चितभाव उसमा बाँकी नै थियो । म उत्तरतर्फ लागें, आफ्नो उपयुक्त अध्ययन क्षेत्र फेला पार्न । सुमन निरन्तर लागिरह्यो फलाम निकाल्ने प्रक्रियामा सहभागी हुन । ऊ फलाम बनाउने प्राविधिक पक्ष र फलामको सामाजिक जीवन दुवैबारे थाहा पाउन चाहन्थ्यो । म केही दिन पछि लोहाकोट गएँ । त्यतिबेलासम्म फलाम पगाल्ने भट्टी तयार भइसकेको रहेछ । फलाम पगाल्नका लागि आवश्यक गोल पोल्न वन कार्यालयबाट स्वीकृति लिइयो । खाँदबारीको शनिबारे हाटबाट राँगाको काँचो छाला ल्याइयो र खलाँती बनाइयो । तर, यी सबै भव्य तयारीका बाबजुद के साँच्चै कच्चा धाउबाट फलाम निकाल्न सकियो त ? म त्यो कथा एकछिन पछि भन्छु । त्योभन्दा पहिले फलामको कथा । र, फलामको कथाभन्दा पहिले भूमिकामा थोरै धातुको कथा ।

धातुविज्ञानको कथा

अक्षरको आविष्कार पछि इतिहास सुरु भएको मान्ने हो भने धातुविज्ञान प्राग्ऐतिहासिक कालखण्डको सबैभन्दा पछिल्लो आविष्कार हो । पाषाणयुग अर्थात् ढुंगेयुगको एकछत्र पाषाणकालीन प्रविधिमा ठूलो प्राविधिक फड्को थियो– मान्छेले धातुको प्रयोग थाल्नु । मानव इतिहासमा महत्त्वपूर्ण भूमिका छ, धातुको । खासगरी काँस, तामा र फलाम ती महत्त्वपूर्ण धातु थिए, जसका विविध प्रयोग पुरातात्त्विक प्रमाणका रूपमा प्राप्त भएका छन् ।

इतिहासमा धातु प्रविधिको सांस्कृतिक प्रभाव बृहत् छ । धातुको अन्वेषण र उपयोगका हिसाबले काश्य युग, ताम्र युग र फलाम युग भनेर श्रोणीबद्ध गरिएको छ । सुरुमा सौन्दर्य पक्ष अर्थात् सजावटका लागि महत्त्वपूर्ण ठानिएको धातु पछि हतियार तथा अन्य औजार, उपकरण बनाउन प्रयोग भए र त्यसले क्रमशः व्यापकता लिँदै गयो । काँसलाई अफ्रिकाको संस्कृति र फलामलाई एसिया माइनरको संस्कृति पनि भनिन्छ, ती धातुको पहिलो प्रयोग तिनै क्षेत्रबाट भएका आधारमा । धातुको अन्वेषण, उपयोग विश्वका सबै कुनामा एकै पटक भएको थिएन तसर्थ फरक भूगोल एकै समयमा फरक युग बाँच्दै गरेका थिए ।

तामा र काासको कथा

धातुहरूमध्ये पहिलो प्रयोग तामाको भएको थियो । कच्चा तामालाई ठोकेर–गालेर औजार र गहनाहरू बनाइएका केही छिटफुट प्रमाण करिब १२ हजार वर्ष पहिले अर्थात् कृषिको सुरुवाती समयमै देखा परेका थिए । तर, तामा आम प्रचलनमा आएको भने निकै पछि मात्रै हो । ६ हजार वर्ष पहिले सर्बिया, ५ हजार वर्ष पहिले ग्रिस, ३८०० वर्ष पहिले चीन र करिब ३ हजार वर्षजति पहिले अमेरिकामा तामा–प्रयोगको प्रचूरता देखिन्छ । त्यही आधारमा ५५ सयदेखि ४३ सय वर्ष (ई.पू. ३५०० – ई.पू. २३००) सम्मको अवधिलाई ताम्र युग भनियो । यो अवधिमै हो समुदायले सजिलै बांगिने, लुलो धातु भनिने तामालाई विविध उपयोग (जस्तै– हतियार, शृंगार–सजावटका सामग्री, खेतीको औजार र अन्य दैनिका जीवनमा) मा व्यापक बनाएको ।

काँस एक प्रकारको मिश्रित धातु हो– तामा र टिनको मिश्रणबाट बन्ने, जुन फलामको आविष्कार र प्रयोग सुरु हुनु पहिले हतियारलगायतका औजार बनाउन आम प्रचलनमा थियो । आजकाल प्रयोगमा भएको काँस (जस्तै– खेलाडीहरूलाई दिइने कांस्य पदक आदि) मा ८८ प्रतिशत तामा र १२ प्रतिशत टिन मिसाइएको हुन्छ । विगतमा संग्रह गरिएका काँसका शिल्पकृतिहरूमा तामा र टिनको अनुपात फरकफरक पाइएको छ । तामाको तुलनामा काँस कडा हुने, तर सहजै गाल्न पनि सकिने हुनाले त्यो हतियार बनाउन उपयोगी भयो । र, त्यसले तामालाई छिट्टै विस्थापित गर्‍यो ।

सन् १९६० अघिसम्म तामा र काँसको उत्पत्ति पश्चिम एसियामा भएको थियो भन्ने ठानिन्थ्यो । तर, थाइल्यान्डको वान चियाङ नजिकमा भएको एक अन्वेषणले के संकेत गर्‍यो भने आजभन्दा ६ हजार ५ सय वर्ष पहिले नै त्यहाँ काँसको प्रविधि थाहा भइसकेको थियो । पश्चिम एसियामा त आजभन्दा करिब ५ हजार वर्षअघि मात्रै काँसको प्रविधि थाहा भएको थियो । र, त्यसपछिको समयलाई नै खासमा कांस्य युग भनिएको थियो ।

प्राप्त पुरातात्त्विक प्रमाणहरूले के इंगित गर्छ भने काँसको पहिलो प्रयोग सजावटका लागि भएको थियो, पछि मात्रै हतियार र अन्य औजार बनाउन प्रयोग भयो । तर, काँस सजिलै बंग्याउन नसकिने, टुट्ने भएकाले त्यसलाई इच्छित आकार दिन गाह्रो पर्‍यो । र, यो तामाभन्दा लोकप्रिय त रह्यो, तर फलामको आविष्कारपछि सहजै पाखा लाग्यो अनि फलाम नै व्यापक प्रयोगमा आउन थाल्यो ।

अब फलामको कथा

फलामको अन्वेषणले मानव विगतलाई सही अर्थमा धातु युगमा प्रवेश गराएको थियो । विगत र अहिले संसारका धेरै पुरातत्त्वविद्ले फलाम युगमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान गरिरहेका छन् । तुलनात्मक रूपमा कच्चापदार्थ धेरैतिर र सहजै पाउन सकिने साथै व्यापक र प्रभावकारी उपयोगिताका कारण फलाम अन्य धातुका तुलनामा महत्त्वपूर्ण हुन पुग्यो ।

टर्कीको एनातोलियामा सर्वप्रथम फलामको प्रयोगको प्रमाण फेला परेको थियो, ४ हजार वर्ष (ई.पू.२०००) पहिले । त्यसपछि यसको प्रयोग क्रमशः विश्वका अन्य भागमा फैलिँदै गएको देखिन्छ । करिब ३ हजार वर्ष सम्ममा यो युरोप, अफ्रिका साथै भारतीय उपमहाद्वीपतिर पनि प्रयोगमा आइसकेको थियो । चीनमा करिब २५०० वर्षअघि फलाम युग प्रवेश गरेको थियो भने लगत्तै कोरियाली प्रायद्वीपमा करिब २४०० वर्षअघि । यस हिसाबले भन्दा करिब ३५ सयदेखि ३ हजार वर्षसम्ममा कांस्य युगको अन्त्य भइसकेको र फलाम आम प्रचलनमा आइसकेको थियो ।

काँचो खनिज वा धाउ पगालेर प्रशोधित फलाम बनाउने प्रविधिचाहिँ करिब २८०० वर्षअघि पश्चिम एसियाबाट उत्तरी अफ्रिकातिर प्रसार भएको थाहा लाग्छ । त्यसपछि क्रमशः इथियोपिया, तान्जानिया, नाइजेरियालगायतका सव–सहारान अफ्रिकन मुलुक र नाइल उपत्यकामा फैलियो । सव–सहारान अफ्रिकामा कच्चा फलाम पगालेर प्रशोधित फलाम बनाइएको पहिलो प्रमाण करिब २४०० वर्षअघि नाइजेरिया र २५०० वर्ष अघि तान्जानियामा भेटिएको थियो । सव–सहारान अफ्रिकामा फलाम प्रविधिको विस्तार बान्तु भाषा बोल्ने नेग्रोइडहरूको पश्चिमबाट दक्षिणतर्फको फैलावटसँग पनि सम्बन्धित थियो ।

फलाम प्राविधिक हिसाबले मात्रै होइन, आर्थिक र सामाजिक–सांस्कृतिक हिसाबले पनि महत्त्वपूर्ण धातु मानिन्छ । फलामको आविष्कार कृषिको आविष्कार पछि भएको थियो । तसर्थ फलाम प्रयोगकर्ताका लागि यो जीविकोपार्जनको प्रमुख आधार बनिसकेको थियो । जंगल फँडानी गर्न फलामे बन्चरो वा अरू कुनै धारिलो हतियार र फँडानी गरेको जमिनमा फलामको फाली हालिएको हलोको प्रयोगले खेती विस्तार र अतिरिक्त उत्पादनमा अतुलनीय भूमिका निर्वाह गरेको थियो । ती किसान र पशुपालक धातुको प्रविधिको अलावा मृत्तिका शिल्प अर्थात् माटोका भाँडा बनाउन पनि खप्पिस थिए । उनीहरू आजको जस्तै जीवन बाँच्न थालिसकेका थिए । कलाकौशल, लामो दूरीको व्यापार, व्यापारीहरूको एक छुट्टै सामाजिक वर्गको रूपमा महत्त्व, मुद्राको प्रचलन आदि पनि फलाम उपयोगको व्यापकतासँगै संस्थागत भएका प्रमाण छन् ।

फलाम युगको विस्तार, प्रविधि र वाणिज्यको क्षेत्रमा भएको फड्कोलाई सायद सहरी क्रान्तिको संज्ञा दिइएको हुनुपर्छ । यो करिब चार हजार वर्षअघिको कुरा थियो ।

फलाम जुन गाल्न सजिलो, चाहिएको आकारमा ढाल्न सजिलो, तर कडा हुने कारण लोकप्रिय र बहुउपयोगी बन्यो । सिकार र लडाइँका लागि हतियार, खेतीका लागि औजार, व्यापारका लागि अनेक वस्तु, सजावटका लागि उपकरण आदि बनाउन सकिने फलाम तसर्थ शक्तिको प्रतीक बन्न पुग्यो ।

आजभन्दा ४ हजार वर्षअगाडिको मान्छेको अद्भुत ज्ञान र सीप थियो खानीबाट धाउ निकालेर तिनलाई गालेर प्रशोधित फलाम निकाल्नु र अन्तत्वोगत्वा चाहेको औजार, उपकरण वा हतियारको स्वरूप दिनु । प्राविधिक हिसाबले त्यस्तो ज्ञान र सीप केही सीमित शिल्पी परिवार वा समूहको हातमा मात्रै निहित हुन्थ्यो । उनीहरू यसलाई आम बनाउन चाहँदैनथे र यस्तो भनिन्थ्यो कि, त्यस्तो ज्ञान र सीप जोकोहीलाई सहजै प्राप्त हुँदैन, बरु त्यसका लागि त अलौकिक शक्ति नै चाहिन्छ । त्यसकारण त्यस्ता शिल्पी परिवारहरूले गणनायक/सामन्त/राजा/ सम्राट्हरूको सम्मान पाउँथे । त्यो यस्तो युग थियो, जहाँ कुनै सम्राट् वा सामन्तले उक्त शिल्पी–समूहको सहयोगबिना अर्कोलाई हराउन सक्दैनथ्यो तसर्थ उनीहरू यी शिल्पीहरूको निरन्तर विश्वास, सहयोग र समर्थन चाहन्थे ।

सिन्धु सभ्यतामाथि वैदिक आर्यहरूको अतिक्रमण र गंगाको फराकिलो मैदानमा आजभन्दा तीन हजार वर्षअघि नै उनीहरूको विस्तार फलामे हतियारका अलावा बञ्चरो र फालीजस्ता उपयोगी औजारकै कारण सम्भव भएको थियो भन्ने इतिहासकारको मत देखिन्छ । करिब ४००० ई.पू. देखि १००० ई.पू. सम्मको ३ हजार वर्षको अवधिमा साम्राज्य र सभ्यताको निर्माण वा तिनको पुनर्जीवनको इतिहासमा एक समान तथ्य रहने गरेको छ– त्यो हो फलामको भूमिका । त्यसैले फलाम वा धातुको काम गर्नेहरूको समाजमा उच्च सम्मान हुन्थ्यो । आजको विश्वकर्मा तिनै शिल्पीहरूको आदि बिम्ब हुन् ।

घुमीफिरी तुम्लिङटार– फलाम खोजीको शेष कथा

नेपालमा फलामको काम गर्ने शिल्पी समूह दुई हजार वर्ष पहिलेदेखिकै शिल्पी परिवारको निरन्तरता पनि हुन सक्छ, यद्यपि प्रामाणिक ऐतिहासिक तथ्य उपलब्ध छ जस्तो लाग्दैन । संसांरैभर यस्ता शिल्पी परिवार वा समूह छुट्टै सामाजिक समूहका रूपमा चिनिन्छन् यद्यपि सीमित स्थानमा बाहेक उनीहरूलाई सामाजिक विभेद र बहिष्करणमा पारिँदैन । तर, नेपाल र भारतीय उपमहाद्वीपमा भने खासगरी फलामको काम गर्ने शिल्पी परिवार वा समूहलाई दलित वा ‘अछूत’ समेत ठानिन्छ । कुनै समय सम्मानित यो पेसा र समुदायलाई इतिहासको कुन मोडमा कमजोर र तल्लो सामाजिक हैसियतको बनाइयो ? यो नेपालको सन्दर्भमा पनि अध्ययनको विषय हो । हिन्दु वर्ण व्यवस्थाले यस्तो सामाजिक विभेदलाई आधार र निरन्तरता दिएको त हो, तर नेपालमा जात प्रथा प्रवेश हुनु पहिले यी समूहको हैसियत र सम्मान कस्तो थियो ? अनुसन्धानका अनेक विषय हाम्रासामु छन् ।

नेपालमा पनि करिब ५ दशकअघिसम्म विभिन्न भागमा खानीबाट धाउ या कच्चा फलाम निकाल्ने र प्रशोधन गरी प्रयोगयोग्य बनाउने शिल्पी थिए । सम्भवतः अहिले त्यस्तो अभ्यास त के, त्यसरी खानीबाट फलाम निकालेर प्रशोधन गर्ने सीप भएका व्यक्तिसमेत पाउन मुस्किल भइसके । त्यसैले मेरा सहपाठी सुमनले अरुण उपत्यकाको एक गाउँ लोहाकोटमा खानीबाट खनिज फलाम निकालेर, पुरानै शैलीको भट्टी र खँलाती बनाएर फलाम निकाल्न सक्ने ती दुई दाजुभाइ भेट्नु अपूर्व संयोग थियो । त्यसबेला हामीलाई प्राप्त जानकारीअनुसार, तुम्लिङटारबाट चैनपुर जाने बाटोमा पर्ने उक्त गाउँमा दुईवटा र संखुवासभा जिल्लाभरि १२ वटा त्यस्ता खानी थिए । तर, जिल्लाभरिमै खानीबाट कच्चा फलामका धाउ निकालेर परम्परागत विधिबाट फलाम प्रशोधन गर्न सक्ने ती दाजुभाइ मात्रै जीवित थिए, जसले करिब ५ दशकअघि किशोरावस्थामा धेरै पटक फलाम निकालेका थिए ।

हामीलाई लोहाकोट थाहा पाउन र ती दाजुभाइ खोज्न केही मिहिनेत त गर्नुपरेको थियो, तर ज्यादै मुस्किल भएको भने थिएन । पछि तिनले कच्चा धाउबाट फलाम बनाएर प्रमाणित गरे कि उनीहरूसँग त्यो शिल्प र ज्ञान थियो । तर, उक्त ज्ञानलाई निरन्तरता दिने कोही बाँकी थिएनन् । त्यस प्रयोगात्मक पुरातात्त्विक अन्वेषणका क्रममा हामीले के पनि थाहा पायौं भने कच्चा धाउबाट फलाम निकाल्ने काममा थुप्रै प्राविधिक, प्रतीकात्मक वा लाक्षणिक अभिव्यक्ति हुन्छन् । तुलनात्मक अध्ययनहरूले देखाए, त्यस्तो प्रविधि र प्रतीकात्मक अनुष्ठानहरू विश्वव्यापी अभिव्यक्ति नै हुन् । चैनपुरका कामी दाजुभाइ, नेपालकै अन्य क्षेत्र र सुडान, तान्जानिया वा अन्य कुनै अफ्रिकी मुलुकमा फलाम प्रशोधन गर्ने विधि र निहित प्रतीकात्मक अभिव्यक्तिमा समानता रहनु पक्कै पनि महत्त्वपूर्ण र रुचिकर विषय हो ।

फलामको सामाजिक जीवन

साथी सुमनको अध्ययनका क्रममा थाहा पाइएका फलामको सामाजिक जीवनका एकाध उदाहरण यस्ता थिए ।

खानीबाट ल्याइएको कच्चा फलामको धाउलाई मसिनोसँग टुक्रा पारियो । फलाम पगाल्ने भट्टी, दाउरा, गोल, खँलाती सबै तयार गरिसकिएको थियो, बाँकी थियो त अनिवार्य गरिनुपर्ने केही अनुष्ठान । घाम अस्ताएपछि जेठा कामीले नुहाइधुवाइ गरे र चोखोपानी तथा धूपबत्तीसहित निःवस्त्र भई उक्त भट्टी बनाइएको स्थानमा प्रवेश गरे । घरभन्दा केही कान्लामुनिको बारीको गह्रोमा बनाइएको उक्त भट्टीमा आगो लगाउनुअघि सम्पन्न गरिनुपर्ने अनुष्ठान अरू कसैले हेर्न वा देख्न हुँदैनथ्यो ।

भट्टीमा आगो सल्काउने र फलाम प्रशोधन सुरु गर्ने अघिल्लो साँझ यस्तो अनुष्ठान हुन्छ, जहाँ एक जोडी कुखुराको पनि बलि दिइन्छ । यस्तो बलि वनदेवता र खानीको देवताका लागि दिइएको थियो ताकि उनीहरू नरिसाऊन् र कुनै अनिष्ठ नहोस् । त्यसपछि भट्टीका लागि फेरि छुट्टै भालेको बलि दिनुपर्दो रहेछ । बलि दिइएको कुखुराको रगत उक्त भट्टीमा छर्किएर, ‘हे सिकारी देवता तिमी रगत माग्छौ, मैले यो रगत तिमीलाई चढाएँ, हामीलाई हानि नगर’ भनेर याचना गरिने रहेछ । यसो गर्दा फलाम प्रशोधन क्रममा कुनै दुर्घटना हुँदैन भन्ने विश्वास थियो उनीहरूको । त्यो बुधबारको एक साँझ थियो किनभने परम्परागत मान्यताअनुसार, फलाम पगाल्ने कार्य बुधबारै गर्नुपर्थ्यो ।

त्यो अनुष्ठानको कथाअनुसार, उनीहरूको परम्परागत विश्वासमा उक्त भट्टी महिला शरीर हो र फलाम निकाल्नु रिप्रडक्सन वा सन्तान उत्पादन गर्नुजस्तै हो । भट्टीको माथिल्लो भागमा उठेका दुई आकृति बनाइएका थिए, जुन महिलाको स्तनको प्रतीक थियो र जहाँबाट पग्लँदै गरेको फलाम बाहिर निस्कन्छ, उक्त पीँधको भागलाई भने योनिको बिम्ब मानिँदो रहेछ । पहिले भट्टीभित्र हावा पुगोस् भनेर र पछि पग्लेर झरेको फलाम धारो लागेर एउटा भाँडोमा जम्मा होस् भनेर बाँसको वा पाकेको माटोको ढुंग्रोजस्तो आकृतिको ‘तोरा’ घुसाइन्छ । त्यसलाई उनीहरू यौनक्रियाको प्रतीकात्मक चित्रण भनी व्याख्या गर्थे । यसरी जब जेठा कामीले अघिल्लो रात उक्त परम्परागत पद्धतिजन्य अनुष्ठान पूरा गरे अनि मात्रै भोलिपल्टदेखि फलामका धाउलाई भट्टीभित्र कडा आगोमा पगाल्ने र फलाम निकाल्ने कार्य सुरु भयो । हो उनीहरूका अनुसार, त्यो ‘रिप्रोडक्सन’ को प्रक्रिया नै हो । प्राविधिक ज्ञान तथा कर्म र सामाजिक–सांस्कृतिक विश्वासबीचको जटिल र गहन सम्बन्ध त्यतिबेला उजागर भयो, जब उनीहरूले बताए कि फलाम प्रशोधनको अवधिभर प्रशोधनमा संलग्न मुख्य व्यक्तिले श्रीमतीसँग संसर्ग गर्नु हुँदैन किनकि उनीहरू भन्थे– त्यसो गर्नु महिला शरीर मानिएको भट्टीलाई धोका दिनुझैं हो ।

यो एक परम्परागत ज्ञान र त्यससँग जोडिएको कथ्य वा वृत्तान्त हो । फरक स्थानमा, फरक कालखण्डमा फलाम खानीको खोज, फलाम प्रशोधन कार्य भएका प्रमाण छन्, तर त्यस्ता कथाहरूमा समानता छन् । तत्कालीन अवस्थामा प्रभावकारी औजार एवं हतियार बनाउने ज्ञान र सीपको यस्तो अन्तरसांस्कृतिक समानता उताबाट यता प्रसार भएको हो कि स्वतन्त्र रूपले यस्तो ज्ञान र कौशल प्रादुर्भाव भएको हो ? के ती प्राग्ऐतिहासिक–कालीन शिल्पीहरूबीच कुनै सम्बन्ध वा सञ्चार थियो ? यी थप अनुसन्धानका विषय त हुँदै हुन् साथमा यसले सांस्कृतिक उद्विकासको इतिहासको अनेक पाटोलाई उजागर गर्ने सामर्थ्य पनि राख्छ ।

जेठा कामीहरूको सम्मानमा

पृथ्वीको गर्तमा रहेको खानी पहिचान गर्ने, धाउ निकाल्ने, त्यसलाई पगालेर शुद्ध धातुमा प्रशोधित गर्ने र पछि इच्छाअनुरूपको औजार, उपकरण वा हतियार बनाउने कला त्यस समयको उत्कृष्ट प्राविधिक, वैज्ञानिक आविष्कार थियो, जसलाई लोहाकोटका जेठा कामीसम्मले निरन्तरता दिएका थिए ।

फलामको आविष्कार सांस्कृतिक उद्विकासको एक महत्त्वपूर्ण कोसेढुंगा थियो । जेठा कामीका ती दूरका पुर्खा अन्वेषक शिल्पकर्मी, जसलाई पृथ्वीको यस भेगमा पौराणिक कथनअनुसार, हामी विश्वकर्माको साझा र सामूहिक नामले पनि चिन्छौं । उनीहरूले मानव सभ्यतालाई एक कदम अघि बढाउन सहयोग गरे, जुन यात्रामा आजसम्मको सभ्यता निरन्तर यात्रारत छ ।

नेपालमा पनि फलाम, तामाका खानीहरू थिए । रामेछाप–दोलखाको सीमामा रहेको ठोसेको फलाम खानी निकै प्रसिद्ध थियो । आधा शताब्दीअघिसम्म पनि विभिन्न भागमा त्यस्ता खानीहरू जीवित थिए । सीमित भए पनि त्यस्ता शिल्पी थिए, जो खानी पत्ता लगाउने, खानी खन्ने र खनिज फलामबाट प्रशोधित फलाम बनाउँथे । खानी खन्न जान्ने त्यस्ता खास समुदायको मूलतः पश्चिमबाट पूर्वतिरको बसाइँसराइको अनेक साक्षी जीवित नै छन् । स्थानीय खानीको फलाम र स्थानीय कालिगडहरूले नै बनाएका देशका विभिन्न साना–ठूला नदीका झोलुंगेपुलहरू हाम्रा रैथाने ज्ञान, सीप र शिल्पको उदाहरण बनेर आज पनि जीवित रहेकै छन् ।

पृथ्वीनारायण शाह, उनी अघिका रजौटाहरूले खानी भएका ठाउँमा बस्ती नबसाउन गरेका उर्दी र निजी खानीमा लगाइएका भिन्न कर इतिहासका दृष्टान्त भएर रहेकै छन् ।

तर, ‘आधुनिक’ बन्ने उन्मादी मादकताले क्रमशः स्थानीय ज्ञान र शिल्पलाई जोगाउन राज्यको ध्यान गुम्दै गयो र शिल्पी समूहलाई न सम्मान दिइयो न प्रोत्साहन नै । जे हुनु थियो त्यही भयो– हामीले आफ्ना सामर्थ्य गुमायौं, पराइका ज्ञान र दयामा निर्भर बन्न पुग्यौं ।

अहिले म ती जेठा कामी सम्झिरहेको छु, जसले हामीलाई चकित पार्ने गरी फलाम मात्रै पगालेर देखाएनन्, बरु मानवशास्त्रको एउटा गहकिलो पाठ पनि पढाए ।

त्यस्तै स्मृतिमा गढेकै छन्– अत्यन्तै प्रतिभाशाली मित्र सुमन, जसको तीक्ष्ण प्राज्ञिक उत्कण्ठाका कारण नै त्यो अपूर्व अवसर जुरेको थियो । प्राज्ञिक जीवनको सुरुवाती समयमै एक दुर्घटनामा परी सुमन दिवंगत भए र नेपालमा फलामे–युग अनुसन्धानको बलियो सम्भावना पनि अवसान भयो ।

प्रकाशित : माघ ६, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?