कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कविता : पातहरू 

फूलमान वल

पातहरुको– 
कुनै विचार हुँदैन 

कविता : पातहरू 

जता हावा चल्छ, उतै फर्केर नमस्कार गर्छन्

जता हावा चल्छ, उतै फर्केर ताली बजाउँछन्

हावा नै नचलेको बखत

दुई हातले टाउको समाएर

मुर्झाउँदै झोक्राइरहन्छन् हाँगामा

र, पर्खेर अनुकूल ऋतु र याम

सिक्रो पारेर रुखलाई,

निर्लज्ज काँचुली फेर्छन्


पातहरुको–

कुनै अडान हुँदैन

कुनै भरोसा हुँदैन

अलिकति पनि प्रतिकूल झोक्काले

झरिजान सक्छ भुइँमा


पातहरुको–

आफ्नै उडान पनि हुँदैन

जता बहन्छ हावा

उतै–उतै बतासिन सक्छन् आकाशमा


पातहरु–

देखिनलाई उग्र क्रान्तिकारी

तर, स्वभावमा अवसरवादी हुन्छन्


अचेल म

जताततै पातहरु देख्छु–

अफिसमा,

बाटामा,

क्याफे र रेस्टुराँहरुमा

विश्वविद्यालय, मन्त्रालय र प्राज्ञिक प्रतिष्ठानहरुमा

सबै–सबैतिर

पातै–पात हल्लिरहेको देख्छु


प्रिय मित्र,

हुनु त जीवनमा जराजस्तो

रुख सुकेर गए पनि जराले

कहिल्यै आफ्नो जमिन छाडेको हुँदैन ।

प्रकाशित : पुस २८, २०८० १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?