कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

कुमाउँमा २५ वर्षे गोर्खा–शासन

कुमाउँ–गढवालमा नेपालले शासन गरेको त्यो २५ वर्षे समय कस्तो थियो ? सन् १८१६ को सुगौली सन्धिमा नेपालले गुमाएको भू–भाग आफ्नै थियो ? 
कर नतिर्ने कुमाउँका जनतालाई गोर्खा सेनाले दासदासीका रूपमा बेच्थे र करबापतको पैसा असुल्थे । मान्छे बेच्न हरिद्वारमा दास बजारै खोलिएको थियो, जहाँ ३ देखि ३० वर्षका महिला–पुरुष हुन्थे । 
सुरेश किरण

नेपाल ‘एकीकरण’ को श्रेय दिइने गरिएका ‘बडामहाराजाधिराज’ पृथ्वीनारायण शाहको बखान गर्दा ‘ग्रेटर नेपाल’ को पनि चर्चा चल्ने गर्छ । उनी र उनका छोराहरूले चलाएको ‘नेपाल एकीकरण’ अभियानले नेपालको आकार एकदम विशाल बनाएको थियो । सन् १८१६ मा तत्कालीन ब्रिटिस सरकार र नेपाल सरकारबीच सुगौली सन्धि हुनुअघिसम्मको नेपाली भू–भागलाई अहिले ‘ग्रेटर नेपाल’ भनेर सगर्व सम्बोधन गर्ने गरिन्छ ।

कुमाउँमा २५ वर्षे गोर्खा–शासन

पृथ्वीनारायण शाहको राज्य विस्तारलाई ‘नेपाल एकीकरण’ भनी गर्व गर्ने समुदाय सन् १८१६ अघिको नेपाली नक्साप्रति ठूलै गौरव गर्छन् भने सुगौली सन्धिमा उक्त भू–भाग गुमाउनुपरेको परिस्थितिलाई इतिहासकै सबैभन्दा दुर्दान्त घटनाका रूपमा व्याख्या गर्छन् ।

परन्तु प्रश्न यहींनिर उठाउन सकिन्छ– सन् १८१६ को सुगौली सन्धिमा नेपालले जुन भू–भाग गुमाउनुपरेको हो, के त्यो नेपालको आफ्नै भूमि थियो ? उक्त भूमि नेपालको शासनाधिकारभित्र रहेको समय के नेपालले गर्व गर्नलायक अवधि थियो ? सन् १८१६ को डिसेम्बर– २ का दिन तत्कालीन बेलायत सरकार र नेपाल सरकारबीच सुगौलीमा जुन सन्धि भयो, त्यसपछि नेपालको नक्सा खुम्चिएर आजको आकारमा आइपुगेको हो । त्यो सन्धिपश्चात् नेपालले पश्चिममा कुमाउँ–गढवाल र पूर्वमा सिक्किम राज्यको भू–भाग त्याग्नुपरेको थियो । सबैभन्दा ठूलो भू–भाग कुमाउँ–गढवालमा गुमाउनुपरेको थियो । कुमाउँ–गढवालको भू–भाग गुमेपछि नेपालको सिमाना एक तिहाइ घट्न पुगेको थियो । तर, हेक्का राख्नुपर्ने विषय के भने सुगौली सन्धिअघिसम्म नेपालको अधीनमा रहेको कुमाउँ र गढवालको भूमि नेपालको आफ्नो होइन । हजारौं वर्षदेखि स्वतन्त्र रूपमा अस्तित्वमा रहँदै आएको छुट्टै राज्य हो 

त्यो । कुमाउँ र गढवाल छुट्टाछुट्टै राज्य थियो । दुवै राज्यमा अलग–अलग राजाहरू थिए । महाकाली नदी पारिको त्यो राज्य कहिल्यै नेपालअन्तर्गत थिएन । पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारको जुन अभियान चलाएका थिए, त्यसलाई उनकी बुहारी राजेन्द्रलक्ष्मी र कान्छा छोरा बहादुर शाहले पनि निरन्तरता दिए । बहादुरले पश्चिमतिरका बाइसे–चौबिसे राज्य डोटी, बझाङ, दैलेख, अछाम, दुल्लु जित्दै जाँदा सन् १७९० तिर महाकालीपारि पसेर कुमाउँ राज्य पनि कब्जा गरेका थिए ।

त्यतिबेला कुमाउँ विभिन्न समस्याहरूमा जेलिएको थियो । देशमा मोहन चन्द राजा थिए । तर, शिवदेव जोशीजस्ता चतुर भारदारहरूसँग उनको आन्तरिक संघर्ष चर्किइरहेको थियो । त्यसमाथि गढवालसँग नियमित लडाइँ भइरहन्थ्यो । छिमेकी मुसलमानहरू बरोबर कुमाउँमाथि आक्रमण गरिरहन्थे । त्यहीबेला कुमाउँमा ठूलो महामारी फैलियो । महामारी रोकिएको केही समयपछि ठूलो भूकम्प गयो र धेरै नै क्षति भयो । यसरी राजनीतिक–प्राकृतिक रूपले नै थिलथिलो भएको कुमाउँमाथि बहादुर शाहले हमला गरी कब्जा गरेका थिए, जुन पछि त्योभन्दा पनि अघि बढेर गढवालसम्म विस्तार भयो । गोर्खा सेनाले गढवालमा अलि पछि मात्रै सन् १८०३ तिर कब्जा गरेका थिए ।

कुमाउँ र गढवालजस्तो नेपाली सरहदभन्दा बाहिरको राज्यसमेत कब्जा गर्न गएबाटै थाहा हुन्छ, पृथ्वीनारायण शाह–बहादुर शाहको सैन्य अभियान वास्तवमा ‘नेपाल एकीकरण’ होइन, ‘गोर्खा राज्य विस्तार’ गरी ठूलो मुलुकको राजा बन्ने अभिलाषा मात्रै थियो ।

यसरी कुमाउँ र गढवालको भूमिमा सन् १७९० मा नेपालले गाडेको झन्डा सन् १८१५ मा अंग्रेजसँगको युद्धमा पराजित नहुन्जेलसम्म फर्फराइरह्यो । अर्थात त्यो भूमिमा नेपालको शासन जम्मा २५ वर्ष टिक्यो ।

जम्माजम्मी २५ वर्ष शासन गरेको भू–भागलाई नेपालले आज ‘त्यो हाम्रो भूमि थियो’ भनी दाबी गर्न मिल्छ ?

सुगौली सन्धिपश्चात् उक्त भूमिमा ब्रिटिस सरकारले नै १३२ वर्ष शासन गरिसक्यो । के त्यो भूमि बेलायतले हामीसँग जितेर लिएको भन्न मिल्छ ? युद्धमा कब्जा भएको थियो, युद्धमै गुम्यो ।

कुमाउँ र गढवालमा नेपालले शासन गरेको त्यो २५ वर्षे अवधि कस्तो थियो ? त्यसबारे भने नेपाली इतिहासकारहरू खासै खुल्न चाहँदैनन् । अझ पृथ्वीनारायण शाहको राज्य विस्तारमा गर्व गर्नेहरू त झन् बोल्नै चाहँदैनन् । किन ? किनभने त्यो २५ वर्ष तत्कालीन गोर्खा सरकारले कुमाउँ र गढवालमा यति बर्बर शासन गरेका थिए कि त्यहाँका जनताले आजसम्म पनि ती क्रूर दिन बिर्सन सकेका छैनन् ।

भारतीय इतिहासकार बदरीदत्त पाँडेले ९२ वर्षअघि सन् १९३२ मा प्रकाशित आफ्नो पुस्तक ‘कुमाऊँ का इतिहास’ मा यसको सविस्तार वर्णन गरेका छन् ।

सबैभन्दा पहिले कुमाउँ–गढवालमा नेपाल सरकारले थुप्रै प्रकारका कर लगाउन थाले । भूमिमा अनेक प्रकारका कर लगाए । घर–घरमा चलाइने चर्खामा समेत कर लगाए । अछुतहरू छालाको काम गर्थे, छालामा पनि कर लगाए । घ्यू बनाउने काममा पनि कर लगाए । काठमाडौंमा कुनै राजा, महाराजाको जन्मदिन भयो वा विशेष पर्व पर्‍यो भने त्यसमा पनि कर लगाउँथे । गिर्वाणयुद्ध राजा हुँदा राज्याभिषेक समारोह आयोजना गर्न कर उठाएका थिए । सेनालाई तलबका रूपमा पैसाको साटो त्यहींको भूमि प्रदान गरिन्थ्यो । त्यसका लागि स्थानीय जनताको भूमि हडप्न थालियो । सैनिकहरू आफूसँग भूमि भए पनि खाद्यान्नका लागि स्थानीय जनताको घर लुट्न जान्थे । कहिले रूख काटेर लैजान्थे । नेपाली शासकले उठाउने त्यो कर तिर्न नसकेर कतिपय ब्राह्मणहरू घर छोडेर भाग्न बाध्य भए ।

जसले कर तिरेन, तिनका सन्तानलाई दासदासीका रूपमा बेच्ने गरिन्थ्यो । र, तिनीहरूलाई बेचेर करबापतको पैसा असुल गरिन्थ्यो । करको रकम असुल गर्न नेपाली प्रशासकहरूले तीन वर्षका बच्चाहरूलाई समेत बेचेको पाइन्छ । त्यसरी दासदासीका रूपमा उठाइएका मान्छे बेच्नका लागि हरिद्वारमा दास बजारसमेत खोलिएको थियो । त्यहाँ एउटा गोर्खा चौकी पनि थियो । त्यही चौकीसँगै राखेर दासदासी बेच्ने गरिन्थ्यो । त्यतिबेला सो ठाउँमा पुगेका लेखक एफ.भी. र्‍यापरले पनि आफ्नो पुस्तकमा त्यस विषयमाथि लेखेका छन् । उनका अनुसार, दास बजारमा एकैचोटि सयौं मानिस राखिएको हुन्थ्यो– बेच्न । दासदासीको भीडजस्तै हुन्थ्यो त्यो बजार । त्यहाँ तीनदेखि ३० वर्ष उमेरका महिला र पुरुष भेटिन्थे– बेच्न राखिएका । तिनीहरूलाई रु. २० देखि १५० सम्म लिएर बेचिन्थ्यो ।

त्यस्तै अर्का स्कटिश यात्री जे.बी. फ्रेजरले आफ्नो संस्मरणमा लेखेअनुसार, त्यो २५ वर्षभित्र नेपाली प्रशासकहरूले कुमाउँ र गढवालका करिब २ लाख मानिसलाई दासदासी बनाएर बेचेका थिए । बेचिनुपर्ला भनेर कत्ति मानिस गाउँ छोडेर भागे । त्यसले गाउँहरू शून्य बनायो । काम गर्ने मानिस नपाएर उत्पादन घट्यो । त्यसले झन् अर्को समस्या निम्त्यायो ।

त्यहाँ नेपाली प्रशासकहरूको न्याय प्रणाली पनि अनौठो थियो । कुनै मुद्दा–मामिलामा दोषी पत्ता लगाउनुपर्‍यो भने दुवै पक्षलाई हातमा तातो फलामको डल्लो राखेर हिँड्न लगाइन्थ्यो । जो जति टाढासम्म हिँड्न सक्यो त्यो निर्दोष साबित हुन्थ्यो । त्यस्तै झगडियालाई पानीमा डुबाइन्थ्यो, जो जति बढी समय पानीभित्र बस्न सक्यो, त्यही निर्दोष साबित हुन्थ्यो । कहिलेकाहीं भतभती पकाएको तेलमा हात डुबाइन्थ्यो, जसले डुबाउन सक्दैन उही दोषी ठहर्थ्यो । दोषीलाई दिइने सजाय पनि दर्कनाक थियो ।

मृत्युदण्ड सामान्य जस्तै हुन्थ्यो । पहिले रुखमा झुन्ड्याउने गरिन्थ्यो, पछि टाउको काट्न पनि सुरु गरियो । पछि अंगभंग पारी घाउमा नुन–खुर्सानी दलेर पनि सजाय दिन थालियो । कैदीहरूलाई चाहिँ राजाको घरमा काम गर्न लगाइन्थ्यो । कुमाउँ र गढवालका स्थानीयवासीलाई सेनामा लिए पनि तल्लो दर्जामा राखिन्थ्यो । खास विश्वास गरिँदैनथ्यो । उनीहरूलाई गढवालभन्दा पनि पश्चिमतिर अर्को भू–भाग कब्जा गर्ने लडाइँमा खटाइन्थ्यो । कुमाउँ–गढवालमा यति बर्बर शासन गर्ने गोर्खा सैनिकले काठमाडौंको कीर्तिपुरमा कति बर्बरता देखाए होलान् ? त्यो यसै अनुमान गर्न सकिन्छ ।

नेपाली प्रशासकहरूको यस्तो बर्बरतापछि जब वि.सं. १८७१ मा गोर्खा–आग्रेज युद्ध भयो, त्यसमा कुमाउँ–गढवाल क्षेत्रका सबैजसो स्थानीयवासीले अंग्रेज सेनालाई सहयोग गरे । गोर्खा सेनाले स्थानीयवासीबाट कुनै सहयोग प्राप्त गर्न सकेनन् ।

गोर्खा सेनामा भएका स्थानीय सैनिकहरू पनि अन्त्यमा गोर्खा सेना छोडेर अंग्रेज सेनामा सामेल हुन पुगे । जहाँ–जहाँ गोर्खा सेना लुकेर बसेका थिए, स्थानीयवासी त्यसको जानकारी अंग्रेज सेनालाई दिने गर्थे ।

बलभद्र कुँवर बसेको किल्ला घेर्दा त्यहाँबाट महिलाहरू समेत बाहिर निस्केको वर्णन पाइन्छ । गोर्खा सेनाले त्यहींकै स्थानीय महिलाहरूलाई यौनदासी बनाएर किल्लामा ल्याइ राखिएको अनुमान इतिहासकारहरूले गरेका छन् ।

अंग्रेजसँग युद्ध हुँदा पूरापूर एक्लिएका गोर्खा सैनिक सन् १८१५ को अप्रिल ३० का दिन झुलाघाट हुँदै नेपाल फर्किए । त्यसपछि अंग्रेज शासकहरूले पहिले गोर्खा शासकले धपाएका पुरानै स्थानीय राजाहरूलाई ल्याएर आफ्नो मातहत पुनःस्थापित गरे ।

यसरी नेपालले २५ वर्ष बर्बर शासन गरेको कुमाउँ–गढवाल क्षेत्रलाई अहिले पनि केही ‘राष्ट्रवादी’ ले ग्रेटर नेपाल, नेपालले गुमाएको भूमि भनी गर्व गरेको देख्दा हाम्रो गर्वको धरातल कहाँ रहेछ भनी गम्नुपर्ने देखिन्छ ।

प्रकाशित : पुस २८, २०८० १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?