कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

जोर पाइला, हजारौं माइल

मानव पुर्खाको जीवन कठिन थियो । दुई खुट्टामा उभिएर हिँड्दा झन् कठिनाइ थपियो । सृष्टिको कोक्रोबाट बामे सर्दै धरती ढाक्नु, चन्द्रमामा पाइला हाल्नु, स्वच्छन्द हातले औजार चलाउनु र दुनियाँको नापनक्सा बदल्नु । यी कर्मको जगमा हाम्रा दुई खुट्टा छन् ।
विकास बस्नेत

एउटा ग्रिक मिथक छ– मान्छेको चार खुट्टा, चार हात र दुईवटा टाउको थियो ! यस्तो खतरनाक स्वरूपको मान्छे ईश्वरका लागि चुनौती बन्यो । ईश्वर जियसले एउटा उपाय सोचे र मान्छेलाई बीचबाट चिरिदिए । आधा चिरोलाई एपोलोले सर्लक्कै सिलाएर नाइटोमा गाँठो पारिदिए । त्यसयता दुई हात, दुई खुट्टा र एक टाउकोसहितको मान्छे आफ्नो अर्को आधा भाग खोजेर भौंतारिइरहेको छ । 

जोर पाइला, हजारौं माइल

प्राणीका रूपमा अपवादको थुप्रो हो– मान्छे । ठूलो मस्तिष्क, रौंविहीन नाङ्गो शरीर, पसिना काढ्ने त्वचा, भाषा र औजारको प्रयोग ! अपवादका यस्ता गुण र स्वभावमध्ये दुई खुट्टाको भरमा हिँडडुल गर्नु अपवादहरूमा पनि अपवाद हो । उद्विकासका क्रममा कुनै पनि प्राणी बाँच्न र प्रजननका लागि थोरै मात्रै सहयोगी गुणहरू वंशाणुगत रूपमा सन्तानमा सर्छ । समयक्रममा ती गुण झन् विशिष्टीकृत हुन्छन् । प्राकृतिक छनोटले यसैगरी काम गर्छ । मान्छेका निकटस्थ नातेदार मानिने अपुच्छ बाँदरदेखि सबै स्तनधारी प्राणीहरू जोखिममुक्त, प्रभावकारी र विशिष्टीकृत भएको चारखुट्टे चालमै मस्त रहँदा हाम्रा मानव पुर्खाले दुई खुट्टाको यो अप्ठेरो बाटो किन रोजे ?

हिँडाइ र दु:ख !

दुईखुट्टे चाल (लोकोमोसन) लाई विज्ञहरू ‘कन्ट्रोल्ड फल’ अर्थात् नियन्त्रित गिराई भन्छन् । हामी हिँड्न जसै खुट्टो उचाल्छौं, पृथ्वीको गुरुत्त्वाकर्षणले त्यसलाई जमिनतिर तान्छ । हामी झन्डै लडिसकेका हुन्छौं, तर उचालिएको खुट्टो हत्तपत्त अगाडि बढाएर दह्रोसँग जमिनमा पाइला टेक्छौं र लड्नबाट जोगिन्छौं । यसबेला हाम्रो शरीर पहिलेभन्दा बढी नुहेको हुन्छ । हामी फेरि पैतालाको अघिल्लो भागको टेको लगाएर उचालिन्छौं र त्यही प्रक्रिया दोहोर्‍याउँछौं । यस अर्थमा प्रत्येक पाइला नियन्त्रित गिराई हो । तर, यो धेरै पटक अनियन्त्रित हुन्छ । दुनियाँभरमा वार्षिक १० लाख मान्छे लडेरै मर्छन् । तर, कुकुर, बिरालो, लोखर्केजस्ता चारखुट्टे प्राणी हिँड्दा असन्तुलित भएरै लडेर मरेको सुनिएको छैन (द फर्स्ट स्टेप, जेरेमी डिसिल्भा) ।

दुई खुट्टाको हिँडडुल औसत गतिको हो । सर्वाधिक छिटो दौडिएर रेकर्ड राखेका उसेन बोल्टको गति २८ माइल प्रतिघण्टा थियो । त्यो पनि १ मिनेट २८ सेकेन्डका लागि मात्रै । ६० माइल प्रतिघण्टा दौडने चितुवा, ५० देखि ५५ माइल प्रतिघण्टाको दरमा दौडने जेब्रा, मृगदेखि खरायोको अघि मान्छेको गति नगण्य हो । मानव पुर्खाले दुईखुट्टे चालको आरम्भ गरेको समय र स्थानमा व्यापक फस्टाएका जंगली जनावरहरूको परिवेश विचार गर्ने हो भने यो सुस्त गति र जोखिमयुक्त लोकोमोसन झनै प्रतिकूल हुनुपर्ने थियो ।

चारखुट्टे जनावरहरूको पेट सीधै मेरुदण्डको आधार लिएर झोलुङ्गे पुलझैं झुन्डिएको हुन्छ । यसले शरीरलाई बलियो टेवा दिन्छ । मान्छेको मेरुदण्ड भने एकमाथि अर्को कप खप्टिएझैं हुन्छ । र, त्यो २४ थान डिस्क खप्टिएर बनेको हुन्छ । त्यसमाथि यो सीधा नभई अंग्रेजी अक्षरको एसझैं तीनठाउँ बाँगिएको हुन्छ । यसका फाइदा पनि छन्, तर शरीरको माथिल्लो भागको सम्पूर्ण वजन यसैले थेग्ने हुनाले बेलाबखत आफ्नै शरीरको भारले थिचिएर मेरुदण्ड भाँच्ने अपवादको प्राणी पनि मान्छे नै हो । दुईखुट्टे चालका कारण बदलिएको पेल्भिस बोनका कारण मान्छेको नवजात शिशुको जन्म जटिल र जोखिमयुक्त हुन्छ । उमेर बढेसँगै घुँडा खिइनेदेखि पैतालाको लिगामेन्ट्स चुँडिनेसम्मको समस्यामा मान्छेको दुईखुट्टे चाल नै प्रमुख कारण हो । यसका बेफाइदाहरूको लामो फेहरिस्त बन्न सक्छ (ह्युमन एरर्स, नथान एच. लेन्ट्स) । तर, यस्ता दर्जनौं प्रतिकूलताका बाबजुद मान्छेका पुर्खा लोप भएनन् वा गतिशीलताका लागि अन्य वैकल्पिक उपाय रोजेनन् । अर्थात् उसका लागि दुईखुट्टे चालको कुल फाइदा ज्यादा थियो । त्यसैले यो चाललाई प्राकृतिक छनोटले ‘फेवर’ गर्‍यो । किन ?

प्राणीहरूमा नवीन शारीरिक वा व्यवहारगत गुणहरूको सृजनामा वातावरणको ‘सेलेक्टिभ प्रेसर’ ले भूमिका खेलेको हुन्छ । मानव उद्विकासको नर्सरी मानिने अफ्रिकी महादेशमा करिब एक करोड वर्षअघिदेखि खडेरीको सुरुवात भइसकेको थियो । हावापानीमा आएको यो परिवर्तनले पूर्वी अफ्रिकाको घना जंगल मासियो र त्यो फाट्टफुट्ट जंगलको टापुसहितको घाँसे मैदानमा (सभाना) रूपान्तरित हुन थाल्यो । घना जंगलको परिवेशमा अनुकूलन भएका अपुच्छ बाँदरका दर्जनौं प्रजातिका लागि यो परिवर्तनले आहारा खोजी/प्राप्तिको नयाँ अवसर पनि दिलायो । तीमध्ये केही परम्परागत स्रोतसाधनमै रमाए भने केही बदलिँदो वातावरणले उजागर गरेको नयाँ सम्भावना र चुनौती सामना गर्न तयार भए ।

नयाँ घाँसे मैदान, घना जंगल र बुट्यानको छ्यासमिसे वातावरणमा दुई खुट्टामा उभिएर सयर गर्दा जे जति फाइदा हुन सक्थे, तिनैले यो चाललाई उत्प्रेरित गर्‍यो । जस्तो कि अहिले पनि लेमुर, चिम्पान्जी, गोरिल्ला वा अन्य स्तनधारी प्राणीहरू दुई खुट्टामै उभिएर छोटो दूरीसम्म हिँड्छन् । क्यापुचिन बाँदर, चिम्पान्जी वा गोरिल्लाहरू हातमा कन्दमूल बोकेका बेला एकैछिनका लागि दुई खुट्टाकै सहाराले हिँड्छन । अधिकांश स्तनधारी आफ्नो वरिपरिको परिवेश नियाल्न उभिन्छन । चिम्पान्जी र भालुहरू आफ्नो उपस्थितिको जानकारी दिन, पूर्ण कद प्रदर्शन गरेर शत्रु तर्साउन वा हातैले भेट्ने हाँगोमा रहेको फलफूल टिप्न पनि दुई खुट्टामा उभिन्छन् (अ स्टोरी अफ अस, लेस्ली न्युसन/ पिटर जे. रिचर्सन) । दुईखुट्टे चालको उद्विकासका सम्बन्धमा चल्तीका हाइपोथेसिसहरू यस्तै सम्भावित फाइदाका तर्कवरिपरि घुमेका छन् । यी केवल पुरातत्त्व र आनुवंशिक प्रमाणहरूले जुटाएका केही ‘इन्फर्मड् स्टोरी’ हरू हुन् । यो चालको उद्विकासबारे ठोकुवा गरेर कुनै एक कारण भन्न सकिने अवस्था छैन ।

दुई खुट्टा टेकेर हिँडडुल गर्नुपहिले ती खुट्टाका भरमा सन्तुलित भएर उभिनु जरुरी हुन्छ । उभिन सक्ने भएपछि उन्मुक्त हातका अघि अथाह सम्भावना देखा पर्छन् । र, यो गुण मानव पुर्खा (होमिनिन) को लाइनभन्दा धेरै अगाडि युरोपका केही अपुच्छ बाँदरहरूमा विकास भइसकेको थियो । करिब १ करोड वर्ष पहिलेको दानुभियस प्रजातिको अपुच्छ बाँदरको युरोपेली प्रजातिमा यो गुण देखिएको छ (द रियल प्लानेट अफ द एप्स, डेभिड आर. बेगन) । अफ्रिकामा यस्तो अपुच्छ बाँदरको जीवास्मा फेला परेको छैन । तर, यस्तै गुणको विकास गरेको अपुच्छ बाँदरकै प्रजातिबाट ‘होमिनिन’ लाइनमा दुईखुट्टे चालको उद्विकास भएको हो । जे होस्, प्राकृतिक छनोटले यो चाललाई ‘फेवर’ गर्नुको कुनै एउटै निश्चित कारण खुट्याउन नसके पनि घना जंगलबाट सभाना/घाँसे मैदानको बदलिँदो परिवेश, पर्यावरणमा पहिलो पटक मानव पुर्खाले एक जोर पहिलो पाइला टेकेको भने निश्चित हो ।

पहिलो पाइलाको कथा

चिम्पान्जीसँगको साझा पुर्खाबाट ६० लाख वर्षअघि छुट्टिएपछि मात्रै मानव पुर्खाहरूमा दुईखुट्टे चालको पूर्ण आरम्भ भएको हो । करिब ४० देखि ७० लाख वर्ष पहिलेका सेलान्थ्रोपिथेकस, ओरोरिन र आर्डिपिथेकस जस्ता आरम्भिक मानव पुर्खाहरूमा दुईखुट्टे चाल पूर्णकालीन थियो भन्नेमा विवाद छ । यी मानव प्रजातिहरू मैदानभन्दा जंगलमै ज्यादा समय बिताउँथे । दुई खुट्टाको भरमा हिँडडुल गर्न अभ्यस्त निर्विवाद पहिलो मानव प्रजाति भने अस्ट्रालोपिथेकस हो । डन जोहान्सन र उनको समूहले सन् १९७४ मा इथियोपियाको अफार क्षेत्रमा अस्ट्रालोपिथेकस मानव पुर्खाको जीवास्मा फेला पारेको उल्लासमय रात विटल्सको ‘लुसी इन द स्काइ विद डायमन्ड’ सुनेको थियो । यसैको आधारमा जीवास्माको नाम लुसी राखियो । लुसी जत्ति चर्चा कमाएको जीवास्मा अर्को छैन । लुसीकोको जीवनकाल करिब ३२ लाख वर्ष पुरानो हो । खुट्टाको नलीहाड, पुठ्ठा, पेल्भिस बोन, पाइतालादेखि मेरुदण्डसम्मको शारीरिक संरचना हेर्दा लुसीकोका प्रजाति दुई खुट्टामा उभिएर हिँड्थ्यो भन्नेमा कुनै शंका छैन । पछि थप फेला परेका अस्ट्रालोपिथेकस मानवका जीवास्माहरूले यस तथ्यलाई थप जोड दियो ।

यसमा लालमोहर भने लाइतोलीको पदचिह्नले लगाइदियो । करिब ३६ लाख वर्षअघि तान्जानियाको लाइतोली नजिकै ज्वालामुखि विस्फोट भएको थियो । वरपर खरानीले बाक्लो पत्र जमेको थियो । त्यसपछिको वर्षाले बाटो हिलाम्य थियो । यही बाटो हुँदै केही अस्ट्रालोपिथेकसहरू उत्तरतर्फ जाँदै थिए । तिनका पाइताला हिलोमा गाडियो । खरानीको लेदोमा पाइतालाको डोब बस्यो । थप खरानी र धुलोले डोब पुरियो र चर्को घाममा सुक्यो । यसरी विशिष्ट संयोगवश मानव पुर्खाको ‘पहिलो पाइला’ सन्ततिका लागि सुरक्षित रह्यो । ‘लाइतोली पदचिह्न’ भनी प्रख्यात २७ मिटर लामो पाइतालको ट्रेलमा ७० थान पदचिह्न खिपिएको छ । यी पदचिह्नले आधुनिक मानवझैं अस्ट्रालोपिथेकस दुई खुट्टामा उभिएर हिँड्थे भन्ने प्रमाणलाई झन् पुष्टि गरिदियो । जीवास्मा प्रमाणले अस्ट्रालोपिथेकस रूख चढ्न पनि निपुण भएको देखिन्छ । घाँसे मैदान र जंगलको मिश्रित वातावरणमा यो आवश्यक पनि थियो (अन्डरस्ट्यान्डिङ ह्युमन इभोलुसन, इयान टाटरसल) ।

यो पाइलाले नै आदिम मानवलाई आधुनिक मानवमा कायाकल्प हुन शृंखलाबद्ध ढोकाहरू खोलिदियो । औजार र भाषाको प्रयोग, ठूलो मस्तिष्क, सामाजिक व्यवहार जस्ता चरित्रलाई हामी विशिष्ट मानवीय चरित्र ठानेर मखलेल हुन्छौं । वास्तवमा यी गुणका सट्टा दुईखुट्टे चालको जोखिम/असहजता रोज्नु हाम्रा पुर्खाले प्रकृतिसँग गरेको एक ‘प्याकेज डिल’ थियो ।

औजारको प्रयोग

मान्छेले दुईखुट्टा टेकेर हिँडडुल आरम्भ गरेपछि स्वतन्त्र भएको हातले औजार निर्माण गरेको अनुमान डार्विनले उबेलै गरेका थिए । उनका अनुसार, दुईखुट्टे चाल र ढुंगे औजारको प्रयोग एकैसाथ उद्विकास भएको हो (द डिसेन्ट अफ म्यान) । तर, मानव पुर्खाले ढुंगालाई चाहेकै आकारमा ढालेर औजारको व्यापक प्रयोग गर्न थालेको प्रमाण भने १८ लाख वर्ष मात्रै पुरानो छ । त्यसैले डार्विनको अनुमान गलत ठानियो । तर, पछिल्ला प्रमाणका आधारमा भने डार्विनको आकलनमाथि पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

सन् २०११ मा मानवशास्त्री सोनिया हर्मान्डको समूहले केन्याको तुर्काना ताल किनारको ज्वालामुखी चट्टानमा ३३ लाख वर्ष पुरानो १५० भन्दा बढी ढुंगे औजार फेला पार्‍यो । दुई ठूला ढुंगा एकआपसमा बजार्दा चोइटिएको सबैभन्दा धारिलो टुक्रालाई हतियारका रूपमा प्रयोग गरिएको थियो । लुसीको जीवास्मा फेला परेकै स्थानमा सिकागो विश्वविद्यालयका जेराय र उनको समूहले सन् २०१३ मा उनकै प्रजातिको एक बालकको जीवाष्मा फेला पारे । त्यही समयकालका हरिणका जीवास्माहरू पनि उनको समूहले फेला पारेको थियो । सन् २०१८ मा यसको विस्तृत अध्ययन विवरण प्रकाशित भयो । ती जनावरको हड्डीलाई धारिलो ढुंगाले काटेको दाग प्रस्ट देखिनु रोचक तथ्य थियो । अस्ट्रालोपिथेकसका पुर्खाहरू ठूल्ठूला सिकार गर्ने हैसियतमा थिएनन् । तर, तिनले बचेखुचेको सिकारलाई ढुंगाको धारिलो चोइटाले ताछतुछ पार्न जानिसकेका थिए । हिँड्ने कामबाट मुक्त भएको हातको एनाटमी त्यसपछि बदलियो । यसको पकड लचिलो र मजबुत हुन थाल्यो (एन्सियन्ट बोन्स, म्याडेलिना बोमे) । औजार निर्माण र प्रयोगमा यसले झन् सहज तुल्यायो । औजारले आहाराको नयाँ सम्भावना खोलिदियो । जसै मान्छे दुई खुट्टामा उभिएर हिँड्न थाल्यो, त्यसपछि ऊ आफैं बदलियो । र, बिस्तारै दुनियाँ बदल्न थाल्यो ।

मस्तिष्कको आकार

दुईखुट्टे चालको सन्तुलनका लागि ठूलो मस्तिष्क अपरिहार्य छ भन्ने तर्क पनि छ । नभन्दै मान्छेको हकमा दुईखुट्टे चालको आरम्भसँगै मस्तिस्कको आकार पनि विस्तार भएको देखिन्छ । लुसीभन्दा करिब ८ लाख वर्ष पहिलेका सेलान्थ्रोपिथेकस र आर्डिपिथेकस जस्ता मानव पुर्खाहरूको मस्तिष्कको आकार ३७५ सीसी देखिन्छ । लुसीको प्रजातिसम्म पुग्दा यसको आकार बढेर ४५० सीसी भएको छ । आधुनिक मानव मस्तिष्कको आकारभन्दा यो अझै एक तिहाइले सानो हो । तर, लुसीको प्रजातिमा देखिएको यो २० प्रतिशतको बढोत्तरीमा दुईखुट्टे लोकोमोसन प्रत्यक्ष जोडिएको छ (जेरेमी डिसिल्भा) ।

मस्तिष्क सबैभन्दा फुर्मासे अंग हो । कुल उर्जाको २० प्रतिशत यो एक्लैले खपत गर्छ । दुईखुट्टे चाल तुलनात्मक रूपमा ऊर्जा किफायती चाल हो । ट्रेड मिल प्रयोगहरूमा हेर्दा चिम्पान्जीले मान्छेको भन्दा दोब्बर ऊर्जा खपत गरेको देखिएको छ । अस्ट्रालोपिथेकसको यही किफायती चालका कारण बचत ऊर्जा उसको मस्तिष्कको विकासमा सहयोगी भयो । साथमा औजारको प्रयोगले खानामा नयाँ मेनुहरू थपिए । यसले पनि अतिरिक्त ऊर्जाको जोहो भयो । कालान्तरमा मानव पुर्खाको फुर्सदिलो र सृजनशील हातले आगोको नियन्त्रित प्रयोग गर्‍यो । पाकेको खानाबाट थप ऊर्जा प्राप्त भयो । यसले मस्तिष्कको आकार झन् फैलियो । डार्विनको परिकल्पनाझैं दुईखुट्टे चाल र मस्तिष्कको फैलावट समानुपातिक गतिमा भएन । तर, यसले मस्तिष्क विकासको ढोका भने खोलिदियो ।

भाषा–प्रयोग

चारखुट्टे प्राणी हिँड्ने क्रममा जमिनमा उसले खुट्टा बिसाउँदा त्यसको दबाब काँध, छाती र पेटमा बाँडिन्छ । त्यसैले उनीहरूको हिँडाइ र सास फेराइमा सामञ्जस्यता आवश्यक पर्छ । उनीहरू एक पाइलामा एक पटक मात्रै श्वास लिन्छन् । हिँड्दा पाचन प्रणालीका सबै अंग डायफ्राममा आएर ठोकिने भएकाले छिटो–छिटो श्वास लिन सम्भव हुँदैन । तर, मान्छेले भने दौडँदासमेत छिटो–छिटो श्वास लिन सक्छ । श्वास–प्रश्वास प्रक्रियामा यो सन्तुलनका कारण उसको ध्वनिमा लचकता हुन्छ । हाम्रा नानीहरूमा पनि हिँडाइ र बोलाइ लगभग एकै समयमा आरम्भ हुन्छ । यसलाई मध्यनजर गरे थाहा हुन्छ– मौखिक भाषाका लागि आवश्यक शरीर संरचनाको विकास हुन दुईखुट्टे चाल आवश्यक थियो ।

नि:सन्देह लुसी र उसको प्रजातिको चाल यसमा आरम्भिक कदम थियो । मुक्त हातमार्फत गरिएका आरम्भिक इसाराहरूले पनि मौखिक भाषाको विकासमा सहयोग भयो । भाषाको विकास किन भयो ? यो अझै रहस्य र बहसको विषय हो । आवाज र ध्वनि–लचकताका अलावा अन्य धेरै विषय जुटेर भाषाको पूर्ण रेसिपी तयार भएको केही लाख वर्ष मात्रै बित्यो । तर, यसको तयारीमा पहिलो पाइला दुई खुट्टे चालकै थियो ।

सामाजिक जीवन र आपसी विश्वास

अस्ट्रालोपिथेकस मानव जीवास्मासँगै हुँडार, गोही, बाघ, चितुवा जस्ता जनावरका पुर्खाहरूको जीवास्मा पनि भेटिएका छन् । यसले मानव नर्सरी कति जोखिमयुक्त थियो भन्ने झल्को दिन्छ । त्यो परिवेशमा उसको सुस्त गतिले झन् जोखिम बढाएको थियो । यससँग जुध्न उसले सामूहिक एकतामा जोड दिन थाल्यो । अहिले पनि चिम्पान्जी, गोरिल्ला जस्ता प्राइमेट्सहरू यस्तो खतरासँग जुध्न समूहमा गोलबन्द हुन्छन् । सुस्त गतिका कारण अस्ट्रालोपिथेकस लगायतका मानव पुर्खा दौडिएर खतरा टाल्न सक्दैनथे । त्यसैले उनीहरू जनावर सक्रिय हुने साँझ, बिहान र रातको अधिकांश समय रूखैमा बिताउँथे । जोखिम कम भएको मध्याह्नको समयमा मात्रै आहाराको खोजीमा निस्कन्थे । समूहमा गोलबन्द भएर, अग्ला घाँसको बीचबाट मुन्टो उठाएर खतरा नियाल्दै र समूहका अन्य सदस्यलाई त्यसको सूचना प्रवाह गर्दै उनीहरू मैदान चहार्थे । सामूहिक एकताभन्दा अर्को उपाय र हतियार उनीहरूसँग थिएन ।

दुई खुट्टामा उभिएर हिँडन थालेपछि उसको अन्य शारीरिक संरचनामा त्यही अनुरूप परिवर्तन देखापर्न थाल्यो । तल्लो पेटलाई टेवा दिने अस्थिपञ्जर (पेल्भिस) सबैभन्दा धेरै परिवर्तन भयो । यसले कोख चौडा र छोटो हुन पुग्यो । यो बनोटले शरीर दुई खुट्टामा उभिएर हिँड्न सक्ने त भयो, तर नवजात शिशुको जन्मलाई यसले अप्ठेरो र जोखिमयुक्त बनाइदियो । औसत १४ घण्टासम्म लम्बिने कठिन प्रसव वेदनासहितको प्रसूतिकर्म अन्य सहयोगीको अभावमा असम्भवप्राय: हुन्छ । लुसीको जीवाष्मा हेर्दा अस्ट्रालोपिथेकस शिशुहरूको जन्म आधुनिक मानवको भन्दा धेरै फरक थिएन । मानिसका लागि नवजात शिसुको जन्म भनेको सुडेनी, धाइआमा, परिवारका सदस्यदेखि इस्टमित्रसमेतको सहयोगमा सम्पन्न हुन सक्ने एक सामाजिक कर्म हो । नवजात शिशुलाई खुवाउन, पियाउन, हिँडडुल गराउन र सुरक्षित राख्न समूहका अन्य सदस्यको साथ अनिवार्य हुन्छ । सहकार्य, सामूहिकता र आपसी विश्वासबिना यो सम्भव हुँदैन । दुई खुट्टामा उभिएर हिँडदा आइपरेको समस्याको समाधानमा मानव पुर्खाले यी गुणहरूको आधार तयार पारेका थिए । चिम्पान्जीलाई नै हेरौं– ऊ नवजात शिशुलाई राति जन्म दिन्छे । यो कर्ममा उसलाई कसैले सघाउँदैनन् । जन्मेको केही समयपछि नै बच्चा आमाको जीउमा मज्जाले टाँसिएर बस्छ । ६ महिनासम्म आमाले बच्चालाई साथ छुटाउँदिन र अरू कसैलाई सकेसम्म छुन पनि दिन्न ।

जंगली जनावरबाट सिकारको सघन दबाबमा बाँच्ने प्राणीहरूमा प्राकृतिक छनोटले तीव्र शारीरिक तथा मानसिक विकासलाई फेवर गर्छ । अर्थात् फटाफट छिटो हुर्कनु र वंश विस्तार गर्नु उद्विकासको सही रणनीति हुन सक्छ । तर, त्यस्तो दबाब नझेल्ने हात्ती, ह्वेलजस्ता ठूला प्राणी र आधुनिक मानवको वृद्धि प्रक्रिया सुस्त हुन्छ । ‘डिकिका चाइल्ड’ भनी चिनिने एक अस्ट्रालोपिथेकस बालकमा मस्तिष्कको विकास धीमा देखिएको छ । अर्थात् यो प्रक्रिया ३४ लाख वर्षअघि नै आरम्भ भएको देखाउँछ । यसको अर्थ सानो कद, सुस्त गति र आफू निहत्था हुनुका बाबजुद उनीहरूले जंगली जनावरको दबाबविरुद्घ सुरक्षा कवच बनाइसकेका थिए । त्यो सुरक्षा कवच सामाजिक/सामूहिक एकता र सहकार्यभन्दा अर्को हुन सक्ने सम्भावनै थिएन ।

मानव पुर्खाको जीवन कठिन थियो । दुई खुट्टामा उभिएर हिँड्दा झन् कठिनाइ थपियो । नयाँ परिवेशमा अभ्यस्त हुनु, आत्मरक्षाका लागि शत्रुसँग भिड्नु, आहारा र बासस्थानका लागि आफ्नैसँग लड्नु कम चुनौतीको विषय थिएन । शत्रुविरुद्ध आफूलाई जोगाउँदै र आफ्नाप्रति समभावको विकास नगरको भए यो यात्रा सम्भव थिएन । सन् १९७० मा रिचार्ड लिकीको समूहले ३४ लाख वर्ष पुरानो मानव तिघ्राको हड्डीको जीवास्मा फेला पार्‍यो । आजकालका ठूला दुर्घटनामा झैं त्यो तिघ्रा ठनक्कै भाँच्चिएर पनि निको भइसकेको थियो । भाँच्चिएको ठाउँमा नयाँ नरम हड्डी (क्यालस) पलाएको प्रस्ट देखिन्थ्यो । यसको अर्थ ऊ बिसेक भएर आफ्नो औसत आयु बाँचेको थियो । आजको प्रविधि, सुविधा र सामाजिक सम्बन्धको बाक्लो सञ्जालमा समेत कम्तीमा ६ हप्ता ओछ्यानमा थला परिने बिमार उसले समुदायको साथ, सहयोग र समभावबिना पक्कै एक्लै जितेन ।

सृष्टिको कोक्रोबाट वामे सर्दै दुई खुट्टामा उभिएर धरती ढाक्नु, त्यो पनि पार गरी चन्द्रमामा पाइला हाल्नु, उन्मुक्त हातले औजार/ज्यावल चलाउनु, त्यसैका भरमा दुनियाँको नापनक्सा बदल्नु, फुर्सदमा तिनै हातले हारमोनियममा धुन निकाल्नु, चित्र कोर्नु, सञ्चारका लागि मोबाइलको स्क्रिनदेखि कम्प्युटरको किबोर्डमा औंला नचाउनु इत्यादि नितान्त मानवीय कर्मको जगमा हाम्रो दुई गोडा छन् । मानव सभ्यता निर्माणसम्मको हजारौं माइलको लामो यात्रा ‘एक जोर’ पाइलाबाट भएको थियो ।

प्रकाशित : पुस २१, २०८० ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?