२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५०

सिमानाका ‘तकलिफ’

वारपारमा अब दरार उत्पन्न हुँदै छ, जब सिमाना–तनाव बढ्छ, जटिलता थपिन्छ ।
निरोज कट्टेल

सिमानामा आजकल ‘तकलिफ’ छ । यस्तो तकलिफ बोकेर भए पनि मानिस वारपार गरिरहेका छन् । नागरिकता र आधार–कार्ड नभएकाहरूले आउजाउ गर्न असहज बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बलले पहरेदार गरिरहेका छन् । पूर्वको सिमाना काँकरभिट्टाबाट वारपार गर्ने जो–कोहीले पनि आजकल सकस व्यहोर्नुपर्छ । सिमानामा भय, त्रास र असहजता मिसिएको छ । 

सिमानाका ‘तकलिफ’

तर, केही वर्ष अघिसम्म यस्तो थिएन । आवतजावत सहज थियो, सामाजिक सम्बन्धमा खासै दरार थिएन । यता र उताका नातेदार, साथ–सम्बन्ध र आउजाउ बेरोकटोक थियो । दशगजा वारिपट्टिको गाउँमा हुर्केका कारण पारि बङ्गालतिरको साथ–सम्बन्ध, चालचलन, सामाजिक–सांस्कृतिक सम्बन्धमा रुचि हुनु स्वाभाविकै हो । त्यसैले यसपटक उत्तरबङ्गालको पश्चिम भेगका बिहारसँग जोडिएका बङ्गाली गाउँ घुम्ने र मानिससँग गफ गर्ने योजना थियो । ती गाउँ घुम्न झोलामा एक जोडी लुगा र केही भारु पैसा बोकेर निस्के पुग्थ्यो । तर, हेर्दाहेर्दै सिमानामा अनेकौं तगारा आइसकेका थिए, त्यसलाई छिचोलेर मात्रै मेचीपारि पुगिन्थ्यो । कुनै समय सहज आवतजावत गरेर सिमानामा हुर्केका मजस्ता कैयौंलाई असहज महसुस हुन थालेको थियो ।

मेची पुल सकिनेबित्तिकै भारतीय अर्धसुरक्षा बल एसएसबीको पोस्ट आउँछ । केही समयको सकस व्यहोरेपछि सिमानापारिको पानीट्यांकी बजार पुगिन्छ । सीमावारिका नेपालीको किनमेल केन्द्र हो– पानीट्यांकी । त्यहाँबाट बस चढेको एक घण्टामा घोजपुकुर भन्ने सानो गाउँ पुगिन्छ । दुधगेट, बतासी, अधिकारीजस्ता स–साना गाउँलाई बीचमा चिरेर बस अगाडि बढ्छ । दूधगेट र बतासी पुगेपछि यिनै गाउँमा बितेका मेरो बाल्यकालका दिन मानसपटलमा किरिङमिरिङ भएर खेल्न थाल्छन् । मेरा ‘बा’ वारिपारि गरिरहने व्यापारी थिए । त्यही क्रममा उनले त्यहाँ मित लगाएका थिए । उताको खानपान र रहनसहनसँग मीतबाको परिवारले मलाई अभ्यस्त बनाएको थियो । मेची खोलाले कोरेको सिमानालाई मीतबाको वात्सल्यले धूमिल बनाइदिन्थ्यो । तिनै गाउँमा बिताएका दिन सम्झिँदै म त्यस दिन दार्जिलिङ जिल्लाको सम्भवत: पुछारको गाउँ घोजपुकुर पुगेको थिएँ ।

विश्वकर्मा पूजा सकिएर गणेश चतुर्थी सुरु भएको थियो । पूजाका लागि बनाइएका पण्डालहरू यथावत् थिए । बङ्गाली कालिगडीको भव्यता ती पण्डालको बनावटमा देखिन्थ्यो । विश्वकर्मा पूजा र गणेश चतुर्थीको कारण बजारहरू चलायमान थिए । पछिल्लो समय भारतमा धार्मिक अनुष्ठानहरू बडोत्तरी भएका छन् । हिन्दुत्वको रसायन समाजमा प्रभाव पार्न थालेको देखिन्छ । आफ्नै छुट्टै भाषा, संस्कृति र पहिचान बनाएका बङ्गाली गाउँहरूमा समेत बेपर्वाह बजिरहेका योगी र मोदीका भाषणले त्यो प्रमाणित गर्दै थियो ।

नयाँ भारत बनाउने राजनीतिक अठोट लिएका प्रधानमन्त्री मोदीको धर्ममा आधारित राजनीतिले सामाजिक ध्रुवीकरणसमेत देखिन्छ । केही समयअघि नयाँदिल्लीमा सम्पन्न जी–२० को शिखर सम्मेलनको ‘सफलता’ बाट उनी थप हौसिएका छन् । धार्मिक अन्धतामा पुँजीको पराक्रम मिसिएपछि उनको राजनीतिक अभीष्टलाई थप बल पुगेको छ । उताको धर्मकेन्द्रित राजनीतिको प्रभाव यता पनि देखिन थालेको छ । त्यो कतै प्रकट रूपमा छ भने कतै सुषुप्त अवस्थामा । एक थरीले हाम्रो संविधानले स्वीकार गरेको संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र नै आजको बेथितिको जग हो भन्ने भाष्य प्रमाणित गर्न खोज्दै छन् । धर्म र राजासँग त्यसलाई जबर्जस्त जोडेर कोकोहोलो मच्चिरहेको छ । बिस्तारै समाजसमेत ध्रुवीकृत हुँदै छ । सिमानापारि र वारि उठेका हिन्दु राजनीतिको नारा सारमा खासै फरक छैनन् । उनीहरू मूलत: विगतको गौरवगाथा गर्दै वर्तमान समय विकृत भएको प्रमाणित गर्न लागिरहेका छन् । नजानिँदो तरिकाले उताको हावाले यता पनि हलचल मच्चाउँदै छ । सिमानाका सामाजिक, सांस्कृतिक सम्वन्धका विविध आयाम पछिपछि र धर्मकेन्द्रित राजनीति अघि हुँदै छ । तर, आम मान्छेका दु:ख भने उस्तै छन् । भुइँ तहबाट उठाउनुपर्ने विषयको सूची लामो हुन सक्छ । त्यसमा कसैको जाँगर र रुचि देखिँदैन, भएकाहरूलाई खासै कसैले महत्त्व दिँदैनन् । यस्ता विषय उठान गर्नुपर्ने स्थानीय पत्रकारितालाई लोकरिझ्याइँको राजनीतिले छोपेको छ ।

सिमानाका दुवैतर्फ उभिएका सशस्त्र बलका सिपाहीहरूले धार्मिक अन्धतालाई रोक्ने सामर्थ्य राख्दैनन् र त्यो उनीहरूको प्राथमिकतामा पर्दैन । उनीहरूको खानतलासीमा आम मान्छे पर्ने गर्छन् । ती सबै पार गर्दै म त्यस दिन बङ्गालको अन्तिम गाउँ र बिहारको पहिलो गाउँ नजिकै रहेको घोजपुकुर पुगेको थिएँ । जानपहिचान कोही थिएन । तर, उताका मानिसहरूले बुझ्ने गरी बोल्ने सामर्थ्य मसँग भने थियो ।

मानिसको जीवनलाई एक संयोग मान्ने हो भने त्यहाँ पनि एउटा संयोग भयो । उत्तरबङ्ग कृषि विश्वविद्यालयको कलेजको गेटमा भेटिए रतिस बर्मन । बर्मनले सुरुमा आफूलाई ‘बङ्गाली बाबु’ को परिचय दिए । तर, उनी खासमा ‘कोच’ रहेछन् । जात छुपाउन के आवश्यक पर्‍यो ? ‘कोच भन्यो भने राम्रो रूपले हेर्दैन त्यही भएर बङ्गाली भन्यो कसैले केही सोध्दैन,’ उनले भनेका थिए ।

सोह्रौं शताब्दीमा कोच राज्यको वैभवता उच्चतम तहमा पुगेको थियो । आजको आसामको पूर्वी भाग, उत्तर बङ्गाल, दिनाजपुर, कुच बिहार र नेपालको झापा, मोरङको र दूधकोशी क्षेत्रको पूर्वसम्म कोच राजा नरनारायणको शासन थियो भन्ने विषय अध्येता पानीलाल राजवंशीले आफ्नो पुस्तक ‘कोच (राजवंशी) को छोटो ऐतिहासिक परिचय’ मा लेखेका छन् । तिनै राजा नरनारायणका सैनिक कमान्डर इन चिफ ‘चिलारायको सौर्य’ लाई आज पनि भारत र नेपालका कोच राजवंशीहरूले प्राधिकार मान्ने गरेका छन् । कोच र राजवंशी एकै हुन् भन्ने उनीहरूको दाबी छ । त्यसैले ‘ग्रेटर कोच’ राज्यको पक्षमा निरन्तर वकालत गरिरहेका छन् । उत्तर बङ्गाल, बिहार र असमको राजनीतिलाई कोच राज्यको मागले कहिलेकाहीँ तताउने गर्छ ।

रिक्सा चालक बर्मनले आफू क्षत्रीय राजवंशी भएको दलिल पेस गरे । नेपाल आइजाई गरिरहने वर्मनले नेपाली बुझ्दा रहेछन् । सानोतिनो व्यवसायमा अल्झेका उनलाई कोभिडको लहरले रिक्सा चालक बनाइदिएको रहेछ । मेरो दुई दिनको ‘टुर गाइड’ बनेका उनले खोरीबारी, घोजपुकुर, बुर्रागन्ज, पानीशाली, मैनागुडी, चक्रमारी, अधिकारी गाउँहरू घुमाए । यी गाउँहरू खासमा कोच राजवंशीहरूको बाहुल्यता भएको क्षेत्र हो । घुम्दाघुम्दै रिक्सा चालक बर्मनले नेपाली काँटका घरहरू भएको गाउँ पुर्‍याए । लिम्बू, तामाङ र बाहुन गरी जम्मा सात घर भन्नु नै नेपाली बस्ती थियो । खोरीबारी गाउँको सोनाचाँदी चियाकमानमा पचास वर्षअघि काम गर्न असम हुँदै त्यहाँ आएकाहरूकै सन्तान उनीहरू थिए । शिक्षकको जागिरबाट रिटायर्ड भएका हरिबहादुर लिम्बूले मसँग गफिन खासै रुचि देखाएनन् । नेपालसँगको सम्बन्धको विषयमा प्रश्न गर्दा उनी टकटकिए । उनले भने, ‘हामीलाई उताको विषयमा खासै चासो छैन ।’ मेरो उपस्थिति उनको लागि असुरक्षाको संकेत थियो । उनको मनोभावले त्यही भनिरहेको थियो । नेपालीपनको भाव दिमागमा सजिएको थियो । हरिबहादुरसँगको भेट सुखद हुनेमा म विश्वस्त थिएँ । तर, उनीसँगको संवाद पछि म खुत्रुक्कै भएँ । हरिबहादुरको व्यवहारबाट म निराश थिएँ । तर, दोलालजोतमा भेटिएका कोच बाबुहरूले मेरो निराशालाई आशामा परिणत गरिदिए । ‘ग्रेटर कोच बिहार एसोसिएसनका’ कोच बाबुहरूले मेरो गफ गर्ने उत्कट चाहना पूरा गरिदिए । ग्रेटर कोच बिहारको माग गर्दै भोक–हडतालमा बसेमध्ये चित्त राय, अनिल बर्मन र विसु बर्मनको मृत्यु भएको थियो ।

सेप्टेम्बर महिनाको २० तारिख उनीहरूको स्मृति दिवस रहेछ । बङ्गाली गाउँबीच बाँसझ्याङमुनि सेतो कागजमा तिनै सहिदको नाम लेखेर राखिएको थियो । उनीहरूको सम्झनामा कोच बाबुहरू सानो सभा गर्न व्यस्त थिए । ग्रेटर कोच बिहार आञ्चलिक कमिटीका सचिव जोगेन सिंह वर्मनले भने, ‘हिन्दी, अङ्ग्रेजी, बङ्गाली भाषाका कारण क्षेत्रीयस्तरका भाषा संस्कृति लोप हुन लागेको छ ।’ आफ्नो जातीय भाषा संरक्षण गर्न छुट्टै राज्यको माग उनीहरूको थियो । बङ्गाल, असम र बिहार राज्यले आफूहरूलाई छुट्टै पहिचान दिनुपर्ने उनीहरूले संवादका क्रममा भनेका थिए । तर, राजनीतिक कदम द्विविधाग्रस्त थियो । सीमान्तको आवाज उठाउने र राज्यसँग लड्ने विषय एकातिर र राजनीतिक झुकाव अर्कातिर थिए । विधानसभाको चुनावमा उनीहरूको समर्थन हिन्दु अतिवादी भारतीय जनता पार्टीलाई थियो । हिन्दु राष्ट्रवादको जगमा उदय भएको बीजेपीले सीमान्तहरूको मुद्दालाई सम्बोधन गर्छ भन्नु आफैंमा उदेकलाग्दो विषय थियो । गोर्खाल्यान्ड र ग्रेटर कुच बिहार समर्थकको एउटै भाव थियो । दुवै भाषिक समूह बीजेपीबाट पहिचानजनित जातीय राज्य पाउनेमा विश्वस्त थिए । तर, बीजेपी दुवैलाई बङ्गालको सत्ता चढ्ने भर्‍याङ बनाउँदै थियो । भर्खरै सम्पन्न बङ्गाल विधानसभाको निर्वाचनमा कमलको फूलबाट कोच नेता अनन्त राय निर्वाचित भएका थिए ।

यताका राजवंशीसँगको सम्बन्ध पहिला झैं प्रगाढ नरहेको कोचहरूको कथन थियो । माघीपूर्णीको चिलाराय स्मृति दिवस, वैशाखको सिरुवा पावनी पर्व, भाका दिवसमा कहिलेकाहीँ आउजाउ भए पनि त्यो अब पातलिएको उनीहरूको कथन थियो । पारिवारिक तहमै साथ–सम्बन्ध हुने क्रम घट्दो छ । विवाहबारी तथा सामाजिक सम्बन्ध टुट्दै गएको छ । घोजपुकुरमा भेटिएका दुई फरक समुदायका प्रतिनिधि हरिबहादुर लिम्बू र जोगेनसिंह बर्मनको साझा बुझाइ छ । सिमाना वारपारको सम्बन्धमा दरार उत्पन्न हुँदै छ । कुनै बेला विवाह, मलामी, जन्ती, उत्सवहरूमा बाक्लो भेटघाट गर्नेहरू पनि बिस्तारै आउजाउ गर्न छाड्दै छन् । जति सिमानामा तकलिफहरू बढ्दै जान्छन्, उति नै जटिलता थपिँदै जान्छन् ।

प्रकाशित : पुस २१, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?