कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

जिजीविषाको मृत्युभोज

 विचार र दर्शन केका लागि ? संसार वा समाज बदल्न ? यो विचार र बदलाबको विषय कार्ल मार्क्स र हेगेलको जिम्मामा छोडिदिऊँ ।

ढल्दै गरेको एक रंगहीन तर मेरा निम्ति रंगीन साँझ । 
टाढा कतै कसैले आफ्नो आसन्न मृत्यु पन्छाउन महामृत्युञ्जय मन्त्र अलापिइरहेको थियो – ‘ॐ त्रयम्बकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम् ...।’ म भने मृत्यु आमन्त्रण गर्दै थिएँ । अर्थात्, आत्महत्या गर्ने मुडमा थिएँ ! सुरसार गर्दै पनि थिएँ, ह्विस्कीको चुस्कीसँगै ! झट्ट मनले भन्यो, यो चराचर जगत्मा नआउनु आइसकेपछि जाँदा कम्तीमा जाँदै छु वा गएँ भन्ने औपचारिकता त निभाउनु पर्ला ? अर्थात्, मृत्युपत्र पनि त लेख्नु पर्ला नि ? 

जिजीविषाको मृत्युभोज

मृत्युपत्रसँगै अनायास सिल्भियाको ‘मिरर’ कविता याद आयो – ‘आइ एम सिल्भर एन्ड एक्ज्याक्ट्/आइ ह्याब नो प्रिकन्सेप्सन्स् ..।’ भावनाको संयोजन, जब्बर ‘पर्सोनिफिकेसन’ अनि ‘इमेजरी’ र ‘आइरोनी’को बेजोड प्रवाहमा म तैरिँदै र डुब्दै गएँ । एक मन त लाग्यो, सिल्भिया स्वयं आई दार्शनिक सौन्दर्य चेतको हुर्कंदो यौवन बोकेर । भर्खर नुहाएको उसको चिसो केसले भावनात्मक सौन्दर्यलाई बडो काव्यिक बनाएको थियो, यस्तै लाग्यो मलाई । नलाग्नुपर्ने पनि के नै थियो र ? एकैक्षण पछि त जस्टिन गार्डरकी पात्र सोफी पनि आई, कल्पनामा ! सिल्भिया अनि सोफी, उनीहरू आउँदा सिर्फ उनीहरू मात्रै आउँदैनथे, काव्यिक सौन्दर्यको बेजोड दार्शनिकता पनि उनीहरूसँगै आउँथ्यो, आयो !

साँच्चै यो विचार, अनि यो दर्शन केका लागि ? संसार वा समाज बदल्नका लागि हो ? यो विचार र बदलाबको कुरा कार्ल मार्क्स र हेगेलको जिम्मामा छोडिदिऊँ भन्ने लाग्यो तर मस्तिष्कले चाहिँ मान्न राजी भएन । र, सोच्यो – वेदान्त दर्शन र सांख्य दर्शनबीचको भेदले जीवन र मृत्युबीचको भेदलाई न्यायिक सुन्दरता इनजेक्ट गर्न कामयाव होला ? के हन्टिङटनको ‘क्ल्यास अफ सिभिलाइजेसन’ पढेर सक्दा मानवीय सभ्यताको सूक्ष्मता र जिजीविषा थामिरहेको वैश्विक सांस्कृतिक सौन्दर्यको धरोहर पनि ‘क्ल्यास’ हुन्छ अब ? एकैक्षण त यस्तो लाग्यो, फ्रान्सिस फुकुयामाको ‘द एन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’को वैचारिक गर्तमा म पनि समाप्त हुने हो अब !

उत्तिखेरै मस्तिष्कले लेखकीय सीमाहरू सम्झाइदिँदै भन्यो – कता बहकिइस् ती तमाम औपचारिक सीमा नाघेर ? मृत्युपत्र लेख्न बसेको होइनस् र ? साँच्चै, कता ? थाहा छैन, द्वन्द्ववादको कुन तहसम्म त्यो पुग्छ – मेरा अभिव्यक्तिका बाँझा गह्राहरूले सोच्छन् । म ती सोचाइलाई निर्बन्ध छोडिदिन्छु । फगत् सीमाहीन, बन्धनविहीन । साँच्चै, विचार, भावना वा दर्शनको एकमात्र दार्शनिक प्रश्न के हो ? यस सवालसित पछिल्लो समय म किन यतिबिघ्न इंगेज्ड छु, हँ ?

असलमा, जीवन बाँच्नुभित्रको सार के रहेछ त आखिर ? खोइ यसको मूल्य ? अल्बर्ट कामुलाई मैले एक दिन यही सवाल गरेछु, मेरो विस्मृतिमा स्मृति बनेर बसेको रहेछ ! जीवनको भ्रान्ति, निःसारता र यसको जडतामा हामी यतिभाँती बिलुप्त किन भएका आखिर ? यो ब्रह्माण्डसितको मानव संघर्ष आखिर केका लागि ? एकैक्षण मानिलिउँ जीवनको कलात्मकतालाई पोट्रेट गर्नुपर्‍यो भने हामीले काव्यिक सौन्दर्यमा भन्दा बढ्ता केमा रूपान्तरण गर्न सकौंला र आखिर ? एकक्षण कामुको सिसिफसलाई हेरौं न ! के उसले जीवनको खास अर्थ खोज्नका निम्ति आफ्नो जीवन उत्सर्ग गर्न चाहन्थ्यो ? एउटा विद्रूप ढुंगो अग्लो पहाडको टुप्पोमा पुर्‍याउनु मात्र उसको जीवनको सार थियो ? यो कस्तो निःसारता ? जान्दिनँ । साँच्ची, सिसिफसले आत्महत्या चाहिँ किन गरेन, हँ ? के उसलाई आफ्नो अस्तित्वबारे ज्ञात थियो ? ‘कन्क्लुडिङ अनसाइन्टिफिक पोस्टस्क्रिप्ट टु फिलोसोफिकल फ्र्यागमेन्टस्’ भित्र सोरेन किर्केगार्डका अस्तित्वका ससाना टुक्रा भेट्छु । आखिर जीवनसँगका ‘फन्डामेन्टल कन्ट्राडिक्सन’ के हुन् ?

अँ, अस्ति नित्सेलाई न्युरोडको पिपलबोटभन्दा अलि वल्तिर भेटेको थिएँ ! उसले चुरोट सल्कायो । एक सर्को के तान्न भ्याएको थियो ‘महानगरीय बालेन प्रहरी’को टुकडी आएर उठाइहाल्यो । सार्वजनिक ठाउँमा चुरोट पिएको आरोपमा । अँ, हाम्रा थुप्रै नित्सेहरू हिरासतमा होलान् । मिसेल फुकोले एक दिन अनायासै भनेको थियो, नित्से त ‘गे’ हो, तर होइन रैछ । ‘गे’ त त्यही मोरो फुको पो रहेछ ! उसले मलाई ‘हिस्ट्री अफ सेक्सुआलिटी’ दिएको थियो ‘अटोग्राफ’सहित । अनि एक हरफ केही लेखेको पनि थियो । फेन्च भाषा भएर होला, बुझिनँ । बरु मलाई ती अक्षर उल्टा जस्ता पो लागेका थिएँ । सायद, उसले लेखेको थियो होला, ‘जस्टिन गार्डरकी सोफी त तँलाई खोज्दै आएकी छ, नेपाल ।’ मैले सोचेँ, होइन यो मोरो फुकोले सोफी मेरी प्रेमिका हो भन्ने ठान्दो कि के हो ? होला सायद । किनभने, धेरै पटक सोफी र मलाई पाटनका गल्लीतिर कफी खाँदै गरेको देखेको थियो । आर्यघाट छेउछाउ नारिएर हिँडेको पनि नदेखेको त कहाँ हो र ? ‘वास्टार्ड फुको !’ भन्न मन लागेन र भनिनँ । बस्, मनले उसको ‘म्याडनेस एन्ड सिभिलाइजेन’ सम्झियो । त्यही भएर बरु भनेँ, ‘जय फुको !’

झट्ट दिमागले फेरि सम्झायो – आत्महत्या गर्न ठिक्क परेको मान्छे के लेखिरहेको छस् हँ ? के यो ‘स्ट्रिम अफ् कन्सिअसनेस’को नदीमा जेम्स जोयस र भर्जिनिया उल्फभन्दा दोब्बर बढी बेहिसाबले पौडिइरहेको छु र म यतिबेला ? होइन, होइन । त्यसो भए के त ? भैगो नि त अब बन्द गर्छु लेख्न ! फेरि, सम्झिएँ – शंकर लामिछानेलाई पहिला कहिल्यै भेटेको थिएँ र मैले ? उसलाई भेटे भेटे जस्तो याद किन आयो त एक्कासि ? हो, हो । अघिल्लो हप्ता असनको गल्लीमा नित्सेलाई खोज्दै थियो ऊ पनि । यो पनि भन्थ्यो, हाम्रा नेता ‘धातुराम’ले जो वाइडेनसँग असनको गल्लीमा भेटेका थिए रे । शंकरले सुझाएछ, लौ ‘धातुराम’ देश कसरी चलाउने भनेर सोधिहाल यी जो वाइडेनसित । धन्य, ‘ड्याङग ऽ’ दिएनछन्, ड्याग ह्यामरसोल्ड भन्या होइन । अब त ड्याङ..डुङङ्ग छोडियो बाइडेन कमरेड पो भने रे ‘धातुराम’ले । चिनियाँ कुनै पूर्वकम्युनिस्ट नेताले भनेझैँ बन्दुकको बलमा सत्ता र नागरिक कतिञ्जेल चल्ने रहेछ र ? एक दशकसम्म जेका निम्ति सम्बोधित रक्तपात मच्चाइयो त्यो त आखिर आडम्बर नै त रहेछ । त्यही पुँजीवादको चन्दन नलगाई पनि त भएन आज । धातु त चाहियो नै हर कुनै हालत् । पहेँलो धातु । सत्ता र धातुमा आखिर कुनै भेद नै पनि देखिएन । बरु सत्ता भनेको खाएको धातु ओकेल्न नपरोस् भनेर निर्माण गरिएको वा चाहिने अस्त्र मात्रै त रहेछ । त्यत्रो एक दशक सशस्त्र हिंसाको बलमा गर्ने भनेको ‘समाज परिवर्तन’ यही त रहेछ । हामीले पो नबुझेका रहेछौं । त्यो भनेको त ‘स्वयं परिवर्तन’ रहेछ । ती तमाम ‘पुँजीवादी कम्युनिस्ट’का खेतालाहरूलाई एक्काइस तोपको सलामी ! दसवर्षे हिंसाको निम्ति राज्यले चुकाएको मूल्य कति थियो ? त्यसको भर्पाइ कसले गर्ने ? हुन त ‘मान्छेको जातै हिंस्रक ।’ हिंसाको के कुरा गराइ भो ? नित्सेले ‘विल टु पावर’ वा आर्थर सोफेनआवरको ‘इरासनल विल’लाई पुनर्पाठ गरेर पनि त भन्न सकिन्छ यो कुरा ! यदि सकिएन भने, सोध्नुपर्ला एडोल्फ हिटलर र नित्से दुवैलाई सँगै राखेर ।

यो नित्से त सोफीलाई प्रपोज गर्छु भन्थ्यो एक दिन । होइन के सारो पात्तिएका हँ यी बूढाहरू ! किन लेख्छ ऊ ? अभिव्यक्तिमा निखार ल्याउन वा दार्शनिक पहेली खडा गर्न वा वैचारिक आतंक मच्चाउन ? अनि म चाहिँ किन लेखिटोपल्छु ? शंकरलाई सोध्नुपर्ला । पर्सि त सँगै मदपानको योजना हो । ओहो, म त आजै ‘प्रस्थान’ गर्ने निधो गरेछु फेरि ? के नेपाल देशका नेतालाई झैं मलाई पनि अरू कसैले चलाउँदै छ कि के हो, हँ ? साँच्चै, बरु किन डोर्‍याइरहेको छैन देशलाई विचारले ? देशको राजनीतिक सत्ताले यो विचारहीनतामाथि कहिले विजय प्राप्त गर्छ हँ ? होइन सुसाइड गर्न लागेको मान्छेलाई पनि किन देशको चिन्ता यसरी ? के देशको अर्थतन्त्रले पनि मैले जस्तै सुसाइड गर्नगर्न आँटेको हो र ! देशको शासकीय सत्ता चलायमान हुन शासकीय केमिकल रियाक्सन घटित हुनुपर्ने हो । देश चल्ने शासकीय–वैचारिक रियाक्सन वा प्रक्रिया गतिहीन भइदियो भने ठीक त्यही हुँदो रहेछ जे नेपाल भन्ने विश्वको कुनै एउटा देशमा भइरहेको छ ठीक यो प्रहर ! कताकताबाट एउटा गाढा असामन्जसले घेर्न आइपुग्यो र मलाई सोध्यो । अनि मैले आफैंलाई सोधें – होइन यो के लेखिरहेछु भन्या ? कुनै आर्ट वा एपिग्राफ त पक्कै पनि होइन । अटोबायोग्राफी त झन् हुँदै होइन । त्यसो भए के त ?

प्रिय पाठक, असलमा म मृत्युपत्र लेख्न बसेको थिएँ । साँच्चै यो मृत्युपत्र नभएर अर्कै केही पो भयो कि ! होइन मलाई के भइरहेछ यो यतिखेर ? के म जोन रल्सको ‘भेल अफ इग्नोर्यान्स’ले गम्लङ्ङ छोपिएको हुँ र ! कताकताबाट देशको चिन्ता लागेर आयो । लाग्यो, शासकीय राजनीतिमा किञ्चित भए पनि विचार र दर्शनको लेप लागिदियो भने नागरिकप्रति शासकीय उत्तरदायित्व धेरथोर निर्माण होला । अमर्त्य सेनका ‘द आइडिया अफ जस्टिस’मा राज्यसत्ताले आफ्नो शासकीय अस्तित्व भेट्न सक्ला, मैले आफ्नो युगका ‘सत्ता नायक’ पाब्लो नेरुदाका मृत आर्टरीमा साहित्यिक सौन्दर्य भेटे जस्तै । साँच्चै भनूँ – यतिबेला एउटा अराजक विचारको धारले रेटिएर बेग्लै मृत्यु मर्दै छु म । अथवा यसो भनौं, एउटा बेग्लै मृत्यु बाँचिरहेछु म, जसलाई कुनै पनि राज्यको कुनै पनि कानुनले कुनै पनि प्रकारको ‘डेथ सर्टिफिकेट’ प्रदान गर्ने छैन वा मृत्यु ‘रिकग्नाइज’ गर्ने छैन ।

प्रकाशित : पुस १४, २०८० ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?