कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गोलभेंडाको झ्याङमा झुन्डिएको छटपटी 

मेरो डेरा गोलभेंडाको झ्याङ र माकुराको जालोले कहिल्यै मान्छे नपसेको वनस्पति गार्डेनजस्तो भएको थियो। त्यहाा गोलभेंडा पाकीवरि भुइामा झरेर नयाँ–नयाँ बिरुवाहरूले पालुवा हालिरहेका थिए– केही पाकिरहेका, केही काँचा। त्यसका हाागाबिागा कोठाभरि फैलिएका थिए।
हरि रोका

काठमाडौँ — विसं २०४१, चैत ११ । बिहान पौने ५ बजे जेलको भाइनाइकेले मेरो नाममा डाक लगाए । छुट–पुर्जी लिएर चौकीदार काजीमान तामाङ जेलको गेटमा मेरो प्रतीक्षामा थिए । त्यस दिन म जेलबाट छुटकारा पाउँदै थिएँ । उनीहरूसँग हात मिलाएर बिदा भएँ । ‘अब हामीलाई माया गर्न फेरि–फेरि नआउनुहोला हरि सर’, काजीले यसरी बिदा दिए । जवाफमा केही भनिनँ । किनभने फेरि फर्किने सम्भावना पूरापूर बाँकी थियो ।

गोलभेंडाको झ्याङमा झुन्डिएको छटपटी 

विसं २०३९, चैत ११ । बागमती अञ्चलाधीशले २ वर्ष र दुई हजार जरिवानाको फैसला सुनाएर प्रहरी इन्स्पेक्टरको हातमा मेरो थुनुवा पुर्जी थमाएका थिए । दुई वर्ष थुन्नकै लागि सुरुमा केन्द्रीय कारागार लगियो । झन्डै ९ महिना त्यहाँ बिताएपछि सँगै टाँस्सिएको भद्रगोल जेलमा सारियो, जहाँ मैले अर्को थप १५ महिना व्यतीत गरेँ ।

म जेलबाट छुट्नु अघिल्लो दिन आदरणीय दाइ शिवशरण कुँवरले मेरो नाममा तोकिएको २ हजार रुपैयाँ जरिवाना तिरिदिएर आफूचाहिँ चितवनतिर हिँडेको समाचार छाडेका थिए । जेलबाट छुट्दा बिहान राम्रै उज्यालो भइसकेको थियो । म केही थान किताब, कपडाको सानो पुन्तुरो एकै ठाउँ पोको पारेर जेलबाट बाहिरिएँ । आकाश निर्मल थियो, तर मन भने अत्यन्तै अशान्त । किनभने जेलको सिदा आफू छुटेपछि जेलमै छुटेको थियो ।

खाने केही छैन भनेपछि पापी पेटले बिहानै खाना खोज्दोरहेछ । बिहान–बेलुकी कसरी हात–मुख जोड्ने ? यो समस्या अब सुरु भइसकेको थियो । गोजीमा दुई रुपैयाँ दरका दुइटा नोट थिए । मन धमिलो हुनुको कारण यही थियो । मोरु ५ बाट ट्याक्सीको मिटर सुरु हुन्थ्यो, गोजीको दामले ट्याक्सी चढ्ने हैसियत राख्दैनथ्यो । यद्यपि मेरो डेरा घट्टेकुलो टाढा थिएन । जगन्नाथ देवलबाट सहिदगेट, सिंहदरबारको मूलद्वार अघिबाट कालिकास्थानको पिपा ब्यारेक हुँदै घट्टेकुलो पुग्न ठ्याक्कै आधा घण्टा लाग्यो ।

...

मैतीदेवी चोक हुँदै घट्टेकुलो निस्किने एउटा मोटरेवल सानो बाटो थियो । त्यही बाटो किनारमा दोहोरो लाइनमा घरहरू ठडिएका थिए । डिल्लीबजार पीपलबोटबाट मैतीदेवी पुगिने बाटो बीचदेखि दक्षिणतर्फ निस्किने एउटा सानो गल्ली थियो, जो घट्टेकुलो जोड्ने बाटोमा मिसिन्थ्यो । त्यही चोकमा कवि मोहन कोइरालाको कवि–आश्रम थियो । कवि–आश्रमकै दक्षिणपट्टि खुला स्थानमा झन्डै दूई रोपनी जग्गामा एउटा ४ तले पुरानो घर थियो । बाहिर चिटिक्क प्लास्टर गरिएको घरको कोठाको तला भने माटाले छापेको भुइँ थियो । त्यसैले भुइँ गोबर र माटाले लिप्नुपर्थ्यो । छिमेकमै जर्सीगाईको फार्म थियो, रातोमाटो र गोबरको कमी थिएन । म पहिलो पटक त्यस घरमा सर्दा सिनित्त लिपेर सफा पारिएका एकअर्कासँग गाँसिएका दुईवटा कोठा थिए । पछाडीपट्टीको कोठालाई मैले स्टोर र भान्सा अनि अघिल्लोलाई पठन–पाठन र बेडरुम बनाएँ । भुइँ तलामा एउटा परिवार बस्थ्यो । माझ–तलाका तीन कोठामध्ये दुईवटा मैले लिएको थिएँ । माथिल्लो तलामा घरबेटी परिवारसहित बस्थे । घर–कम्पाउन्डभित्रै उनको ग्याविन–वायर जाली बुन्ने कारखाना थियो ।

घरमुली थिए, चरिकोटे साहु पुष्प जोशी– पातला, गहुँगोरा, अन्दाजी ५‘८ फिट उचाइका हँसिला अधबैंसे उमेरका । पत्नी, ठूलो छोरा किशोर, सानो छोरा ओशीमानसहित उनको चार जनाको सानो संसार थियो ।

घरमा नातेदारको बाक्लै आवतजावत थियो । रफ्तारमा आइरहेका पाहुनाहरू, कामदारहरूलाई बिनाभेदभाव, बिनाझर्कोफर्को सत्कार र सद्भावपूर्ण उनको व्यवहारले लाग्थ्यो– उनको परिवार सभ्य, सज्जन र दिलदार छन् । उनलाई म प्रेमपूर्वक ‘दाइ’ सम्बोधन गर्थें, जो आजसम्मै कायम छ । उनको स्वामित्व रहेको कारखानामा झन्डै एक दर्जन बढी मधेशी मूलका कामदार थिए । दिनभरि त्यहाँ काम गरे पनि उनीहरू बाहिर कतै डेरामा बस्थे । सबै सार्वजनिक बिदा उनको फ्याक्ट्रीमा पनि लागू हुन्थ्यो । प्रत्येक फ्राइडेलाई ‘गुड फ्राइडे’ मनाउने चलन थियो घरमा, जहँ नेवारी व्यञ्जनसहित घरपालुवा ऐलाका लागि म पनि आमन्त्रित हुन्थें । त्यस्ता साँझहरूमा हामी अन्तर्राष्ट्रिय–राष्ट्रिय राजनीतिक परिस्थिति तथा मुलुकको आर्थिक–सामाजिक व्यवस्थाबारे छलफल गर्थ्यौं । तर, मैले उनलाई ‘कुन प्रतिबन्धित पार्टीलाई समर्थन गर्नुहुन्छ ?’ भनेर कहिल्यै सोधिनँ । उनले पनि मलाई बताएनन् । तर, उनको सुझबुझ हेर्दा तात्कालिक व्यवस्थाको समर्थक थिएनन् भन्ने मेरो निष्कर्ष थियो । हामीबीचका सौहार्दपूर्ण छलफलले प्रगाढता बढ्दै गएझैं लागेको थियो । तर, म जेल रहुन्जेल उनी र उनका परिवारका सदस्य भेट्न कहिल्यै आएनन् । त्यसमा मलाई अनौठो पनि लागेन किनभने तत्कालीन शासन व्यवस्था आम जनतामा डर पैदा गरेरै त्यही सामूहिक डरको जगमा उभ्याइएको थियो । अर्को शब्दमा ‘भित्ताका पनि कान हुन्छन्’ भन्ने मान्यतासहितको व्यवस्था थियो त्यो ।

मेरा लागि तीन वर्षअघि त्यो डेरा खोजिदिएका थिए– भान्जा किशोर कार्की र मित्र नवीन रार्ईले । पुष्प दाइ नवीन राईका पूर्वपरिचित रहेछन् । उनले भलादमी, डेरा नसरिरहने स्वभावको, भाडामा किचकिच गरिरहनुनपर्ने मान्छेलाई माझ–तलाका दुई कोठा भाडा लगाउन चाहेको बताएका रहेछन् । र, नवीनले मलाई उपयुक्त पात्र ठानेर त्यहाँ पुर्‍याए । ‘पात्र सही भए पनि केही दुर्गुण छन्,’ नवीनले यसो भन्न छुटाएका रहेनछन्, जसले मलाई त्यो घर–परिवारसँग सधैं जोडीरह्यो, जसको छोटो विवरण तल पस्किएको छु ।

...

स्नातकोत्तर अध्ययनका लागि म कीर्तिपुर केन्द्रीय क्याम्पस भर्ना भएको थिएँ । रोगग्रस्त आमाको उपचार र हुर्कंदै गरेका बालबच्चाको अध्ययनमा घरको आयआर्जन खर्चनुपर्ने भएकाले दाजु र आमा दुवैको चाहना थियो– मैले पढाइ छाडी केही स्थायी प्रकृतिको काम गरेर घरखर्चमा सघाए हुने । घरको यथार्थ मैले बुझेको थिएँ । तैपनि म पढाइ छाड्ने मुडमा थिइनँ । साना, खुद्रा–मसिना काम गरेर भए पनि वा केही नपाए ट्युसन पढाएरै भए पनि पढाइलाई निरन्तरता दिने अडान मैले राखेँ । एकसुरले पढ्नकै लागि म काठमाडौं फर्किएको थिएँ । छात्राबास नबसी बाहिर बस्नुको कारण कमाइ र पढाइ दुवैलाई निरन्तरता दिने उद्देश्यसँग गाँसिएको थियो ।

सरकारी जागिर मेरा लागि टाढाको फल साबित भइसकेको थियो । बितेका झन्डै एक दशकदेखि पटक–पटक गरी राजकाज तथा शान्तिसुरक्षा ऐनअन्तर्गत लगभग साढे तीन वर्ष जेल र कस्टडीमा बिताइसकेकाले मैले बुझेको थिएँ– पुलिस रिपोर्टबमोजिम जागिर खान पाइँदैन । त्यसैले सत्ता राजनीतिले मलाई सजिलै गरिखान दिन्छ र चैनले बस्न दिन्छ भन्ने कल्पनामा पनि थिएन । यद्यपि म यस पटक पढाइ पूरा गर्ने मक्सद राखेरै आएको थिएँ । विगतमा धेरै मिहिनेत नगरीकनै इन्टर र ब्याचलर सके पनि मास्टर्सचाहिँ गतिलैसँग पढ्नुपर्छ भन्ने विचारले मेरो मस्तिष्कमा घर गरेको थियो ।

...


लामो केश, बाबाजीका झैं छातीसम्म पुगेको दारीवाल मलाई पुष्प दाइले झन्डै चिन्नुभएन । भन्नुभो, ‘बोलीले मात्रै ठम्याएँ ।’ म पोकापुन्तुरा थन्क्याएर नुहाइ–धुवाइ गर्न चाहन्थें । मेरो कोठामा बाहिरबाट चाबी लगाइएको रहेछ । दाइलाई सोधेँ, ‘चाबी तपाईंकहाँ छोडेको छ केटाले ?’ उनले मुन्टो हल्लाएर ‘होइन’ संकेत गरे । चाबी फोर्नुको अर्को विकल्प थिएन । उनले एउटा हथौडा दिए, मैले चाबी फोरेँ । र, भित्र पस्न कोठाको ढोका ठेलें ।

कोठाभित्रको दृश्य अजिबको थियो । कोठा त पूरै गोलभेंडाको झाङ र माकुराको जालोले कहिल्यै मान्छे नपसेको वनस्पति गार्डेनजस्तो भएछ । गोलभेंडा पाकीवरि भुइँमा झरेर नयाँ–नयाँ बिरुवाहरूले पालुवा हालिरहेका, केही पाकिरहेका, केही काँचा, अचम्मलाग्दो गरी त्यसका हाँगाबिँगा कोठाभरि फैलिएछ ।

भित्री भान्साकोठाबाट लहरा यताभित्रको कोठामा पसेछन् र नयाँ सृष्टि सुरु गरेछन् । मन एकतमासको भो । पुष्प दाइलाई बोलाएँ, देखाएँ । बिस्तारै सोधें, ‘यसो ढोका खोलेर हेर्नुपर्दैन आफ्नो घर ?’ फराकिलो मन भएका दाइ पनि गम्भीर भए । तर, केही जवाफ दिएनन् । मेरो आँखामा गहिरो चिन्ता देखेर होला उनले मलाई माथिल्लो तलाको सानो बैठक कोठामा पुर्‍याए । भाउजूले चिया दिइन् । दाइले भाउजूलाई अह्राउँदै भने, ‘हरिजीलाई पनि यतै खाना बनाउनू है ।’

भाउजूसँग एउटा हँसिया मागें । भुइँ पुछ्ने केही पुराना कपडाका टाला, पाकेका गोलभेंडा र भुइमा जमेको फोहोर जम्मा गर्न चार–पाँचवटा प्लास्टिकका ठूला ब्याग, पानीको बाल्टी लिएर म कोठाभित्र पसेँ । कोठामा एउटा प्लास्टिकको टुलबाहेक केही सद्दे थिएनन् । त्यही टुलमा बसें र पक्राउ परेको दिनको बिहानी मेरो स्मृतिमा निम्नानुसार दोहोरियो ।

...

हरेक दिन बिहान ५ बजे उठ्नेबित्तिकै मेरो पहिलो काम हुन्थ्यो– ताजा तरकारी र दूध लिन जानु, डेरा फर्किएपछि नुहाइ–धुवाइ गर्नु, चिया पिएपछि ६.३० देखि ८.३० सम्म दुई ग्रुपलाई ग्रुपअनुसार अकाउन्ट र क्वान्टिटेटिभ टेक्निक्स (क्युटी), तथा स्ट्याटिस्टिक्स स्षियमा ट्युसन पढाउनु । साढे ९ बजेसम्म खाना खाएर साढे दस बजेदेखि हुने रुटिन क्लास भ्याउन कीर्तिपुर जाने गरेको थिएँ । यसपटक पक्राउ खानुभन्दा दुई महिनाअघिसम्म मसँग दुई जना भतिज बस्थे । एउटा मेरो आफ्नै दाइको छोरा आर्जन थियो, जो विजय मेमोरियल स्कुलमा कक्षा ८ मा पढ्थ्यो । तीन महिनाअघि छुट्टीमा मेघालयको जयन्तिया हिलमा बा–आमा भेटाउन लगेको थिएँ , तर ऊ यता फर्कनै मानेन । अर्को थियो, मेरो गाउँकै आफन्त नाता पर्ने भतिज तुलस कार्की । ऊ ताहाचल क्याम्पसमा बिहान आईएड पढ्थ्यो, मसँगै बस्थ्यो । सानो भतिज हिँडेपछि मलाई अलि बढी कामको बोझ थपिएको थियो । तुलस बढी नै विन्दास थियो । गाउँबाट ऊसँगै हुर्किएका अरू साथीहरू पनि काठमाडौं पढ्न आएका थिए । ऊ कहिलेकाहीँ खबर नगरी हप्ता–पन्ध्र दिन हराउँथ्यो । आधार कमजोर भएर होला पढ्न कम रुचि राख्थ्यो । म उसलाई सम्झाउँथेँ । केही नलागे गाली पनि गर्थें । भरसक ऊ मसँग तर्कन्थ्यो । डेरामा आएका बेला उसलाई बिहानको भाँडा सफा गर्ने र बेलुकीको खाना बनाउने जिम्मा लगाएको थिएँ ।

त्यस दिन बिहान खाना खाइवरी तुलसका लागि हटकेसमा खाना, दाल तरकारी, गोलभेंडाको अचार राखिदिएर, जुठा भाँडा एकै ठाउँ थुपारेर कोठामा साँचो लगाएर निस्किएको थिएँ । कोठाको एउटा साँचो उसैसँग थियो । तर, म पक्राउ परेको ५ दिनपछि मात्रै ऊ डेरा फर्किएछ । ऊ मलाई थुनेर राखेको हनुमानढोका कस्टडीमा पनि आयो । म प्रहरीको कुटाइबाट सख्त घाइते भएको थिएँ । कुटाइले जीउ सुन्निएर लाएका सर्ट–पाइन्टका सिउनी खुस्किएका थिए र रगतका टाटाले कपडा हेर्नै नहुने भएका थिए । मैले उसलाई डेरामा गएर दुई जोर सर्ट–पाइन्ट र दुई जोर भित्री गार्मेन्ट ल्याइदिन आग्रह गरेँ । उसले स्वीकृतिमा मुन्टो हल्लायो । तर, ऊ त्यसपछिको सारा अवधिमा कहिल्यै भेट्न आएन ।

पुष्प दाइले पछि भने, तुलस पाँचौँ दिनमा डेरा फर्किएछ । आफुलाई आवश्यक पर्ने लुगाफाटा र सामान लिएर ऊ निस्कनै लाग्दा पुष्प दाइले उसलाई सोधेछन् । उसले जवाफमा भनेछ, ‘काका पक्डाउ पर्नुभो । म भेटेर आएको । हनुमानढोका थुनामा हुनुहुन्छ । अब कति वर्षलाई थुनिनुपर्ने हो थाहा भएन । तँ अरू साथीहरूसँग एडजस्ट गर् भन्नुभयो । म गाउँका अरू साथीहरूसँग बस्ने गरी तारतम्य मिलाएँ । जान लागेको ।’ अनि कोठामा साँचो लगाएर साँचो जिम्मा नलगाई ऊ निस्किएछ ।

डेरा लिने बेला नवीनसँगको भलाकुसारीको प्रसंग यहाँनिर जोडिन आउँछ । घरबेटीलाई स्थिर किसिमको, भलादमी डेरावाल चाहिएको प्रसंग । नवीनले भनेकै रहेछन्, ‘हाम्रा दाइ भलादमी छन्, तपाईंको भाडा ढिलो, चाँडो तिर्छन् । यहाँ सकेनन् भने घरबाट ल्याएर पनि तिर्छन् । तर, उनलाई कहिलेकाहीँ सरकारले केही महिना, केही वर्षका लागि पाहुना बनाउन लैजान्छ । किनकि लैजाने गरेको छ । यद्यपि फर्किएपछि पनि तपाईंको भाडा पूरै तिर्नेछन् ।’ भतिज हिँड्यो, डेरामा ताला लागेको छ, मेरो फर्कने केही टुंगो छैन । अर्कातर्फ भलादमी घरबेटी सरकारी पाहुना–घरबाट म फर्किनेमा ढुक्क भएर पर्खिरहेका रहेछन् ।

...

कोठाको एउटा भित्तामा ५ दर्जनजति कोर्स र कोर्सबाहिरका किताब राखिएको एउटा कुकाठको दराज थियो । बेतको एउटा कपडा झुन्ड्याउने ह्यांगरमा केही कपडा झुन्डिरहेका थिए । एउटा मध्यम साइजको दरीमाथि राडी ओच्छ्याइएको थियो, राडीमाथि छ जनालाई हुने सानो साइजको भुइँ–टेबल थियो, टेबलबीच एउटा सिसाको ग्लास र त्यसमा केही पेन्सिल, डटपेन र दुई कलम थिए । टेबलवरिपरि ६ वटा चकटी ओच्छ्याइएका थिए । एकातिर भित्तामा एउटा ब्याटरीवाला भित्तेघडी झुन्डिएको थियो । एउटा कुनामा कपडा ओच्छ्याएको एउटा खाट थियो ।

भित्रको कोठाको भित्तामा सानो डोकोमा मेरा दारी काट्नै औजार, ब्रस र मञ्जन खडै थिए । भित्तामा अर्को एउटा खाट । खाट खाली थियो सायद तुलसले आफूलाई चाहिने ओढ्ने–ओच्छ्याउने, कपडा लगेको थियो । अर्को कुनामा किरोसिन स्टोभ, सिल्वर, स्टिलका केही थाल र भाँडा–कुँडा । मैले खाना खाएर जसरी स्टोभमाथि नै जुठा भाँडा खप्ट्याएको थिएँ ती त्यसैगरी खप्टिएकै थिए, तर सबै चुहिने भएछन् । गोलभेंडाको अचार बनाएको भाँडो पानीसहित बीउ चुहिएर कोठाको भुइँमा गोलभेंडाका बोट उम्रिएछन् ।

अहिले कोठाभित्र अचम्मको दृश्य देखिन्थ्यो । कुनै एउटा विद्युतीय प्रयोगशालामा तारको सञ्जाल बिच्छ्याइएजस्तो गरी माकुराले लामा र छोटा, साना, मझौला र ठूला आकारमा जाल बुनेका थिए, गोलभेंडाका झ्याङहरूलाई नाघेर वारपार । ओच्छ्यानमाथि ओच्छ्याएको तन्नामा गोलभेंडा पाकेर, खसेर ठूला–साना गहिरा खाटा बसेका थिए । पढ्ने टेबल र राडी रंगीन देखिन्थे । प्लास्टिकको टुलमा बसेर त्यो दृश्यांकनपछि मैले एक छिन गम खाएँ । सबै जिनिस हात लगाएर छामेँ । सबै सडिसकेका थिए । कुनै पनि वस्तु काम लाग्ने थिएनन्, किताबसमेत । आल्मुनियमको बाक्सामा थुनिएका कपडासमेत पुनर्प्रयोगमा ल्याउन सकिने हालतमा थिएनन् । ती सबै कसिंगर भएका थिए र फाल्नुको विकल्प थिएन । तर, सानो डालोको एक डालो जति गोलभेंडा भने अचार खान काम लाग्यो ।

ग्याविन–वाइरका मजदुर साथीहरूले गोलभेंडाको झ्याङलगायत कवाडी भएका सामान फाल्न सहयोग गर्दै थिए, त्यही बेला कवि श्यामल दैलेखी मित्र मानबहादुर केसीलाई लिएर अकस्मात् झुल्किए । म छुटेको खबर सुनेर भेट्न आएका रहेछन् । म भने असिनपरिन भएर गोलभेंडाका बोट सफाइ–अभियानमा जुटेको थिएँ । छोटो भलाकुसारीपछि म छुटेकोमा बधाई दिँदै उनीहरू निस्किए । म पुनः त्यही अभियानमा लागेँ । भाउजूले पोतो दिइन् लिप्न । मैले सीप लगाएर दुईवटै कोठा सिनित्त पारेर लिपेँ । कोठामा हावा छिर्न सबै झ्याल–ढोका खोलियो । भित्तामा लागेका लेघ्राबाहेक ५–६ घण्टामै दुवै कोठा सफा देखिए ।

...

झन्डै दिउसो १ बजेतिर दाइ–भाउजूकै भान्साको खाना खायौं हामीले । खानापछि मैले पुष्प दाइसँग सानो आग्रह गर्नु बेस होला भन्ने ठानें, ‘दाइलाई एकछिन फुर्सद छ भने म सानो अनुरोध गर्न चाहन्छु ।’

मुस्कुराउँदै मस्ताना लवजमा उनले भने, ‘खुलेर भन्नुस् न ।’

‘दाइ मैले तपाईंलाई तिर्नुपर्ने ठ्याक्कै रु. १२ हजार भएको छ (महिनाको ५ सयका दरले २४ महिनाको घरभाडाको हिसाब) । मसँग गोजीमा जम्मा ४ रुपैयाँ मात्र छ । मसँग न घर पुग्ने खर्च छ, न यहाँ मलाई त्यत्रो रकम पत्याउने साथीभाइ नै छन् । बाटो खर्च पाए पनि म यतिबेला १५ दिन आउन, जान लगाएर घर जान सक्दिनँ । घरमा पनि त्यत्ति ठूलो रकमको जोगाड नहुन सक्छ । अर्कोतर्फ मेरो एमए दोस्रो वर्षको फाइनल परीक्षा जेठको दोस्रो हप्तादेखि नै छ । दाइले पत्याउनुहुन्छ भने मलाई थप १५ हजार रुपैयाँ सापटी थपिदिनुस् । परीक्षा सकिएपछि कमाएर तिर्छु । तिर्न बाँकी रहेछ भने दसैंमा घर गएर फर्केपछि तिर्छु ।’

१२ हजार माथि १५ हजार थप्ने निकै अप्ठ्यारो प्रस्ताव थियो । आफूबाहेक धरौटी राख्ने अर्को कुनै जिनिस मसँग थिएन । मलाई थप रकम दिनुका अरू थप जोखिम थिए । सरकारलाई सनक चलेको खण्डमा म कुनै पनि बेला सरकारी पाहुना बनाएर कस्टडी लगिन सक्थेँ । मेरो कमाइ–धमाइ हुने कुनै स्थायी आयस्रोतको धन्दा पनि थिएन । दूरदराजको मान्छे । मित्र नवीनबाहेक मेरा घरका मानिससँग कुनै चिनजानी पनि थिएन । त्यो पनि राजनीतिक प्राणी भएकाले काम कम, गफ ज्यादा हुने सम्भावना बढी नै थियो ।

यी सम्भावनाका बावजुद पुष्प दाइले मलाई एकछिन घोरिएर हेरे । उनको अनुहारमा कुनै सकस वा विष्मय थिएन । अनि भने, ‘के के किन्ने हो लिस्ट बनाउँदै गर्नुस् । १५ मिनट मलाई पर्खनुस् ।’ यत्ति भनेर निस्किए । गोलभेंडाको झ्याङको ओझेलमा माकुराको जालोमा अल्झिन पुगेको मेरो स्नातकोत्तर दोस्रो वर्षको पढाइ र परीक्षा दुवैले राहत पाएको मैले महसुस गरेँ । शान्ति र चैनको श्वास फेरेँ ।

मैले कागज, कपीदेखि दालचामल, तरकारी किन्नु नै थियो । ओढ्ने, ओच्छ्याउनेदेखि केही लगाउने कपडासम्म । ग्यालन मट्टीतेल, स्टोभदेखि एकसरो भाँडाकुँडा, भुइँ टेबलदेखि चकटीहरूसम्मको लिस्ट तयार पारेँ । भाउजूलाई देखाएँ । छुटपुट उनले थपिदिइन् । नभन्दै दाइ १५ मिनटभित्रै पैसाको मुठो लिएर आए । मुठोबाट झिकेर पैसा मेरो हातमा थमाउँदै छोरा किशोरसँग मलाई किनमेलमा सघाउन अह्राए । कामचलाउ सामान खरिद गर्न पैसा पुगेर पनि रु. ५ सय मसँग बचत रहन पुग्यो । त्यो दिन शुक्रबार त थिएन, तर दाइ–भाउजूले त्यो दिनलाई विशेष बनाइदिए । म अभागी हुनबाट बचेको मात्रै थिइनँ, भाग्यशाली बन्न पुगेको थिएँ । उपभोक्तावादी व्यक्तिवाद बिस्तारै व्याप्त हुँदै गइरहेको समाजमा मैले ऐन मौकामा यस्तो ठूलो सहयोग र सद्भाव प्राप्त गरेको थिएँ, जो अमूल्य थियो । लोभ–लालचरहित, कुनैखाले प्राप्तिको आशा नगरी गरिएको त्यो सद्भाव र विश्वास मेरो जीवनमा पहिलो पुरस्कार थियो, नोबेल पुरस्कारभन्दा ठूलो ।

...

माथि उल्लेख गरिएझैं म राम्रो पढ्न चाहन्थें । मलाई पढाइको भोक जागेको थियो । म नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनसँग आबद्ध थिएँ । मैले संगठनका पदाधिकारीहरूलाई पनि आगामी दुई वर्ष मलाई सांगठनिक जिम्मेवारीको भारी नबोकाउन आग्रह गरेको थिएँ । मसँग दुई जना फुच्चेहरू आश्रित भएर पढ्न आएका थिए । मैले काम गर्दै पढ्नुपर्ने अवस्था थियो । तर, रोजगारीको अवसर अहिलेभन्दा पनि कम थियो उपत्यकामा । बिहान–बेलुका ट्युसन गरेर जेनतेन काम चलिरहेको थियो । तर, चैत २ गते, २०३९ मा त्यो धागो चुँडियो ।

संसाझैं म क्लास सकिएपछि केन्द्रीय पुस्तकालयमा ४ः३० बजेसम्म बसेर ४ः४५ को बसवाट सहर फर्कन्थें । रत्नपार्क पुग्नेबित्तिकै बसमा घेरा हालियो र मलाई घिसार्दै प्रदर्शनीमार्गमा अवस्थित पुलिस क्लब लगियो । सूचना टाँस गरिएको आतंकवादीजस्तै कुनै सोधपुछै नगरी घेरा हालियो । दंगा प्रहरीका इन्स्पेक्टरतर्फ मुख फर्काएर ‘के कसुरमा पकड्नुभा हो ?’ भनेर सोध्नासाथ ममाथि लाठी लगाइयो, मुक्का बर्साइयो । मूर्च्छा परेपछि प्रहरीले अस्पताल लगेछ । होस आएपछि दुईतीनवटा थाना घुमाएर पाँचौं दिन हनुमानढोका पुर्‍याइयो । नाम हनुमानढोका, तर त्यहाँ थुनिनु भनेको वैतरणी नामक नरक अवतरण गरिनुजस्तै हुन्थ्यो । प्रहरीले दुई पटक अञ्चलाधीश कार्यालय पुर्‍याए । त्रि–चन्द्र कलेजमा आगजनी गर्न खोजेको र प्रहरी इन्स्पेक्टरलाई सख्त घाइते तुल्याएको अभियोग लगाइयो, जुन ठाउँ र वारदातमा म सशरीर उपस्थित नै थिइनँ ।

त्यहाँ वाद–विवाद गर्नुको कुनै अर्थ थिएन । कसलाई, कसरी र कुन अभियोगमा थुन्ने भन्नेवारे अगाडि नै सायद तय गरिन्थ्यो । सायद यस्तो कुरामा अञ्चलाधीशको पनि आफ्नो पहुँचको विषय हुन्थेन । यद्यपि बागमती अञ्लाधीशको एकल इजलासले मलाई माथि उल्लिखित कसुरमा, २०३९ चैत ११ गते दिउसो ३ बजे २ वर्ष नजरबन्द कारावास सजायसाथै रु. २ हजार जरिवाना घोषणा गरे, जो अपेक्षित थियो ।

...

जेठमा दिएको परीक्षाफल असारको दोस्रो हप्तामै प्रकाशित भयो । जाँच दिएका विषयहरूमा डिस्टिङ्सन नै हासिल भएछ । तर, अझै थेसिस लेखन र राष्ट्रिय विकास सेवा (राविसे) फर्मालिटी पूरा गर्ने अभिभारा बाँकी थियो । पुष्प जोशी दाइको सहृदयिताले मलाई यो शिखर चुम्ने अवसर मिलेको थियो । दाइ र उनको परिवारप्रति हार्दिक कृतज्ञता, मलाइैझैं सबैलाई यस्तै सहृदयी घरबेटी प्राप्त हुन् ।

प्रकाशित : कार्तिक ५, २०८० ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?