कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

गाउँ नभएको मान्छेको बयान

आम नेपालीको पहिचानसँग अमिट रूपमा गाउँ किन जोडिएको हुन्छ ? के गाउँबिनाका नेपाली छैनन् ? काठमाडौं देशको राजधानी बनेपछि यसको निर्माण, विस्तारको इतिहासले यो प्रश्न सान्दर्भिक भएको हो ? यो राजनीतिक प्रश्न हो कि सामाजिक ?
सुरेश ढकाल

तपाईं गाउँ नजाने ?
दसैंको रौनक सुरु भएसँगै मान्छेहरूमा बेग्लै उमंग छाउँछ । शारदी बतासमा फैलिएको मौसमी फूलको सुवास र मालश्री धुनको संगमले मानौं वातावरणमा मादकता सृजना गर्छ । मन–मस्तिष्कलाई लठ्ठ पार्ने जादु हुन्छ त्यस्तो मादकतामा । प्रकृति र संस्कृतिको यस्तो अनुपम मिलाप सायदै अन्य समयमा जुर्छ ।

गाउँ नभएको मान्छेको बयान

जसले दसैंलाई मुख्य या सहायक चाडका रूपमा मनाउँछन्, उनीहरूले दसैंसँग गाँसिएका अनेकन् सुखद अनुभव सँगालेकै हुन्छन् । खासगरी बाल्यकालको दसैंको प्रिय स्मृति धेरैको मस्तिष्कमा कुँदिएको हुन्छ । मेरा पनि छन्, तर अहिले यहाँ दसैंको सन्दर्भसगैं जोडिएर आउने एउटा बेग्लै प्रसंगको चर्चा गरौं ।

हरेक वर्षजसो दसैंको चहलपहल सुरु भएपछि म एउटा नियमित प्रश्न बेहोर्ने गर्छु, ‘यस पटक दसैंमा गाउँ नजाने ?’

त्यसै मूल प्रश्नको साथ लागेर आउने अरू एकाध पुच्छ्रे प्रश्न पनि हुन्छन्, जस्तै,

‘गाउँ जाने टिकट लिनु भयो त ?’

‘कहिले जाने ?’

‘सबै जना जाने कि तपाईं मात्रै ?’

र, यस्तै यस्तै अन्य प्रश्नहरू ।

मानौं गाउँ नहुने वा गाउँ नजानेको दसैं नै हुँदैन ।

प्रश्नहरूको दोस्रो शृंखला सुरु हुन्छ दसैं पछि ।

‘गाउँबाट कहिले आउनुभो ?’

जवाफमा केही विलम्ब भए, सहायक प्रश्न तयार भएर बसेका हुन्छन् सोधिनका लागि,

‘कि तपाईं यसपालि गाउँ जानुभएन ?’

‘यसपाला टीका थिएन ?’ इत्यादि ।

काठमाडौंले यस्तो प्रश्न धेरैलाई सोध्छ । प्रश्न काठमाडौंका रैथाने ठानिनेले पनि सोध्छन् र काठमाडौंले बाहिरिया ठान्नेले पनि । मानौं यो काठमाडौंको स्थायी प्रश्न हो । मैले शृंखलाबद्ध रूपमा यस्ता प्रश्न बेहोरेको छु । सायद तपाईंले पनि ।

...

म स्थानीय विद्यालयमै पढ्थें, त्यसैले मेरा साथीहरूलार्ई थाहा थियो कि दसैंमा मेरो जानुपर्ने कुनै गाउँ छैन भन्ने । विद्यालय छँदा तसर्थ यस्तो कुनै प्रश्न बेहोर्नुपरेन । जव कलेज जीवन सुरु भयो, चालीसको दशकको सुरुवातसँगै, त्यसयताका करिब एक दशकको विद्यार्थी जीवन र त्यसपछिको व्यावसायिक जीवन, दसैंको वार–पार सोधिने यी प्रश्नबाट मुक्त हुन सकेको छैन । मानौं ती स्थायी र अनिवार्य प्रश्न हुन्, प्रत्येक वर्ष सोधिनु नै पर्छ । विद्यार्थी छँदा साथीहरूका अतिरिक्त शिक्षकहरूले सोध्थे, अहिले विद्यार्थीहरूले पनि । मानौं यी जीवनका लागि महत्त्वपूर्ण प्रश्न हुन् जुनबिना जीवन अपूर्णै रहन्छ । मानौं यस्तो प्रश्न गर्नु दसैंको एक अभिन्न परम्परागत रिवाज हो ।

यद्यपि यी प्रश्न सामान्य हुन् । तर, मलाई सामान्यजस्ता लाग्ने यिनै प्रश्नले गाउँविहीन हुनुको यथार्थ अनुभूत गराइरहन्छ प्रत्येक वर्ष । मलाई यी प्रश्नले कम्तीमा पनि वर्षको दुईपटक ‘तँ गाउँविहीन होस्’ भन्ने चेतावनीयुक्त जानकारी गराउँछ । पृष्ठभागमा भने ‘काठमाडौं तेरो होइन, काठमाडौंले तँलाई आफ्नो ठान्दैन’ भन्ने लाक्षणिक भाव प्रतिध्वनित भइरहेको महसुस हुन्छ । यस्तो अनुभव कहिलेकाहीँ पीडादायी पनि हुन्छ ।

ती प्रश्नले मलाई पनि केही प्रश्न सोध्न उत्सुक र बाध्य बनाउँछन् । जस्तो कि,

– आम नेपालीको पहिचानसँग यसरी अमिट रूपमा गाउँ किन जोडिएको हुन्छ ?

– के गाउँबिनाका नेपाली हुँदैनन् ?

– काठमाडौं देशको राजधानीको रूपमा स्थापित भएपछि यसको निर्माण, विस्तारको इतिहासका कारण यो प्रश्न सान्दर्भिक भएको हो ?

– यो राजनीतिक प्रश्न हो वा सामाजिक ?

हो, यी प्रश्नका अनेकन् आयाम छन् । मेरा लागि यो ‘सोसियोलिजकल प्रोब्लम्याटिक हो’, आखिर गाउँ के हो ? भन्ने प्रश्न । एउटा विद्यावारिधिको शोधपत्र नै तयार हुन सक्छ यदि व्यवस्थित रूपमा यस्ता प्रश्नको उत्तर खोज्दै जाने हो भने ।

‘तपाईं यसपालि गाउँ नजाने ?’ तसर्थ यो सामान्य प्रश्न मात्रै होइन ।

गाउँ आखिर हो के ?

भनिन्थ्यो, नेपाल गाउँ नै गाउँको देश हो । यो यथार्थ थियो । तर, समकालीन जानसांख्यिक वितरण र प्रशासनिक प्रबन्धका आधारमा अब नेपाल गाउँ नै गाउँको देश रहेन । गाउँ जब नगर, महानगर बन्न थाल्छ, तब गाउँ बिलाउँदै जान्छन् । हालको सवैंधानिक व्यवस्थाअनुसारको ७५३ स्थानीय सरकारमध्ये ४६० अर्थात् ६० प्रतिशतभन्दा बढी गाउँपालिका छन्, तर जनसंख्याका आधारमा हेर्दा करिव एकतिहाइ जनसंख्या मात्रै गाउँपालिकामा बस्छन् । यसले बताउने तथ्य के हो भने जानुपर्ने गाउँ पनि धेरै छन् र गाउँ जानुपर्ने अर्थात् नगर/सहरमा बसेका मान्छे पनि धेरै छन् । यी तथ्यांकले त्यसैले पनि ‘तपाईं यसपालि दसैंमा गाउँ नजाने ?’ भन्ने प्रश्नको अन्तर्य बुझ्न सहयोग गर्छन् ।

गाउँको सन्दर्भ र सामयिकी भने गाउँमा जनसंख्या घटेसरि सकिएको छैन । गाउँ भौतिक अवयवमा सकिएजसरी सामाजिक विशेषता र काल्पनिकीमा सकिएको छैन । लामो समयसम्म सकिँदैन पनि । यद्यपि जब हामी गाउँको कुरा गर्छौ, गाउँ के हो ? भन्ने सामान्य प्रश्नको सहज जवाफ भने नभेटिन सक्छ ।

गाउँ निश्चित परिधि भएको भूगोल हो कि निश्चित भूगोलमा बसोबास गर्नेहरूको एतिहासिक निरन्तरता ? वा यसले कुनै एक बस्तीलाई बुझाउँछ ? गाउँ सामूहिक कल्पनाशीलता हो कि सामाजिक मनोरचना ? वा गाउँ एक सामाजिक एकाइ हो ? गाउँ भन्नु कुनै एक बस्तीको चिनारी हो कि एक प्रशासनिक एकाइ (जस्तै गाउँपालिका) ? यसरी गाउँ के हो ? भन्ने सरल प्रश्नको मूर्त जवाफ पनि होलान् र भावप्रधान अमूर्त जवाफ पनि । यी प्रश्नहरूले गाउँका विशेषता, संरचना र संस्थाहरूले कसरी काम गर्छन् भन्नेजस्ता तुलनात्मक रूपले जटिल प्रश्नतिर पनि हामीलाई धकेलिरहेको हुन्छ ।

अमेरिकी मानवशास्त्री रोबर्ट रेडफिल्ड मेक्सिकोका आदिवासीहरूको गाउँको अध्ययनका आधारमा गाउँलाई अल्प–समुदाय भन्ने गर्थे, जहाँ समरूपता हुन्छ, ठूला समुदायमा जस्तो विभिन्नता हुँदैन र सामुदायिक कार्यमा समुदायका सबै सक्रियतापूर्वक सहभागी हुन्छन् । उनको चरित्र चित्रणअनुसार गाउँमा एकआपसमा निकटता हुन्छ, प्रत्येकले एकअर्कालाई चिन्छन् र तिनले ऐक्यबद्धता कायम राखेका हुन्छन् । एकअर्काप्रति तटस्थ रहँदैनन् बरु भावनात्मक रूपमा गाँसिएका हुन्छन्, एकअर्काका दुःखमा दुःखी हुने र खुसीमा रमाउने गर्छन् । उनीहरूको सीमित आवश्यकता हुन्छ, त्यसैले आत्मनिर्भर पनि हुन्छन् ।

नेपालका गाउँलाई पनि तिनै विशेषताका आधारमा परिभाषित गर्न वा बुझ्न सकिन्छ त ?

मैले बाँचेको गाउँ

म काठमाडौंको त्यो ठाउँमा जन्मे–हुर्कें, जहाँ गाउँका अनेक विशेषता जीवित थिए । आज महानगर बनेको मेरो गाउँ पानीे भण्डारणको छिमेकमा रहेर पनि खाने पानीका लागि काकाकुल–तडप भोगिरहन्छ । म हुर्कंदै गर्दा हाम्रो घरको चार–पाँच मिनेटको दूरीमा चारैतिर ढुंगेधारा थिए र केही कुवाहरू पनि– खाइटाको धारा, ज्ञानमती धारा, सान्धारा, दक्षिणपट्टिको कुवा, पश्चिमपट्टिको कुवा, आदि । हामीलाई छनोट गर्ने अवसर थियो, कुन मूलको पानी खाने ?

प्रत्येक वर्ष दसैंको आगमनसँगै वर्षाले बिगारेका बाटोघाटोका साथै पानीका मुहान सफा गरिन्थ्यो । पानीको मुहानसम्म जाने बाटोको मर्मत गरिन्थ्यो । स्वस्फूर्त रूपमा गाउँलेहरू भेला हुन्थे, सल्लाह गर्थे र मर्मतसम्भार गर्थे । हामी साना केटाकेटी पनि ठूलाको सिको गर्दै श्रमदानमा सहभागी हुन्थ्यौं । कसैको अदूरदर्शी सोचका कारण पुरिएको खहरे खोलो, जुन अहिले महानगरको लहडले गर्दा चर्चामा छ, त्यसको एक खण्डलाई ढुंगेन भनिन्थ्यो, त्यहाँ रहेको सानो ढिस्को खास गरी वरिपरिका तामाङहरूको चिहान पनि थियो, जसमाथि आज घरहरू बनेका छन् । र, त्यही ठाउँको आसपास आजको तेन्जिङ चोक कहलाइन्छ । त्यही ढुंगेन हो, जहाँबाट हामी कुवा, धारा मर्मत गर्न र पहुँचमार्ग निर्माण गर्न चाहिने ढुंगा ओसार्थ्यौ । सामूहिकताको अब्बल नमुना थियो मेरो गाउँ । मेरा लागि गाउँले हुनुको प्रथम परिचय त्यही थियो ।

दसैंको संघारमा प्रत्येकजसोको घरमा चिउरा कुटिन्थ्यो, त्यो पनि आफ्नै बारीको घैया–धानको । स्मृतिमा ताजै छ, ओखलमा चिउरा कुट्दा आउने आवाज र चिउराको महकिलो बासनासँगै ब्युझिन्थ्यौं हामी । चिउरा कुट्ने काममा छरछिमेककै सघाउपघाउ हुन्थ्यो । मानौ सिगों गाउँ एउटा बृहत् सहकारी परिवार थियो । प्रायः घरमा जागिरे पनि थिए, तर अधिकांश खेती–किसानी पनि गर्थे । खेतीपातीको मुख्य काम अर्म–पर्मले चल्थ्यो । सामुदायिक–सांस्कृतिक पहलले गाउँलाई जीवन्त बनाएको हुन्थ्यो । पाका पुस्ता नाटक तयार पार्थे दसैंको आसपास प्रदर्शनका लागि । मैले समेत किशोर बयमा एक–दुई यस्ता नाटकमा अभिनय गरेको थिएँ । परपरबाट समेत मानिसहरू आउँथे यस्तो नाटक हेर्न । गाउँको पहिचानजस्तै बनेको थियो यस्तो सांस्कृतिक पहल ।

गाउँमा बेग्लै रौनक थियो त्यस समय । हाम्रो गाउँको त्यो रौनक निख्रिन धेरै समय लागेन र गाउँ गाउँजस्तो रहेन । गाउँले हुनुको त्यो मजा अब कहाँ ! हुन त हामी अक्सर के कुरा बिर्सन्छौं भने कुनै पनि सहर त के महानगर पनि गाउँको बाटो हुँदै नै यहाँसम्म आइपुगेको हो ।

यसरी क्रमशः मक्किँदै गएर करिब करिब गाउँको अस्तित्व पूरै गुमाएको गाउँको कथा पनि मैले मेरै गाउँ सँगै हुर्केर जानेको हुँ ।

मैले देखेको गाउँ

विसं २०४० को मध्यदेखि नै निरन्तर रूपमा शोधार्थी, अनुसन्धानकर्ता, परामर्शदाताका रूपमा र कहिलेकाहीँ रहर र लहडले म गाउँहरू पुगेको छु । मेचीदेखि महाकालीसम्मका ७२ भन्दा बढी जिल्लाका हिमाल, पहाड र मधेसका कैयौं गाउँ देखेको छु । मानवशास्त्रको विद्यार्थी भएकै कारण पनि होला म गाउँ भन्नेबित्तिकै गाउँले मान्छेहरू र तिनका दैनन्दिनी सम्झन्छु, न कि ग्रामीणको अर्थ दिने भौगोलिक अवस्थिति । यिनै अनुभवका आधारमा गाउँको एउटा प्रभाव छ मभित्र । तिनै पछिल्ला वर्षहरूमा घुमेका, देखेका गाउँ नै मेरा लागि गाउँ बुझ्ने पाठशाला थिए ।

गाउँबारे एउटा आम स्थिर–चित्र बनेको हुन्छ– गाउँको वातावरण स्वच्छ हुन्छ, गाउँलेहरू सहृदयी– सहयोगी हुन्छन्, अधिकांश परिवार खेती–किसान गर्छन् र ताजा खान पाउँछन् । गाउँलेहरूमा सहकारिताको भाव प्रबल हुन्छ, मर्दापर्दा एकापसमा सहयोग गर्छन् । नाताप्रणाली कसिलो हुन्छ, यहाँसम्म कि गाउँमा एकले अर्कोलाई कुनै न कुनै नाता गाँसेरै बोलाउँछन्, एकआपसमा सम्बन्धित देखाउँछन् । अनेकन् सांस्कृतिक लोक–परम्परालाई निरन्तरता दिइरहेका गाउँलेले आफ्नै जीवन पनि लोकलयमा धानिरहेका हुन्छन् । जिउन कठिन हुन्छ, तर हाँसी–खुसी नै रहन्छन् । हो यदि तपाईंका मनमा पनि गाउँको यस्तै केही चित्र छन् भने त्यो गलत छैन ।

गाउँको अर्को परिचय थियो– कृषि पेसाको प्राधान्यता र जीवन निर्वाहको आधार, जहाँ अधिकांश गाउँले आफ्ना पेसाप्रति गर्व गर्थे । उनीहरूका लागि कृषि पेसाभन्दा बढी जीवन पद्धति थियो । पूर्वी पहाडबाट मधेश झरेका एक किसानले मेरो अनुसन्धानका क्रममा सुनाएका थिए, ‘हामी स्वतन्त्र र स्वावलम्बी जीवन जिउनेका लागि किसानी नै ठीक छ । किसानीमै स्वतन्त्रता हुन्छ, यसैमा रमाउन सक्छौं । जागिरमा बाँधिने त कल्पना पनि गर्न सक्दैनौं । हामी जसोतसो दुई छाक खान पाउँदा खुसी हुने मान्छे हौं, यसैमा रमाउँछौं ।’

आखिर के जादु छ गाउँले जीवनमा, जसले भौतिक अभावमा पनि खुसी हुन सिकाउँछ ?

पश्चिम सेती गढतिरका एक प्रौढ दम्पतीले छोराछोरी मधेश झरिसक्दा पनि अनकण्टार भीरपाखाको आफ्नो थलो छोड्न चाहेका थिएनन् । जब उनीहरूलाई सोधियो त्यस दुर्गमको थलो नछोड्नुको कारण, जवाफ साधारण तर अर्थपूर्ण थियो, ‘सहरमा जति नै सुख भए पनि यहाँको जस्तो स्वच्छ हावा त्यहाँ त पाइँदैन नि ।’

के छ आखिर गाउँको हावामा त्यस्तो विशेषता, जुन अन्यत्रको हावामा पाइँदैन ?

सायद यस्तै कुनै कारणले होला केही समाजशास्त्री ठान्छन्– गाउँलेहरू सरल तर बुद्धु हुन्छन्, उनीहरू भविष्यमुखी हुँदैनन्, सञ्चय गर्न जान्दैनन्, आफ्नै श्रमको उचित ज्यालासमेत माग्न सक्दैनन्, राजनीतिक रूपमा असचेत हुन्छन्, आफू शोषित भएको समेत थाहा पउँदैनन् आदि । तर, उनीहरूको सरलपना, अनभिज्ञता र नादानीपनको आधारमा गाउँबारे सरलीकृत धारणा बनाउनु हिजो पनि सही थिएन र आज पनि । यो पनि उत्तिकै साँचो हो, जातप्रथाका आधारमा हुने भेदभावले जकडिएको छ गाउँ । स्रोतको असमान वितरण र जजमानी प्रथाका कारण आर्थिक–सामाजिक रूपमा असमानता र शोषण पनि झांगिएको छ गाउँमा । लैंगिक विभेद पनि चरम छ ।

यद्यपि गाउँको कथाको अर्को महत्त्वपूर्ण पाटो पनि छ– विभेदविरुद्धको प्रतिरोध र विद्रोहको इतिहास । तसर्थ गाउँ कुनै एक–आयामिक चित्रजस्तो छैन । मैले देखेका गाउँहरू उस्तै–उस्तै विशेषताका छन्, तर एकैखाले छैनन् । ती न कविको रुमानी कल्पनामा जस्तो सुन्दर र निश्चल थिए न नाफाका लागि मरिहत्ते गर्ने पुँजीवादी धरापमा फसेको सहरजस्तो निर्दयी । केही खास सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विशेषताका आधारमा भन्दा नेपाली गाउँहरू विशिष्ट थिए । त्यस्ता विशिष्टताका आधारमा नेपालका धेरै गाउँका केही समान चरित्र थिए भन्न सकिन्छ ।

गाउँसँगै हराउँदै हामी र हाम्रो

बाजेले खोस्रेको पाखोबारी र बाउले जोडेको बेंसी खेत बेचेर दूरदराजको काठमाडौं हानिन्छ, भविष्य बनाउन भन्दै सुदूर गाउँबाट एउटा भावुक केटो । काठमाडैंको अनकण्टार भूगोलमा, अपरिचित भागदौडको बेफुर्सदिलो जिन्दगी जिउनेहरूबीच उसले आफूलाई एक्लो पाउँछ । अनि सहरलाई गुनासो गर्दै रुमानी कविता लेख्छ– गाउँको सौन्दर्यबारे, गाउँले स्नेहबारे । धेरैले आफूलाई सम्बन्धित गराएर हेर्दा हुन्, आखिर उनीहरूको अनुभव पनि त उस्तै थियो होला ।

तर, न त ऊ गाउँ फर्किन सक्छ किनकि उसले गाउँ छोडेर आउँदा तरी आएका जंघारहरू आफैंले भत्काउँदै–भत्काउँदै आएको थियो । न त उसको कविताले गाउँका ती प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई जोगाउन सक्छ । गाउँ छोडेकाले पाउने धेरै कुरा हुन्छ, तर प्राप्तिभन्दा धेरै उसले गुमाएको हुन्छ, जसले उसलाई जीवनभर अभावको पीडा महसुस गराइरहन्छ ।

...

मैले थोरै बाँचेको र धेरै देखेको आधारमा भन्दा गाउँ नासिनु भनेको संस्कृतिको बृहत् सामाजिक भावभूमि पनि मासिनु हो ।

स्नातकोत्तरको शोध कार्यका लागि म पूर्वी नवलपरासीको एक पहाडी गाउँ पुगेको थिएँ । त्यो एक विशिष्ट मगर गाउँ थियो । कहिले कावासोती या आरुङखोलातिरबाट त कहिले तनहुँको खैरेनीटार वा भिमादबाट अनेक पटक हिँडेर पुगेको त्यो एक विकट गाउँ थियो । त्यसयताका तीन दशकको अवधिमा म पटक–पटक पुगेको छु त्यस गाउँ । अहिले सामान्य गाडीमा मुख्य राजमार्ग छोडेको केही घण्टामै सहजै पुगिन्छ । यसपटकको माघेसंक्रान्ति मैले त्यसै गाउँमा मनाएँ, जहाँ म तिन दशकअघि अल्लारे ठिटोका रूपमा पुगेको थिएँ एक शोधार्थी भएर । त्यो एक नियमित आकस्मिकता थियो ।

मगर गाउँमा माघेसंक्रान्ति एउटा छुट्टै रौनक लिएर आउने गर्छ, जसरी कुनै अर्को पहाडी गउँमा दसैं । मैले गाउँमा उही पुरानो आतिथ्य र स्नेह पाएँ । तर, धेरै विषय नयाँ पनि पाएँ । गाउँमा त्यतिबेला कल्पनासमेत गर्न नसकिने परिवर्तन साक्षात्कार गर्न पाएँ । गाउँलेहरू नै भन्छन् यति छिटो गाउँको तौरतरिका फेरिएला भन्ने उनीहरूलाई पनि लागेको थिएन । महाभारतका अग्ला शृंखला र अनेक कठिन जंघार तर्दै र बाटोमा बास बस्दै सुँठीका भारी बोकेर आरुङखोला झर्नुपर्ने बाध्यता भएका आमाबाबुका सन्तान अहिले जापान, कोरिया वा साउदीबाट फर्किरहेका भेटिन्छन्, जो कालीगण्डकी करिडर, कोराला–सुस्ता राजमार्ग वा अन्य पहुँचमार्ग हुँदै घरको दैलामा गाडीबाट ओर्लन्छन् र ‘लगेज’ झार्छन् । म अनुसन्धानको क्रममा रहँदा आश्रय दिने होस्ट परिवारकी मेरी निरक्षर मै (आमा) जापानमा रहेका आफ्ना दुई छोरीसँग ग्रुप भिडियो–च्याट गरिरहेको दृश्य मेरा लागि अद्भुत थियो, म अकल्पनीय परिवर्तन साक्षात्कार गरिरहेको थिएँ । जब उनले ‘ल डाजे (दाइ) सँग कुरा गर’ भनेर मलाई मोबाइल थमाइन्, त्यो क्षण म भावुक बनेको थिएँ, आँखा रसाएका थिए स्मृतिदंशका कारण । समयको कस्तो फड्को !

नफेरिएको एउटा दृश्य स्थानीय सार्वजनिक विद्यालयको थियो । मेरा मित्र खिमबहादुर ठाडा, जो त्यतिबेला त्यसै विद्यालयका शिक्षक थिए अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् । उनी चिन्तित छन्– त्यसै विद्यालयमा पढ्ने उनको छोरा अहिले कोरियामा छ, तर त्यो विद्यालयलाई नातिसमेतले पढ्न सक्ने कसरी बनाउने होला ?

यो एउटा गाउँको कथा होइन । पछिल्ला तीन दशकमा मैले देखेका गाउँहरूमा आएका परिवर्तनमा धेरै समानता छ । धेरै गाउँ मोटरबाटोसँग जोडिएका छन्, घरहरू पक्की बनेका छन्, युवा पुस्ताको ठूलो हिस्सा गाउँबाट बिलाएको छ, खास गरी कमाइ गर्न विदेश गएका छन् ती । पछिल्लो जनगणना अनुसार, २१ लाख मानिस बिदेसिएका छन् । तर, त्यस तथ्यांक वास्तविक संख्याभन्दा निकै कम हो भन्ने तथ्य सार्वजनिक भएका छन्, जसअनुसार अुनमानित ५० लाख मानिस यतिबेला मुलुकबाहिर छन् । सरकारी जानकारीअनुसार नै पनि विश्वका १७२ मुलुकमा ती छरिएका छन् । अन्तर्राष्ट्रिय श्रम आप्रवासनमा जानेहरूका कारण परिवारका अन्य सदस्य गाउँ छोडेर सहरतिर सर्ने आन्तरिक बसाइँसराइको गति पनि दोब्बर बढेको छ । यसरी काम गर्ने उमेरका यति ठूलो संख्या गाउँबाट बाहिरिँदा यसको बहुल असर पर्ने नै भयो, जसले गाउँको आर्थिक, सामाजिक, राजनीतिक, जानसांख्यिक चित्र नै फेरबदल गरिदिएको छ ।

विभिन्न अध्ययनका अनुमान अनुसार, मध्यपहाडी जिल्लाहरूमा एकतिहाइदेखि आधा जमिन बाँझो बसेका छन् । तथापि गाउँमा हिजोजस्तो खानेकुराको आपत् छैन, गाउँमा रेमिट्यान्स भित्रिएको छ र सँगै बजार पनि छिरेको छ । टेलिभिजन घरघरमा र मोबाइल फोन हातहातमा आम दृश्य बनेको छ ।

गाउँमा रोदी बस्दैन आजकल, झाम्रे गाउने युवायुवती नै पाउन मुस्किल छ । सोरठी गाउने, घाटु, कौह्रा नाच्नेहरू पाउन हम्मे पर्ने नै भयो । ग्रामीण मनोरञ्जनको लोकपरम्परा मृतप्रायः भइसक्यो । त्यसैले गाउँको स्वाद र सौन्दर्य हराएको छ । गाउँको चित्र बदलिइसकेको छ । पुर्खाको थातथलो कुरेर जे जति बाँकी छ तिनलाई सन्तानका लागि जोगाइदिएर बसेजस्ता लाग्ने वृद्धवृद्धा मात्रै भेटिन्छन् गाउँतिर आजकल ।

कुनै दिन गुँड छोडेर उडेका बचेराहरू उडानबाट थाकेपछि गुँड सम्झेर एक दिन त फर्केलान् भन्ने भावमा जीर्ण भइसकेको शरीर उस्तै जीर्ण भइसकेको पिँढीको थाममा अड्याएर बसेका छन् ती ।

गाउँ हिजोको जस्तै रहोस् भन्नु अवास्तविक चाहना हो । गाउँले जीवन परिवर्तनहीन होस् भन्नु त अनुपयुक्त मात्रै होइन परिवर्तनविरोधी सोचाइ पनि हो । तर, गाउँ र गाउँलेको जीवन बदलिइरहँदा गाउँका त्यस्ता केही खास आदर्श विशेषता नाश नभइदिए हुन्थ्यो भन्ने सबैलाई लाग्छ, मलाई पनि । गाउँका मानिसलाई झन् बढी लाग्छ । गाउँ मासिँदा स्वच्छ मुस्कान, स्वाभिमानी भाव, स्वस्थ पर्यावरण, लोक–सांस्कृतिक परम्परा, सामूहिकता र सद्भावलाई सिञ्चन गरिरहने प्रथाजनित अनौपाचारिक संस्था, सहृदयीपन र मानवीयता पनि नासिनु अवश्य सुखद होइन ।

जाने होइन त गाउँ ?

गाउँ जाने होइन ? यो प्रश्नले मलाई अचेल कम्तीमा पनि गाउँको अर्थ र मर्मबारे चासो जीवित राखिराख्न सहयोग गरेको छ । गाउँमा आएका परिवर्तनसँग प्रत्यक्ष–अप्रत्यक्ष साक्षात्कार गर्ने उत्सुकता जागृत भइरहन्छ ।

‘गाउँ–गाउँमा सिंहदरबार’ भनियो, त्यसै पनि त्यो त्रासदीपूर्ण विम्ब थियो किनकि आम जनताका लागि सिंहदरबार कहिल्यै प्रिय विम्ब बन्न सकेको थिएन, तर गाउँको क्षयीकरण रोक्न त्यसले थोप्पो सहयोग गरेजस्तो देखिँदैन । गाउँ मासिँदा जोगाउनुपर्ने धेरै कुरा सँगसँगै नासिन्छ । त्यसैले आउनुस् कम्तीमा पनि गाउँबारेको चासो जीवितै राखौं र सोध्न नछाडौं, ‘तपाईं गाउँ नजाने ?’

प्रकाशित : आश्विन २७, २०८० १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?