२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८
नदीको कथा

बागमतीका बेरंगी तीर्थहरू

एक समय तीर्थालुहरू बागमती नदीका १ सय ६५ तीर्थस्थलमै स्नान गर्दै १७ दिनसम्म बागमती–यात्रा गर्थे, तर २०४३ यता त्यो यात्रा विधिपूर्वक गरिएको छैन
दामोदर न्यौपाने

मठमन्दिर, गुम्बाजस्ता मूर्त सांस्कृतिक सम्पदा जीवन्त हुन त्यहाँ सांस्कृतिक क्रियाकलाप हुनैपर्छ । नेपालका सम्पदा जीवन्त छन् भन्ने चर्चा विश्वमै हुन्छ । किनभने यहाँका मूर्त सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन्छन् नै । मूर्त सांस्कृतिक सम्पदाको प्राण हो– अमूर्त सांस्कृतिक सम्पदा । सांस्कृतिक क्रियाकलाप नहुने सम्पदालाई प्राण नभएका सम्पदाको श्रेणीमा राखिन्छ । अहिले केही सम्पदामा सांस्कृतिक क्रियाकलाप हुन छाडेका छन् । तीमध्येका हुन् बागमती नदी किनाराका १ सय ६५ तीर्थ । ने मुनिले सुरु गरेको मानिने ‘बागमती–यात्रा’ नचल्दा त्यस यात्राका तीर्थहरू प्राणविहीन छन् ।

बागमतीका बेरंगी तीर्थहरू

उपत्यकाको मध्यभागबाट १३ वटा नदी मिसिएर चोभार हुँदै तराईतिर बग्छ– बागमती । दोभान र त्रिवेणी बनेका बागमतीका तीर्थस्थल १२ वटा छन् । बागमती, चन्द्राभागा, इच्छामती, केशमती, मणिमती, विमलावती, मारदायिणी, सुवर्णवती, पापनाशिनी, रत्नावती, प्रभावती नदी मिसिएका प्रत्येक ठाउँमा तीर्थ छन् । अहिले कतिपयको नाम परिवर्तन भएको छ, त्यसैले पुराणहरूमा वर्णित यी नदी र तीर्थको नाम चिन्न सकिने अवस्था छैन । ब्रह्मतीर्थ, शान्ततीर्थ, राजतीर्थ, शंकरतीर्थ, मनोरथतीर्थ गरी १२ मुख्य तीर्थ थिए यी नदीको संगमस्थलमा । नदी संगममा यी तीर्थसहित १ सय ६५ वटा तीर्थ थिए बागमतीमा । कुनै बेला यी तीर्थस्थलहरूमा स्नान गर्दै १७ दिनसम्म बागमती–यात्रा गरिन्थ्यो । २०४३ सालयता विधिपूर्वक त्यो यात्रा भएको छैन ।

संस्कृतिविद् गोविन्द टन्डनका अनुसार, वैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने त्यस यात्राको दुई दिनअघि नै सहभागी हुन चाहनेलाई सार्वजनिक सूचना दिनुपर्ने प्रचलन थियो । पशुपतिनाथका भट्ट यसको मुख्य पथप्रदर्शक हुने परम्परा थियो । मुख्यब्राह्मणलाई सहयोग गर्ने अन्य ब्राह्मण पनि हुन्थे । ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ किताबमा टण्डन लेख्छन्, ‘यसलाई कठिन धार्मिक यात्राको रूपमा समेत लिइन्छ । कत्ति ठाउँमा घस्रेरसमेत हिँड्नुपर्छ ।’ शरीरलाई कष्ट दिएर गरिएको यात्राले बढी फल पाइने हिमवत्खण्डमा लेखिएको छ । सवारी साधनमा पुग्नेलाई मूर्ख भनिएको छ । तर, हिँड्ने सामर्थ्य नभएकाचाहिँ सवारीमै गए पनि फल पाइने उल्लेख छ । सवारीमा जाने सामर्थ्य छैन भने परैबाट तीर्थ हेर्दा पनि पुण्य प्राप्त हुने हिमवत्खण्डको बागमती महिमा र तीर्थयात्रामा लेखिएको छ ।

बागमतीमा हुने अनेकन सांस्कृतिक क्रियाकलापमध्ये प्रमुख थियो– बागमती–यात्रा । उपत्यकाको तल्लो क्षेत्र कटुवालदहदेखि शिरभाग शिवपुरी जलाधार क्षेत्रको बागद्वारसम्म हुने यात्रा हो यो । कटुवालदहदेखि खोकना पुलसम्म पर्ने सेतुभिन्नतीर्थ, चन्द्रोदयतीर्थ, उत्तरबाहिनीतीर्थ, वासुकितीर्थ, गौतीर्थ, भद्रावतीतीर्थ, हनुमत्तीर्थ, सर्वमयतीर्थ, सीतातीर्थ, लक्ष्मणतीर्थ, दामोदरतीर्थ, रामतीर्थ, गोपालतीर्थ, सूर्योदयतीर्थ र सुलोचनातीर्थ गरी १६ वटा तीर्थमा स्नान गरेपछि सुरु हुन्छ बागमती–यात्रा ।

दोस्रो यात्रामा खोकनादेखि जलविनायकसम्मका सर्वोषधितीर्थ, महागणपति, ककोटक लगायत सात तीर्थमा स्नान गरिन्छ । तेस्रोमा प्रमोदाख्य, सप्तनील, कायनिर्मल लगायत ७ तीर्थमा स्नान र पूजन हुन्छ । चौथोमा कालमोचनघाट वरपरका सहोदरतीर्थ, रुद्रधारा, उत्तर प्रयाग गरी १३ वटा तीर्थ यात्रा हुन्छ । पाँचौंमा शंखमूलबाट पशुपति राजराजेश्वरी घाटको त्रिलोचनतीर्थ, सत्यभामातीर्थ, सुर्वण, राजराजेश्वरी गरी १६ तीर्थमा यात्रा हुन्छ । छैटौं यात्रा राजराजेश्वरीदेखि २९ तीर्थमा हुन्छ । सातौं यात्रा गुहेश्वरीदेखि २० तीर्थहरूमा गरिन्छ । आठौं यात्रा १९ तीर्थ, नवौं यात्रा ४ तीर्थ, दसौं यात्रा १९ तीर्थ, एघारौ यात्रा ९ तीर्थ, बाह्रौं यात्रा बागद्वारदेखि बुढानीलकण्ठसम्म ७ तीर्थमा हुन्छ । तेह्रौं दिन यही ठाउँमा ने मुनिलाई शय्यादान दिइन्छ । चौधौ दिन गोकर्ण, पन्ध्रौं दिन योगधारा र योग कुण्डमा स्नान गरिन्छ । तयारीका लागि दुई दिनसमेत गरेर यो यात्रा १७ दिनको हुन्छ ।

प्रत्येक तीर्थमा पूजा गरिने विधि, चढाउने सामान, दान गर्ने सामग्री फरक छन् । र, भाकिने शिव फरक, प्रत्येक तीर्थमा स्नान गर्दा फल पाइने विश्वास फरक, सबै तीर्थका मिथक फरक ! बागमती, मनोहरा र गंगा मिसिएर बनेको शंखमूल त्रिवेणीको स्नानले रोग निको पार्न सक्ने शक्ति रहेको विश्वास गरिन्छ । हिन्दु र बौद्ध दुवै सम्प्रदायको पवित्र तीर्थ मानिन्छ यसलाई । कोरलगायत चर्मरोगले सताएकालाई यहाँ नुहाउँदा निको भएको कथा स्वयम्भू पुराणमा छ । बाँदरलाई मारिदिएको पापले एक व्यक्तिलाई कोर निस्कियो । यहाँ नुहाएपछि कोर निको भएको कथा पुराणमा छ । चन्द्रले गुरु अगस्त्यका पत्नीसँग शारीरिक सम्पर्क राख्दा लागेको पापबाट यहीं नुहाउँदा मुक्ति मिलेको कथा स्कन्दपुराणमा छ । प्रत्येक तीर्थका यस्तै फरक मिथक छन् । ‘यति धेरै सांस्कृतिक महत्त्व बोकेको बागमती यात्रा रोकिनु ठूलो अमूर्त सांस्कृतिक सम्पदा गुमाउनु हो,’ सम्पदा संरक्षण अभियन्ता केशवप्रसाद चौलागाई भन्छन्, ‘उपत्यकाको सभ्यता, संस्कृतिसँग जोडिएको यस यात्रालाई निरन्तरता दिन सक्ने हो भने केवल सांस्कृतिक जागरण होइन, मुलुकको पर्यटन विकासमा समेत थप टेवा पुग्नेछ ।’

बागमती यात्रा हुने ती तीर्थमा पोखरी र इनार थिए । बागमतीमा अतिक्रमण सुरु भएपछि नदी किनाराका पोखरी, कुण्ड र इनारको नामोनिसान छैन । पर्खाल ठड्याएर बहाव क्षेत्रसमेत खुम्च्याएपछि बागमती नदी नै नहरमा परिणत भएको छ । बागमती र यसका सबै सहायक नदीको शुद्धीकरण, हरितक्षेत्र विकास र सडक निर्माण गर्ने भन्दै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको बहावक्षेत्र तोक्यो । गोकर्णदेखि जोरपाटी पुलसम्म ३५ किलोमिटर र त्यहाँभन्दा तल ४० किलोमिटर बहावक्षेत्र कायम गरिएको छ । ‘नदीलाई ठाडो पर्खाल लगाएर सीमा तोक्नु नदी होइन, नहर र ढल बनाउनु हो । बागमतीमा अहिले न जान मिल्छ, न पानी छुनै,’ वास्तुकला विज्ञ ज्ञानेन्द्र देवकोटा भन्छन्, ‘नदी त पशुपन्छीले पानी खाने ठाउँ हो । नुहाउने, लुगा धुने र टहलिने ठाउँ हो । अहिले यी नदीमा कोही छिर्न सक्दैन । परम्परादेखिको नदी र जीवनको सम्बन्धविच्छेद गरिएको छ ।’

परापूर्वकालदेखि प्रचलित बागमतीका नाग क्षेत्रसमेत संकटमा छन् । इतिहासकार साफल्य अमात्यको पुस्तक ‘नदी र संस्कृति’ मा लेखिएअनुसार पोखरी, इनार, दोभान र त्रिवेणी भएका क्षेत्र नागक्षेत्र हुन् ।

गोकर्णको ब्रह्म तीर्थ, गुहेश्वरीको शान्ततीर्थ, शंखमूलको शंकर तीर्थ, सानेपाको राजतीर्थ, फुसिंखेलको मनोरथ तीर्थ, भद्रमती विष्णुमती संगमको निर्मल तीर्थ, विष्णुमती कंकेश्वरीको संगमस्थलको निधान तीर्थ, करंकिनी नदी र बागमतीको संगमको ज्ञानतीर्थ, बागमती विष्णुमती संगमको चिन्तमणी तीर्थ, चोभारको पद्म तीर्थ, सुरक्षण तीर्थ, नख्खुमा प्रभावती नदी र बागमती नदीको संगमको जयतीर्थ नागहरूको बासस्थान भएका क्षेत्र मानिन्छन् । यी प्रत्येक तीर्थलाई फरक–फरक नागको अधिपत्य रहेको क्षेत्र मानिन्छ । गोकर्ण क्षेत्रको पुण्य तीर्थमा रातो रंगको तक्षक नाग, शान्त तीर्थमा सेतो वर्णको सोमशिखी, शंकरतीर्थमा सुवर्ण वर्णको शंखपाल, राजतीर्थमा सेतो वर्णको सुरुप नाग, मनोरथ तीर्थमा छिरबिरे रंगको कुलिग, निर्मल तीर्थमा पहेंलो रंगको नागपाल, नीधान तीर्थमा नागनन्द र उपनन्द, ज्ञानतीर्थमा वासुकि नाग, चिन्तमणि तीर्थमा सेतो वर्णको बरुण, प्रमोद तीर्थमा सेतो वर्णको पदम नाग, सुलक्षण तीर्थमा महापद्म नाग र जयतीर्थमा कान्ति नामका नागले अधिपत्य जमाएको लोकाख्यान छ ।

दोभान र त्रिवेणीबाहेक अनेक तीर्थ स्थल, मठ मन्दिर, घाट र पर्व परम्पराको केन्द्र पनि हो– बागमती । शिरोभाग बागद्वारदेखि पाउ भाग कटुवालदहसम्म करिब ४३ किलोमिटर क्षेत्रमा थुप्रै मूर्त सांस्कृतिक सम्पदा छन् । ती प्रत्येकमा अनेक सांस्कृतिक गतिविधि हुन्छन् । यस अर्थमा बागमती मूर्त र अमूर्त सम्पदाको विशिष्ट केन्द्र हो । यहाँ सामाजिक, भौतिक र आध्यात्मिक गतिविधिको सम्पूर्ण प्रतिविम्ब देखिन्थ्यो । यो नदीले धार्मिक–आध्यात्मिक क्रियाकलाप मात्रै होइन, नेपाली लोकजीवन, साहित्य र कलालाई पनि प्रभावित पारिरहेको हुन्छ । कला र वास्तुकलाले समृद्ध सहरसमेत यही नदीका किनारमा विकास भएका छन् । गोकर्णेश्वर, गुहेश्वरी, पशुपतिनाथ, शंखमूल, टेकु दोभानमा निर्माण भएका मठ–मन्दिर नेपाली वास्तुकलाका उत्कृष्ट नमुना हुन् ।

जब नेपालमण्डल सभ्यतामाथि विमर्श गरिन्छ, त्यहाँ बागमतीको समृद्ध कथा जोडिन्छ । बागमतीलाई पुराणहरूमा समेत श्रेष्ठ नदी भनी लेखिएको छ । पशुपति पुराणमा समाजको मनोरथ धर्म, अर्थ, काम र मोक्षको इच्छा पूर्ण गर्ने बागमतीलाई सबै धर्मको प्राण भनिएको छ । त्यहाँ लेखिएको छ, ‘शिवलोक प्राप्त गर्न चाहनेका लागि बागमती सेवा गर्न, स्नान गर्न र दान गर्न योग्य छिन् ।’

मान्छेलाई कल्याणै कल्याण गर्ने भएकाले हाम्रा पुर्खाले नदीलाई आमाको संज्ञा दिए । चाणक्य नीतिमा लेखिएको छ, ‘नदीको जललाई हामी आमाको दूधजस्तै पोषक, प्राणसेवक अमृत मान्छौं । नदीले नै आमाले बालकलाई सिञ्चन गरेजस्तै जमिनलाई सिञ्चन गरेर हराभरा बनाउँछ । नदी यस पृथ्वीमा आफ्ना सन्तान प्राणीलाई सुख दिन आएकी हुन् । तिनीलाई छुन सकिन्छ । भेट्न सकिन्छ । तिनले आमाले झैं हाम्रो फोहोर र खराब कुरालाई आफूमा मिलाउँछ । तिनी निष्पक्ष, उदार, सहृदयी र सबैलाई बराबर माया गर्ने न्यायी आमा हुन् ।’ तर, त्यो समृद्ध नदी–सभ्यता हामीले सखाप पार्‍यौं र यहाँका सांस्कृतिक विरासत ध्वस्त बनायौं ।

प्रकाशित : आश्विन २७, २०८० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?